'मेरो आमालाई अस्पतालले लिएन। अस्पतालमा न त अक्सिजन छ न बेड नै। यस्तो अवस्थामा म कसलाई गुहारौं?'
यो मैले एक भिडिओमा सुनेको र देखेको दृश्य हो। भारतमा महामारीले हाहाकार मच्चाएको छ। एकातिर मान्छेको उपचार भैरहेको छ भने अर्को तिर मान्छेको दाह संस्कार चलिरहेको छ। दैनिक हजारौंको संख्यामा नयाँ संक्रमण देखा परेको छ।
हिजो कोरानाबाट मुक्त भयौं भनेको भारत आज आफैं संकटकालमा छ। तीन लाखभन्दा बढी केश एकै दिनमा। निकै भयंकर बन्दै गएको कोराना आज नियन्त्रणबाट बाहिर छ। संसारलाई नै सबैभन्दा बढी खोप वितरण गर्ने भारत आज आफैं खोप विहीन, औषधि विहीन, अक्सिजन विहीन र अस्पतालमा बेड विहीन बनेको छ।
भारतले त्यत्रो जनसंख्या मध्ये केवल १% लाई मात्रै खोप वितरण गर्न सकेको छ। सोच्नुहोस् त, अब के होला झन् भारतको हालत?
त्यसो त बढी भारतको लापरबाहीको कारणले यो गति भएको हो भन्नेमा कुनै दुई मत छैन। कोरानाको डर हुँदाहुँदै आखिर किन गरे चुनाव? किन गरे विशाल आमसभा र जुलुस? झन् त्यत्रो झुन्डमा कुम्भ मेला राखे।
यो कोभिड हामीसँगै रहन्छ। यसलाई सावधानी नअपनाए यसले हाम्रो उठिबास लगाँउछ भन्ने कुरा भारतमा बस्ने भारतीय नागरिकको दिमागबाट हटेछ। जसकारण आज यो दुर्गति हुन पुगेको छ।
भारतको सबैभन्दा नजिक हामी छौं। नेपालमा पनि कोरानाको असर बढ्दै गरेको खबर हामीले दैनिक रुपमा सुन्दै आएका छौं। खबर सुन्दा, मेरी हजुरआमा भन्नु हुन्छ, 'खै! बुढ्यौली लागेको यो शरीरमा अब तागत नै छैन। झन् त्यो चाइनिज भाइरससँग लड्ने शक्ति कहाँबाट आउने? मलाई त आश छैन।'
झन् बालबालिकामा अझ तीव्र गतिले संक्रमण बढेको खबरले त मेरो भाइको मस्तिष्कमा भयभित पार्ने भयंकर त्रास बढाइदिएको छ।
अघिल्लो वर्षको कोराना (कोभिड-१९) को जोखिमबाट बचियो भन्ने अनुभूति गर्न पनि नपाई फेरि अर्को नयाँ र डरलाग्दो भेरिएन्ट सृजना हुँदा मेरो मामुको मानसिक चेतनामा चिन्ताजनक कुराहरु खेलिरहेको छ।
कतै म तलमाथि परेँ भने घरको हाल के होला? भनेर अनेकौं प्रश्न मेरो मामुको मन भित्र उकुस मुकुस भएर गुम्सिएका छन्।
त्यस्तै मेरो बुवाको मनमा पनि त्यतिकै चिन्ता छ। घर बसे भोकमरी, बाहिर गए महामारी! कमाउने बाटो नै नभएपछि कसरी पाल्ने परिवार? कसरी बच्ने?
यो समस्या एक परिवारको मात्रै हैन, देशको समस्या पनि हो। समग्र पुरै विश्वको सम्स्या हो। निकै कठिन परिस्थितिमा हामी गुज्रिरहेका छौं।
हामीले पछिल्लो लकडाउन अर्थात् निषेधाज्ञाबाट धेरै पाठ सिक्न सक्छौँ। कैयौंका जीवन अस्तव्यस्त, लथालिंग भएको यिनै आँखाले प्रत्यक्ष देखेका छन्। फेरि यस्तो दुख देख्न नपरोस् भनेर भगवानसँग लाख प्रार्थना गरिसकेका छौं। तर फेरि उही अवस्था पो दोहोरिने होकि? भन्ने अन्योलता हरेक नागरिकको 'टल्क अफ दि टाउन' बनेको छ।
आर्थिक हिसाबले हामी अब्बल छैनौं। हामीभन्दा सुखी सम्पन्न राष्ट्र भारत आज गुहार माग्दै छ। झन् हाम्रो हालत के होला? बेलैमा सोचौं। नत्र भने त हाम्रोमा लास गाड्ने ठाउँ नै हुँदैन। उपचार दिने डाक्टर हुँदैनन्। म त सोच्न पनि सक्दिनँ। कयौं व्यक्ति घरभित्र भोकमरीले मर्ने छन् भने कयौं यो रोगले।
हामीलाई थाहा भएकै कुरा हो, कोरानाले धनी र गरिब छुट्टयाउँदैन। नत्र त किन ब्रिटेनका प्रधानमन्त्रीलाई लाग्थ्यो र? बरु जस्ले लापरबाही गर्छ, त्यसलाई लाग्छ कोराना।
यो जटिल अवस्थामा राज्यको अहम भूमिका छ। यो देशका जनताको कठिन परिस्थितिमा साथ कहिले नछोड्ने सपथ खाएका सरकारले जनतालाई लथालिङ्ग पार्न पाउदैनन्। सरकार हाम्रो राष्ट्रको अभिभावक हो। जनतालाई सुरक्षाको अनुभूति दिलाउनु सरकारको प्रमुख कर्तव्य हो।
स्वास्थ र शिक्षाको क्षेत्रलाई कसरी सन्तुलित तरिकाले लैजाने भनेर गम्भीर गृहकार्य गर्नु पर्ने कुरा अपरिहार्य देखिन्छ। कदापि यस्तो कोरानाको महामारीमा राजनीतिक षड्यन्त्र नखेलौं र नरचौं पनि।
आफ्नो व्याक्तिगत स्वार्थमा नलागौं, आफू र सबैको ज्यान जोगाउनपट्टि लागौं! एकआपसमा दोष नदिई यस्तो जटिल अवस्थामा एकअर्कालाई साथ दिनु अपरिहार्य देखिन्छ। बाँकी यसबाट बच्ने उपाय त छँदै छ नि।
सरकारको निर्देशन पूर्णरुपले पालना गरौँ,
कोरानाबाट आफ्नो अनि सबैको ज्यान जोगाऔँ।