'धत् पाखे! चिया पनि राम्ररी बनाउन आउँदैन रैछ यसलाई त।'
उसले यसो भनेपछि बल्ल बुँझे मैले, त्यो मसिनो लामो डोरी झुन्ड्याइएको सानो प्याकेटभित्र चियापत्ती पो राखिएको हुनेरहेछ।
'खै यता ले, म बनाइदिन्छु। कत्तिको कडा पिउँछेस्?' हेयभाव मिसिएको बोली भएपनि सहयोग गर्न खोजेकिले मसिनो स्वरमा भनेँ, 'ठिक्क।'
चिया लिएर हामी अलि परको एउटा टेबलमा गएर बस्यौँ।
माहोल कलेजको पिकनिकको थियो। तर पहिलो कप चियासँग खानुपरेको वचनले नै पिकनिकको पूरा रमाइलोलाई खल्लो बनाइदियो।
अहिले चिया बनाउन आएन, दिनभरि अरु के-के बनाउन नआएर बेइज्जती सहनु पर्ने हो मैले! सोचेरै मुटुको धड्कन बढ्न थाल्यो।
एक पटक आफैंलाई प्रश्न गरेँ, 'के मलाई चिया बनाउन साँच्चै आउँदैन?'
त्यसो भए गाउँमा मेरी आमा किन भन्नुहुन्थ्यो, 'यसका हातले माडेको चियाको अलग्गै स्वाद आउँछ' भनेर?
मलाई थाहा छ, वसन्त सुरु भएपछिको पहिलो टिपाइको चिया सबैभन्दा मिठो हुन्छ। त्यसमा पनि कलिलो मुनाबाट दुई पात र एक सुइरो मात्र छुट्याएर टिप्यो भने झनै मिठो बनाउन सकिन्छ।
चिया सकेसम्म, घाम लागेको दिन टिप्न पाए तुरुन्त ओइलाएर हातले फर्काई-फर्काई माड्न पाइन्छ।
मलमलको कपडामा पोको पारेर, भान्सा सकेपछि, तातै चुल्होको माथि राखेर रातभरि छोडेर बिहानै निकालेपछिको मग-मग बास्ना, अनि त्यसलाई मान्द्रोमा फिँजाएर फेरि एक घाम सुकाएपछि बन्ने हातेपत्ती। आहा! सम्झिँदा पनि मुखै रसाउँछ।
तर म आजसम्म भ्रममा बाँचेकी रहेछु। आमाले त मलाई खुसी पार्नलाई फुर्क्याउनु मात्रै भएको रहेछ। वास्तवमा मलाई चिया बनाउनै नआउने रहेछ।
हो आमा, हामीलाई चिया बनाउनै आउँदैन। बगानमै जन्मिएका भएर पनि हाम्रो गाँउभरिका कसैलाई चिया बनाउनै नआउँदो रहेछ।
किनकि जमाना परम्परागत स्वादमा अल्झिदैन अब। राम्रो चिया बनाउनलाई, यी यसरी नै चियाको ब्रान्डिङ गर्नु जान्नुपर्ने रहेछ।
लामो धागोको पुच्छर हालेर एक कपलाई पुग्ने रङ आउनेजती चियापत्ती राखेर मसिना प्याकेटहरु बनाउनु पर्ने रहेछ।
थाहा छ आमा, हामीले मुस्किलले किलोको तीस/चालीस रुपैयाँ पाउने एक किलो चियाबाट बिसौं कप चिया बनाएर सयौँ रुपैयाँमा बेच्छन् सहरीयाहरु। माटोको गिलासमा चिया रे, बाँसको कप्टेरोमा चिया रे।
थाहा छैन, त्यसरी चियाको स्वादमा के फरक पर्छ। उनीहरुको जीवनमा भने धेरै फरक परेको छ। त्यसरी चिया बेच्नेहरु, सुकिला लुगा लगाएर चिल्लो गाडीमा हिँड्ने रहेछन्। त्यसैले त भन्दैछु आमा, हामीलाई चिया बनाउनै आउँदैन रहेछ।
सहरमा, चिया र चुरोटका कथाहरु हिट हुन्छन्। चियावालीहरु युट्युबको ट्रेन्डिङमा आउँछन्। चियाको चुस्कीसँग मनको कुरा साट्नेदेखि, राजनीति र भविष्यका कुरा गर्नेसम्मको जमात भेटिन्छ।
टाउको दुख्दा उपचार खोज्नदेखि, मन दुख्दा पीडा पोख्नसम्म, धेरैले चियाकै कपलाई सहारा बनाउँछन्। खुसी बाढ्न होस या दुख साट्न, चिया नै पिउने चलन देखिन्छ। अतिथि सत्कारमा त चिया नम्बर वान हिरो भैहाल्यो।
जताततै यति धेरै चिया पारखीहरु हुँदापनि चियाबारीमा डोको बोक्नेहरुको जीवनस्तर भने किन जस्ताको तस्तै रहेको? हरेक वर्ष फ्याक्ट्रीले मूल्य दिएन भनेर किन आँसु झार्नु परेको?
हामीले चिया बनाउन नजानेरै हो रहेछ आमा, तिमीले हातखुट्टा फुटुन्जेल दुख गरेर टिपेको हरियो पत्तीले पाउनुपर्ने जति सम्मान र मोल नपाएको।
हामी पो बुझ्छौं, पहिलो टिपाइको हातेपत्तीलाई अँगेनामा भकभक उमालेर, रङ कडा बनाएर हाम्री मालिगाईको दूध राखेर सिलाबरको मखभरि हालेको चियाले कसरी दिनभरको तनाव र थकाई मेटाउँछ।
तर, संसार हामीभन्दा धेरै पर पुगिसक्यो। अबको संसार मसला चियामा रमाउँछ, चियाको कपमा चियापत्तीको होइन, अदुवा र सुकमेलको स्वाद खोज्छ। ल्वाङ र अलैंचीको बास्ना खोज्छ।
मैले चियाको स्वाद जान्दा, चिनीको भाउ चालीस रुपैयाँ किलो थियो, चिनी किन्न एक घन्टा हिँडेर बजार पुग्नुपर्थ्यो। हामीले उत्पादन गर्ने चिया, त्यस्तै चौबिस, पच्चीस रुपैयाँमा बिक्दो हो।
खरिद गर्न नसकेर त पक्कै होइन होला है आमा, हामीले चिनी नराखेकै चिया खाएको? कारण जे भएपनि मलाई त अझै पनि, चिनीबिनाकै कडा दूधचिया मनपर्छ।
साथीहरु भन्छन्, 'चिनी नहालेको पनि चिया हुन्छ?'
म भन्छु, 'चिनी हालेको पनि चिया हुन्छ?'
एकदिन एउटी साथीले घरमा चिनीबिनाको चिया बनाउने कोसिस गरिछ। तितोमात्रै भयो भनेर मुख बिगारेर आएकी थिई।
म कसरी बुझाउँ आमा उसलाई, चिनीबिनाको चिया मिठो हुन तिम्रा नरम हातले माडेर बनाएको हातेपत्ती नै चाहिन्छ भनेर।
यसरी, हामीबाहेक अरुले बुझ्नै नसकेको चियाको स्वाद बटुल्न कुर्कुचा फुटुन्जेल, भिरालो चियाबारीमा दिनभर डोको बोकेर चिया टिपेर कतिन्जेल दुख गर्ने आमा? चाउरिँदै गरेका हातलाई चिया माडेर कतिन्जेल चिरा पारिरहने?
हामीले कुनै एक काम त गर्नै पर्छ अब। कि बुझाउनु पर्छ दुनियाँलाई, परम्परागत घरेलु हातेपत्तीको स्वाद, र त्यसैलाई बिकाउनु पर्छ 'आमाको हातको चिया' नाम दिएर।
होइन भने, हामीले बुझ्नु पर्छ दुनियाँले खोज्ने चियाको स्वाद, र चियापत्ती बनाउनलाई जस्तै मेहनत गर्नुपर्छ, त्यसमा मसला भर्नलाई, रङरोगन गर्नलाई, पुच्छर झुन्ड्याएर प्याकेजिङ गर्नलाई।
तिमीनै भन अब, दुईमध्ये कुन विकल्प रोज्छ्यौ आमा?
अँ साच्चै एउटा कुरा, हाम्रा गाउँलेहरुलाई पनि भन्देऊ है आमा। उनीहरुले अबका छोराछोरीलाई, डाक्टर ईन्जिनियर बन्न दबाब नदिउन्, बरु चिया प्रशोधन विधि र बजारीकरण बारे पढ्न पठाउन्। त्यसरी पढेका छोराछोरीले चियाको ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने हैसियत निर्माण गर्न सकून्।