आकाशसम्म पुग्न खोज्नु र पुग्नलाई परिश्रम गर्नु फरक कुरा हो। चन्द्रमा छुने अभिलाषा राखेर कर्म बादलसम्म पनि पुग्न नसकिने गर्नु हुँदो रहेनछ।
मलाई जीवनले धेरै कुरा सिकाएको छ। सजिलोसँग सायद कसैलाई केही पनि मिल्दैन र सबैलाई यही लाग्छ। मेरो लागि यो कुरा त झन् पक्कै मिल्दैन। आउनुहोस्, मेरो हजुरको हाम्रो सबैको साझा जीवनको कुनै बिन्दुमा आज चर्चा गरौँ।
म सामान्य घर परिवेशमा हुर्केको मान्छे। सामान्य जीवनशैलीमा लेखिएको भाग्यमा केही फरक चहकिलो लोचनको सपना देख्ने असाधारण व्यक्ति। घरमा बुबा-आमा र भाइ।
यो पारिवारिक दायरामा हुर्कंदै गर्दा मैले म जेठो सन्तान भएको र ममाथि रहेको जिम्मेवारी मजाले बुझेको छु। घरमा जेष्ठ सन्तानको कर्तव्य के हुन्छ? एउटा सामान्य घर परिवारमा जन्मिएकी छोरीलाई थाहा नहुने कुरै हुँदैन।
घरको आँगनमा नै संसार छ भन्ने सोच तब भत्कियो जब घर छोडी पढ्न बाहिर पहिलो पटक गएँ। आर्थिक पाटो खास्सै सबल नभएकोले मलाई मन मस्तिष्कमा जिम्मेवारीको परिभाषा मज्जाले थाहा थियो।
मैले गाउँ छोडेर सहर पस्दा यो बुझेकी थिएँ कि म बाहिरी दुनियाँमा हराएँ भने पनि फर्केर मलाई त्यहीँ आउनु छ, मेरो धरातलमा। म जस्तै धेरै हुन्छन् होला काँधमा जिम्मेवारीको डोको बोकेर हिँडेको। अक्सर म आफैँलाई प्रश्न गर्थेँ। म जस्तै एक्लो? म जस्तै लक्ष्यप्रति आश्रित।
मलाई पहिलो पटक सहर आउँदा गोजीमा गाडीभाडा मात्रै बोकेर हिँड्नुपरेको पक्कै थिएन। दुःखको महासागर जसरी सुनाउँछन्, अग्रजहरुले मैले खासै त्यति भोगेकी छैन। भोग्नु नियति हो भने पक्कै भोगिन्छ र म तयार छु। अनि आफ्ना भोगाइहरू सुनाइरहने कुनै बृद्धको जस्तो पीडादायी जिन्दगी पनि मसँग बेमेल छ।
अक्सर मलाई प्रतिनिधित्व गर्न मन पर्दैन तर आज मेरो उमेरको म जस्तै काँचो माटोको प्रतिनिधित्व गरेर अनुभव लेख्न खुब मन लाग्यो।
हाम्रो उमेरका युवा धेरै नै महत्वकांक्षी हुन्छन्। आज सगरमाथा चढेर आजै ओर्लिन सकिन्छ सोच्नु हामी भित्रको एउटा ऊर्जा हो। जिन्दगी सोच र भोगाइमा फरक छ। घुम्ती प्रत्येक कदम कदममा आउँछन् र त्यो घुम्तीलाई कसरी र के गरी पार गर्ने भन्ने आफै ठम्माउन सक्नुपर्छ।
पढेर राम्रो गर्छु भनेर काठमाडौँ पसेका अधिकांश युवाहरूले आफ्नो एउटा उमेर बिर्सिन्छन्। जिम्मेवारीको बोझ यतिसम्म हुन्छ कि आकाश र जमिन नियाल्ने समेत फुर्सद हामीलाई हुँदैन। टक्क उभिएर हामीलाई जमिन नियाल्ने फुर्सद हुँदैन।
प्रश्न यो पनि हुन सक्छ जमिन किन नियाल्ने? तर जीवन भनेको जमिन हो। आज मैले के गरिराखेको छु भनेर आफैँलाई सोधिरहँदा आफ्नै अनुहारमा कालो घेराहरू बन्छन् भने मेरो गराईको कुनै महत्व नै छैन भन्दा फरक नपर्ला। यो सन्दर्भ तब मेरो अगाडि आयो जब म जागिरको खोजीमा भौतारी रहेको एक अग्रजलाई भेट्न पुगेँ।
निलो सर्ट, टिलिक्क टल्किएको जुत्ता अनि टाई, उहाँले लगाउनु भएको देख्दा कुनै ठूलै कर्मचारी जस्तो देखिनु हुन्थ्यो। उहाँले 'नानी सिविसीको अफिस यही हो?' सोध्नुभयो।
मैले उत्तर फर्काएँ 'हजुर यही हो दाजु। केही काम विशेषले आउनु भएको हो?'
'भ्याकेन्सीको नोटिस जसमा कम्प्यूटर विज्ञ खोजेको पढेको थिएँ।'
मैले एकछिन अडिएर भनेँ 'अँ तर....'
उहाँले हाँसेर नै भन्नुभयो, 'पाए ठिकै छ, नभए कल रिकभर कै भए नि चल्छ' भन्नुभयो।
मैले भनेँ 'अरू भ्याकेन्सी कुर्नु पढाइ अनुसारकै जागिर पो पाउनु हुन्छ कि दाजु।'
'अहिले घरमा छोरी बिरामी छ। उपचार गर्नु छ। लक्ष्य त छँदै छ नि पहिला यो देशमा बाँच्न कोसिस गरौँ। परिवार पाल्न कोसिस गरौँ अनि सकिएछ भने जीवनमा देवकोटा ज्युको 'उदेश्य के लिनु उडी छुनु चन्द्र एक छँदै छ नि।'
आज चम्किलो सुटकेसभित्र राखिएका मेरा सर्टिफिकेट र हातमा मैले लिएको भविष्य फरक फरक छन् किन?' त्यो जवान युवकको प्रश्न आँखामा मैले पढ्न सकिरहेको थिएँ।
आफ्नो ओकलतको सर्टिफिकेट लिएर मैले पनि त क्यानभासमा अक्सर काल्पनिक चित्रहरू कोर्दै हिँड्छु। मैले यसरी न्याय कसलाई गरिरहेको छु? म अक्सर सोच्ने गर्छु। भित्र केही गर्नु पर्छ भन्ने ज्वाला हुँदाहुँदै पनि अक्सर किन हाम्रो डुंगा किनारमै ओझेल पर्छ? गर्न खोजेको र गर्नु पर्ने किन यो देशमा यति कठिन छ?
गलामा आवाज हुन्छ कसैको तर मञ्च उनीहरूदेखि धेरै टाढा। आँखामा बसेका हुन्छ्न् सगरमाथा चढ्ने कल्पना तर पैताला फेदसम्म पुग्दैमा रोकिदिन्छन्। तिमीले पढ्नु पर्छ भन्ने परिवार सबैको हुन्छ किनकि पेटमा भोक बोकेर हिँड्नु परेको भोगाइ उहाँहरूलाई थाहा छ। आज म मनमर्जीले उड्न खोज्दा म आफ्नो लागि त सही बन्छु तर परिवारको लागि?
दिनरात पसिना चुहाएर सहर पढ्न पठाएका बुबालाई मैले के भन्नु? बुबा हजुरको सपना मैले पूरा त गरे तर अझैसम्म मलाई थाहा भएन जीवनको ४-५ वर्ष मैले किन यस्तो कुरामा खेर फालेर अघि बढिरहे जो कहिले मेरो लागि बनेकै थिएन।
जीवनमा आफू भित्रले मागेको के थियो बुझेर आफैँलाई कुनै दिन चिनाउने ठूलो रहर छ तर रहरको अगाडि भोक आयो भने म पनि यही भीडको हिस्सा बन्नेछु।