मान्छेको जिन्दगीको यात्रामा उतार चढाव आउँदा रहेछन् क्यारे। त्यस्तै म पनि जिन्दगीका अनेकौ उतार-चढावहरुसँगै जुधिरहेकी छु।
मान्छेको जीवन सोचेको र चाहेको जस्तो सायदै कसैको चल्दैन होला। यदि चल्दो हो त सबै मान्छे दुःखी हुने थिएनन् होला पनि। म त सबै दुःखी मात्रै देख्छु अनि ती मानिसहरुभन्दा पनि ज्यादा दुखी म आफूलाई देखिरहेकी छु।
खै! कताबाट सुरु गर्ने यो जिन्दगीको कहानी पनि! त्यसैमा कोरोना भन्ने महामारीले ल्यायो निकै जन्जिर कठिनाई। कोरोना मेरो मात्रै शत्रु हैन, यो त म जस्ता विश्वका अर्बौंको पीडा बनेर आयो। मान्छेलाई आफ्नै वेदना र भोगाइ नै सबैभन्दा ठूलो लाग्दो रहेछ।
सन् २०१९ डिसेम्बर तिर चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसलाई सोहि डिसेम्बर ३१ तारिकमा कोरोना भाइरस (कोभिड-१९) नामाकरण गरिएको थियो। कोरोना भाइरसको संक्रमण नेपालमा पहिलोपटक २०७६ माघ ९ गतेमा पुष्टि भएको थियो।
त्यो बेला अलिकति नाम सुनिन्थ्यो खासै केही हैन जस्तो लाग्थ्यो, विस्तारै नेपालमा पनि कोरोनाले पाइला टेक्दै गयो।
त्यसकै कारण २०७६ चैत ११ गतेदेखि चैत १८ गतेसम्म पहिलो पटक देशैँभरि लकडाउन सुरु भयो। यसले हजारौँ विद्यार्थीहरु नियमित विद्यालय जानबाट वञ्चित भए, म पनि तिनै विद्यार्थी मध्ये एक थिएँ। अर्को तिर देशको आर्थिक स्थिति खस्कने सम्भावना पनि त्यस्तै रहेको कतिपय जानकारहरुले भन्दै आएका थिए।
त्यसैबीच कोरोना भाइरसका कारण जेठ ३ गते नेपालमा पहिलो पटक सुत्केरी महिलाको ज्यान गयो। यसरी सुरु भएको लकडाउन र कोरोना संक्रमणको दर घट्नुको साट्टा थपिदै गयो।
लकडाउनले मलाई फाईदा पनि गर्यो तर अर्कोतिर भने बेफाइदा पनि भयो। देशैभरि सबै कामकाज बन्द भए तर रेडियो र टेलिभिजन भने सञ्चालनमा नै थिए। मैले पनि लकडाउन हुनुभन्दा केही दिन अगाडि मात्रै आफ्नो यात्रा रेडियोसँग जोडेकी थिएँ।
मैले मेरो यात्रा रेडियोसँग जोडिँदा धेरै कुरा सिक्ने मौका त पाएँ तर पनि मेरा सपना भने सबै हराउँदै गएका छन्। कलेज विद्यालय लगायतका अन्य संघ-संस्था अब कहिले खुल्छन् केही टुङ्गो थिएन। सबै तिर लथालिङ्ग भएको थियो।
यो बेला कतिपय विद्यार्थी साथीहरु भने डिप्रेसनको शिकार बनेको समाचारमा सुनिन्थ्यो, त्यसैगरी लोकसेवा आयोगको तयारीमा बसिरहेका कतिपय साथीहरुको अवस्था त झनै कठिन बनेको थियो। कतिपय साथीहरुले त वर्षौदेखिको तयारी गर्दै सजाएका सबै सपनामा कोरोनाले गर्दा पूर्णबिराम नै लाग्यो होला।
लोकसेवा पास गर्ने, आफ्नो परिवार खुसी राख्ने सपना कति धेरैका थिए होलान् तर सबैभन्दा दुःखद जस्को वर्ष नाघिरहेको थियो, उहाँहरुको लागि त्यो वर्ष फलामको ढोका जस्तै कहिल्यै अवसर नखुल्ने गरी आइदिएको हो। तर कोरोनाका कारणले त्यो वर्ष त्यसै बित्यो। अब ती व्यक्ति डिप्रसनको शिकार नभएर के हुन्छन् होला र?
सरकारले चैत ११ गतेबाट गरेको लकडाउन १ सय २० दिनपछि साउन ७ गतेबाट अलिकति खोल्यो। लकडाउन खोल्दा नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ जना पुगिसकेको थियो।
संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० जना पुगेको थियो। तर यो दर हेर्दा संसारका स्रोत साधनले धनी मानिएका देशहरुको भन्दा हाम्रो देशमा त्यस्तो डराउनै पर्ने अवस्था भने नरहेको कतिपय जानकार व्यक्तिहरु भने गर्थे।
तर पनि पूर्व साबधानी अपनाउनु पर्ने हुँदा सरकारले नियम बनाएको थियो। त्यो नियम पनि साउन ७ गते आएर टुङ्गियो। केही समयता नेपालमा संक्रमणको दर पहिलाभन्दा धेरै कम हँदै गयो। देशभरि बन्द रहेका कामकाज सबै तिर खुल्दै गए, अर्थतन्त्रमा पनि केही सुधार हँदै गयो।
तर यता मेरो मन भने आजसम्म सुध्रिन सकेको छैन्। म उद्यम विकास सहजकर्ताको पढाइ सकेर परीक्षाको तयारीमा बसेकी थिएँ तर बीचमै कोरोनाले केही समय असहज वातावरण सृजना गरेको थियो।
एक दिन बेलुकाको समय म आफ्नो कार्यकक्षमा नै थिएँ। यसो फेसबुकका पानाहरु हेर्दै थिएँ, यतिकैमा सरले परीक्षा फाराम खुलेको छ, फाराम भर्नुपर्ने विद्यार्थीहरुले तुरुन्तै आफ्ना कागजात पत्र बुझाउनु होला भनेर फेसबुकमा अपलोड गर्नु भएको रहेछ।
मैले पनि सरलाई फोन गरी सबै कुरा बुझेँ र पुस महिनाको १५ गते भित्र परीक्षा भइसक्ने जानकारी पाएँ। जानकारी पाएको भोलिपल्ट नै मैले फाराम भर्नका लागि प्रमाणपत्र पठाएँ।
त्यसपछि परीक्षा होला कि भन्ने आशामा पढ्दै थिएँ। पुस महिना पनि आयो तर परीक्षाको मिति तोकिएको भने थिएन न त सरको नै कल आयो। आफैले कल गरेँ। उहाँले माघ महिनासम्म हुन्छ है भन्नु भयो।
मेरो मनभरि नैराश्यता छायो, माघमा हुने पक्का पनि थिएन। मेरो मनले त भन्दै थियो कि- रेखा, बेकारमा फर्म भरेर त्यत्रो पैसा फालिस् है। यदि माघमा पनि परीक्षा भएन भने त के होला? आफ्नै मनले आफ्नै मनसंग प्रश्न गर्दै थियो।
साँच्चै नभन्दै फेरि माघमा पनि परीक्षा भएन। अब साथीभाइ पनि मेरो मजाक उडाउन थाले। पहिला पहिला त फर्म फी नै देखेर उडाउँथे, त्यत्रो फर्म फी तेरो यो विषयमा। ईन्जिनियर डाक्टरजस्ता ठूला विषयहरुको त हँदैन यत्रो फी तैले यो कस्तो विषय पढेको हो? यस्ता यस्तै थुप्रै प्रश्नहरु म माथि पोख्ने गर्थे, सबैका कुरा सुन्दा दिक्क लाग्थ्यो।
फेरि सरलाई कल गरेर सोधेँ। सरको उत्तर थियो, माथिबाटै केही जानकारी आएको छैन, चैतमा हुने आशा गरौँ, भरोसा नगरौं जस्तो कुरा उहाँबाट आयो।
मलाई अब दिक्क लाग्यो। छिटै आफ्नो पढेको बिषयमा नाम निकालेर सम्बन्धित निकायसँग जोडिने मेरो सपना अब सपनामै सीमित रहने पो होकि भन्ने चिन्ताले पिरोली राख्थ्यो।
दैनिकी रेडियोसँगै बितिरहेकै थियो, यसो गर्दागर्दै चैतको महिना पनि सुरु भयो। म भने सरको म्यासेज र कलको पर्खामा थिएँ तर केही आएन। आशा त मरी सक्यो फेरि पनि सरलाई मेसेज छोडेँ- सर परीक्षाको मिति तोकियो कि?
सरको जवाफ थियो, वैशाख १८ गते। अब बल्ल-बल्ल गते फिक्स त भयो तर के गर्ने, भाग्यले नै ठग्यो! फेरि नयाँ भेरिएन्टको कोरोनाको कारणले गर्दा जिल्ला जिल्लामा लकडाउन सुरु भयो।
मेरो सबै सपनामा एकैचोटी ठूलो डढेलो लाग्यो जुन सपना कुनै हालतमा पनि नियन्त्रण हँदैन्न, हुन्थ्यो त केबल त्यो ठूलो झरीले मात्रै। तर झरी त मैले चाहेको बेला कहाँबाट आवोस् पनि। जीवनमै अर्को लकडाउन लगाए जस्तै भएको छ।
खै! आजभोलि के भएको होला मलाई, जता गए पनि यो मनलाई शान्ति छैन। जता गए जे गरे पनि दिक्क लाग्छ। खै! के भएको होला अचेल काम पनि केही गर्न मन लाग्दैन। बेडले पनि कहिले काहीँ सोच्दो हो, ए एकछिन त मलाई पनि अराम गर्न दे भनी तर पनि यता पल्टियो, उता पल्टियो सक्कियो। खाली शरीर मात्रै दुख्छ।
निन्द्रा पनि लाग्दैन, रातभरि छटपटी मात्रै हुन्छ. सबैदेखि रिस मात्रै आउँछ। कोही मान्छे राम्रो बोलिरहेको भए पनि यो किन बकबक गर्दै होला भन्ने लागिरहने। अनि त्यो ठाउँबाट जुरुक्क उठेर जान मन लाउने।
आजकाल त बुकदेखि पनि दिक्क लाग्छ। एकछिन बुक पल्टाउँछु, त्यो बेला लाग्छ यो बुकभरिको त सबै याद छ, अब कुन टपिक पढ्ने? फेरि एकछिन पर जान्छु, दिमागले कामै गर्न छोडेको महशुस हुने, सबै नयाँ जस्तो लाग्ने।
आजभोलि मोबाइल पनि जबरजस्तीले झैँ चलाउँछु। कुनै बेलाको मेरो मिल्ने साथी नै मोबाइल थियो जस्तो लाग्छ तर कहिलेकाहीँ बिग्रिदिए पनि हुन्थ्यो नि भने सोच पनि मनमा आइरहन्छ। कुन्नी के भइरहेको हो, म आफै रनभुल्लमा पर्छु।
भान्छामा छिर्दा पनि रिस नै उठ्ने, खाना देख्दा झनै रिस आउने। फेरि भोक लाग्छ तर थालीमा राखेको एक गाँस भात पनि खान मन लाग्दैन। त्यही बेडमा जान्छु र पल्टिन्छु तर मनमा भने शान्ति हुँदै हुँदैन। काम गर्न भनी अफिस जान्छु, त्यहाँ पनि मन लाग्दैन।
कार्यालयमा खासै साथीहरु हँदैनन्, एक्लै हुन्छु। यसो समाचारका वेबसाइटहरु खोल्छु, जताततै कोरोना नै कोरोना। यो सबै देखेर समाचार पढ्न पनि दिक्कै लाग्छ फेरि जसोतसो मन मारीमारी काम सिध्यायो।
उही कोठा, उही मोबाइल हुन्छ। फेरि मेबाइल पनि के खोल्ने खोल्ने बित्तिकै त्यत्ता पनि कोरोनाका कारण फलानाको ज्यान गयो, ढिस्कानाको ज्यान गयो। यस्तै कुराहरु बढी देख्छु, यो सबै देखेर नि अत्यास लाग्छ।
छिमेकी देशको समाचार सुन्दा यो देखेर पनि दिक्कै लाग्छ, आजभोलि के भएको छ मलाई, खाली दिक्क मात्रै लाउँछ। परीक्षाको बारेमा सोच्न त मैले छाडिसकेँ। सोच्यो त म डिप्रेसमा नै जान्छु कि जस्तो लाग्छ।
साथीभाइका कुराहरुले पनि दिक्कै लाउँछ। मेरो त अब काननै पाकिसक्यो। केही गर्न मन लाउदैन, खै के भएको होला मलाई?