जिन्दगीले नेटो काटिसकेको पनि पत्तै भएन। कतिबेला हाँस्न सिकेँ, कतिबेला लरबराई तोते बोलीमा बोल्न सिकेँ, कतिबेला बामे सर्ने म हिँड्न थालेँ, आमाले को-खाई, को-खाई गर्दै खुवाउन पर्ने म, कतिबेला आफै खान सक्ने भएँ!
कतिबेला यो सबै समय बितेर गयो, न समय बितेको पत्तो भयो, न उमेर बितेकै। समय साँच्चै निकै छिटो चल्दो रहेछ। सोचेभन्दा पनि छिटो, निकै छिटो।
रुखको छहारीमा गफ गर्दै बसेका बुढा बा-आमालाई हेर्छु, ती चाउरिएका छाला र जस्तै दुख परेपनि मुस्कुराउने ती गाला। आहा! कत्ति राम्रो। फेरि हेर्छु त्यहीँ एक-दुई मिटरको दूरीमा भाँडाकुटी खेल्दै गरेका साना केटाकेटीहरू।
जिन्दगी त यही एक-दुई मिटरको दूरी मात्रै पो रहेछ। मात्रै फरक, यो एक-दुई मिटरको दूरी बीचको यात्रा, जहाँ कयौँ घुम्ती हुन्छन्, कयौँ बाधाको सामना गर्नु पर्छ, जुन समय कटाउनलाई निकै कठिन हुन्छ।
हेर्दा एक-दुई मिटरको दूरी जस्तो देखिन्छ, तर त्यो समय कसरी कट्यो, के कस्ता कुराको सामना गर्नु पर्यो, त्यो त केवल त्यही चाउरिएका छालालाई मात्रै थाहा हुन्छ। अनि त्यही चाउरिएका गालाको छालालाई तन्काएर मुस्कुराउँदै भन्ने गर्छन्, 'जिन्दगी कति छिटो बित्यो!'
साँच्चै, जिन्दगी निकै छिटो बित्ने रहेछ।
जिन्दगीको नापतौलको कुरा दिमागमा खेलाउँदै, मोबाइलमा रेडियो 'अन' गरेर इयरफोन कानमा लगाउँदै फेरि लम्कन्छु आफ्नै गन्तव्य तिर। हिँड्दै गर्दा बाटोमा यस्तै पाँच/छ वर्षको बालक देख्छु। ऊ हाँस्दै-रमाउँदै खेल्दै दौडिरहेको हुन्छ।
ढुंगा-माटोको बाटो भएको कारणले थियो कि, खै कुन्नी के भएर थियो, उसको खुट्टा कतै अल्झन पुग्छ र ऊ लड्छ। उसका वरीपरी उसले चिनेका कोही हुँदैनन्, बाटोमा हुन्छौँ त केवल ऊ र म मात्रै।
ऊ लड्यो, म झसंग भएँ। अघि लगाएको इयरफोन कानबाट निकालेँ। मेरा चलिरहेका पाइला टक्क अडियो र मेरा आँखाले लडिरहेको उसलाई नै हेरिरहेको थियो। म उसलाई उठाउन जाउँ कि के गरौँ, खुट्टा टक्क अडिएका थिए। दिमाग खाली भयो, के गरौँ? दिमागमा चलिरहेको जिन्दगीको गणित पनि सबै भताभुंग भयो।
म केवल उसलाई नै हेरिरहेकी थिएँ, अनी उसले मलाई।
'यो हेरिरहेकी दिदीले आएर मलाई पक्कै उठाउने छे' सायद उसमा यही एउटा झिनो आशा पलाएको हुन पर्छ।
म फेरि झसंग हुन्छु। यसरी लडेको बच्चा अहिलेसम्म किन रोएन? अहँ! यस्तो त हुन नपर्ने। फेरि सोचेँ, सायद उसलाई चोट लागेको थिएन होला। तर, चोट लागेपनि, नलागेपनि, बच्चाको त व्यवहार नै हो लडेपछि रुने। ऊ रोएकै थिएन।
बाल्यकालदेखि किशोर अवस्था हुँदै बुढेसकाल पुग्दासम्म अनकौँ कठिनाई झेल्नु पर्छ। कतिपय अवस्थामा आफू लड्दा उठाउन आउने थुप्रै मानिसहरू हुन सक्छन् भने कतिपय अवस्थामा लडेपछि आफै उठ्न पर्ने हुन्छ।
यस्तो समय पनि आउँछ जब आफू लड्दा चाहेर पनि अरूलाई उठाउनलाई आग्रह गर्न सकिदैन र आग्रह गर्ने स्थिति पनि रहँदैन। यो समयलाई कसैले सहन सक्छन् त कसैले सहन सक्दैनन्।
जसरी पनि अन्तयमा आफै नै उठ्नु छ भने सुरुआतदेखि नै अरुको भर पर्न किन सिक्ने? यदि आफूसँग आफै उठ्न सक्ने क्षमता छ भने, आफैले उठ्नलाई कोसिस गर्नुपर्छ।
बच्चा अझै लडिरहेकै हुन्छ। उसलाई मैले आज उठाएँ भने भोलि फेरि यसैगरी लड्दा ऊ अरु कसैको भर पर्न सक्छ र पछिसम्म पनि यही नदोहोरिएला भन्न सकिन्न। त्यसैले म आफ्नो पाइला अगाडि बढाउँछु। उसलाई उसकै अवस्थामा छोडेर म आफ्नो बाटो लाग्छु।
त्यतिकैमा उसकी आमा दौडदै आइपुग्छिन् र रुन्चे आवाजमा 'कठै! मेरो बाबु लड्यो...' भन्दै उठाउँछिन्। आफ्नी आमालाई देखेर अथवा आमाको त्यो रून्चे आवाज सुनेर, बच्चा चिच्याउँदै रुन थाल्छ।
फेरि सोचेँ जिन्दगीलाई। साँच्चै! अचम्मको हुने रहेछ जिन्दगी। मनमनै हाँसो उठ्यो। अघिसम्म रुन्चे अनुहार पनि नबनाएको त्यो बच्चा, आफ्नी आमालाई देखेपछि ठूलै चोटपटक लागेको झैं गर्दै किन रुन थाल्यो?
सानो बच्चा होस् या किशोर/किशोरी अथवा वृद्ध/वृद्धा, सबैजना रूने गर्छन्। कोही डाँको छोडेर आँसुको खोला बगाएर रून्छन् त कोही चुपचाप मनमनै रोएका हुन्छन्।
अघि लडेको बच्चाको आमाले सायद उसलाई लडेपछि सधैँ उठाउने गर्थिन् होला। त्यसैले त्यो बच्चा कसैले आएर मलाई उठाउँछ कि भन्ने सोचेर बसिरह्यो तर आफैँ उठ्ने कोसिस गरेन। आफ्नी आमा आएर उठाएपछि ऊ ठूलै चोटपटक लागे झैं अताल्लिदैँ किन रुन थाल्यो त?
फेरि सोचेँ, उसकी आमाको सट्टामा मैले सुरूमै उसलाई उठाएको भए के ऊ त्यस्तै गरी रुन्थ्यो होला त? सायद रुन्थ्यो होला। किनकि, जब हामी अरुको भर पर्छौँ, हामी झन-झन कमजोर हुँदै गएका हुन्छौँ, र मानिस तब रुन्छ, जब उसले आफूलाई कमजोर भएको अनुभूत गर्छ अथवा उसलाई केही पीडा परेको हुन्छ।
जिन्दगीको यात्रालाई बुझ्ने कोसिस गर्दै गर्दा कुनै यस्तो क्षण आउँछ जब यो यात्रामा पाइला अगाडि बढाउँदा बढाउँदै बाटो त सिध्दिसक्छ, तर जिन्दगीलाई बुझ्न सकिँदैन। कति मिस्टेरियस् रहेछ जिन्दगी।
आफ्नो पाइला अगाडि बढाउँदै फेरि रेडियो सुन्नको लागि इयरफोन कानमा लगाउँछु। रेडियोमा बज्छ गायक कर्ण दासको आवाजमा रहेको गीत, 'जिन्दगीको के भरोसा... यो त सानो खेलौना हो...।'