के म शाखा अधिकृतले घर जोड्न सक्छु?
म गाउँको मान्छे। गाउँमै जन्मिएर उतै हुर्केबढेको। १७ वर्षदेखि घर बाहिर छु। यसबीच एक दर्जन डेरा सराइको क्रममा गाउँ त बिरानो भयो नै, सहर आफ्नो हुन सकेन। डेरामै बसेर यो लेख्दै छु।
सुरुका दुई वर्ष अध्ययनलाई छोडेर घर बाहिरका १५ वर्ष म कुनै न कुनै इलममा छु। करिब आठ वर्षदेखि शाखा अधिकृतको जागिर खाँदैछु। कमाइ र पदीय हिसाबले त त्यस अघि पनि त्योभन्दा कम थिएन। तर यहाँ शाखा अधिकृतकै चर्चा गरौं।
आम नेपाली समाजले चिनेजानेको मात्र होइन, मानेको पद हो शाखा अधिकृत। कलेज नदेखेका बरु छिट्टै खाडी र लाहुर गएका मेरा सहृदयी मित्रहरुको अगाडि इज्जत धान्न सकेको भए सम्भवतः म शाखा अधिकृत नै बन्ने थिइनँ। शिक्षक नै रहन्थें किनकि त्यसमा जो खुसी र आनन्द म पाउँथेँ।
त्यसैले, ठूलै सामाजिक दबाबमा परेर बनेको शाखा अधिकृतकै चर्चा गर्न चाहेको हुँ।
हाम्रो कर्मचारीतन्त्रिय पदसोपानमा सबैभन्दा उच्च पद मुख्यसचिव हो भने निजामती तर्फ कार्यालय सहयोगी सबैभन्दा तल्लो पद। मुख्यसचिवदेखि कार्यालय सहयोगीसम्मको पदश्रृंखलामा शाखा अधिकृत बीच तिर पर्छ।
त्यस हिसाबले शाखा अधिकृत नेपालको निजामती सेवाको प्रतिनिधिमूलक पद पनि हो। सँगसँगै, तलबकै कुरा गर्ने हो भने पनि ग्रेडसहित मेरो तलब मुख्यसचिव र कार्यालय सहयोगीको औसत नै छ।
वर्तमान निजामती सेवा ऐनको प्रावधान अनुसार १८ वर्षदेखि ५८ वर्षसम्मको उमेर समूह यसमा आवद्ध हुन सक्छ। म अहिले ३८ वर्षमा चल्दैछु। त्यस हिसाबले म निजामती सेवाको मध्यबिन्दुमा छु। आफूभन्दा दुई दशक अघिका देखि दुई दशक पछिकासम्म मेरा सहकर्मी छन्।
बाउआमा जस्ता पनि छन्। छोराछोरी जस्ता पनि छन्। तर उमेरको प्रसंग अरु छुट्टै दुई हिसाबले उठाएको छु। पहिलो, यो उमेरमा अब घर बनाउन ढिलो भइसकेन? दोश्रो, के ऋण तिरी भ्याइन्छ त, बहाल छँदै? अर्थात् बेहाल नहुँदै?
यी सबै औषतको अर्थ म निजामती सेवाको राम्रो प्रतिनिधि पात्र पनि हुँ। उस्तै प्रकृतिको योग्यता भई सरकारी कोषबाटै तलबभत्ता खाने हुँदा अन्य सरकारी सेवालाई पनि निजामती सरह लिन सकिन्छ। त्यसो हुँदा म नेपालको समग्र सरकारी सेवाको प्रतिनिधि हुन लायक भएँ।
आउनुहोस् अब विषय प्रवेश गरौँ-
घर जीवनको अनिवार्य आवश्यकता हो। कहिले हो एकताका फुर्सदमा गुगल गर्दा भेटेको थिएँ, गैरव्यसायिक हिसाबले घर मानिसको जीवनको सबैभन्दा ठूलो खर्च हो, लगानी हो।
एक्काइसौं शताब्दिको आधुनिक समाजमा एउटा सुन्दर घर कसको सपना नहोला? मेरो पनि पक्कै छ। तर के म शाखा अधिकृतले घर जोड्न सक्छु? आम सरकारी कर्मचारीले घरघडेरी गर्न सम्भव छ त?
कमाइको स्तर
ग्रेडसहितको मेरो तलबभत्ता पैंतालीस हजार छ। सरकारी कर्मचारी भएपछि अन्य कुनै पेशा व्यवसायमा मेरो संलग्नता छैन। नियमानुसारको अनिवार्य कोषकट्टि पश्चात हात पर्ने चारलाई शुन्य चालिस हजार हो।
खर्चको आकार
मुख्य शिर्षकहरुमा मासिक खर्च यस प्रकार छ-
घरभाडाः १२०००
खानाः १५०००
छोराको स्कुल खर्चः ५०००/-
औषधी उपचारः २०००/-
लत्ताकपडाः ४०००/-
इन्टरनेटः १०००/-
विविधः १०००/-
बचतको अवस्था
चालु खर्चयोग्य आम्दानीबाट बचत हुने कुनै सम्भावना छैन। गत आठ वर्षमा तलबबाट कट्टा भएको, सरकारले थप गरिदिएको र सोमा प्राप्त ब्याज आम्दानी समेत गरी दश लाखभन्दा कम रकम विशुद्ध बचतको रुपमा रहेको छ। जुन वर्तमान प्रावधान अनुसार चाहिए पनि झिकेर चलाउन पाइने होइन।
नियमानुसार ब्याज तिर्ने गरी ऋणको रुपमा लिएर चलाउन मात्र सकिन्छ। र सोधी हालौं, लगानी र व्यवसाय नगर्ने, नियमित आम्दानीले खाजासमेत नखाइ जीवन चलाउने म शाखा अधिकृतले निजी आवासको लागि लिने ऋणको ब्याज कसरी तिर्ने? अनि ऋण कसरी तिर्ने?
घरपरिवारको अपेक्षा
हुन त त्यही घर नभएर यो सारा गन्थन गरिरहेको छु। घरको अपेक्षा भनेर केलाई भन्ने? आफू जन्मिदाको घर त छैन नै। परिवार पनि बिग्रह हुँदै गएको जस्तो लागिरहन्छ। त्यसको पनि गतिलो कारण त्यही शाखा अधिकृत नै हो।
त्यति ठूलो शान, मानको जागिर खाएर आफ्नालाई नहेरेकैले हो सम्बन्धहरु फिका हुँदै गएका। तैपनि, आफूसँग दिनानुदिन रहने बस्नेलाई परिवार अनि यही डेरालाई नै एकछिनलाई घर भनिदिएको हुँ मैले।
हुन त छ वर्षको सानो छोरालाई यो ठूलो पाँच तले हाम्रै घर हो भनेर भनिदिएको छु मैले। बुझ्ने भएपछि ऊ पनि मन दुखाउला, त्यत्तिको जागिर खाएर बाउले एउटा घर समेत जोडेनछन् भनेर!
समाजको नजर
आयका हिसाबले नेपाल अत्यन्तै गरिब मुलुक हो। रोजगारीका न्यून अवसर, न्यून आय यहाँका साझा विशेषता नै हुन्। भनिन्छ, विश्वकै न्यून मध्येको तलबभत्ता छ। तर कतिपयले यसैबाट गरेको 'आश्चर्यजनक उपलब्धी' देखेर हुनुपर्छ, सरकारी कर्मचारी, अझ त्यसमा पनि निजामती कर्मचारीलाई सुबिधासम्पन्न एलिट वर्ग ठान्नेको कमि छैन यहाँ।
त्यसैले, यतिका वर्ष शाखा अधिकृत भई खाँदा कति तिर के-के मात्रै सम्पत्ति जोडेन होला यसले भन्ने छ कतिलाई। मुखै खोलेर सोध्ने पनि कति हो कति! तर सानो छोरालाई डेरालाई घर भनेर ढाँट्नुको पीडा आफैंसँग छ।
खाजा पानीको सुनिश्चितता बिनाको जीवन आफैसँग छ। स्वास्थ्य चेकजाँच र ओखतीउपचार बिनाको जीवन आफैसँग छ। वर्षौंअघि आमाले भन्ने गरेको सम्झन्छु-जे छ, यही मनमा छ। समाजको नजर त छ तर चिन्तन छैन कि जस्तो छ।
घर बनाउन चाहिने लागत
यी सबै गनगनका बीच खुसीको कुरा पनि छ। जस्तो कि घर बनाउन कति खर्च लाग्छ भनेर सोध्न कुनै ईञ्जिनियर वा ठेकेदारकहाँ गइरहनु पर्दैन। समाचारमै आउँछ। लेखहरु नैं प्रकाशित भइरहन्छन् रोचक शिर्षकमा।
'चार कोठे पक्की घर बनाउन कति खर्च लाग्छ? अढाई तले घर बनाउन कति लाग्छ? तीनकोठे पक्की घर बनाउन रडमा कति खर्च हुन्छ? दुई तले घर बनाउन सिमेन्टमा कति खर्च हुन्छ?' आदि आदि।
तर समग्रमा पच्चिस, तीस लाख घटीको मूल्य मैले आजसम्म सुनेको छैन। जुन म शाखा अधिकृत भएदेखि बुझेको तलब जोडेर पुग्दैन।
बुझ्नु पर्ने कुरा अर्कै छ। यो पच्चिस, तीस लाख भनेको एक तले, सम्भवतः तीनकोठे घर निर्माणमा मात्र हुने खर्च हो। र घर हावामा ठडिदैन। माटो चाहिन्छ। सहर बजारमा घडेरी पचास, साठी लाखले आउँछ कि भन्नु बदनामी बाहेक केही होइन। अब त करोडले पनि इज्जत धान्नेवाला छैन।
मेरो बाध्यता
आम्दानी बढाउने केही छैन। मूल्य घटाउने कोही छैन। डेराको जीवन मेरो बाध्यता हो, रहर होइन।
मेरो बुझाइ
म मात्र होइन। म नेपालको आम सरकारी सेवाको उपयुक्त प्रतिनिधि पात्र हुँ। मेरो तलबभत्ताले जीवन गुजार्न त सक्छु तर रम्न सक्दिनँ। निदाउन सक्छु तर सपना देख्न सक्दिनँ। चौबीसैं घण्टा सरकारको अधिनमा रहन पर्ने कानुन पढी, बुझी, स्वीकार गरी हरपल जागा रहेर यो देशलाई सेवा गर्ने शपथ लिएको एक राष्ट्रसेवक हुँ। यो यथार्थको चित्रणलाई कसैले निराशा नभनोस्। यदि भन्छ कसैले भने त्यो ऊ स्वयमको आडम्बरबाहेक केही होइन।
पिरामिड आकारको कर्मचारीतन्त्रमा शाखा अधिकृत मध्यमस्तरको पद भए पनि संख्याका हिसाबले कम्तीमा सत्तरी प्रतिशत सरकारी कर्मचारीको अवस्था मेरोभन्दा राम्रो हुनसक्ने देख्दिनँ। केही अपवाद त हुन्छ नै। जस्तो कि पुर्ख्यौली घर या सम्पत्ति भएकाहरु।
रासन, आवास लगायतका भत्ता वा क्वार्टर सुबिधा पाएकाहरु। घरपायक जागिरेहरु। तर घर नै नभएका वा घरबाट टाढा डेरा गरेरै गुजारा गर्ने मजस्ता लाखौं राष्ट्रसेवकहरुको हकमा वर्तमानको आँखाबाट हेर्दा जीवनमा एउटा घर जोड्न सम्भव छैन। यदि छ भन्छ कसैले भने बुझाइदेओस्।