गर्मीको समय त्यसमा पनि जेठ। सायद पानी कमै पर्ने अनि चरक्क चर्किने गरी घाम लाग्ने महिना। तर आज बिहानैदेखि पानी पर्लाजस्तो गरेको छ तर परिसकेको छैन।
मन्द गतिमा तातो हैन, चि...सो बतास लागेको छ। फूलका, रूखका, मकैका पातहरू लय मिलाएर हल्लिएका छन्। म चियाको तातो चुस्किमा चिसो बतास खाँदै मजा लुटिरहेछु। मौसमले भनिरहेछ, हिजोजस्तो अल्छी नगर्नू।
अल्छी र मेहनतको कुरा आउने बित्तिकै हजुरबाको याद आउँछ, अनि फर्कन्छु म बाल्यकालतिर। हाम्रा हजुरबालाई सबले पण्डित बा भनेर चिन्थे। उहाँ पढेलेखेको र बुद्धिमानी, यथेष्ट जग्गाजमिन भैकन पनि ज्यादै सरल र सबैलाई माया गर्ने भएकोले सबैले आदरभाव राख्थे।
पहिले पञ्चप्रमुख हुनुन्थ्यो रे। पञ्चायत व्यवस्था हटेपनि झैँझगडा या केही अप्ठ्यारो परिस्थितिमा हजुरबाको उपस्थिति अनिवार्य थियो। यति सरल ढंगबाट समाधान गर्नुहुन्थ्यो कि कोही रूष्ट हुँदैन थिए।
'पढेलेखेका मान्छेको छाँटकाँटै बेग्लै! पण्डित बाले गर्दा गाउँमा स्कुल खुल्यो। साह्रै असल मान्छे, आँखामा राख्दा नि नबिझाउने।' मेलापात, अर्मपर्म, सभाभेला, छलफल मान्छे जहाँ भेट हुन्छन्, यस्तै कुरा सुन्न पाइन्थ्यो।
अम्मलको नाममा चिया बाहेक केही थिएन। दौरा सुरवाल, इस्टकोट अनि इस्टकोटको माथिल्लो गोजीमा रातो र कालो दुईवटा कलम, शिरमा ढाकाटोपी, खुट्टामा जुत्ता।
'कति चिटिक्क परेर हिँड्छन् यी पण्डित बाजे!' दिनकै देख्दा नि एकछिनसम्म हेर्थे मान्छेहरू।
मलाई ठूलो भएर अरू केही गर्नु थिएन, मात्र हजुरबाजस्तो हुनु थियो।
शान्त र सुन्दर गाउँमा थिए, रामप्रसाद काका। उनले न हजुरबा न अरु कोही, कसैले भनेको मान्दैनथे। दिनभर तास खेल्ने अनि बेलुका आएर काकी कुट्ने। उनको काम भनेकै यति।
हाम्रो घरको दुई घर पर थियो उनको घर। एकदिन झगडा अलि लामो समयसम्म चल्यो। हजुरबा जानु भयो तर उल्टै हप्काएर जाइलाग्नै आँटेपछि घरायसी मामिलामा के बोल्नु भन्दै फर्किनुभयो।
मैले एकदिन सोधेँ, 'काकाले रक्सी खानुहुन्छ र हजुरबा? सरले आज स्कुलमा यस्तै पाठ पढाउनु भएको थियो।'
'कहाँ खानू बाहुन भएर रक्सी! खाँदैन।'
'त्यसो भए यसरी कुटपिट गर्न कसरी सक्नुभयो त?' मैले सोधेँ।
'कोही-कोही मान्छे यस्तै हुन्छन्, साह्रै रिसाहा अनि अति अल्छी। यो मान्छे साह्रै अल्छी छ, कामको नाममा ढलेको सिन्को उठाउँदैन। विचरी विष्णुवतीले कति दुःख गरेर घर धानेकी छे। त्यसलाई अलिकति सर्म छैन' अलिकति जंगिँदै हजुरबाले भन्नुभयो।
हजुरआमाले चिया दिँदै छेवैमा आएर भन्नु भयो, 'केटाकेटीसँग कस्तो कुरा गरेको होला हजुर पनि। मेरो मनमा त्यसकै कुरा खेलिराछ क्यारम त नि! एक्लै भएपनि भुटभुटिन्थेँ, यसैले सोधी फेरि।'
हजुरआमाले भन्नु भयो- 'काइला बा कान्छो लिएर मधेस झरे। मलाई यी पहाडको पाखो मात्रै दिए भनेर यिनको रिस बढ्यो। साह्रै सराप्छन् बालाई।'
हजुरबाले भन्नुभयो, 'कान्छो मेहनती थियो, भारत गएर पढ्यो। अलिअलि पैसा कमायो, बुद्धि पुर्याएर झर्यो मधेस। बा, खान जता सजिलो हुन्छ उतै लागे। आफ्नो पुर्ख्यौली त सब यही रामेलाई त दिएका छन्। केको हेप्नु नि! भाइले दुःख गरेर कमाको सम्पत्तिमा डाहा गर्छ, अल्छी रामे।'
'तेरो छोराले नि जानी भन्छ अब यो गाउँ छोडेर, कता जानू? जीन्दगीभरिको पसिना र समय यही माटोमा गयो। साह्रै माया लाग्छ मलाई त यहाँका मान्छे र यो माटोको,' हजुरबाले लामो सास तान्दै सुस्केरा हान्नुभयो।
मलाई गाउँ छोडेर मधेस झर्ने दिन हजुरबाको खुब याद आएको थियो। सायद खबर स्वर्गसम्म पुगेको भए साह्रै दुखी हुनु भयो होला बाबासित।
म हजुरबाको कथाहरु सुन्दासुन्दै काखमै निदाउथेँ। एकदिन कथा भन्नुको सट्टा मलाई के-के भन्नुभयो।
'अल्छी कहिल्यै नहनू, समय कहिल्यै यत्तिकै खेर नफाल्नू, बुझिस्? सकेको पढ्नू।' सायद हजुरबाले आफ्नो शरीरको तागत भित्रबाट घट्दै गएको थाहा पाउनु भएको थियो।
'तैले म छोरी हुँ भनेर कहिल्यै नतर्किनू कान्छी, जे पनि गर्न सक्छेस्। बाठी छेस् तँ। छोराले भन्दा बढी गर्नू। विष्णुमतीजस्तो साहसी हुनू।' त्यो दिन हजुरबाले यस्तै कुरा भन्नुभयो।
ती रामप्रसाद काकाको छोराछोरी भए। उमेर घर्कँदै छ। बानीमा भने केही परिवर्तन आएन। उनकी जेठी छोरी सीमा र म खुब मिल्थ्यौँ। उसैले सुनाएकी थिई- 'बाले कस्तो पिट्नु हुन्छ, मलाई त घर बस्नै मन लाग्दैन।'
रुन्थी विचरी मसँग। म हजुरबालाई भन्थेँ।
'त्यो रामे एकोहोरे छ, कसैको कुरा सुने पो। कसरी पिट्न सक्छ कुन्नी आफ्नै सन्तानलाई! त्यसको मनमा त दयामाया भन्ने कुरै छैन। कस्तो सैतान भयो गधा!'
बिना कारण हप्काउने मान्छे अहिले त झन् ३/३ जना छोरी मात्रै पाइस् भन्ने कुरो भेटाएको छ, के छोड्थ्यो।
एकदिन विष्णुमती काकी रूँदै हाम्रो घर आइन्। 'लौ न बा मलाई बचाउनु' भन्दै!
'उनको रिस साह्रै बढेछ बा आज, मलाई काट्छु भनेर हँसिया लेर हिँडेछन्।' हाम्रो घरसम्म आएनन्, हजुरबाको अगाडि अलिअलि डराए कि।
तासमा अलिक धेरै पैसा हारेछन्। 'खर्च चलाउन गाह्रो भयो। पैसा छ भने दिनुस् न अलिकति' भन्दा 'मसँग किन माग्छेस्?' भन्दै हकारेका रैछन्।
जोडको तोडले बोले, विवाद बढ्यो अनि यो गति भयो। उनका आँखा ओभाएका थिएनन्।
'कति आभागी रैछु नि आमै म त, दिनदिनैको यो किचलो। मर्दे नि आनन्दै हुन्थ्यो त्यो मुर्दार!' रिस र पीडाको समिश्रण झल्किन्थ्यो मुहारमा।
'अरू भए हिँडिसक्थे, मै सोझी बसेछु मुर्दारको पिटाइ खाँदै' उनले हजुरआमाको काखमा लुटपुटिँदै दुख पोखिन्।
यस्तै प्रकारले दिनहरु बित्दै गए। हजुरबाले संसार छोडेपछि हामी पनि मधेस झर्यौं। बाबा-आमा पनि बेलाबेला उनकै कुरा गर्नुहुन्थ्यो। कस्ता अल्छी र रिसाहा थिए, कस्ता छन् कुन्नी अचेल!
मलाई नि जान्ने इच्छा हुन्थ्यो। पछि ३ वटा छोरा पाइछिन् काकीले। रामे काका विस्तारै शान्त हुँदै गएछन्। काम गर्न भने अझै अल्छी गर्दा रैछन्, खान बाहेक उनलाई जे गर्न नि अल्छी लाग्छ रे अझै!
काकीको दुख देखेर कसैले काममा लगाइदिए भने पनि झ्याउ लाग्यो भन्दै छोडिदिन्छन् अरे। २ महिनाभन्दा बढ्दा कतै टिक्न सकेका रैनछन्। बाबा कूल पूजाको लागि गाउँ जाँदा यति कुरो थाहा पाउनु भएछ। छोरीहरूको विवाहको तारताम्य सबै विष्णुमतीले मिलाइछन्।
'कोही त कस्ता हुने रैछन्! यति बुढो हुँदा पनि रामे दाइको बुद्धि आएन। लाजसर्म भन्ने लागेन। कस्तो जिम्मेवारी महशुस नभाको होला,' बाबाले भन्नुभयो।
आमाले थप्नु भयो, 'आमाले मात्रै पनि सब धान्न सक्छन्, गर्न सक्छन्। देखाइदिइन् विष्णुमतीले।'
म हिजो गरेको अल्छीपनालाई सम्झिँदा सम्झिँदा अहो! कताकता पुगेछु।
हजुरबाको आवाज कतैबाट आकाशवाणी भएर मेरो कानैमा आयो, 'हिजो दिनभरि फेसबुक र ट्विटरमा भुलेर पूरै समय बर्बाद गरिस् है तैले! मैले रामेको कुरा सुनाएर कहिल्यै अल्छी नगर्नु भनेको हैन तलाई?'
हजुरबाको आवाजसँगै मुसुमुसु हाँस्दै कामतिर लागेँ।