कोरोना महामारीको पहिलो लहरले कलम टिप्न सिकायो र कोरोनाको दोस्रो लहरले कलम चलाउन। कार्यहरु कम, समय ज्यादा! यो कोरोना कालमै हुने गर्छ सायद।
खाली समय प्रशस्त भएपछि मनमा अनेक कुराहरू खेल्दा रहेछन्। अझ आफ्ना नजिकका वस्तुहरुले विगतलाई पटक-पटक सम्झाइरहँदो रहेछ। विगत सबै बिर्सन पनि नसकिने, सबै सम्झन पनि नसकिने! यही समयलाई सदुपयोग
गर्दै विगतलाई लेखाइकै माध्यम जीवन्त बनाउने चेस्टा गरियो।
पहाडी भेग लामसागुजिरी सडक खण्डभन्दा अलि भित्र, केही समथल भूगोल मिलेको जमिनको बनावट, बस्ती
बसिहाल्यो। यस्तो सुगम बाढी,पहिरो सबैबाट मुक्त देखेरै होला हाम्रा पुर्खाहरुले पनि हाम्रो गाउँको बनावट त्यही कोरेछन्।
करिब सय हाराहारी घरधुरीको बसोबास भित्र म पनि अटाउन सकेको थिएँ। सायद गाउँको बीचतिर सानो खुला जमिन थियो, पोखरी जस्तो। बर्खामा पानी जम्ने हिउँदमा खाली। त्यही हाम्रो खेल्ने चौर बडो सुगम थियो।
बर्खामै कुनै बेला पानी कम हुँदा बच्चामा खेल खेलिन्थ्यो, चिप्लेर कति लडियो लडियो। लड्नुको सबैभन्दा पीडा दुखाइभन्दा नि घरमा कसरी चोट लगाइस् भनेर गाली खानुमा बढी हुन्थ्यो। साउन तिर पोखरी भरिन्थ्यो, उबेला त त्यही पोखरीमा डुबेर गाउँकै एकजना मान्छे मरेको कुरा पनि सबैले सुनाउँथे।
हिउँदमा गाउँका सबै केटाकेटी जम्मा हुने ठाउँ त्यही। शनिबार होस या स्कुल छुट्टी भएपछि, हामी सबै त्यही भेला हुन्थ्यौँ। छुर, तुतु, गट्टा, डन्डिबियो, कबर्डी, फुटबल, भलिबल, घरबनाइ जम्मै खेल त्यही अटाउँथे।
गुच्चा व्यापक चल्थ्यो। गाउँ बाहुल्यता ढुंगेल र दाहालको थियो। टिम विभाजन पनि त्यसरी नै हुन्थ्यो, अचेल पनि त्यस्तै छ। दाहाल जति एक टोलि, ढुंगेल अर्को। प्रायः फुटबल चल्थ्यो, ढुंगेल भर्सेस दाहाल।
पाँच-पाँच रुपैयाँ बाजी, रेफ्री बिनाको, ढुंगाको पोस्ट्मा, गुल्छे त हुनि नै भयो। झगडा धेरै हुन्थ्यो तर हात हालाहाल कहिल्यै परेन। गुच्चा पनि खेलियो धेरै। सुका गोटा गुच्चा पाइन्थ्यो। बुवाको गोजिबाट एक रुपैयाँ चोरेर चार वटा किनेर बीस वटासम्म नि बनाइन्थ्यो।
हार्दा साह्रै मन खिन्न हुन्थ्यो। गाउँकै एकजना दाइले त जितेर एक बोतल गुच्चा बनाउनु भाको थियो। डन्डिबियो खेल्दा साथीको आँखामा लागेर आखै सुन्नेर ऊ दुई दिन स्कुल गएन। छुर सारै मज्जा हुन्थ्यो। यो केटा भर्सेस केटी चल्थ्यो।
हामीले धेरै जित्थ्यौँ। उनीहरु हारेपछि रिसाउँदै नखेल्ने भन्दै घर कुद्थे। पर गाउँबाट कहिलेकाहीँ एकजना आमा हाम्रो घरमा आउँदा हामीलाई गुच्चा ल्याइदिनु हुन्थ्यो।
साह्रै खुसी भएर दाइ र म घर छेउमै खेल्थ्यौँ। बिदामा पयू खान जाँदा साथी रुखबाट लडेर हातै मर्केको अस्ति जस्तो लाग्छ। अहिलेको पिकनिक जस्तो सानोमा वनभात खाने चलन पनि थियो, घरबाटै सबैथोक बोकेर गएर खाँदा रमाइलो लाग्थ्यो। दाइको खरी गएको मादलले नि त्यतिबेला खुबै मनोरञ्जन दिन्थ्यो।
स्कुल पढाइ झनै बेजोड्को हुने। लगभग आधा घण्टा हिँडेपछि स्कुल पुगिन्थ्यो। हाम्रो गाउँबाट टन्नै हुन्थ्यौं,अझै हाम्रो ब्याचबाट धेरै थियौँ। सँगै जाँदाआउँदा रमाइलो हुन्थ्यो। बर्खा समयमा बाटाभरी घाँस पलाउने, हिँड्ने बाटोको घाँस दुईपट्टिबाट बाँधेर पछि आउने साथीहरुलाई खुबै लडाइन्थ्यो।
खेतको बाटो पनि पर्थ्यो, कोही-कोही लडेर खेतमै झर्थे। स्कुल जाँदा फर्केर घरै आउन पर्ने हिलोले। बाटोमा जाँदाजाँदै लप्सीको रुख थियो। लप्सी कस्ले धेरै झार्ने भन्ने हुन्थ्यो।
त्यसैले कहिलेकाहीँ स्कुल ढिलो पुगिन्थ्यो, सरहरुले कराउने पनि झनै। फर्कँदा कुनै दिन पानी पर्यो भने गाह्रो हुने। छाता प्रायः लगिँदैन थियो, भिज्दै कुँदेर आउनु पर्ने।
धेरै माछा टिपियो भुइँको, धेरै घुडा धसारियो लडेर। एक दिन त खहरे खोला बढेर एकमा पढ्नी बैनीलाई झन्डै नबगाएको। अचेल त त्यसरी खोला उर्लेर आउन पनि छोडे। जाँदा एकजनाको ढुंगाले हानेर फर्सी फुटाइयो बच्चामै, घरमा ममीलाई पो आएर भनेछन्, झन्डैले मारे घरमा।
घरभन्दा अलि टाढा, अलि ठूलो खोला थियो। घट्टेखोला। बिदा पर्दा प्रायः पौडी खेल्न गैन्थ्यो। कहिलेकाहीँ त स्कुल सकेपछि घरमा ममीले पकाएका गहुँको रोटी टोक्दै, म दाइ र अर्को दाइ साढे चारतिर गएर एक हानेर साढे पाँच तिर फर्कन्थ्यौँ।
एक शनिबारको दिन पौडी खेल्नै भनेर हामी गाउँका प्रायः केटाहरु अलि तलको ठूलो खोलामा गएका थियौँ। पौडी खेल्न जाँदा प्रायः नसोधी गैन्थ्यो,सोधे जान पाइन्न थियो।
सबैजान खेल्दै थियौँ, घरकाले थाहा पाएछन्। सबैका बुवाहरु हामीलाई खोज्न खोलामै आएछन्। हामीले देखेपछि टाप भाग्यौँ। कुटाइ खाने डरले सबै जना चारतिर भाग्न थाल्यौं। म पनि चप्पल त्यही छोडेर भागेँ। सबै तितरबितर भयौँ।
त्यो दिन कसैको चप्पल हराए, कसैले गन्जी उहीँ छोडेछ, कसैको चप्पल चुँडिएछ। एकजना मेरै साथीलाई त घरमा ल्याएर उसको बुवाले बाँधेर कुटेछन्। भोलिपल्ट विचरोलाई ज्वरो आएर स्कुल नै गएन।
यस्तै एक बेला काफल खाने निहुँले जंगल भित्र जाँदा-जाँदा माथि तामाङहरुको मान्छे पोल्ने ठाउँमा पुगिएछ। हामी डराएर कुलेलाम ठोकेका थियौँ।
ब्यारिङ बनाएर खेल्ने चलन पनि थियो। माथि अलि टाढै जिरी जाने बाटोमा पिच गरेको रोड थियो। उकालामा नगुड्ने, ओरालोमा कुदाउथ्यौँ। लोकल बसहरु कुद्थे, धन्न हानेन गाडीले। धस्रेर भएका चोटको खत अझै पनि खुट्टामा प्रष्ट देखिन्छ।
घरको काम पनि गरिने। एक दिन जंगलमा घाँस काट्न भनेर तीन जना साथीहरु हिड्यौँ। बिहान दश बजे हिँडेको घाँस खोज्दा खोज्दा झाक्रीकाठ लिएर आयौँ। घर आएपछि थाहा भयो , त्यो घाँस त बाख्राले खाँदो रैनछ। धेरै गाली खाइयो।
गाउँमुनि नै सल्लाघारी थियो। सल्लामा बाँस चिप्लने। बासको भाटा बनाएर हामी त्यही स्केटिङ भन्दै चिप्लेटी खेल्थ्यौँ। घाँस माडेर खत्तम हुन्थ्यो, दह्रो सराप्थे।
दाहालको दिवाली चल्दा धामी उफ्रन्ते, हामी पनि निमाराको रुखमा सल्लाको पातलाई चमर बनाउँदै धामी भनेर उफ्रन्थ्यौं।
सब सम्झेर नसकिने, सम्झेको लेखेर नअटाइने। यस्तै परिवेशबाट हुर्कँदै आज जर्मनीसम्मको यात्रा तय गरियो। एक्लो हुँदा यादहरुले अत्यन्तै सताउने। नेपालीपन नेपाली माया बिर्सन कहिल्यै नसकिँदो रहेछ।