दोस्रो लहरको कोरोना संक्रमणले आम नागारिकलाई दिनदिनै भयवित बनाइराखेको छ। सरकारले समयमा संक्रमण रोकथामका लागि पर्याप्त पूर्व तयारी नगरेका कारण अहिले संक्रमण दर उच्च विन्दुमा दिनदिनै उक्लिरहेको छ भने मृत्यु हुनेको संख्या त्यतिकै मात्रामा बढ्दो क्रममा छ।
विषेशगरी बालबालिका र युवा वयस्कहरुलाई दोस्रो लहरको कोरोना संक्रमणले निकै अप्ठ्यारोमा पारिरहेको छ। सामाजिक संजालमा श्रद्धाञ्जली दिनेहरुको होड चल्दा त्यसले थप त्रसित हुने वातावरण सिर्जना गरिरहेको छ।
दोस्रो लहरको संक्रमण आउन सक्ने र त्यसले भयावह अवस्था पनि ल्याउन सक्ने कुरा विज्ञहरुले पटक-पटक बताइनै रहेका थिए। तर सरकारलाई विज्ञहरुको कुराले कहिलै छोएन। दिनमा आठ/नौ हजारको दरमा संक्रमितहरु फेला परिनै रहेको अवस्था छ।
एक लाखभन्दा बढी संक्रमितहरु होम आइसोलेसनमा उपचार गरिहेको सरकारले बताइरहेको छ। संक्रमण रोकथामका लागि पूर्व तयारी गर्ने समय सरकारसँग पुग्दो थियो तर सरकारले यसतर्फ गम्भीर भएर योजना ल्याउने र काम गर्ने सोचै बनाएन।
राजनैतिक खिचातानीमा नै सरकार रुमालिएर समय बितायो जसको परिणाम आम नागरिकले अहिले भोगिरहेका छन्। त्यसै निमुखा हुँदाखाने नागारिक जहिले पनि मुलुकमा कुनै संकट देखा पर्दा पहिलो शिकार उनीहरुनै हुने गरेका थुप्रै उदाहरणहरु हामी सामु छन्।
महामारी होस्, राजनैतिक आन्दोलन होस् या कुनै द्वन्द्व, सबैभन्दा धेरै पीडामा हुने नै हुँदाखाने जनताहरु नै हुन्। संक्रमण तीव्र भएसँगै अक्सिजनको हाहाकार त्यत्तिकै मच्चिरहेको छ।
अक्सिजन नपाएर धेरैको ज्यान गइसकेको अवस्थामा सरकारको काम जनताको आँखामा छारो हाल्ने भन्दा अरु केही भएको छैन। संक्रमण तीव्र हुनुमा नागारिकस्तरबाट पनि केही प्रतिशत कमीकमजोरी नभएका हैनन् तर सरकारले नागारिकलाई दोष देखाए उम्किन मिल्दैन।
मुलुकभरि तीव्ररुपमा फैलिएर नागारिकलाई छटपटाउँदै मृत्युको मुखमा पुर्याइरहेको कोरोना भाइरस माहाब्याधी चाँडै हराउने छाँटकाँट पक्कै पनि छैन। यसको प्रभाव अझै केही समय रहने कुरा विज्ञहरुले भनिरहेका छन्।
संक्रमितहरु अक्सिजन नपाएर मर्नु परिरहेको अवस्थामा कोरोना भाइरसको बारेमा समाजिक सञ्जालमा आएका अत्यास लाग्ने खबरहरुले संक्रमितहरुलाई झनै आतंकित बनाइरहेको छ। समाजिक सञ्जालमा अहिले श्रद्धाञ्जली दिनेहरुको होड नै चलेको छ।
मृत्यु भएको सेकेन्डभरमा समाजिक सञ्जालमा तस्बिर पोस्ट भइसकेको हुन्छ। आफ्ना आफन्तले टाढा छन् भने फेसबुकमा पोस्ट भएको आफन्तको फोटो देखेर त्यही बेहोस हुनेहरु धेरै छन्। यस्तो माहाव्याधीको अवस्थामा संक्रमण भएर मृत्यु हुनेहरुको फोटो सामाजिक सञ्जालमा राख्नुभन्दा पहिला निकै विचार पुर्याउनु पर्ने देखिन्छ।
संक्रमणबाट निको दर पनि त छ। निकै नै नभएका त हैनन्। निको हुनेको संख्या कसैले भन्दैनन् तर मृत्यु हुने वित्तिकै फेसबुकमा श्रद्धाञ्जली दिन हतारो हुन्छ। यसले मनोवैज्ञानिक रुपमा संक्रमण भएर होम आइसोलेसनमा बसिरहेकाहरुलाई असर गरिनै रहेको हामीलाई पत्तो नै हुँदैन।
संक्रमण भएर मृत्यु हुनेको आफन्तहरुलाई फोनबाट पनि श्रद्धाञ्जली दिन सकिन्छ। वयस्क मान्छेहरुको तस्बिर पोस्ट गरेर श्रद्धाञ्जली दिनेहरुले फेसबुकका भित्ताहरु भरिएका छन्। कोरोना संक्रमण भएकाहरुले आत्मबल दरिलो बनाउनु पर्दछ।
चिन्ता लिनु हुँदैन। म यसलाई जसरी पनि जितेर छाड्छु भन्ने सोच राखेर आफ्नो इम्युनिटीलाई बढाउनका लागि सकरात्मक समाचार हेर्ने सकरात्मक विचारका साथ कोरोनालाई जित्नका लागि स्वाथ्य लाभ गरिरहेको अवस्थामा श्रद्धाञ्जलीको होड देखेर मान्छे त्यसै आत्तिएर तत्काल आइसियू भेन्टीलेटरमा लानुपर्ने अवस्थाका घटनाहरु धेरै बढिरहेका हुनाले सरकारले सामाजिक सञ्जालको दुरुपयोग र भयवित बनाउने किसिमका समाचारहरुलाई नियन्त्रण गर्न आवश्यक छ।
यो अवस्थामा त सबै क्षेत्र वर्ग तहबाट सकरात्मक सन्देश दिने किसिमका मात्र समाचारहरु राख्नु पर्दछ। त्यसै संक्रमणले आत्तिने बनाइराखेको बेलामा तपाई हाम्रो सामान्य व्यवहारले पनि आत्तिने वातावरण सिर्जना भयो भने स्थिति झन् भयावह हुने पक्का नै छ।
आइसियूमा भएकोलाई भेन्टिलेटरमा छ भनिदिने, भेन्टिलेटरमा भएकोलाई मृत्यु भयो भनिदिने, होम आइसोलेसनमा भएकालाई आइसियूमा भनिदिने किसिमका खबरहरु पनि समाजिक सञ्जालमा व्यग्रल्ती भेटिन्छन्।
संक्रमितहरुलाई बेडै छैन। अक्सिजन त झनै हाहाकार भन्ने समाचारलाई हाइलाइट गरेर बाराम्बार प्रसारण गरेपछि होम आइसोलेसनमा बस्नेहरु झनै आतिन्छन्।
स्वभाविक रुपमा अक्सिजनको अभाव छ, बेडको अभाव छ। सरकारले संक्रमण रोक्नका लागि जुन तरिकाले काम गर्नुपर्ने हो त्यस तरिकाले काम गरेको छैन भन्ने कुरा हामीले देखे भोगेकै छौँ। संक्रमितहरुलाई तत्काल गाह्रो भयो भने अक्सिजन खोज्दा खोज्दै ज्यानै जान पनि सक्छ।
यो अहिलेको यार्थतता हो तर यसलाई पनि मनोवैज्ञानिक रुपमा संक्रमित भएकारुलाई असर नपर्नेगरी सकरात्मक तरिकाले समाचार सम्प्रेषण गर्न पनि त सकिन्छ। यस कुरालाई सम्बन्धित निकाय व्यक्तिहरुले गम्भीर रुपमा मनन गर्न आवश्यक छ।
विशेषगरी समाजिक सञ्जालमा आएका विषयहरु छिटोभन्दा छिटो आम नागरिकमा फैलिने हुनाले यसप्रति अहिलेको परिवेशमा बढी सचेत हुन आवश्यक छ। भयवित बनेर हैन, संयमित भएरमात्र कोरोनालाई जित्ने बल पैदा हुन्छ।
एउटै परिवारका तीन/चार जना सदस्यहरुको पनि केही समयको अन्तरालमा संक्रमणले मृत्यु भएको घटनाहरु निकै छन्। यस्ता घटनाहरु समाजिक सञ्जामा छरपष्ट छरिँदा यसले स्वास्थ्य लाभ गरिरहेका संक्रमितहरुलाई निकै छटपटी बनाउँछ। यस्ता कुराप्रति पनि ध्यान जानु जरुरी छ।
सकरात्मक सोचाइ र आत्म दरिलो बनाएर बस्नु पनि कोरोनाको एउटा ओखती हुन सक्छ। श्रद्धाञ्जलीको होड चलाएर सामाजिक संजालमा आतंक मच्चाउनुभन्दा पनि निको हुनेहरुको समाचारले समाजिक संजाल भर्न जरुरी छ।
कोरोना संक्रमण रोकथाममा अपनाइने स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नका लागि नागरिकस्तरबाट व्यापक दबाब सामाजिक संजालमार्फत फैलाउन जरुरी छ।
समाजिक संजालमा आउने सकरात्मक खबर पनि संक्रमितहरुका लागि अर्को एउटा ओखती हुन सक्छ। गलत होडको पछि दौडिनुभन्दा पनि सत्य र वास्तविकतालाई मध्यनजर गरी सचेत वर्गले सकरात्मक अभियान चलाउन आवश्यक छ यो महामारीलाई जित्नका लागि।
फेसबुकमा चलाइने श्रद्धाञ्जली होडले विषेशगरी संक्रमित भएर बसेका प्रेसरका रोगीहरुलाई असर गर्ने कुरा पनि बाहिर आइनै रहेका छन्। सरकारले यस्ता गलत प्रवृत्ति, यो समयमा गलत सन्देश वा नकरात्मक सन्देश जाने किसिमका कुनैपनि सामग्री प्रसारण हुन्छन् भने त्यसलाई निगरानी गरेर तत्काल रोक्ने संयन्त्र बनाउनु पर्दछ।
र, नागारिक स्तरबाट पनि नकरात्मक भाव झल्किने कुनैपनि सामग्री समाजिक संजालमा पोस्ट गर्नुभन्दा पहिला मेरा नातेदार/आफन्त पनि संक्रमण भएर स्वास्थ्य लाभ लिइरहेका होलान् र मैलै पोस्ट गरेको सामग्रीले उनीहरुको मानसपटलमा कस्तो असर गर्ला भन्ने हेक्का राख्न जरुरी भएको छ।