स्वस्थ्य रहन खुसी हुनु अत्यन्तै आवश्यक छ। भनिन्छ नि खुसी मान्छे नै स्वस्थ र सुखी हुन्छ। खुसी भएर बाँच्न हाम्रो शरीरमा भएका हार्मोनलाई सक्रिय राख्नुपर्छ। हामीले भोगेका भोगाई र सिकेका पाठलाई मध्यनजर गर्दै आत्मवललाई बलियो बनाउने र सकारात्मक ऊर्जा लिई आशावादी बन्नुपर्छ। यस्तो बेला सात्विक भोजन, योग, प्राणायाम र व्यायाम गर्यौं भने हामी शारीरिक र मानसिक रूपमा स्वस्थ रहन सक्छौं।
हामी कहिल्यै नसोचेको महामारी भोगिरहेका छौं। जताजतै निराशाले छाएको छ। धेरै परिवार शोकमा डुबेका छन्। यसले दिनचर्या, सोचाइ र भोगाइमा परिवर्तन ल्याएको छ। मनबाट आशा र भरोसा टुटिसक्यो। रसाएका आँखा कहिले ओभाउलान्? पलपल मर्दै बाँचेको क्षणको अन्त्य कहिले होला?
चारैतिर अन्धकार छाएको छ। मानिस कुहिराको काग झैं भौतारिरहेका छन्। न जिम्मेवार निकाय भएको अनुभूति गर्न सकिन्छ न सहानुभूतिको आभास नै। समस्या र चुनौतीको घेरा भित्र निसासिएर कति दिन श्वास लिन सकिएला?
आखिर जे जस्तो भोग्नु परे पनि हामीले आफ्नो स्वास्थ्यको ख्याल आफैं गर्नुपर्छ। त्यसैले स्वयंलाई हेरौं। मनन गरौं। आफ्नो क्षमतालाई चिनौं अनि त्यहीअनुसार स्वहेरचाह गरौं। आफ्नो जिम्मेवारी बहन गरौं। अरूलाई पनि सहयोग गरौं अनि माया, सदभाव, करुणा र सहानुभूतिको भाव सबैमा बाँडौ।
अहिले प्रत्येक मानिसलाई शारीरिक, मानसिक, धार्मिक, आर्थिक र पेशागत समस्याले सताएको छ। बालबालिकाले खेल्न, साथीहरू भेट्न, स्कुल जान र स्व:स्फूर्त प्रकृतिसँग रमाउन पाएका छैनन्। हिँडडुल गर्न, प्रत्येक स्पर्श गरेर अनुभव लिन र पारस्पारिक सम्वन्ध अनुभूति गर्न पाएका छैनन्।
उनीहरू डिजिटल कक्षामा पढ्न बाध्य छन्। भौतिक र शारीरिक स्पर्शबाट टाढिँदै छन् जसले गर्दा व्यक्तित्व विकासका लागि अत्यन्तै आवश्यक एकआपसमा हुनै पर्ने भावनात्मक संलग्नता हुन सकेको छैन।
कतिपय वालवालिकाले आर्थिक अभावका कारण पढ्न पाएका छैनन्। उनीहरूको ऊर्जावान समय खेर गएको छ। उनीहरू माथि हुने हिंसा बढिरहेको छ। उनीहरूको हक र अधिकारको कुरा एकादेशको कथा जस्तै भएको छ।
बिहानबेलुकीको छाक टार्न उनीहरू श्रम गर्न बाध्य छन्। यो महामारीमा कतिले त त्यही श्रम गर्न पनि पाएका छैनन्। त्यसैले आधा पेट खान पनि मुस्किल परेको छ। भोलिका कर्णधार भनेर भाषणमा प्रयोग हुने यी अवोध आत्माहरूले कहिले आफ्नो नैसर्गिक अधिकार पाउलान्?
छोराछोरीको पढाई, स्वास्थ्य, खानपान, पारिवारिक जिम्मेवारी बहन गर्न, घरमा बसेर कार्यालयको काम गर्न समय, डिभाइस, इन्टरनेट ब्यवस्थापन गर्दा आउने चुनौती, आम्दानीमा आएको उतारचढाव, कामको जोखिम, आम्दानी र खर्च बीचको समन्वय, सामाजिकीकरण हुन नपाएको अवस्थाले वयस्कहरू पनि तनावमा छन्। भावनात्मक सवन्धमा दरार, वोलीचालीको भाषामा उग्ररुप आउने, घरेलु हिंसा हुने, मानसिक चिन्ता, उदासिनता जस्ता समस्या देखिन थालेका छन्।
त्यसैगरि ज्येष्ठ नागरिकलाई समय विताउन गाह्रो भएको छ। उनीहरू बिहान र बेलुका वरिपरी हिँडडुल र कोही नजिकैको चिया पसलमा गएर गफिन्थे। सुखदुःखका पलहरू बाँड्थे। एकै छिन भए पनि सबै कुरा भुलेर आनन्दसँग समय बिताउथे। जुन अहिले सम्भव छैन र कोभिड–१९ ले ज्येष्ठ नागरिकलाई चाँडै आक्रमण गर्ने डरले त्रसित छन् उनीहरू।
अकस्मात आएका उतारचढावहरूलाई स्वीकार गर्न नसक्दा, जनमानसमा उदासिनताको अवस्था भएका बेला महामारीका विषयमा अफवाहहरू कोभिड भन्दा छिटो फैलिरहेका छन्। जसको कारण मानसिक चिन्ता बढिरहेको छ। यसको प्रमुख स्रोतका रूपमा सामाजिक सञ्जाललाई लिन सकिन्छ। आफ्नो घरको घटनालाई अरुले समाचार बनाएर सूचना प्रवाह गरिदिँदाको पीडा होस या आधिकारिक रुपमा परिवारले जानकारी गराउन नपाउँदै सामाजिक संजालमा ‘रिप’ भन्दै पोस्ट गरेको अवस्था होस्। कहिल्यै हालखबर नसोध्नेले पनि फोन गरेर सहानुभूतिका लागि दिएका वचनहरूले सान्त्वना दिने भन्दा पनि घाउमा नुन खुर्सानी छर्के जस्तो भैरहेको पनि छ।
त्यसैले मानवीयताको नाताले इमान्दार भएर सम्वन्धहरूलाई बचाऔं अन्यथा मरिसकेको सम्वन्धमाथि दर्साएको भाव र श्रद्धाञ्जलीले पीडा थप्छ। आज सामाजिक सञ्जालले मानवमानव वीचको भौतिक सम्वन्धलाई टाढा बनाउँदैछ अनि खोक्रो र देखावटी सम्बन्धरूको प्रदर्शन गर्ने होडै चले झैं लाग्छ। कुनै पनि घटना वा समाचार सम्प्रेषण गर्दा मैले केका लागि पोष्ट गर्दैछु, किन गर्दैछु र मैले गरेको कामले आम मानिसमा कस्तो असर पर्छ भन्ने आँकलन गर्नैपर्छ।
ग्याजेट र सामाजिक सञ्जाल आजको आवश्यकता र चुनौतीका रुपमा देखिएको भए पनि यसको प्रयोग कति समय गर्ने र के का लागि गर्ने भन्नेमा हामी स्पष्ट भएमा यसलाई सहि र उत्पादनशील कार्यमा प्रयोग गर्न सकिन्छ किनभने यसलाई चलाउने रिमोट कन्ट्रोल हाम्रै हातमा छ। त्यसैले हामी नकारात्मक सोचका समाचार, हिंस्रक गतिविधि झल्कने भिडियो या अडियो नसुनौं। नपढौं। यसो गर्नाले हामीमा भएको सकारात्मक ऊर्जालाई आत्मसाथ गर्न र त्यसलाई आफ्नो शक्ति बनाउन सहयोग मिल्छ।
महामारीको अवस्थामा चारैतिर देखिने दृश्यहरूले नकारात्मक सोचाई ल्याउनु, मन उदासिन, दुःखी, चिन्तित हुनु स्वाभाविक हो तर यसलाई कसरी लिने, कसरी व्यवस्थापन गर्ने र दैनिक गतिविधिलाई कसरी सहज बनाउने अस्त्र भनेको हाम्रो दैनिकी र ब्यबहार हो। हामी कस्तो काममा व्यस्त हुन्छौं? माथिका सोचाईलाई नै ब्यबहारमा उर्तादैछौ कि त्यो सोचाइलाई प्रतिकार गर्ने खालका उत्पादनशील कामहरू गर्दैछौं? किनभने हामी जे हेर्छौं, सुन्छौ र सोच्छौ त्यही कुरा ब्यबहारमा ल्याउँछौ।
शारीरिक र मानसिक रुपमा स्वस्थ्य रही आफ्नो काममा ऊर्जा थप्न, आर्थिक ब्यवस्थापन गर्न, आध्यात्मिक चिन्तन गर्न र आत्मवललाई बलियो बनाएर कोभिडलाई पराजय गर्न हामी निम्न काम गर्न सक्छौं।
आज भन्दा अगाडि हामीले यसरी परिवारसँग समय विताउन पाएका थिएनौ। त्यसैले यो समयलाई अवसरका रुपमा लिऔं !
सानो, ठूलो जस्तो काम भए पनि आपसमा सहयोग र सहकार्य गर्दै गरौं। एकले अर्काको ऊर्जा र कलात्मक सीपको उजागर गर्न सहयोग गरि निकास दिन सहयोग गर्ने। यस्तो अवस्थामा परिवारका सदस्य वीचमा माया, सदभाव चाहिन्छ। एकले अर्काको मनोभाव बुझेर ब्यवहार गर्ने किनभने परिवार भन्दा नजिकको विस्वास गर्न सकिने अरु कोही हुन सक्दैन।
एकैछिन भए पनि रमाइलो गर्ने जस्तै नृत्य, गायन, भजन, सौखका कुरा, भविश्यका योजना, समसामयिक विषयका बारेमा अन्तर्क्रिया, छलफल आदि।
सृजनात्मक सीपका लागि छलफल गर्ने र नयाँ बस्तुको आविष्कार गर्ने। एकआपसमा स्वीकार्यताको वातावरण बनाउने र लर्न, रिलर्न र अनलर्न गर्न सहजकर्ता भइ सहजीकरण गर्ने र गराउने वातावरण सृजना गर्ने।
घरमा भएका जे जस्ता सामाग्री छन् जुन बेकारमा परिरहेका छन् तिनको पुनः प्रयोग गर्ने योजना बनाउने या त्यसलाई हटाइदिने र त्यो ठाउँको उचित प्रयोग गर्ने।
कुनै विशेष सीप जस्तै थाङ्का बनाउने, हस्तकलाका सामाग्री, विशेष धार्मिक र सांस्कृतिक पर्वमा प्रयोग हुने वस्तु आदि उत्पादन गर्ने। सामान्य अवस्थाका लागि स्टोर गर्ने र अनलाइन विक्रिका लागि राख्न सकिन्छ।
हरेक समस्याको समाधान पनि हन्छ भन्नेमा विस्वस्त हुने र समस्यालाई बाहिर ल्याउने। यहाँ धेरै सहयोगी मनहरू सेवाका लागि तयार छन्। दैनिकी नै चलाउन गाह्रो भएको अवस्थामा सहयोग उपलब्ध गराउने सम्वन्धित निकायमा सम्पर्क गरि सहयोगको अपिल गर्ने या कोही आ˚न्त, साथीभाइ वा समाजसेवीसँग सहयोगका लागि समन्वय गरि दिन आग्रह गर्ने। यो आर्थिक र मानसिक दुवै अवस्थामा सहयोग पाउन सकिन्छ।
स्वस्थ्य रहन खुसी हुन अत्यन्तै आवश्यक छ। भनिन्छ नि खुसी मान्छे नै स्वस्थ र सुखी हुन्छ। खुसी भएर वाँच्न हाम्रो शरीरमा भएका हार्मोनहरूलाई सक्रिय राख्नुपर्छ। यिनीहरूलाई कसरी सक्रिय बनाउने भन्ने विषयमा चर्चा गरौं।
नियमित शारीरिक व्यायाम गर्नाले इन्ड्रोफिन शरीरबाट बाहिर निस्कन्छ र हाम्रो शरीरको दुखाई कम हुन्छ। यसकारण हामी व्यायाम गरेपछि आनन्द भएको महशुस गर्छौं।
सन्तुलित आहारमा पाइने पौष्टिक तत्वहरूले शरीरमा आवश्यक पर्ने हार्मोन उत्पादन गर्छ। हामीले खाने कोलस्टोर तथा सन्तुलित आहारले शरीरमा विषेशतः स्टेरोयड हार्मोन उत्पादन गर्छ। त्यसैले नियमित रुपमा सन्तुलित आहार नखाएमा हामी शक्तिहीन र आलस्य भएको महशुस गर्छौं।
साथीहरू र प्रिय व्यक्तिसँग समय बिताउँदा शरीर भित्रको अक्सिटोकिन वाहिर आउँछ। जसले गर्दा खुसी र आनन्दको अनुभूति हुन्छ। यदि हामी एक हप्ता केही नगरिकन एक्लै बस्यौं भने तनावमा पर्छौं। किनभने हामीले माया गर्ने व्यक्तिबाट टाढा भएमा तनाव, दोषी र चिन्तित हुन्छौ। हाल भेटघाट गर्न सम्भव नभए पनि भर्चुअलबाट एक आपसमा मनका कुरा साटासाट गर्ने, ज्ञान, सीप र श्रमताको अभिवृद्धि गर्न एकले अर्कालाई फिडव्याक दिने र सहयोगीको भुमिका खेल्न सकिन्छ।
हाल कोभिडका कारण कतिले एक्लै बस्नु परेको अवस्था छ र यस्तो बेला सामाजिक दूरि कायम गर्दै माक्स लगाएर विरामीसँग कुरा गर्ने समय विताउने र उसलाई मन पर्ने किताव पढेर सुनाउने। अन्तरक्रिया गर्ने, गीत गाउने, सायरी भन्ने, चुटकिला भनेर हँसाउने आदि गर्न सकिन्छ।
अंकमाल गरेमा ओक्सिटोकिनको मात्रा बढ्छ। हामीले आफू नजिकको मन परेको, माया गर्ने र विश्वास गरेका व्यक्तिलाई समयसमयमा अंकमाल गर्नु पर्छ। अंकमाल गर्नाले हामीलाई नसोचेको फाइदा हुन्छ। चाहे त्यो प्रियसी होस या अभिभावक वा दाजुभाइ, दिदीबहिनी वा साथी जसलाई हामी ज्यादै भरोसा गर्छौ। वेस्सरी अंकमाल गरेर माया बाँड्न सक्छौं। हाल कोभिडको कारणले एकआपसमा अंकमाल गर्न नसके पनि आफूले आफैंलाई बेस्सरी अंकमाल गरेर न्यानो अनुभूति गर्ने, गाला तथा हात सुम्सुम्याउने। यसरी पनि हामी आफूले आफैंलाई माया गर्न र स्वहेरचाह गर्न सक्छौं।
घर बाहिर छत, आँगन तथा वगैचा भएमा घाममा बस्न बाहिर निस्किने र केहि समय विताएमा शरीरमा सेरोटोनिनको मात्रा बढछ र भिटामिन डि पनि प्राप्त हुन्छ। यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। त्यसैले हामीले फुर्सदको समयमा घरभित्रै वसिरहनु भन्दा बाहिर गएर मौकाको फाइदा उठाउनु पर्छ।
मानवले आज भन्दा अगाडि पनि धेरै संकट र महामारी सामना गरिसकेको छ। जस्तै एचआइभी एड्स–१९८१, प्लेग– १८५५, एसिएन फ्लु–१९५७, रसियन फ्लु–१८८९, हङकङ फ्लु–१९६८, कलेरा–१८१७, जापानीज स्मल फक्स– ७३५, स्वायन फ्लु–२००९, इबोला–२०१४, सार्स–२००२, मिर्स–२०१२, कोभिड–२०१९ आदि प्राणघातक रोगसँग लडिसकेका छौं। कतिपय रोगको असर अहिले पनि भोगिरहेका छौं। आज कोभिड–१९ सँग संघर्ष गर्दैछौं।
यसवाट हामीले भोगेका भोगाई र सिकेका पाठलाई मध्यनजर गर्दै आत्मबल बलियो बनाउने र सकारात्मक ऊर्जा लिई आशावादी बन्नुपर्छ। यस्तो बेलामा हामीले सात्विक भोजन गर्ने जसले गर्दा पाचन प्रणालीलाई सहज हुने र शरीर पनि फूर्तिलो हुन्छ।
योग, प्राणायाम र शारीरिक व्यायाम गर्यौं भने हाम्रो शरीरका सम्पूर्ण अंग सक्रिय हुन्छन्। ऊर्जा उत्पादन हुन्छ र हामीलाई सकारात्मक सोचका लागि चाहिने हार्मोन उत्पादन गर्दछन। शारीरिक र मानसिक रूपमा स्वस्थ मानिसको आत्मवल बलियो हुन्छ।