मैले कलेज जाँदा पहिलो पटक त्यो ठाउँमा नयाँ मुहार देखेकी थिएँ। झट्ट हेर्दा लगभग २७, २८ वर्षकी झैँ। कालो वर्णकी, नशालु आँखा, मिलेको परेली, कालो तर लामो केश, हिमाल झैँ टल्किने दन्त लहर, सिलिप्प मिलेको त्यो शरीर। आहा! कति राम्री!
हातमा कपडा थिएँ। सायद उनी नुहाउन जाँदै थिइन्, उनले मेरो बाटो काटिन्। म यो नयाँ मान्छे को रहेछ भनी आफैसँग प्रश्न गर्न थालेँ। त्योभन्दा पहिला मैले त्यो अनुहार कहिले देखेकी थिइनँ। म कलेज गए कलेजमा पनि विषयवस्तुका कुराभन्दा तिनको मुहार मेरो नजरमा आउन थाल्यो, ‘खै’ किन हो मलाई पनि थाहा भएन्।
म कलेज बिदा भएपछि रुममा आएँ अनि ड्रेस चेन्ज गरी नास्ता खाएर होमर्क गर्न भ्याएँ। हिउँदको महिना थियो, यति काम भ्याइसक्दासम्म त झिमिक्क साँझ भैसकेको थियो।
म बेलुकाको लागि पानी ल्याउन बाहिर निस्किएँ। बाहिर आगो बालेर घरबेटी आन्टी पल्लो घरको दिदी लगायतका दुई/तीन जना मान्छेहरु बसेका थिए। म पनि एकछिन उहाँहरु नजिकै गए, मलाई अघि बिहानैदेखि जान्न मन लागेको विषयमा कुरा भैरको रहेछ।
मैले पनि सोधिहालेँ, ‘उनी को हुन्?’
एकजना दिदीले जवाफ दिनुभयो, ‘तराईको मान्छे हो रे।’
उहाँले यति भन्ने बित्तिकै मैले अर्को प्रश्न गरेँ, ‘यता बसाई कता हो?’
दिदीले विस्तृत रुपमा भन्नुभयो, ‘उहाँ मेरो घरको दायाँपट्टि बस्नुहुन्छ आफ्नो श्रीमानसँग। आज तीन दिन मात्रै भो यता आएको पनि, तिमीलाई आजसम्म थाहा थिएन र?’
‘नाई दिदी, आज मात्रै देखेकी हुँ।’
म पानी भरेर रुममा गएँ। खाना बनाएँ तर आज सबै दि भन्दा फरक महशुस भइरहेको थियो। खाना कतिखेर पकाइसकेछु, पत्तै पाइनँ। सायद मेरो ध्यान सबै ती महिला तिर भएर होला।
रातिको खाना खान थालेँ, ती महिलाकै बारेमा सोच्दा सोच्दै तरकारीमा नुन त हाल्न बिर्सिएछु। बल्ल खाना खाँदा थाहा भयो। खाना खाइसकेपछि एकछिन ओछ्यानमा पल्टिएँ। तिनकै बारेमा सोचिरह्यो मनले, आजसम्म धेरै मान्छेहरुसँग भेट भएको छ तर तिनकै बारेमा मेरो मन यति कौतुहल किन?
म उनलाई टाढैबाट हेरिरहन्थेँ। सायद उनी पनि हेर्थिन् होला। बोल्न परिचय लगाउन मन त थियो तर कहिले मेरो समय नमिल्ने कहिले उनको, एक दिन साँझको समय हामी ३/४ जना आगो बालेर बाहिर निर बसिरहेका थियौँ। त्यहीँ बेलामा उनी पनी भर्न आइन्।
एकजना दिदीले सोध्नु भयो, ‘मेडम खाना बनाइसक्नु भयो?’
उनी बोलिन्, ‘नाई छैन, अब बनाउँछु।’
यति भनी उनी आगो नजिकै आइन्। मैले सोचेँ आज बल्ल मौका पाएँ, अब त परिचय नगरी भएन। परिचय गरियो। उनीको घर तराई भएको कुरा त थाहा थियो तर उनी भागेर बिहे गरेको कुरा पछि उनले भने पछि थाहा भयो।
उनले आफ्नो सबै बेलीविस्तार खोलिन- डगौराकी छोरी मगरको छोरासँग भागेकी रहेछन्। उनको एक अन्जान कलबाट लभ परेको रहेछ। लभ परेको १ वर्षपछि भागेर पहाड आएको रे। उनको बुढा ठेकेदारको काम गर्दा रहेछन्। त्यो दिन हामीहरु अबेरसम्म गफियौँ।
दिन बित्दै गए, ऊ बेला धेरै पढाइमा व्यस्त भइन्थ्यो। खालि समय कुनै पल हुन्थेन। अलिकति समय हुने शनिबार मात्रै हो, त्यो दिन पनि सरसफाई र खाना बनाउनमै ठिक्क हुन्थ्यो। मैले त्यहीँ शनिबारको मौका छोपेर उनलाई मेरो रुममा बोलाएँ। उनी सजिलै आउन भने मानिनन्, मैले जबरजस्ती गरेपछि आइन्। हामीले धेरै बेर बसेर कुराकानी गर्यौं।
उनको बारेमा अझै धेरै जान्ने मन त थियो तर एकैचोटि सबै सोध्न मनले मानेन र सोधिनँ। यसरी नै हाम्रो सामिप्यता बढ्दै गयो, उनी सधैँजसो मेरो रुममा आउन थाली, तर म भने उसको कोठामा जान भ्याउँदिन थिएँ।
एक दिन म किताब पढ्दै थिएँ। यतिकैमा उनी आइपुगिन् र मैले उनलाई बस्न आग्रह गरेँ। अब मलाई उनको प्रेम कहानी जान्ने इच्छा जाग्यो र मैले सोधेँ- ‘म्याडम, तपाईको त लभ म्यारिज पो रहेछ कसरी? कहाँबाट सुरु भयो? सरसँग कसरी भेट भयो? केटाको घर पूर्वतिर रहेछ, केटीको पश्चिम।’
एक दिन मोबाइलमा नचिनेको व्यक्तिको कल आएको थियो, त्यो बेला सामान्य कुराकानी भएको थियो। जस्तैः कता पर्यो? को बोल्नुभयो? लगायत कुरामा नै फोन कल टुंगियो। फेरि केहीँ दिनपछि कल आयो। यसो गर्दा गर्दै दुवै जनाको दूरी घट्दै गयो, अनि एक दिन दुवैले भेट्ने निधो गरे छन्।
भेटेपछि दुवैले एकअर्कालाई मन पनि पराए। अनि त्यो भेटको केही महिनापछि भागेछन्। केटीको आमा-बाबा थिएनन्, केटाको खै मलाई उनले बताउन चाहिनन् या उनी आफै अन्जान थिइन्। मलाई त उनी आफै अन्जान छिन् कि जस्तो लाग्थ्यो, पुरुष सबै उस्तै हुँदा रहेछन्।
उनी पनि विस्तारै पुरुषत्वको भाव देखाउन थाले, एक उखान छ नि- नौली गाईको नौ भारी घाँस हो, त्यसै उनको सम्बन्ध पनि भयो र विस्तारै ओइलिँदै गयो। उनको श्रीमानले कल पनि खासै नगर्दा रहेछन्। विचरी तिनी नयाँ ठाउँमा एक्लै कसैसँग चिनजान पनि थिएन, त्यही पनि उनी दुनियाँको सामु आफ्नो श्रीमानको राम्रै तारिफ गर्ने गर्थिन्।
उनको श्रीमानले पैसा पनि नठाउने रहेछन्। उनका पनि कति सपना होला है? उनको त नाम नै सपना थियो अब त्यो नाम जस्तै सपनाहरु सपनामै सीमित रहने देखिन्थ्यो। समय आफ्नै गतिमा चल्दै थियो, उनी त अब गर्भिणी भएकी रहेछन्।
उस्तै त दैनिकी चलाउन धौँधौँ, अब यो बेला उनलाई झन् समस्या थपियो। हामी उनी वरपरकाले सक्दो सहयोग त गरी रहन्थ्यो तर पनि आफ्नो मान्छे नै टाढा हुँदैजाँदाको त्यो पीडा उनी मात्रै महशुस गर्न सक्थिन्। हामी त केवल देख्ने पात्र मात्रै थियो। उनी कति रात भोकै सुतिन्, त्यो उनलाई मात्रै थाहा छ।
म प्रायःजसो शुक्रबार घर जाने गर्थेँ। त्यो दिनको शुक्रबार पनि म घर गएँ र आइतबार फर्किएँ, म आउँदा उनी त तराई पो पुगेको खबर पाएँ। यो खबरले मेरो मनभरि कालो बादल मडरायो। म हतार-हतारमा घरबेटी आन्टीकी छोरी कहाँ पुगेँ र सोधेँ- ‘के भयो उनलाई?’
घरबेटी आन्टीकी छोरीले भनिन्, ‘शुक्रबार राति बिरामी हुनुभयो अनि हामीले अस्पताल लगेका हौँ। उहाँको पेटमा जटिल समस्या देखियो। त्यसैले उहाँलाई तराईको ठूलो अस्पताल रेफर गरिएको छ।’
मैले हत्तारमा सोधेँ, ‘अनि कस्ले लग्यो?’
‘उस्को त्यो राक्षस बुढाले। आन्टीले दश पल्ट फोन गर्दा बल्ल उठायो, त्यो पनि नयाँ नम्बर भएर होला!’ उस्ले अलि रिसाएर भनी।
वास्तममा यी पुरुषहरुलाई किन महिलाको पीडा महशुस हुँदैन? किन नारीको भावनासँग खेल्छन्? उनी करिब एक महिना अस्पतालको बसाइपछि फर्किइन्, उनको बुढा फेरि आफ्नै काम तिर लाग्यो।
दिन बित्दै गए। उनलाई उनको बुढाले केयर गर्न नसकेपछि बच्चा जन्मँदासम्मका लागि भनी माइत पठाइदिने निर्णय भयो। अब माइतमा पनि उनी कसरी जाउन्? उनीहरु त घर छाडेर हिँडेका थिए। फेरि माइतमा आमा-बुबा भए त राम्रो हुन्थ्यो, दाइ-भाउजूको माया कस्तो पाउला भन्ने पिर मानिराख्थिन्।
उनकी भाउजू राम्रो मान्छे थिइन्। उनले बोलाइन् र माइत गइन्। माइत गएको केही समयपछि उनले छोरालाई जन्म दिइन्। तर अब भने उनको बुढाले लामो समयसम्म सम्पर्कमा आउनै छोड्यो, उनीले आफ्ना इच्छा, चाहना, सपना, रहर त सबै मारिन् तर त्यो सानो बाबुको जीवन अब कसरी चलाउने? यहीँ विषयको चिन्ताले उनलाई पिरोल्छ।
बेला बेला उनी मलाई कल गरेर रुने गर्थिन्, मसँग त कुनै उपाय पनि भएन, के गर्ने भन्ने म सान्त्वना मात्रै दिन्थेँ। आजभोलि पनि उनी मलाई कल गरी सम्झाउँछिन् ‘नानी, बिहे नगर्नू। यदि गर्नु नै छ भने आफू ठूलो मान्छे बन्नू अनि मात्रै गर्नू। यहाँ नारीको भावना कोही बुझ्दैनन्।’
मेरो मन उनका यस्ता कुराले आहत हुन्छ। म पनि एक छोरीबेटी हो। भोलि मैले पनि बिहे त गर्नै पर्छ नत्र भने मेरो समाजले मलाई स्वीकार्ने छैन। यदि केहीँ गरी मेरो जीवनमा त्यस्तै मान्छे आइपुग्यो भने म के गरुँला?
म अझै पनि उनको बारेमा सोचेर आघात रुन्छु, उनी त एक पात्र मात्रै थिइन्। उनी जस्ता हजारौँ नारीसँग यस्तै भएको होला, मलाई थाहा छैन्।
आखिर नारीलाई खेलौना किन बनाइन्छ? आफ्नो आवश्यकता हुँदासम्म प्रयोग गरिन्छ। आवश्यकता पूरा भएपछि नारी डस्टबिनमा किन फालिन्छे? नारीका पनि रहर होला, सपना होला। उसको पनि जिन्दगी छ।
किन उसलाई पिँजडामा राखिन्छ? आफ्ना पखेटा हुँदाहुँदै पनि उस्ले त्यो पिँजडा नखुल्दासम्म स्वतन्त्र भएर किन हिँड्न पाउँदिनँ? हुन त नारीको सम्मान कुन युगमा नै गरिएको छ र? त्रेता युगमा त माता सीताले समेत सम्मान पाइनन्।
उनलाई पवित्र अग्नीले समेत पवित्रात्मा पुष्टि गरिसकेपछि पनि उनी माथि शंकाको ओइरो मात्रै थपियो। अन्ततः उनलाई वनबास पाठाइयो, नारी एक घरकी गृहिणीमात्रै हैन, ऊ त दुर्गा स्वारुपी हो उसलाई खेलौना नबनाऊ। जुन घरमा नारीको सम्मान हुन्छ, त्यो घर स्वार्ग हुन्छ। नारी बिनाको घर त घर नै हैन।