पूर्विय दर्शनमा चिकित्सा पेशाको सुरुवात- आयुर्वेदाबाट भएको मानिन्छ।होमियोप्याथि औषधि या जडिबुटिको खोज तथा अध्ययन गरि वैध्यहरुले रोगको निवारण गर्थे। नेपालसमेतका देशमा औषधिको रुपमा वनमारा, हलेतो, गुर्जो, निमआदिको प्रयोग गरिन्थ्यो भने पश्चिममा एलोप्याथि औषधिको खोज तथा अध्ययन सुरु भइसकेको थियो।
IOM को स्थापनापछि मात्र नेपालमा व्यवस्थित रुपमा एलोप्याथी औषधिसम्बन्धी आधुनिक चिकित्सा शिक्षाको सुरूवात गरियो। यसपछि रजिष्टर्ड चिकित्सकहरु बढ्ने क्रम जारि रह्यो। चिकित्सकलाई निकै सम्मानजनक दृष्टिबाट हेरेर भगवानको दर्जामा राखिन्थ्यो किनकि, उनीहरू बिरामीको जीवन बचाउँथे, सेवा दिन्थे। कन्फूसियसले पनि लोकापकारको वकालत गरि समाजिक अहोदामा चिकित्सा पेशालाई प्राथमिकता दिएका थिए।
ग्लोबल टिचर स्ट्याटस इन्डेक्सअनुसार चिकित्सा पेशा सबैभन्दा सम्मानजनक पेशा रहेको छ। एउटा सच्चा, दक्ष चिकित्सक बन्न कठिन साधना गर्नुपर्छ। मानिसको शरीरको हरेक अंग, जिजुविषा, हड्डिहरूबारे ज्ञान हुनु, रोग पत्ता लगाउनु, उपचार गर्नु, बिरामीलाई स्वस्थ बनाउन लागि पर्नु, लामो सिफ्ट काम गर्नु सानो काम हैन।
भनिन्छ, चिकित्सा क्षेत्र बिरामीको स्वास्थ्य र स्वस्थ्य जीवनसँग जोडिएको संवेदनशील विषय हो। यसैले विश्वास र आस्थाले चिकित्सक र बिरामीको सम्बन्ध सुदृढ पारेको हुन्छ।
आधारभूत स्वास्थ्य सेवा पाउनु प्रत्यक नागरिकको मौलिक हक हो। जनस्वास्थ्य सेवा ऐन, २०७५ बमोजिम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा प्रदान गर्नु स्वास्थ्य संस्थाको कर्तव्य हो। सम्मानपूर्वक बाँच्न पाउने हक, कुटपिट र अङ्गभङ्ग विरूद्धको हक स्वास्थ्यकर्मीको हक हो भने उनीहरूलाई सम्मान दिनु, आदर गर्नु हरेक नागरिकको कर्तव्य हो।
अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटो हुन।सबै आफ्नो अधिकार र कर्तव्यबारे सजग हुनुपर्दछ।अधिकारको माग गर्दै गर्दा कर्तव्य भुल्नु हुँदैन। एकले कर्तव्य र मर्यादाको पालना नगर्दा अर्कोको अधिकारको हनन भइरहेको हुन्छ।
भेरी अस्पतालमा उपचारको क्रममा कोभिड आसोलेसन वार्डमा उपचारार्थ बिरामी डिल्ली बहादुर रावतको मृत्युपश्चात डाक्टर र नर्समाथि हमला गरियो, अस्पताल तोडफोड गरियो भन्ने समाचार बाहिरियो।
ओम अस्पताल एण्ड रिसर्च सेन्टरमा बिरामीलाई छाति दुख्दा हार्टएट्याकको औषधि खुवाइ पुनः इसिजि गराउँदा रिपोर्ट नर्मल आएपछि बिरामी र चिकित्सकको भनाभन भयो। पिनासको कारण नाकको शल्यक्रिया गरेको बिरामीको मृत्युपछि चिकित्सकलाई लापरवाहीको आरोप लगाउँदै चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा तोडफोड गरियो। पित्तथैलीको शल्यक्रियापश्चात बिरामीको मृत्युपछि ओम अस्पताल एण्ड रिसर्च सेन्टरका चिकित्सकमाथि हातपात भयो। यी त सबै समाचारमा आएका प्रतिनिधि घटना हुन्। के यी घटनाहरू चिकित्सकीय लापरवाहीकै घटना हुन त? हामीले कतिसम्म घटनाबारे बुझेका छौ? चिकित्सकमाथि हातपात गर्नु उचित हो त?
केही समय यता चिकित्सकीय पेशाप्रति मानिसको अटल विश्वासमा शंका पैदा भएको छ। मुलतः बिरामीले सर्वसुलभ ढंगबाट सेवा प्राप्त गर्न नसकेको, रोगको उपचार हुन नसकेको, चिकित्सकको लापरवाही रहेको मुद्दाहरू मिडियामा आएका छन्। कुनै मिडियाले चिकित्सकद्वारा लापरवाही भएको हो या होइन अनुसन्धानबिना आफैं फैसला गरि समाचार छापिदिन्छन जस्तै ‘जोगवुढा अस्पतालमा चिकित्सकको लापरवाही, गर्भवति महिलाको मृत्यु’।
मिडियाले खबर छापेको आधारमा मानिसहरू धारणा बनाउँछन्। यस्ता समाचार पढेपछि मानिसले चिकित्सकलाई कसुरदारको रुपमा लिन्छन्। यस्ता खबरले चिकित्सा पेशाप्रति मानिसको गलत धारणा बन्दैछ।
आजको प्रविधिको युग, बढ्दो विश्वव्यापिकरण र व्यपारिकरणमा चिकित्सा क्षेत्र निर्भर रहेको छ। एक रोगको परीक्षण गर्न कयौं टेस्ट गर्नुपर्ने, रोग जचाउँन चिकित्सक फेर्दा औषधि पनि फेर्नुपर्ने, चिकित्सकको कुनै फार्मा कम्पनीमा झुकाव हुनेजस्ता तथ्यले चिकित्सक सेवा नकारेर व्यापार गर्न त लागेका छैनन्? भन्ने प्रश्न आइरहेको छ।
यद्यपि लापरवाहीका घटनासँगै बढेको अविश्वासको खाडल, रोग र पैसाको कारण पैदा भएको तनाव, बिरामीसँगको परिवारको भावनात्मक सम्बन्ध, चिकित्सकप्रतिको कम विश्वास र गलत धारणा, उपचार पूर्व चिकित्सक र बिरामीबिच कम वार्तालाप, अस्पतालमा चिकित्सकको लामो प्रतिक्षा, स्वास्थ्यसम्बन्धी शिक्षा र सतर्कताको अभाव, औषधि र उपकरणको अभाव, अस्पतालको स्थितिले गर्दा कार्यस्थलमा चिकित्सकमाथि दुर्वयवहार हुँदै आएको छ।
आफ्नो पेशाप्रति जिम्मेवार, दक्ष, योग्य, कर्तव्यनिष्ठ, पेशागत आचारयुक्त चिकित्सक पनि प्रशस्तै छन्। सबै चिकित्सक गैरजिम्मेवार हुँदैनन् तर गैरजिम्मेवार चिकित्सकहरु हुन सक्छन्।
गैरजिम्मेवार चिकित्सकको कारणबाट अकालमै कति बिरामीको ज्यान गइरहेको छ। फेरि अमर्यादित, गैरजिम्मेवार नागरिकको कारणबाट कति चिकित्सकमाथि कार्यस्थलमा कुटपिट गरियो, कतिमाथि हातपात भयो हामीले सोचेकै छैनौं।
मुलुकी अपराध संहिता, २०७४को दफा २३२ मा लेखिएबमोजिम चिकित्सकले गम्भीर लापरवाही वा हेल्चेक्र्याई गरी इलाज गर्न, औषधी खान दिन, खान सिफारिस गर्न वा चिरफार गर्न हुँदैन। चिकित्सकीय लापरवाही र हेलचेक्रयाइ फौजदारी कसुर हो र दुवै कसुर भिन्न प्रकृतिका हुन्छन्।
लापरवाहीमा गरेको इलाजको परिणामबारे थाहा हुन्छ र हेलचेक्रयाइमा परिणामबारे थाहा हुँदैन। बिरामीको हेरचाह गर्नु हरेक चिकित्सकको कर्तव्य हो। योग्य चिकित्सकले मात्र इलाज गर्नुपर्ने र इलाज गर्दा सर्वमान्य प्रक्रिया अपनाउनुपर्ने नियम छ। ड्यूटीमा रहेका चिकित्सकले आफ्नो ज्ञान र सीपको आधारमा बिरामीको हेरविचार गर्दा पुर्ण रुपमा Standard of careको सिद्दान्त आत्मसात गर्नुपर्छ।
चिकित्सा क्षेत्रमा लापरवाही वा हेलचेक्रयाइका घटनाहरु हुन्छन् जस्तै, शल्यक्रिया गरेपछि औजार शरीरभित्रै छाड्नु, एउटा रोगका लागि अर्को औषधि दिनु, एउटा अंगको सट्टा अर्को अंगको शल्यक्रिया गर्नु, अवैध प्रमाणपत्र बनाउनु आदि उदाहरण हुन्।
यससम्बन्धी मुद्दा सरकारवादी मुद्दा भएर अदालतबाट चल्छ। यसमा बिरामीले चिकित्सकको असफल उपचारको कारणले भएको क्षतिहरु देखाउनुपर्छ। यसको पुष्ट्याइँ अर्को दक्ष चिकित्सकको (विशेषज्ञको) रायमा निर्भर गर्छ किनकि, चिकित्सा क्षेत्र प्राविधिक क्षेत्र हो जसको उपचार पद्दती, जटिलता चिकित्सकबाहेक अन्य क्षेत्रका विज्ञहरुले सहजै बुझदैनन्।
कहिलेकाही स्वास्थ्यकर्मीले आफ्नो विशेष ज्ञान र सीप बिरामीकै स्वास्थ्य लाभको लागि प्रयोग गर्दा गर्दै बिरामीलाई पुन: स्वस्थ बनाउन असमर्थ हुन्छ्न्। औषधि विज्ञानमा कहिलेकाहीँ जिम्मेवार चिकित्सकले पनि विशेष परिणाम प्राप्त गर्न आश्वासन दिन सक्दैनन्।
रोगको अवस्था, अस्पताल पुर्याइएको समय, अस्पतालको स्तर, रोग जाँच्ने उपकरणको अभावको कारणबाट कतिपय बिरामीको उपचारको क्रममा मृत्यु हुन्छ। यसर्थ चिकित्सकीय लापरवाहीको मुद्दा स्वयं अदालतले छिनोफानो गर्छ।
चिकित्सकीय लापरवाहीको आरोप लगाएपछि मानिस कानुनी कारबाहीको बाटो नगई कार्यस्थलमा स्वास्थ्यकर्मीमाथि हातपात गर्छन्, अस्पताल नै बन्द गरि क्षतिपूर्तिको माग गर्छन्। आजको दिनमा स्वास्थ्यकर्मी आफैंले जाँच्ने बिरामीबाट सुरक्षित छैनन्।
कानुनलाई आफ्नो हातमा लिएर चिकित्सकमाथि जाइलाग्नु अराजक बन्नुका साथै कुटपिट र अङ्गभङ्ग कसुरको कसुरदार बन्नु पनि हो। मुलुकी अपराध संहिता २०७४ बमोजिम कुटपिट र अङ्गभङ्गको कसुर पनि फौजदारी कसुर नै हो। चिकित्सकले विभिन्न प्रकारका शारीरिक हिंसा, गाली बेइज्जती खप्दै आउँदा उनीहरुको मानसिक स्वास्थ्य खलबलिने, व्यवसायिक जीवनसँगै व्यक्तिगत जीवनमा समेत असर पर्ने प्रबल सम्भावना रहेको छ। अस्पतालमै कार्यरत अन्य स्वास्थ्यकर्मीमा मानसिक तनाव पर्नसक्छ।
यस समस्याको हल निकाल्न आवश्यक छ। विश्व स्वास्थ्य संगठनले चिकित्सकमाथिको हिंसा रोक्न विश्वव्यापी कार्य योजना बनाएको छ। नेपालमा पनि चिकित्सकीय लापरवाहीसम्बन्धी प्रावधान, कुटपिट र अङ्गभङ्गविरूद्दको हक र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि ऐन २०६६को कार्यन्वयन हुनुपर्छ।
बिरामीको चेकजाँच शान्त वातावरणमा हुनुपर्छ। चिकित्सकलाई पनि काम गर्न शान्त वातावरणको आवश्यकता हुन्छ। साथै यस सम्बन्धमा अस्पतालले गर्न सक्ने कुराहरु भनेको अस्पतालमा चिकित्सक लगायत स्वास्थ्यकर्मीको सुरक्षा बलियो बनाउने, अस्पताल प्राङ्गणमा हातहतियार सहित प्रवेश गर्न नपाउने नियम बनाउने, बिरामी र उक्त बिरामीको परिवारले अस्पताल तथा स्वास्थ्यकर्मीहरुसंग सम्बन्धित कमिकमजोरीबारे गुनासो गर्न सक्ने निकाय अस्पताल मै व्यवस्था गर्ने, खर्च विवरणको पारदर्शीता सुनिश्चित हुने प्रबन्ध मिलाउने, रोग जाँच्ने उपकरणहरुको पर्याप्ततामा ध्यान पुर्याउने, आकस्मिक सेवाबाट बिरामी वन्चित नगर्ने, आवश्यकता अनुसारको चिकित्सकहरुको प्रबन्ध मिलाउने, चिकित्सकलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण दिने, मनोचिकित्सक घटनास्थलमा हुने व्यवस्था मिलाउने, शल्यक्रिया गर्ने योग्य तथा अनुभवी चिकित्सक व्यवस्था गर्ने लगायत हुन सक्छन्।
चिकित्सक र बिरामीबीचको मुख नमिलेको विषयलाई सभ्य ढंगबाट सुल्झाउनुपर्छ। सबैले सबै चिकित्सकप्रतिको नकरात्मक बुझाइ त्याग्नुपर्छ। गैरजिम्मेवार चिकित्सकबाट टाढा रहि चिकित्सक र चिकित्सा पेशा स्वयंलाई सम्मान गर्नुपर्छ। नेपाल मेडिकल काउन्सिलले नक्कलि परिचयपत्र हुने र आचार संहिताको विरुद्द जाने चिकित्सकलाई खोजेर आवश्यक कारबाहि गर्नुपर्छ र लापरवाहीको घटना निर्मुल पार्न तथा निराकरण गर्न सक्रिय भएर लाग्नुपर्छ। कार्यस्थलमा हुने हिंसा रोक्न बनाइएका ऐन कानूनको प्रभावकारी कार्यन्वयन हुनुपर्छ।
विश्व स्वाथ्य संगठनअनुसार १००० जनाको लागि १ चिकित्सक हुनुपर्छ भने नेपालमा लगभग १७३० जनाको लागि १ चिकित्सक रहेको छ। कतै विरामीको चाप, कतै अस्पतालको अभाव, कतै बेरोजगार चिकित्सक, कतै चिकित्सकको अभाव भइरहदा सरकारको ध्यान यस समस्यामा केन्द्रित हुनु आवश्यक छ।
सरकारी अस्पतालहरु कम छन त्यही पनि सबैमा पर्याप्त चिकित्सक, पर्याप्त रोग जचाउने उपकरणहरू, उपयुक्त मेडिकल ल्याब हुनुपर्छ यसो गर्नाले बिरामीको चाप घट्छ र चिकित्सकलाई पनि तनाव कम हुन्छ।नागरिकको हेल्थ इन्सुरेन्सको बारेमा पनि सरकारले सोच्नुपर्छ।
चिकित्सकमाथिको हातपात कुनै समस्याको समाधान नभएर अर्को समस्याको उद्गम हो। यसरी हातपात हुदाँ यसले चिकित्सा पेशाको दिशानिर्देशन माथि गम्भीर प्रश्न उठाउँछ। यस कल्याणकारी पेशाबाट चिकत्सकहरू विचलित भए, आफ्नो कर्तव्य पालना गर्नबाट त्रसित भए हाम्रो ज्यान कसले जोगाउने?