एकजना दाइले फोन गरेर भन्नुभयो ‘बाबु माइजू बित्नुभयो, आर्थिक अवस्था त्यति राम्रो छैन। भर्ना दिनेबेलामा अस्पतालले एकदिनको आइसियूको खर्च १७ हजार रुपैयाँ जति लाग्छ भनेपछि माइजूलाई भर्ना गर्यौँ।
सातदिनपछि माइजू बित्नुभयो तर अस्पतालले त साढे ६ लाखको बिल पो थमाइदियो। त्यति धेरै सुविधासम्पन्न अस्पताल पनि होइन रहेछ। लौन बाबु कोहीलाई भनेर केही रकम घटाइदिनु पर्यो।’
उहाँको वृतान्त सुनेपछि मैले सान्तवना दिएँ र माइजू बितेकोमा दुख लागेको सुनाएँ। मेरो मेसेन्जरमा अस्पतालको बिल पठाइदिए मैले गर्न सक्ने सहयोग गर्छु भनेर आश्वासन दिएँ। फोन राखिसकेपछि मेसेन्जर हेर्दा बिल आइसकेको रहेछ, त्यसलाई डाउनलोड गरेर बिल हेरेँ।
बिलमा लेखिएको खर्च मलाई चित्त नबुझ्ने र अनौठो खालको लाग्यो। अस्पतालमा हुने खर्चको बारेमा केही जानकारी यसकारण पनि छ किनकि मेरो बुवालाई पनि मैले कयौँ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गराएको थिएँ। बिलमा लेखिएको खर्चबारे मैले चिनेका केही चिकित्सक र नर्स आफन्त र साथीभाइहरुलाई बताएँ।
उनीहरुले पनि बिलमा भएको रकमप्रति आशंका व्यक्त गरे। यति धेरै रकम त नउठ्नुपर्ने अस्पताल प्रशासन झुक्किएको हुनसक्छ, एकचोटि अस्पतालमै गएर बिलबारे स्पष्ट गर्न अनुरोध गर भनेर सुझाएँ।
अस्पतालको नम्बर खोजेर त्यहाँको निर्देशकलाई फोन गरेर बिलबारे जानकारी गराएँ। ‘झुक्किएको जस्तो लाग्यो, लौन एकचोटि बुझिदिनुहोस्’ भनेर आग्रह गरेपछि उनले बुझेर केही समयमा फोन गर्ने आश्वासन दिए तर कलब्याक गरेनन्।
मृतकका आफन्तले ‘लास उठाउन पाइएन लौन अस्पतालमै आएर कुरा मिलाइदिनु पर्यो’ भनेर फेरि फोन गरेँ।
अस्पतालले बिलमा उल्लेख गरिएको रकमको औचित्यता पुष्टि गरे सबै रकम आफूहरुले तिर्ने तर बिरामीको लागि खर्च नभएको रकम नतिर्ने अडान उनीहरुको थियो। म अस्पताल गएँ र अस्पताल प्रशासनसँग सहजतापूर्वक कुरा गरेँ।
उनीहरुसँग बिलमा भएको रकमको औचित्यता पुष्टि गर्नका लागि अनुरोध गरेँ तर अस्पताल प्रशासनले यही नै हो भन्ने अडान लियो। अस्पताल प्रशासनसँग मृतकका आफन्तले सौहार्दपूर्वक रुपमा नै कुरा गरे तर खर्चको पूर्ण विवरण नदेखाई रकम तिर्न दबाब दियो। त्यसपछि भने केही समय चर्काचर्की नै पर्यो र अन्त्यमा अस्पतालबाट लास उठाएर हामी बाहिर निस्क्यौँ।
मन्दिर, मस्जिद, चर्च जे भनेपनि अस्पताल जस्तो पवित्र स्थलले यस्तो ठगी धन्दा चलाएको देखेर दिक्दारी लागिरहेको बेला फेरि भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटले झनै पीडाबोध भयो।
एक साता अघि विराटनगरको विराट शिक्षण अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि यस्तै कुटपिट भएको थियो।
बिरामीको मृत्यु हुँदादेखि अनावश्यक खर्चको फेहरिस्तमा चित्त नबुझेपछि बिरामीका आफन्तले पहिलो आक्रमण चिकित्सक र नर्समाथि गर्ने गरेका छन्, जुन निन्दनीय छ।
यस्ता असामान्य शारीरिक आक्रमण सामान्यजस्तो हुन थालेको छ। स्वास्थ्यकर्मीहरुको अभूतपूर्व योगदानलाई हार्दिक नमन गर्दै यस्ता आक्रमणको जति भर्त्सना गरेपनि कम हुन्छ।
कोभिड-१९ का कारण विश्व नै आक्रान्त भइरहेको अवस्थामा यो महामारी नियन्त्रण, न्यूनीकरण तथा उपचारका लागि चिकित्साकर्मी, सुरक्षाकर्मी लगायत सामाजिक अभियन्ता ठूलो जोखिम मोलेर अहोरात्र खटिरहेका छन्। शक्तिको आड र राजनीतिक संरक्षणको नाममा हुने गरेका जुनसुकै अभद्र क्रियाकलाप बान्छनीय हुनुहुँदैन।
भेरी अस्पताल काण्डमा राजनीतिक त्यसमाथि सत्तारुढ दलकै कार्यकर्ता जोडिनु झनै खेदपूर्ण छ। त्यसै त राजनीतिक दल र तीनका कार्यकर्ताप्रति सर्वसाधारणको वितृष्णा पैदा बढिरहेका बेला राजनीतिक दलका कार्यकर्ताहरुनै यस्तो निन्दनीय कार्यमा संलग्न हुँदा समग्र राजनीति नै फोहोरी र मैलो हो भन्ने आम सोचाइ बलियो बन्दै गइरहेको छ।
नीति माथिको पनि अब्बल नीति राजनीति आज अपराधीकरण हुँदै अस्तव्यस्त र अराजकताको पर्यायवाची बनेको छ। राजनीतिक दल र त्यसमा आबद्ध कार्यकर्ताले सहजकर्ताको भूमिका निर्वाह गर्नसके मात्र यो विषम परिस्थितिमा स्वास्थ्यकर्मीहरुको लागि सम्मान तथा राज्यको लागि टेवा पुग्दछ।
राजनीतिको आड लिएर कसैले कानुनमाथि धावा बोल्छ भने त्यो दण्डनीय छ। यस्तो कार्य राजनीतिक हुनै सक्दैन, यो त समाजको विकृत मानसिकता, जंगली व्यवहार र सामन्ती चिन्तनको अवशेष हुन्छ।
अस्पतालमा कति चिकित्सक, नर्स वा स्वास्थ्यकर्मी छन्, तिनीहरु कतिको दक्ष र अनुभवी छन्, उनीहरुले कति समय काम गर्न सक्छन् वा गरिरहेका छन्, अनि के उनीहरुले काम अनुसारको पारिश्रमिक र सेवा सुविधा पाइरहेका छन् त?
स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि सुरक्षा र कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरुले अस्पतालमा जनशक्तिको अभाव रहेको र एकजना नर्सले ५० जना बिरामी हेर्नुपर्ने भएकाले सबै बिरामीलाई समयमै औषधि खुवाउन, हेरचाह तथा परामर्श दिन के सम्भव होला त भनी आफ्नो समस्या आफैँ उजागर गरेका छन्।
यो महामारीमा स्वास्थ्यकर्मीहरु आठ, १२ हुँदै २४ सै घण्टा नै बिरामीको उपचारमा खटिएका छन्। डिउटी सकाएर घर जानुपर्ने अनि घरमा आफ्नो परिवारसँग अलग भई छुट्टै बस्दा आइलाग्ने मनोवैज्ञानिक असर त परको कुरा, सम्झौता अनुसार तोकिएको पारिश्रमिक समेत अस्पताल प्रशासनले दिएको छैन।
अनपेड इन्टर्नदेखि न्यूनतम बस भाडा र खाजा खान समेत नपुग्ने पारिश्रमिकका साथ दिनरात नभनी काम गर्नुपर्ने अनि अझै कुटाकुट र गाली गलौज पनि आफैले खानुपर्ने। कस्तो विडम्बना!
मेरो सुझबुझ र धेरै स्वास्थ्यकर्मीहरुको वेदना र दुःख सुन्दा अस्पताल प्रशासनको गैरजिम्मेवारपनले सिंगो अस्पताल व्यवस्थापन लथालिंग बन्दै गइरहेको छ। बिरामीसँग विभिन्न शिर्षकमा मोटो रकम असुल्ने निजी अस्पतालका साहुजीहरुलाई मेडिकल माफिया भनेर उनीहरुको नियतविरुद्ध नागरिकले पटक-पटक आन्दोलन गर्दा पनि सरकार कानमा तेल हालेर बस्नुले समस्या कहाँ छ, प्रष्ट देखाइरहेको छ।
अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीहरुमाथि आक्रमण हुनु र आक्रमणकारीलाई कारबाही नहुनु झनै अनौठो छ। अस्पतालका चिल्ला भित्ता देखाएर ब्रह्मलुट मच्चाउँदा पनि नीति निर्माणमा बसेका वरिष्ठ चिकित्सकहरु किन बोलिरहेका छैनन्?
महामारीका बेला न्यूनतम र उच्चतम शुल्क किन सरकारले तोक्न सकिरहेको छैन? कोभिड-१९ को दोस्रो लहर आइसक्दा पनि स्वास्थ्य मन्त्रालयसँग अस्पताललाई व्यवस्थित र यथोचित शुल्क निर्धारण गर्ने संयन्त्र हुन नसक्नु अचम्म होइन र? नेपालको सरकारी तथा निजी स्वास्थ्य क्षेत्र, केही वरिष्ठ चिकित्सकहरुको कब्जामा भएका कारणले यी समस्या र बेथितिहरु ज्युँका त्युँ रहेका हुन् कि?
राज्यको आँखा ठेक्का र कमिशनमा मात्र छ। यो महामारीमा आवश्यकता पूर्ती गर्नतिर लाग्नुपर्ने राज्य केमा धेरै कमिसन आउँछ त्यो सामान जोड्न नै तल्लीन छ। पेसा बुझेका तर नीति निर्माण तहमा पुगेका अब्बल चिकित्सकहरु नै यो देशको स्वास्थ्य क्षेत्र सुधार्नभन्दा कमिसन र जालझेलको चक्करमा आफ्नो पेशाको मर्म, धर्म बिर्सिएर अग्रपंक्तिमा बसी काम गरिरहेका आफ्नै सहकर्मी कुटिँदा पनि किन मौन?
अस्पतालमा खटिने धेरै कर्मचारीहरुमध्ये चिकित्सक र नर्स बिरामीसँग प्रत्यक्ष जोडिने समूह हो। अस्पतालले निश्चित तलब दिएर उनीहरुलाई जागिर दिएको हुन्छ। अधिकांश घटनामा उनीहरु नै बिरामीका वा मृतकका आफन्तको पहिलो तारो बन्ने गरेका छन्।
अस्पताल संचालकले मानव सेवासँगै व्यवसाय गरेका छन् वा व्यवसायको नाममा ठगी यो कुरामा भने सचेत बन्नुपर्छ तर अनावश्यक खर्च सहित अस्पताल प्रशासनले थमाइदिएको बिलको दोष र रिस पोख्ने भाँडो वा निशाना त्यस अस्पतालमा कार्यरत चिकित्सक र नर्सलाई कदापि बनाइनु हुँदैन।
अस्पतालले थमाएको बिलमा भएको खर्चबारे बिरामीका आफन्तले मागे अस्पताल प्रशासनले त्यसको औचित्यता पुष्टि गर्नुपर्दछ। गलत नियत राखेर वा लापरबाहीकै कारण बिरामीको मृत्यु भएको तथा अस्पताल प्रशासनले थमाएको बिलमा चित्त नबुझे त्यसका बारेमा कुरा गर्ने वा असन्तुष्टि जनाउने अस्पताल प्रशासनसँग हो न कि दिनरात नभनि खटिएका उपचारमा संलग्न चिकित्सक र नर्सहरुमाथि सांघातिक हमला गर्ने।
जीवनरक्षार्थ र मानवीय सेवामा दिनरात खटिने चिकित्सक र नर्सहरुमाथि हुने गरेको कुटपिट, गालीगलौज, अस्पताल प्रशासनले उपचारको नाममा लिने गरेको मोटो रकम असुली जस्ता कार्यका कारण यो पेसा र स्थान विस्तारै अमर्यादित र असुरक्षित बन्दै गएको छ। यस्ता घटनाले अस्पताल कतै ठगी र रकम असुली गर्ने निकाय हुन त पुगिरहेको छैन?
सम्बन्धित निकायले ध्यान दिनु आवश्यक छ। चिकित्सक भगवान होइनन् तर समाजले उनीहरुलाई भगवानसरह नै हेर्दछ। त्यसैले जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो कर्म, कौशल र कर्तव्यबाट विमुख हुनु हुँदैन।
अन्त्यमा, स्वास्थ्यकर्मीहरुको अभूतपूर्व योगदानलाई हार्दिक सम्मान गर्दै भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको यो निन्दनीय कार्यको घोर भत्सर्ना गर्दै घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्न सबैलाइ कडा कारबाही गर्नू अत्यावश्यक छ।