भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले भनेका थिए, ‘मान्छे भावनाले परिपूर्ण हुनुपर्छ तर भावनात्मक हुनुहुँदैन।’
राजनेता नेहरूले भने झैं भावनाबिनाको मान्छे त के, कुनै प्राणी पनि जीवन्त हुँदैन। यद्यपि, भावनामा आएर गरिएका निर्णयहरू राष्ट्रको मामिलामा घातक सिद्धान्त हुनसक्छन्।
भावना जसरी उत्पन्न हुन्छ, त्यसैगरी उडेर जान्छ। व्यक्तिगत भावनाले सामूहिक अभिव्यक्तिको रुप पनि लिनसक्दा रहेछन्।
आज नेपाल अहिले यस्तै भावनाको लहरबाट गुज्रिरहेको छ। कोरोनाको महामारीले थुप्रैलाई चपेटामा लियो। धेरैलाई सदाका लागि हामीबाट छिन्यो। यस महामारीको शिकार देशलाई सम्भवाना र विकल्पको राजनीतितिर उन्मुख गर्न खोज्ने युवा नेता उज्वल थापा पनि हुन पुगे।
राष्ट्रपति, प्रधानमन्त्रीदेखि सर्वसाधारण सबैले श्रद्धाञ्जली व्यक्त गरे। सामजिक सञ्जाल, पत्रपत्रिकामा उनको मृत्युको खबरले प्रमुखता पायो। समवेदनाको बाढी नै आयो। भावनाको यो सामूहिक अभिव्यक्ति केही वर्षयता देखिन पाइएको थिएन।
भावना व्यक्त हुनु कुनै नौलो कुरा होइन। एकले अर्कालाई सहँदै नसहने हाम्रो राजनीतिको पहिचान बन्दै गएको यो समयमा कुनै राजनीतिक अभियन्ताप्रति यसरी सबैले सम्मान व्यक्त गर्नुले समाजको मनोविज्ञानलाई दर्शाउँछ। कुनै पनि भावनाको अर्थ तब लागछ जब त्यसले सकारात्मक शक्तिको रुप लिन्छ। त्यसले केही सकारात्मक परिवर्तन गर्न आकार लिन सक्छ।
व्यवहारमा नउत्रिने शब्द र भावना खोक्रो सावित हुन्छन। भावना जवानीजस्तै हुन्छ। सुन्दर तर आत्मघाती पनि। भावना बाढी झैं उर्लन्छ र पोखिन्छ पनि। र, आफैंलाई पनि बगाएर लग्न सक्छ। भावनामा इमानदारिता चाहिन्छ। त्यो पो भावना जसले सुतेको विवेकलाई पनि जगाओस्।
उज्वल थापाप्रति जागेको समवेदना देखेर विवेकशील साझाका अध्यक्ष रविद्र मिश्रले यतिधेरै श्रद्धा भोटमा किन रुपान्तृत भएन भनेर प्रश्न गरे। यो ‘पोलिटिकल्ली करेक्ट’ वयान थिएन। तर यसमा तीतो-सत्य लुकेको थियो।
यदि हामी कसैलाई असल मान्छे भनेर सम्मान गर्छौं भने, असल मान्छेलाई चुनेर देश र समाजको सेवा गर्ने मौका किन दिन्नौं? यहाँभित्र नेपालको राजनीति र चुनाव र भोटिङ कल्चरको रह्स्य छिपेको छ। जसको जवाफ नेपाली जनताले मात्र दिन सक्छ।
उज्वल थापासँग खासै संगत गर्न पाइनँ तर उनीसँग छोटै भए पनि अन्तक्रिया गर्न पाएको थिएँ। मेरा दाजु र उनी एउटै स्कुल पढेकाले उनीसँग जान पहिचान हुन पुगयो। बुढानिलकण्ठ स्कुलको सौन्दर्य के भने त्यो विद्यालयमा परिवारको कुनै सदस्य पढ्छ भने, उसको परिवारको सम्बन्ध स्कुल र अन्य विद्यार्थीसँग पनि गाँसिन्छ। त्यो स्कुलमाका पढेका थुप्रै दाइभाइसँग मेरो आत्मीय समबन्ध छ।
उज्वल थापा मेरा दाजुले आयोजना गरेको कार्यक्रममा अथितिको रुपमा धनगढी आएका थिए। उनीसँग भलाकुसारी गर्ने मौका पाएँ। राजनीति, न्याय, सिद्दान्त र दर्शनको बारेमा कुरा भए। इमानदारी साथ भन्दा कुरा गरिसकेपछि उनी ठूला विचारक हुन् भन्ने लागेन, न उनमा अद्भुत वाकपटुता थियो। उनले मेरो एउटा प्रश्न को जवाफ पनि अधुरै राखे।
मैले सोधेको थिएँ- तपाईंको पार्टी झट्ट हेर्दा नै हुनेखाने, अंग्रेजी बोल्ने सभ्रान्तहरूको जमात झैं लाग्छ। किन गरीब र कमजोर विवेकशील हुन सक्दैनन्? पार्टीको शैली पनि एनजिओजस्तो छ। उनले हासेर भनेका थिए- हामी नेपाललाई माया गर्ने सबैका पार्टी हौं। म आफैं पनि पूर्ण रुपमा नेपाली बन्ने प्रोसेसमा छु। यो एउटा ठूलो जिम्मेवारी हो। उनी हास्दै गए। उनको हासोमा मैले मेरो प्रश्नको उत्तर खोज्ने प्रयास गरेँ। मेरो प्रश्न अनउत्तरित रह्यो।
उनी घरमा मेरा बुवा-आमा र परिवारलाई भेट्न आए। उनले मेरा दाजुलाई भने - दाइ मलाई कुनै लक्जरी होटलमा होइन कि त घरमै बस्न दिनुपर्यो कि त समुदायका कुनै परिवारसँग बस्ने व्यवस्था गरिदिनुपर्यो।
दाजुले मलाई भन्नुभयो- यो हो वास्तविक उज्जवल थापा। जसको आत्मा जमिनसँग जोडिएको छ।
म अवाक भए। उज्जवल थापाको अगाडि मलाई सबै सिद्धान्त र इजम ‘वाद’ निरर्थक लागे।
विवेकशील पार्टी कसरी काम गर्छ अब त्यो मेरा लागि ठूलो कुरा थिएन। उज्जवल थापाभित्रको सादगी, सरलता सहिष्णुता, सहनशीलता र इमान्दारी अद्भूत थियो। आत्मीयता अलौकिक थियो।
आधा जीवन जिउँदै थापा कोरोना महामारीको चपेटामा परे। अन्तिम पलसम्म लडे। र, अन्त्यमा मौन रही भद्रताका साथ उनी विदा भए।
आज पूरा देश राजनीतिभन्दा माथि उठेर उनीप्रति सम्मान व्यक्त गरिरहेछ। आखिर किन? जो व्यक्ति कुनै संवैधानिक पद या सरकारी पदमा थिएन उसप्रति यत्रो आदर भाव किन? किन त भन्दा, आज देशमा सादगी, इमानदारी र नैतिकताको खडेरी छ। राजनीतिक मात्र होइन सामाजिक, आर्थिक सबैतिर फोहोर छ। दुर्गन्ध छ।
यस्तो अवस्थामा जब कुनै सफा र सरल व्यक्ति देखिन्छ त्यसप्रति क्षणिक भए पनि श्रद्धा जाग्दो रहेछ। नेपाली जनताले उज्जवलको सरल जीवनको प्रतिविम्ब नेपाली राजनीतिमा देख्न चाहेको हो।
उज्वललाई ‘रिप’ ( रेस्ट इन पिस्) को आवश्यकता छैन। उनी त जीवनशैली हुन्। हामीले अनुशरण गर्न सक्यौं भने सदा जीवित रहनेछन्। उनको जीवनको सत्य के हो भने भावना जरुरी छ तर विवेक अपरिहार्य छ।