आकांक्षामा बौद्धिक अपाङ्गता छ। उमेरको विकाससँगै उनको बौद्धिक क्षमता नभएको थाहा पाएलगतै उनको भविष्यलाई लिएर हामी साह्रै चिन्तीत थियौं। उनको सम्पूर्ण क्रियाकलापनै अभिभावकको सहयोगमा हुन्छ। छोरीको बढ्दो उमेरसँगै महिनावारीको समयमा महिनावारी स्वच्छता कसरी व्यवस्थापन गर्ने भन्ने तनाव हामीलाई सधैं हुन्छ।
त्यसमा पनि समाजले देख्ने मेरो दुःख ‘शान्ता तिमीलाई त धेरै गाह्रो छ है, बौद्धिक अपाङ्गता भएकी छोरी महिनावारी हुँदा कसरी धान्छौं, महिनावारी भएपछि गर्भवती हुने सम्भावना बढ्छ ...बरू..पाठेघरनै फालिदिने पो हो कि..!’
‘विचार गर है, होस् नभएको बच्चालाई त जसले ललाइफकाई गरे पनि थाहा हुँदैन।’
यी सुझाव सम्झिँदा अहिले पनि जिउ सिरिङ्ग हुन्छ। समाजले दिने गरेका यस्ता सुझावले छोरीको महिनावारी कसरी व्यवस्थापन गर्ने होला भन्ने डरले कहिले पनि छाडेको थिएन।
आकांक्षालाई रगत भनेको के हो, सरसफाइ के हो भन्ने केही थाहा छैन। महिनावारीमा प्याडको प्रयोग गर्ने, प्याडको सही व्यवस्थापन गर्ने भन्ने विषय त उनको सोचभन्दा परको कुरा भयो।
उनको बुबासँग छोरीको महिनावारी हुँदा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पटक पटक सल्लाह हुन्थ्यो। ‘दुबै मिलेर गरौँला नि,’ भनेर ढाडसबाट मनमा रहेका त्रास केही हदसम्म कम हुन्थ्यो।
आकांक्षा १२ वर्षको हुँदा उनको अनुहारमा डण्डीफोर देखिन थाले। योसँगै अब उनको महिनावारी हुने समय भयो भन्ने कुरा अन्दाज हुँदै थियो नभन्दै १२ वर्षको उमेरमा उनको महिनावारी सुरू भयो।
तर जब महिनावारीको समय आयो हामीले प्लान गरे जस्तो सजिलो भएन। आकांक्षा प्याड लगाउन मान्दैन थिइन्। घरी सोफामा, घरी भुँइमा लडीबुडी गर्दा उनको महिनावारीको समयमा त एक मिनेट पनि उनीसँग अल्लगै हुनै नमिल्ने स्थिति आउँदै गयो। आकांक्षाको महिनावारी समयमा कोही पाहुना पनि नआइदिए हुने जस्तो लाग्थ्यो। किनकि, आकाक्षांको प्याडहरू टोक्ने, फाल्ने, लुगा लगाउन नमान्ने जस्ता क्रियाकलाप सबैलाई पाच्य हुँदैन थियो।
उनी एकै ठाँउमा बसिरहन पनि सक्दीनन्, घरी सोफामा त घरी भुँइमा बस्दा वरीपरी लागेको रगत सफा गर्दा र पुच्छ्दा म हैराननै हुन्छु। छोरीको यस्तो अवस्थामा उनको बाबालाई प्याड चेन्ज गर्न, उनका कपडाभरी लागेका ब्लड सफा गर्न लगाउन पनि मनले नै नमान्ने रै’छ। किनकि, महिनावारीको कुरा खुला रूपमा भन्नुपर्छ भन्ने समाजमा मेरो हुर्काइ भएकोनै होइन। जतिनै शिक्षीत भए पनि महिनावारीको कुरा घरका पुरूष सदस्य र छरिछमेकले थाहा पाए भने त लाज हुन्छ भनेर हुर्किएकि म जस्ता हजारौं नारीको प्रतिनिधि म आफैंलेनै गरेको थिएँ।
पारीवारीक हिसाबमा आकांक्षाको बुबा र म दुबै जागिरे थियौं। कामको सिलसिलामा कहिलेकाँही बाहीर जानुपर्दा महिनावारी भएकी छोरीको हेरचाह गर्न बहिनीलाई खबर गरेर काम चलाउने गर्थ्यौं। तर लामो समयसम्म यस प्रक्रियालाईइ निरन्तरता पनि दिन सकिएन। परिस्थिति साह्रैनै गाह्रो हुँदै गएपछि आकांक्षाको बाबा पनि सक्रिय रूपमा उनको हेरचाहमा लाग्नुभयो र वर्षौंको भोगाइ र सिकाइ पछि आजकल बल्ल मेरो घरमा भने महिनावारीको कुरा खुलेर गर्ने वातावरण बनेको छ।
दुबै जना जागिरे भएकोले जसको समय मिल्छ उसलनै छोरीको हेरचाह गर्ने गरेका छौं। उनको महिनावारीको समय हुने ३-४ दिन अघिबाटनै विशेष ध्यान दिन्छौं र छोरीको महिनावारीलाई कुनै पाप वा झन्झटको रूपमा नहेरियोस् भनी पारिवारका सदस्यसामू पटक पटक सरसल्लाह पनि गर्ने गरेका छौं।
अहिले त वार्षिक रुपमा महिनावारी स्वच्छता दिवस मनाइने प्रचलन आयो। महिनावारीबारे सबैको सक्रियतामा जोड दिने नारालाई व्यवहारमा परिणत गर्ने कुराहरु वरपर सुनिन थाले। यी कुराहरुले मलाइ साह्रै खुशी दिन्छ। तर म चाहान्छु-महिनावारीको बारेमा करले होइन, रहरले खुलेर कुरा गर्न सिकौं।
महिनावारीको विषयमा कुरा र कार्य गर्न मेरो घरमा जस्तै बौद्धिक अपांगता या शारीरिक अपागंता भएका बालबालिकानै जन्मिनुपर्ने दिन नआओस्। अपांगता जो कोही व्यक्तिलाई पनि जुनसुकै समयमा हुन सक्छ भन्ने कुराको मध्यनजर गर्दै हामीले आफ्नो घर परिवार र समाजलाईनै यस्ता विषयबस्तुहरुबारे सचेत बनाउँदै लाने हो भने महिनावारी स्वच्छता नारीको मात्र दायित्व होइन भन्ने कुरामा पक्कै पनि सकरात्मक परिवर्तन हुने थियो।
लेखक
पुनर्स्थापना अधिकृत
राष्ट्रिय अपांग महासंघ