यो प्रसंग विसं २०७५ साल फागुन महिनाको हो। त्यतिबेला म एमबिएस दोस्रो वर्षको परीक्षा सकेर बसेको थिएँ। दोस्रो वर्षको नतिजा आइसकेको थिएन र फुर्सदको समय सदुपयोग गर्न बिहानमा फेरि एमए इकोनोमिक्स जोइन भएको थिएँ भने दिउँसोको समयमा थेसिस सक्ने तयारीमा थिएँ।
थेसिस सक्न अझै थप दुई महिना जति लाग्ने थियो। त्यतिबेलासम्म औपचारिक रूपमा कुनै पनि जागिरको सुरुआत गरेको थिइनँ। त्यसैबेला कुनै जागिर गर्नु पर्ने आवश्यकता पनि महशुस भएको थियो।
आफू व्यवस्थापनको विद्यार्थी भएको हुँदा बैंकमा जागिर गर्ने ठूलो इच्छा थियो। धेरै साथीहरु पनि बैंक तथा वित्तीय संस्थाहरुमा जागिर गरिरहेका थिए। त्यही समयमा एक प्रतिष्ठित निजी बैंकले ट्रेनी असिस्टेन्टसँगै अन्य पदमा केही कर्मचारी मागेको थियो।
आफ्नो योग्यता मिल्ने र बैंकले माग गरे बमोजिमका अन्य आवश्यकताहरु पूरा हुने हुँदा मैले ट्रेनी असिस्टेन्टमा दर्खास्त भरेको थिएँ। बैंकले परीक्षाको मिति तोक्यो, फोन गरेर खबर दियो। तोकिएको परीक्षा केन्द्रमा गएर परीक्षा पनि दिएँ।
त्यो जागिरको लागि परीक्षा दिएको मेरो पहिलो अनुभव थियो। केही दिनपछि बैंकबाट मलाई फोन आयो। ‘तपाईं सागर जी हो?’ भन्यो। मैले ‘हजुर, हो म’ भनेँ।
‘तपाईंको लिखितमा नाम निस्केको छ, अब अन्तर्वार्ताको लागि हाम्रो हेड अफिसमा पर्सि तीन बजे हजुरको समय छ, आउनु होला?’ भन्यो।
निर्धारित समयमा नै अन्तर्वार्ताको लागि म कार्यालय पुगेँ। त्यहाँ मसँगै अन्य प्रतिस्पर्धीहरु पनि थिए। अन्तर्वार्ताको समय केही क्षण ढिलो भयो। खासै चिनेका प्रतिस्पर्धीहरु पनि थिएनन्।
त्यतिकैमा नजिकैका दुईजना साथीहरु एकआपसमा कुरा गर्दै थिए। एकजनाले भने ‘यो बैंकको सिइओ त हाम्रो आफ्नै नजिकको मान्छे हुनुहुन्छ, मेरो त पक्का भैसकेको छ नाम निक्लने। अन्तर्वार्ता त औपचारिकता पूरा गर्नलाई मात्र आएको हो’ भने।
फेरि अर्को साथीले कुरा गरे ‘म पनि संचालकको आफन्त हो’ भने।
मैले सबै कुरा सुनेर बसेको थिएँ। मैले पनि विस्तारै अरु प्रतिस्पर्धीहरुलाई नचिनेका भए पनि घुमाउरो पाराले सोधेँ- ‘तपाईंको त नाम पक्का निक्लन्छ होला?’
मैले सोधेँ जति सबै जना नाम निकाल्नेमा विश्वस्त थिए। र नाम निकाल्ने कारणहरु थिए मेरो भिनाजु बैंकको मेनेजर हुनुहुन्छ, एचआर मेनेजर मेरो मामा हुनुहुन्छ, सबैभन्दा धेरै शेयर लगानी गर्ने शेयर होल्डरको मान्छे हुँ।
त्यति मात्र हैन, यो बैंकको सिइओ र संचालक फलानो राजनीतिक पार्टीका हुन्। फलानो नेता, सांसद तथा मन्त्रीले भनेको सबै मान्छ मलाई उसैले सबै सेटिङ मिलाइदिइएको छ।
कसैले पनि यो पदको लागि म योग्य छु, मेरो क्षमता छ, राम्रोसँग तयारी गरेको छु, राम्रोसँग अन्तर्वार्ता दिन्छु भनेनन्। यो हिसाबले त मेरा माथिका जागिर पाउने कुनै पनि कारण थिएनन् न त सेटिङ मिलाउन सकेको थिएँ।
मनमनै सोँचे, म योग्य छु, काम गर्ने इच्छा र तत्परता पनि छ। तैपनि यो प्राइभेट बैंकमा जागिर पाउन यत्रो सेटिङ मिलाउन पर्ने! अब जे त होला आइहालियो अन्तर्वार्ता दिन्छु, ह्या भयो म त लोकसेवा नै भिड्ने हो, सरकारी जागिर नै खाने हो, आदि विभिन्न कुराहरु मनमा खेल्न थाले।
केही समयपछि मेरो अन्तर्वार्ता दिने पालो आयो। सबैलाई नमस्कार गर्दै अन्तर्वार्ता कक्ष भित्र पसेँ। भित्र पाँच जना अन्तर्वार्ताकर्ता थिए। सबैले पालै पालो प्रश्नहरु गरे। मैले पनि सबै उत्तर चित्तबुझ्दो गरी दिने प्रयास गरेँ।
चार/पाँच दिनपछि बैंकबाट फोन आयो- ‘सागर जी बधाइ छ! तपाईंको नाम निस्केको हुँदा पर्सि बिहान दश बजे हेड अफिस आउनुहोला प्री-ट्रेनिङ छ।’
त्यसपछि म सोही बोलाएको दिनमा बैंकको हेड-अफिस पुगेँ। सुरुको दिन बैंकमा जाँदा सिइओले एचआर म्यानेजरलाई सोधे- उहाँलाई टार्गेट सुनाउनु भयो?
मलाई उत्सुकता लाग्यो! के रैछ टार्गेट? एचआर म्यानेजरले एकैछिनमा हामीहरुलाई भने- बैंकमा खातावाला ग्राहकको संख्या कति वृद्धि गर्नु पर्ने, निक्षेप कति संकलन गर्नु पर्ने र कर्जाको आयतन कति विस्तार गर्ने। बल्ल थाहा भयो त्यस्तो पो रैछ टार्गेट भन्ने।
मैले मनमनै सोचेँ, यो बैंकले दिएको टार्गेट मैले पुर्याउन सक्दिनँ। मेरो स्वभाव नै अरुसँग झुकेर यस्तो काम गर्न सक्ने छैन। मेरो बैंकमा खाता खोल्दिनु पर्यो हजुर! पैसा जम्मा गर्नुहोस् हामी अरुको भन्दा धेरै ब्याज दिन्छौं। लौन हाम्रो बैंकबाट ऋण लैजानुहोस्, हामी सस्तो ब्याजदरमा दिन्छौं!
त्यतिमात्र हैन, मेरो जागिरको लागि भए पनि यति गरिदिनुहोस् न! भन्नको लागि मेरा धनी र व्यापारी आफन्त र साथीहरू पनि थिएनन्।
म त ट्रेनी असिस्टेन्टमा अर्थात् तालिमी सहायक काम सुरु गर्दै छु। छ महिनासम्म मलाई बैंकले तालिम दिएर योग्य ठानेमा मात्र बैंकको स्थाइ नियुक्ति गर्ने हो। सुरुमै टार्गेट! मैले अहिलेसम्म जाने भनेको त्यही सैद्धान्तिक ज्ञानहरु मात्र हो। कसरी हुन्छ त पूरा! सुरुमा त मैले सिक्नै पर्छ। बल्ल पो थहा हुन्छ कसरी पूरा गर्ने टार्गेट भनेर।
त्यतिकैमा मैले एचआर मेनेजरलाई सोधेँ- हाम्रो तलब कति हुन्छ सर? उनले भने- छ महिना सम्म बाह्र हजार जति अनि त्यस पछि उन्नाइस हजार हुन्छ।
त्यसपछि अर्को दिन कार्यलय समयमा नै बैंकमा पुगेँ। सुरुमा मलाई सिएसडी (कस्टुमर सर्भिस डेस्क) मा राखियो। पहिले-पहिले बैंकमा जाँदा बैंकरहरुले काम गरेको देख्दा आनन्द लाग्थ्यो। हुन पनि बाहिरबाट हेर्दा अत्यन्तै आकर्षक र सफा पोसाकहरु लगाएका कर्मचारीहरु, सहकर्मीहरु बीचको सुमधुर सम्बन्ध, आकर्षक कार्यलय स्थल र संरचना आदि ती औपचारिकताहरु निकै लोभ लाग्दो हुन्थ्यो।
वाह! बैंकका कर्मचारीहरु कति राम्रा! पैसा त टन्नै कमाउँछन् होला जस्तो लाग्थ्यो। बल्ल थाहा भयो वास्तविक बैंक भित्रको चुरो कुरो। बाहिर जे देखिन्छ नि त्योभन्दा धेरै फरक हुँदो रैछ बैंक भित्र। बाहिर जति औपचारिकता देखाएता पनि प्रायः कुनै पनि तहका बैंकिङ कर्मचारी खुसी थिएनन्।
त्यही रहेका एकजना पुरानो कर्मचारीले भने- ‘किन प्राइभेट बैंक रोज्नु भयो? तपाईलको त उमेर छ, सकभर अन्य क्षेत्रमा लाग्नु होस्। यता त साह्रै गाह्रो हुन्छ। सधैंभरि तनाव मात्र हुन्छ। बैंकको काम बाहेक केही सोच्न पनि सकिँदैन।
घर परिवार, इष्टमित्र, साथीसंगीहरु, रंग रमाइलो केहीलाई समय दिनै सकिन्न। सधैं व्यस्त रहिन्छ। कार्यालय आउने जाने समयको निश्चितता नै हुँदैन। न त अतिरिक्त कामको पैसा पाइन्छ। बल्ल-बल्ल सकि/नसकी एकचोटी टार्गेट पूरा गर्यो फेरि अर्को टार्गेट सुरु भैहाल्छ। जिन्दगीमा आफ्ना टार्गेटलाई भुलेर खाली बैंकको टार्गेट भन्दै हिँड्नु परेको छ।’
फेरि तिनै कर्मचारीले भने- ‘सुन्नुहोस्, तपाईलाई मेरो तितो अनुभव भन्छु। म र एउटा साथी सँगै एउटै पोस्टमा नियुक्ति भएका हौं। उनको र मेरो योग्यता बराबर थियो। उनले बैंकले दिएको टार्गेट सधैं पूरा गरे, उनी बढुवा भएर अहिले सिनियर असिस्टेन्ट छन्।
म यति इमान्दार र लगनशील भएर काम गर्दा पनि यही पोस्टमा छु। मैले बैंक म्यानेजमेन्टलाई भन्दा भाइ हजुरको कार्यसम्पादन मूल्याकंन हामी इमान्दारिता र लगनशीलतामा हैन, हामी व्यावसायिक परिणाम हेर्छौ भने।’
अर्को दिनमा पुनः म बैंकमा गएँ। एचआर मेनेजरले भने- ‘हजुर मनाङ जानु पर्ने भयो।’
सबै साथीहरुलाई उनीहरुलाई अनुकूल पर्ने शाखाहरुमा खटिएको थियो। मेरो मास्टर्सको थेसिस सकिएको थिएन। दुई महिनापछि जान्छु भनेर अनुरोध गरेँ तर कुरै सुनेनन्।
‘माफ गर्नुहोला सर, अर्को चोटि कोशिश गर्नुहोला’ भने।
‘हस्, हुन्छ’ भनेर म निस्किएँ। यदि त्यो परीक्षा प्रणाली मर्यादित र निष्पक्ष थियो भने मेरो नाम दुई नम्बरमा निस्केको थियो। मलाई पनि सामान्य अनुकूल मिल्ने शाखामा राख्नु पर्ने थियो।
बल्ल थाहा भयो नातावाद र कृपावादको सेटिङ कस्तो हुनि रैछ भनेर। अब म कहिल्यै प्राइभेट बैंकमा जागिर गर्दिनँ भन्दै बैंकबाट निस्किएँ। सायद त्यो मेरो लागि संयोग थियो वा वास्तविकता, त्यो मैले बुझ्न सकिँन। प्रायः धेरै बैंक तथा वित्तीय संस्थाहरुमा जनशक्ति भर्ना, छनौट, विकास तथा सम्भार प्रकृया यस्तै नै हुने गरेको देखिन्छ।
त्यसो त बैंक तथा वित्तीय संस्थाहरुले देशको आर्थिक विकासमा ठूलो भूमिका खेलेका छन्। नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको संजाल बढेसँगै अर्थतन्त्रमा ठूलो हिस्सा बैंकिङ कर्मचारीले ओगटेको देखिन्छ। भने देशमा पुँजी निर्माण, गरिबी निवारण, उद्यमशील संस्कृतिको विकास, ग्रामीण क्षेत्रको मौद्रिकीकरण, बैंकङ प्रणालीको विकास जस्ता क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको देखिन्छ।
बैंक तथा वित्तीय संस्थाहरुको नियमन निकायको रूपमा रहेको अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था नेपाल राष्ट्र बैंकको भूमिका पनि यो ज्यादै न्यून देखिन्छ।
नेपाल राष्ट्र बैंकको कुनै पनि अल्पकालीन तथा दीर्घकालीन योजना तथा रणनीतिहरुले निजी बैंकका मानव संसाधन प्रणाली सम्बन्धि स्पष्ट खाका तर्जमा गरी कार्यान्वयन गर्न सकेको छैन।
नातावाद र कृपावादको पहुँच पुर्याउन नसक्ने क्षमता वाहन व्यक्तिहरुलाई पनि प्राभेट बैंकमा जागिर पाउन सक्ने गरी उचित मानव संसाधन प्रणालीको विकास गरी सामाजिक न्याय स्थपित गर्नु पर्दछ। नेपाल राष्ट्र बैंकले बैंकिङ कर्मचारीको श्रम अडिट कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै कुनै संस्थाका कर्मचारीहरुको खुसी सूचांक मापन गर्न पनि जरुरी छ।
बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो बैंकिङ उत्पादनको गुणस्तर पक्ष र रणनीतिक प्रतिस्पर्धात्मक क्षमता विकासलाई ध्यान दिनु पर्दछ। सधैं कर्मचारीलाई मात्र टार्गेटको दबाब दिने परिपाटी अन्त्य गर्नु पर्दछ।
यस्ता रणनीतिले अल्पकालमा सफल भए पनि दीर्घकालमा नराम्रो असर पार्न सक्छ। कुनै पनि कर्मचारी बैंक तथा वित्तीय संस्थाका सम्पत्ति हुन् उनीहरुलाई सधैं खुसी राख्न सक्नेगरी उत्प्रेरणाको विकास गरौं।