विद्धार्थीको काम मिहेनतसाथ पढेर डाक्टर बन्ने हो। डाक्टरको काम विरामीको उपचार गरेर ज्यान जोगाउने हो। जोगाउने क्रममा विरामीको ज्यानै गयो भने पनि सामान्य परिवेशमा डाक्टरलाई कारबाही हुँदैन।
बेलायती ००७ जस्तै। एक सिक्रेट एजेन्ट जसको काम राष्ट्र जोगाउने हो। त्यो क्रममा कसैको ज्यानै गयो भने पनि ऊ कारबाहीमा पर्दैन। त्यसलाई लाइसेन्स टु कील भनिन्छ।
तर हर कोहीलाई यो लाइसेन्स प्रदान गरिन्न। किनकि, न हर कोही एजेन्ट ‘बोन्ड’ बन्न लायकको हुन्छ न हर कोही विद्यार्थी डाक्टर।
ममा सानैदेखि डाक्टर बन्ने चाहना थियो। पढाई पनि राम्रै थियो। मेरो आमाबुवासँग मलाई प्राइभेट एमबिबिएस पढाउने क्षमता थिएन। मैले आइओएममा नाम निकाल्न नसकेको भए ईन्जिनियर बन्थेँ या के, मलाई थाहा छैन।
तर आइओएम, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तथा मन्त्रालयमा नाम ननिस्किएका धेरैले प्राइभेट भए पनि एमबिबिए पढेका छन्। प्राइभेट एमबिबिएस भन्दैमा कमजोर नै ठानिहाल्नु पनि पर्दैन तर पैसाको आधारमा मात्र भर्ना दिने प्रवृत्तिले गर्दा कमजोर विद्यार्थीले पनि एमबिबिएसको डिग्री लिने गरेका छन्।
के कमजोर शैक्षिक योग्यता भएका विद्यार्थीले एमबिबिएस डिग्री हासिल गर्दैमा राम्रो स्वास्थ्य सेवा प्रदान गर्न सक्लान्? नेपाली जनताको स्वास्थ्य सेवामा यसको दीर्घकालीन असर कस्तो पर्ला? जो कसैलाई पनि डाक्टर बन्ने अवसर प्रदान गर्दा पेशा नै बदनाम हुने अवस्था पनि सृजना हुनसक्छ। डा. देवकोटा, डा. बाँस्कोटा, डा. कोइराला, डा. आचार्य जस्ता डाक्टरको पालामा समाजले हाम्रो पेशालाई जति आदर दिन्थ्यो। त्यो आज रतिभर छैन। विरामीले डाक्टरलाई हेर्ने नजर नै परिवर्तन भइसकेको छ।
सरकारले अहिले डाक्टरी पढ्न प्रवेश परीक्षामा न्यूनतम ५० प्रतिशत हाँसिल गर्नुपर्ने मापदण्ड तोकेको छ। तर त्यो मापदण्ड अनुसार लायक भएर एमबिबिएस पढेका विद्यार्थीको गुणस्तर जाँच गर्दा ७५ प्रतिशत गुणस्तरहीन निस्किन्छन्। विदेशबाट पढेर आउने त ८० प्रतिशत विद्यार्थी पहिलो पटकमा परीक्षा उत्तीर्ण नै गर्न सक्दैनन्। जाँच फेल भए पास नहुन्जेल जति चोटि पनि प्रयत्न गर्न पाइन्छ।
जाँच फेल भए त फेरि दिन पाइएला तर विरामीको ज्यान गयो भने फेरि दोस्रो मौका पाइन्न। पटक पटक त कुरै छाडौं। हामीले यसरी अनियन्त्रित तरिकाले डाक्टर उत्पादन गरेर विरामीको ज्यान जोखिममा त राखिरहेका छैर्नौ?
विश्व स्वास्थ्य संगठनको मान्यता अनुसार हरेक १००० व्यक्तिको लागि १ डाक्टरको आवश्यकता पर्छ। नेपालमा जनसंख्याको हिसाबले ३० हजार डाक्टरको आवश्कता छ। हाल नेपालमा २५ हजार भन्दा बढी डाक्टर स्वास्थ्य सेवामा कार्यरत छन्।
नेपालमा अहिले २० वटा जति मेडिकल कलेज छन्। तिनको वार्षिक उत्पादनदर १००० जति छ। त्यसबाहेक चीन, भारत, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, रसियाजस्ता विदेशी मेडिकल कलेजबाट पनि थप डाक्टर उत्पादन हुन्छन्। केही वर्षमा नेपालमा संख्याको हिसाबले डाक्टरको आवश्यकता पुरा हुनेछ।
आर्थिक लाभको प्रलोभनमा हजारौंको संख्यामा फ्याक्ट्री प्रडक्टझैं गरी डाक्टर किन उत्पादन गरिरहेका छौं? उत्कृष्ट १००० लाई डाक्टर बनाउनुभन्दा ५०० मात्र छानेको भए नेपाली डाक्टरको गुणस्तरमा बृद्धि हुने थियो कि? पैसा बढी तिर्दैमा मेडिकल कलेज भर्नामा प्राथमिकता पाउने नभइदिए अब्वल विद्धार्थीले त्यो मौका पाउँथे कि?
भएका मेडिकल कलेजको पनि गुणस्तरको प्रत्याभूति नेपाली जनतालाई छैन। डा.केसी को आन्दोलन पश्चात नेपाली मेडिकल कलेज र शिक्षा प्रणालीमा भएका बेथितिका बारेमा सबै अवगतै हुनुहुन्छ होला।
यदि त्यसो हो भने हामी थप प्राइभेट मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रियामा किन छौं? समाजवादी संविधान लेखेर निजी शिक्षा प्रोत्साहन गर्नु संविधानको मर्म विपरित हुन्छ। शिक्षामा व्यापार हुनु हुँदैन भन्ने विचार यदि समाजवादसम्मत छ भने भएको निजी मेडिकल कलेज सरकारीकरण गरिनुपर्नेमा नयाँ मेडिकल कलेज खोल्ने, त्यो पनि प्राइभेट?