सुन्दर रमणीय प्रकृतिले भरिभराउ रोल्पा जिल्लाको बसाइ स्मरणीय भयो। प्राकृतिक रुपमै सुन्दर रोल्पालाई प्रकृतिले थुप्रै कुराहरू उपहार दिएको छ।
विकास र परिवर्तनसँगै आफ्नो जीवनस्तर माथि उठाउन खोजिरहेका सोझा सिधा रोल्पालीहरू बेरोजगार, गरिबी, अशीक्षा र परम्परागत मूल्य मान्यताहरूकै कारणले सामाजिक अपराधहरू बढ्दो क्रममा देखिन्छ।
समग्रमा शिक्षाको पहुँच अझै लक्षित वर्गसम्म पुग्न सकेको देखिँदैन जस्का कारण समाजमा विभिन्न प्रकृतिका घट्नाहरू घट्ने गरेको छ। प्रकृतिले जति सुन्दर भएपनि सामाजिक अपराध बढ्दो मात्रामा छ।
सामाजिक अपराधमा सबैभन्दा आत्महत्या बढदो मात्रामा छ। यस्ता घटनाहरू दिन प्रतिदिन बढ्दै गएको छ। महिनामा ८/९ जनाले आत्महत्या गरेको हुन्छ। यसको पूर्ण नियन्त्रणको लागि सम्बन्धित निकायले समयमा ध्यान पुर्याउन सकेको छैन।
यसमा सरोकार निकायले सूक्ष्म अध्ययन नगरेकाले यकिन कारण पत्ता लगाउन नसकिए पनि डिप्रेसनकै कारण आत्महत्या हुने गरेको छ। डिप्रेसनमा जानुको मुख्य कारण भने आर्थिक अभाव नै हो।
अन्य कारणहरुमा- आवेशमा आएर, सामाजिक सञ्जाल तथा लागु औषधको गलत प्रयोग, प्रेममा धोका, अवैध यौन सम्बन्ध, शिक्षा, बेरोजगारी र गरिबीका कारणले बालबच्चा हुर्काउन नसक्ने भएपछि मानसिक समस्या उत्पन्न हुने र त्यस्ता मानिसले आत्महत्या गर्ने गरेको देखिन्छ।
अर्को सामाजिक अपराधको रूप भन्नेको बालविवाह हो। बालविवाह पनि बढ्दो क्रममा अगाडि बढेको छ। १३ वर्षको उमेरदेखि बालविवाह गरेको पाइयो। कम उमेरमा विवाह गर्ने कार्यलाई सम्बन्धित निकायले न्यूनिकरण गर्न सकेको छैन।
यहाँ बालविवाह बढदो मात्रमा छ। यसलाई न्यूनिकरणको लागि यससँग सरोकार राख्ने निकायले नियन्त्रण गर्न सकेको छैन। बालविवाहकै कारणले आत्महत्याको दर पनि बढेको छ। अर्को कम उमेरमा छोडपत्र गर्ने डिभोर्स जस्ता कार्यले सामाजिक अपराधमा पनि वृद्धि भएको छ।
घरेलु हिंसा पनि बढ्दो क्रममा छ जुन बढ्नुको मुख्य कारण पनि बालविवाह, बहुविवाह र घरेलु मदिरा हो। कानुनले बालविवाह तथा बहुविवाहलाई अपराध हो भनेर भन्दा पनि बालविवाह र बहुविवाहलाई न्यायिक निकायसम्म नपुर्याउँदा, गाउँघरमा मिलापत्र गराउने, बालविवाहलाई पनि ढाकछोप गर्ने, स्थानीयले पनि कसैलाई जानकारी नगराउने।
यसरी गाउँघरमा गराउने मिलापत्रले घरेलु हिंसालाई प्रोत्साहन गरेको छ जसले गर्दा घरेलु हिंसा बढिराखेको छ।
यहाँ घरेलु मदिरा सहज तरिकाले उपलब्ध हुने गरेको छ तर औषधि पाउन गाह्रो छ। मदिरा उत्पादनलाई स्थानीय सरकारले नियन्त्रणमा लिन सकेको छैन।
बिना लाइसेन्स, दर्ता नगरी व्यापार व्यवसाय गर्ने, घरेलु मदिरा उत्पादन गर्ने तथा त्यसको बिक्री वितरण पनि गर्ने गरेको छ। मदिरा बिक्री वितरण गर्ने व्यवसायीले पनि कस्तो उमेरको मानिसलाई कति बेला ब्रिक्री वितरण गर्ने भन्ने ज्ञानको अभावले साना-साना बालबालिकालाई पनि मदिराहरू ब्रिक्री वितरण तथा सेवन गर्ने गरेको पाइन्छ।
स्कुल पढ्ने बालबालिकाले पनि स्कुल ड्रेसमा रक्सी तथा सूर्तिजन्य पर्दाथको सेवन गर्ने गरेको छ।
नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वको समयमा ठूला-ठूला आक्रमण भएका थिए। त्यो बेलाको आक्रमणले कतिपय राज्यपक्ष, विद्रोहीपक्ष तथा सर्वसाधारणले आफ्नो ज्यान गुमाउन परेको थियो।
त्यही बेलाको द्वन्द्वको समयमा अलपत्र रूपमा छोडेका विष्फोटक पदार्थको कारणले अहिलेको अवस्थामा आएर पनि कतिपय बालबालिकाहरूले अकालमा ज्यान गुमाउनु परेको छ।
त्यही द्वन्द्वको कारणले २०७७ साल वैशाख १८ गते त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गैह्रीगाउँको जंगलमा बच्चाहरूले सकेट बमलाई खेलौना भनेर खेलाउँदा वर्ष १४ को लोखिराम डाँगी, वर्ष १३ को गौरब नेपाली, वर्ष ११ की बिमला खत्री र वर्ष ५ को विजय खत्रीले ज्यान गुमाउनु पर्यो।
भविष्यमा यस्ता किसिमका घटना हुन नदिनको लागि स्कुल-स्कुलमा, टोल-टोलमा यस्ता शंकास्पद कुरा देखेको खण्डमा यसलाई छुनु हुन्न भनेर सरोकार निकायले जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक छ।
रोल्पाको विभिन्न जंगलमा अलपत्र रूपमा फालेका गोलिगठा बारूद, सकेट बम अहिलेको समयमा आएर पनि भेटिराखेको छ। २०७८ साल जेठ ९ गते त्रिवेणी गाउँपालिका वडा नम्बर २ रामपुरमा विभिन्न किसिमका हातहतियार तथा गोलिगठाहरू बेवारीसे रूपमा भेटिएको थियो।
नेपाली सेना तथा नेपाल प्रहरी मिलेर यो सम्बन्धी खोजतलास अभियान नै संचालन गरेको थियो तर खोजतलास गर्दा पनि सफलता प्राप्त हुन सकेको थिएन। द्वन्द्वको बेला अलपत्र फालिएका हातहतियार तथा बारूद गोलिगठा यो बेला आएर फेला पर्नु रोल्पा जिल्लाको लागि विडम्बना हो।
जिल्लाका विभिन्न जंगल तथा ओडारमा सूक्ष्म रूपले सबै पक्ष लागेर खोजतलास गर्न आवश्यक छ।
विकासको लागि बाटोघाटो सबै ठाउँमा पुगेको छ तर सामाजिक विकासको लागि स्थानीय सरकारको ध्यान पुगेको देखिँदैन। सामाजिक कुरीति न्यूनिकरण गर्नको लागि बजेट छ तर सम्बन्धित ठाउँमा खर्च भएको छैन।
धेरैजसो ठाउँमा स्वास्थ्य चौकी छन् तर डाक्टर छैनन्। मेडिकल छन् तर औषधि छैन। यसमा सम्बन्धित निकायको समयमा ध्यान जाओस्।
रोल्पामा अहिलेको जल्दोबल्दो समस्या भनेको सामाजिक अपराध हो। सामाजिक अपराधले समाजमा जरो गाडेको छ। समाजमा हुने सामाजिक कुरीति, विसंगति, घरेलु हिंसा, बालविवाह, बहुविवाह, महिला हिंसा, लैंगिक विभेद, घरेलु मदिरा, आत्महत्या जस्ता सामाजिक समस्या बढ्दो मात्रामा छ।
यस्ता सामाजिक अपराधलाई समाजभन्दा बाहिर सम्बन्धित निकायसम्म ल्याउन सकेको भए सामाजिक चेतनामा वृद्धि हुने थियो। जब मानिसको सामाजिक चेतनामा वृद्धि हुन्छ, अनि मात्र सामाजिक अपराधमा कमि हुन्छ र देश विकासको बाटोमा अगाडि बढछ।
अब रोल्पाबासीले सामाजिक विकृतिलाई अन्त्य गर्न सामाजिक लडाइँ गर्न आवश्यक छ। समाजमा हुने विकृति तथा कुप्रथाहरूको अन्त्य गर्न सामाजिक आन्दोलन अहिलेको आवश्यकता हो।
रोल्पाबासीको अबको अन्तिम लडाइँ नै मानवताको लागि, समृद्धको लागि र सभ्यताको लागि आवश्यक छ। यहाँका जनप्रतिनिधि, सरोकारवाला निकाय र संचारकर्मीहरूको समयमा ध्यान जाओस।
सबै पक्ष फुटेर होइन, जुटेर हातमा हात काँधमा काँध मिलाएर काम गर्न रोल्पा जिल्लाको लागि अहिले महत्वपूर्ण छ। निकट भविष्यमा रोल्पाको उन्नती र प्रगति भएको देख्न पाइयोस्।
(लेखक नेपाल प्रहरीका प्रहरी निरीक्षक हुन्।)