बालबालिका जो कसैका छोराछोरी हुन्, उमेरको हिसाबले हेर्ने हो भने उनीहरूको समय आमाको ममतामय काखमा लुटुपुटु गर्ने, बाबुको आङ्मा बुइँ चढ्ने, मसिना मसिना कुरामा दङ्ग्याउने, रमाउने...ती निर्दोष, कोमल हृदय भएका कयौं बच्चाहरू आज जसले हाँस्दै, रमाउँदै खेल्ने समयमा विभिन्न किसिमको अमानवीय यातना सहेर नुनिलो आँसुको घुटको पिउँदै बाल श्रमिक बन्नु बाध्य हुनुपरेको छ।
कयौँ बच्चाहरू आज बाल श्रमिकको बिल्ला भिरेर आफ्नो सुनौलो बाल्यकाल गुमाएर काँडासरिको जीवनको अन्धकार मार्गमा हिँडिरहेका छन्। उनीहरू गुमनाम बनेर आज कसरी समाजमा हुर्किरहेका छन्? बाल श्रमिक बनेर नै कतिले आफ्नो बाल्यकाल गुमाए। वर्ष २०२१ को अन्तर्राष्ट्रिय बालश्रम विरोध दिवसको नारा छ ‘एक्ट नाव: एण्ड चाइल्ड लेबर।’
भनिन्छ आजका बालकबालिकाहरू भोलिको समाज र देशका बलिया धरोहर हुन्। तर, देश र समाजका बाल्यकाल आज आफ्नो सुनौलो भविष्यलाई बाल श्रमभित्र कैद गरेर कसैको घरलाई सिनिक्क, चिटिक्क परिरहेका छन् भने आफ्नो कोमल बाहुको भरमा कसैको व्यापारमा कमारो झैँ खटिरहेका छन्।
यद्दपि भारतमा सरकारले बाल श्रमलाई पूर्ण रूपले समाप्त गर्न कयौँ कार्यक्रमहरू लिएर पाइला चालिरहेका छन्। दशकौंदेखि विश्वका धेरै देशहरुले बाल श्रमको समस्या गाडे घाउकै रूपमा झेल्दै आइरहेका छन्। वर्तमान समयको परिदृश्यलाई हेर्दा बालश्रमबाट बच्चाहरूलाई मुक्त राख्ने दिशामा अझ पनि विश्वका कतिपय देशहरु कोशौं टाडा रहेका छन्।
बाल श्रमिक र शोषणका कारणहरू
बालश्रम साधारण रूपमा बिना पैसा वा पैसा दिएर बच्चाहरूलाई शारीरिक रूपमा खटाएर काम गराउनु हो। बच्चाहरूलाई बाल श्रमिकको रूपमा राख्नु सबैभन्दा सजिलो हो, न त उनीहरूले कुनै विशेष माग गर्छन् न त श्रमको ज्याला बढाइ माग्छन् न त कुनै विषय लिएर विरोध नै जनाउन सक्छन्। यसैले धेरै जस्ता ठाउँहरूमा थोरै पैसा दिएर वा बिना पैसामा केही भुक्तान नगरि बच्चाहरूलाई काम गर्न बाल श्रमिकको रूपमा राखिन्छ।
भारतीय संविधानअनुसार कुनै पनि उद्योग, कल-कारखाना वा कुनै कम्पनीमा मानसिक वा शारीरिक श्रम गर्ने ५ देखि १४ वर्षसम्मका बच्चाहरूलाई बाल श्रमिक भनिन्छ। यसबाहेक १४ देखि १८ वर्षसम्मका किशोर-किशोरीहरुलाई कुनै पनि जोखिमपूर्ण ठाउँमा काम गराउन प्रतिबन्ध लगाएको छ। अन्तर्राष्ट्रिय श्रम सङ्गठनद्वारा बाल श्रमिकको उमेर १५ वर्ष तय गरिएको छ। संयुक्त राष्ट्र संघका अनुसार १८ वर्षभन्दा कम उमेरका श्रम गर्नेहरू बाल श्रमिक हुन्।
विभिन्न उद्योगहरू जस्तै इँटाभट्टा, कोइलाखानी, चुरोट-बिडी, बेकरी, गलैँचा, लुगा, जुत्ताका कारखानाहरू, होटल, रेस्टुराँ, चिया पसल, खेतीपाती, माछा पालन, गराजहरू साथै घरको कामधन्दामा बच्चाहरूलाई बाल श्रमिकको रूपमा काम गर्न राखिन्छ। बाल श्रमिकको रूपमा काम गर्दा बच्चाहरूले धेरै जोखिम उठाउनु पर्छ। यसरी काम गर्ने बच्चाहरू अन्य कयौँ किसिमका शोषणसँगै यौन उत्पीड़नको शिकार पनि हुँदछन्। यसबाहेक अनलाइन एवं अन्य चाइल्ड पोर्नोग्राफीको निम्ति प्रयोग गर्ने खतरा पनि हुँदैछ।
बाल श्रमिक र शोषणका कयौँ कारणहरू छन् जसमा गरिबी, सामाजिक असमानता, रोजगारको अवसरहरूमा कमि हुनु मुख्य रहेको छ। कयौँ यस्ता परिवारहरू छन् जहाँ आमाबाबु रोजगारविहीन छन् जसको कारणले गरिबीको चरम अवस्थामा पुग्दा आफ्ना साना बच्चालाई बाल श्रमिकको रूपमा काम गर्न पठाउन बाध्य हुन्छन्।
गरिबीले प्रताडित आमाबाबु बच्चालाई पाठशालामा पढ्न पठाउनुभन्दा बढी परिवारको आयको निम्ति जोखिमपूर्ण ठाउँमा काम गर्न पठाउन बाध्य हुन्छन्। व्यावसायिक क्षेत्र होस् वा घरमा सबैले नै सस्तो मूल्यमा काम गर्ने खोज्छन्। सस्तो मूल्यमा धेरै काम गराउन सानो बालक वा बालिका मात्र सम्भव हुँदा सबैको पहिलो रोजाई यिनीहरू नै हुन्छन्। बाल श्रमिक राख्नु अमानवीय साथै कानुनी अपराध हो भन्ने थाहा हुँदाहुँदै पनि यसलाई कसैले वास्ता गर्दैनन्।
भारतमा बालश्रमविरुद्ध सशक्त कानुन
भारत सरकारले बालश्रम समाप्त गर्न कानुन सशक्त बनाएको छ। भारतमा सन् १९७९ मा सरकारद्वारा बालश्रम समाप्त गर्ने उपायको रूपमा गठन गुरूपाद स्वामी समितिको गठन गरिएको थियो। गुरूपाद स्वामी समितिले गरिबीलाई बाल श्रमको मुख्य कारण देखाएर सुझाव दिएको थियो।
जसमा जोखिमपूर्ण क्षेत्रहरूमा बाल श्रममाथि प्रतिबन्ध लगाउने अनि त्यस्ता क्षेत्रहरूमा कामको स्तरमा सुधार गराउने सुझाव प्रस्तुत गरिएको थियो। समितिकै सिफारिसको आधारमा सन् १९८६ मा बालश्रम निषेध ऐन अस्तित्वमा आयो। जसमा विशेष जोखिमपूर्ण व्यवसाय वा प्रक्रियामा बच्चाहरूलाई रोजगार एवं अन्य वर्गको निम्ति कार्यको शर्तहरू निर्धारण गरियो। यसपछि सन् १९८७ मा बालश्रमको निम्ति विशेष नीति बनाइयो जसमा जोखिमपूर्ण व्यवसाय एवं प्रक्रियाहरूमा संलग्न बच्चाको पुर्नवासमाथि ध्यान दिन आवश्यक रहेको बारेमा जोड दियो।
सन् २०१६ मा बालश्रम निषेध एवं नियमन ऐन १९८६ लाई संशोधन गरेर बाल अनि किशोर श्रम निषेध एवं नियमन ऐन १९८६ बनाइएको छ। यस ऐनअन्तर्गत १४ वर्ष मुनिका बालक-बालिकालाई कुनै पनि ठाउँमा अनि १४ वर्षदेखि १८ वर्षसम्मका किशोर-किशोरीहरूलाई जोखिमपूर्ण ठाउँमा काममा राख्नु कानुनी अपराध ठहर गरिएको छ। यदि कहीँ पनि यस्तो स्थिति भेटाइए ६ महिनादेखि दुई वर्षसम्मको कैद हुनसक्छ। यसका साथै २० हजारदेखि ५० हजार रूपैयाँसम्म जरीवाना तिर्नुपर्ने हुन्छ।
भारतमा सकारात्मक पहल एनसीएलपी
बच्चाहरूको काम भनेको स्कुल पढ्न जानु हो, कुनै किसिमको श्रम गर्नु होइन। बालश्रम जसले बच्चाको कयौँ बाल अधिकारहरूसँगै उज्ज्वल भविष्यको घरातल पाठशाला जाने अधिकार खोस्दछ अनि पुस्तौँसम्म गरिबीको दलदलमा फसेर निस्कन सक्दैनन्। बालश्रम शिक्षाको क्षेत्रमा सबैभन्दा ठूलो बाधा हो, जसले बच्चाहरूको शिक्षामा साथै प्रतिभा प्रदर्शनमा नराम्रो असर पार्दछ। बालश्रम रोक्नकै निम्ति सरकारले नेशनल चाइल्ड लेबर प्रोजेक्ट (एनसीएलपी) जस्ता कार्यक्रमबाट सम्बन्धित बच्चाहरूलाई विशेष समय निर्धारण गरेर शिक्षा प्रदान गर्ने व्यवस्था गरेको छ।
आज भारतका प्रायः जस्ता जिल्लाहरूमा एनसीएलपीको केन्द्रहरू संचालनमा रहेको छ। गत वर्षदेखि फैलिएको कोभिड-१९ को महामारीका कारणले अन्य शैक्षिक संस्थानहरू जस्तै यसको संचालनमा बाधा सृजना भएको छ। गत वर्षदेखि फैलिएको कोभिड-१९ को महामारीका कारणले अन्य शैक्षिक संस्थानहरू जस्तै यसको संचालनमा बाधा सृजना भएको छ। दार्जीलिङ जिल्लामा पनि एनसीएलपीको ११ वटा केन्द्र रहेको दार्जीलिङ जिल्ला प्रोजेक्ट निर्देशक आशिष सुब्बा बताउँछन्।
उनका अनुसार ११ वटा केन्द्रहरूमा ६ देखि १४ वर्षसम्मका करीब चार सय जना बच्चाहरू आउने गरेको तर, महामारीका कारणले कक्षा संचालन हुनसकेको छैन। ‘एनसीएलपीको कक्षामा आउने बच्चाहरूले तीन सय रूपियाँ मासिक भत्ता पाउँछन् र यो रकम उनीहरूको बैंक खाता खोलिदिएर त्यसैमा जम्मा गरिदिन्छ। एनसीएलपीको कक्षा सञ्चालनको निम्ति पेन्सिल अनलाइन पोर्टलबाट पञ्जीकरण गरिन्छ,’ उनले भने।
यदि कुनै ठाउँमा बाल श्रमिक राखेको भेटाए श्रम विभागले राख्ने व्यक्ति वा मालिकविरूद्ध कारवाही साथै मामला दर्ता गरेर जरिमाना लगाउने गर्दछ। श्रम विभागले दार्जीलिङ महकुमा क्षेत्रबाट सन् २०१२ देखि २० सम्ममा ७३ जना बाल श्रमिकहरु उद्धार गरिसकेको छ। ‘जरीवानाको रकम चाइल्ड एण्ड एडोलसेन्ट लेबर रिह्याबिलिटेशन फण्डमा बैंकमार्फत जम्मा गर्नुपर्छ। यो रकम बच्चाको नाममा फिक्स्ड डिपोजिट वा कुनै पोलिसीको रूपमा जमा गरिन्छ अनि १८ वर्ष पुगेपछि बच्चाले यो रकम पाउँछन्,’ उनले भने।
श्रम विभागले निरीक्षणको बेला साथै सूचनाको आधारमा बाल श्रमिकको रूपमा काम गरिरहेका बच्चाहरूलाई उद्धार गर्नेगर्छ। श्रम विभागले गैर सरकारी संस्था, चाइल्डलाइन जस्ता निकायलाई सूचित गरेर उद्धार कार्य गर्ने आशिष सुब्बा बताउँछन्। ‘चाइल्ड एण्ड एडोल्सेन्ट लेबर-प्रोहिबिशन एण्ड रेगुलेसन्स् एक्टअन्तर्गत १८ वर्षसम्मकालाई नै बाल श्रम मानिन्छ। १४ वर्षदेखि १८ वर्षसम्मका किशोर-किशोरीलाई जोखिमपूर्ण ठाउँमा काममा राख्नु कानुनी अपराध हो,’ उनले भने।
बालश्रमबाट उत्पन्न हुने समस्या
सर्वप्रथम बालश्रम सामाजिक, आर्थिक र राष्ट्रिय समस्या हो। बालश्रम र शोषणको निरन्तर उपस्थितिले देशको अर्थ व्यवस्थालाई खतरा हुँदछ अनि यसले बच्चाहरूमाथि गम्भीर अल्पकालीन र दीर्घकालीन दुष्परिणाम हुँदैछ, जस्तै शिक्षाबाट बञ्चित हुन्छन् अनि उनीहरूको शारीरिक एवं मानसिक विकासमा नराम्रो असर पर्दछ। बालश्रमबाट बच्चाहरू शिक्षाबाट टाडिने हुँदा न त उनीहरूलाई अनुशासनको ज्ञान हुन्छ न त समाज न त भविष्य न त आफूसित भएको प्रतिभालाई उजागर गर्न सक्छन्। प्रायः जस्ता ठाउँहरूमा काम गर्ने वातावरण सफा र स्वच्छ नहुँदा बच्चाहरूको स्वास्थ्यमा नराम्रो असर पर्दछ, यसले गर्दा कयौँ किसिमका रोगहरू लाग्ने प्रबल सम्भावना रहन्छ। काम गर्ने ठाउँमा बच्चाहरूसित दुर्व्यवहार हुने हुँदा शारीरिक यातना भोग्नुपर्ने हुन्छ अनि यसले गर्दा कति मानसिक दबावमा परेर अवसादले ग्रस्त हुँदछन्।
बच्चाहरू कुनै अपराधी प्रवृत्तिका व्यक्ति, गिरोह वा गैरकानुनी व्यवसायमा तस्करीको माध्यमबाट वा कुनै किसिमले बाल श्रमिकको रूपमा काम गर्न पुगे त्यो अर्को सबैभन्दा ठूलो जोखिम र असुरक्षा हो। यसमा बच्चाहरूलाई थुप्रै किसिमको गलत कार्यहरू गराइन्छ कसैलाई भीख माग्न, कसैलाई ड्रग्स ओसारपसारको गैर कानुनी धन्दा, पकेटमारीको धन्दामा लगाइन्छ भने अपराधसमेत गर्न सिकाइन्छ। काम गर्ने ठाउँमा दुर्व्यसनको माहोल छ भने त्यस्ता ठाउँमा बच्चालाई पनि दुर्व्यसनी बनाइन्छ।
यस्तै माहोलबाट कति बच्चाहरू अपराध जगतमा पाइला टेक्न थाल्ने हुनाले यसको असर समाजले भोग्नु पर्ने हुन्छ। यदि यस्तो कुनै किसिमको गिरोह वा व्यक्तिका अधीनमा बालिकाहरू बाल श्रमिकको रूपमा परे सर्वप्रथम यौन शोषणको शिकार हुँदछन् साथै यौन व्यापारमा पनि लगाइन्छ। यौन शोषण र यौन व्यापारकै निम्ति बालिकाहरूको तस्करी गरिन्छ। मानव अङ्गको कारोबारको निम्ति पनि बालकबालिकाहरूको तस्करी गरिन्छ।
कारखाना, व्यावसायिक क्षेत्रमा मात्र नभएर घरैमा काम गर्ने कयौँ बच्चाहरू पनि सुरक्षित हुँदैनन्। कोही मानसिक, शारीरिक यातनाद्वारा प्रताडित हुन्छन् भने बालिकाहरू यौन शोषणको शिकार बन्नसक्ने जोखिम रहँदछ। यदि यौन शोषणको शिकार भइहाले उजुरी गर्न जान पनि सक्दैनन्l कुनै घरमा बाल श्रमिक राखिएको छ अनि त्यसै घरका उसकै उमेरका बच्चा राम्रा स्कूलमा पढ्छन्, राम्रा लुगा लगाउँछन्, आमाबुाबुसित लुटुपुट गर्छन् अनि यस्तो दृश्य उसले सधैँ देख्छन्। तर, यस्तो दृश्यले ती बाल श्रमिकको रूपमा रहेका बच्चालाई पर्ने मनोवैज्ञानिक असर बारेमा भने ती घर परिवारले बुझ्न सक्दैनन्। बाल श्रमिकलाई परिवारकै दर्जामा राख्ने परिवार भने सयमा दश प्रतिशत भन्दा कमै पाइन्छ। समाजमा गैर कानुनी रूपमा गोद लिएको ढोङ्ग गर्दै बाल श्रमिकहरू राख्नेहरूको सङ्ख्या पनि कम छैन।
मानव तस्करीविरुद्ध काम गर्दै आएको गैर सरकारी कञ्चनजङ्घा उद्धार केन्द्रद्वारा संचालित दार्जीलिङ चाइल्डलाइन खरसाङ उपकेन्द्रमा सन् २०११ देखि २०२१ सम्ममा करीब दुई सय बाल श्रमको मुद्दा आएको छ। यस्ता मुद्दाहरू प्रायः जस्तो चाइल्डलाइनको निःशुल्क राष्ट्रिय टेलिफोन नम्बर १०९८ मा आउने गर्छन्। दार्जीलिङ चाइल्डलाइन खरसाङ उपकेन्द्रकी प्रभारी ईशा लेप्चा भन्छिन्, ‘बालश्रम राखिएको सूचना प्राप्त भएपछि उद्धारको निम्ति जाँदा बाल श्रमिक राख्नेले बच्चालाई आफ्नो ठाउँबाट अर्कोतिर सारेर लुकाउने गर्छन्।’
चाइल्डलाइनले अहिलेसम्ममा करीब ७० जना बच्चाहरू उद्धार गरेको उनी बताउँछिन्, ‘बाल श्रमिकको रूपमा रहेका बच्चाहरू प्रायः जस्तो शारीरिक, मानसिक, भावनात्मक रूपले प्रताडित भएका हुन्छन्,’ उनले भनिन्, ‘बाल श्रममा यौन उत्पीडन हुने सम्भावना पनि रहँदछ। बाल श्रममा रहँदा बच्चाहरू मानसिक दबावमा पनि पर्ने गर्दछन्। यस्तो हुँदा आत्महत्या गर्नसक्ने सम्भावना पनि रहन्छ।’
बाल तस्करी पनि बाल श्रमसित नै जोडिएको छ जसको कारणले बच्चाहरूमाथि सधैँ शोषण हुँदछ। यस्ता बच्चाहरूले शारीरिक, मानसिक, यौन तथा भावनात्मक सबै प्रकारको उत्पीड़न सहनु पर्ने हुँदछ। बाल तस्करीको कारणले बच्चाहरू हिंसा र यौन उत्पीड़नको शिकार बन्दछन् भने एचआईभीद्वारा संक्रमित हुने खतरामा पर्दछन्।
यस्तो छ बाल श्रमिकहरूको सङ्ख्या
ग्लोबल इस्टिमेट २०१२–१६ को प्रतिवेदनका केही महत्वपूर्ण तथ्याङ्कहरू अनुसार विश्वभरमा ५ देखि १७ वर्ष उमेर समूहका २१ करोड ८० लाख बालबालिका रोजगारीमा संलग्न छन्। त्यसमध्ये १५ करोड २० लाख बालश्रम शोषणको शिकार भएका छन्। जसमा ७ करोड २५ लाख बालकबालिका जोखिमपूर्ण श्रममा संलग्न रहेका छन्।
सन् २०११ को जनगणनाको आकँडाले भारतमा बाल श्रमिकहरूको सङ्ख्या एक करोड एक लाख देखाएको छ, जसमा ५६ लाख बालक अनि ४५ लाख बालिकाहरू छन्। सेभ द् चिन्ड्रेनको २०१६ को रिर्पोटअनुसार भारतका पाँच वटा ठूला राज्यहरू बिहार, उत्तर प्रदेश, राजस्थान, मध्य प्रदेश र महाराष्ट्रमा भारतभरिका बाल श्रमिकहरूको सङ्ख्यामा आधा जसो छन्।
भारतमा सबैभन्दा ठूलो सङ्ख्यामा करीब २० प्रतिशत बाल श्रमिकहरू उत्तर प्रदेशमा छन्। क्याम्पेन अगेन्स्ट चाइल्ड लेबर (सीएसी) को अध्ययनअनुसार भारतमा १ करोड २६ लाख ६६ हजार ३७७ बाल श्रमिक छन् भने जसमा उत्तर प्रदेशमा १९ लाख २७ हजार ९९७ बाल श्रमिकहरूको सङ्ख्या रहेको छ।
पछिल्लो दुई दशकमा बाल श्रमिकहरूको दरमा कमि आएको रिपोर्टमा उल्लेख गरिएको छ। यो एउटा शुभ संकेत हो। उदाहरणको रूपमा सरकारले कतिपय योजनाहरू लागू गरेपछि २००४-०५ अनि २००९-१० मा ४५ प्रतिशत घटेको छ।
घट्नुको कारण राइट टु एजुकेशन, महात्मा गान्धी रूरल इमप्ल्पोइमेन्ट ग्यारेटी एक्ट (एमजीआरईजीए), मिड डे मिल, नेशनल चाइल्ड लेबर प्रोजेक्ट (एनसीएलपी) जस्ता सरकारी योजनाहरू प्रभावकारी रहेको छ। यसका साथै गैर सरकारी संस्थाहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन्। तर, यति हुँदाहुँदै अझ पनि साना साना बच्चाहरूलाई जोखिमपूर्ण ठाउँहरूमा कठिन कार्यहरूमा लगाउने गरिन्छ भने धेरै ठाउँहरूमा बन्धुवा श्रमिकसमेत बनाइन्छ।
मुक्तिको मार्गमा चुनौती
बालश्रम विश्वका देशहरुले नै झेल्दै आइरहेको समस्या हो। बाल श्रमलाई समाप्त गरेर देश साथै मानव समाजलाई बालश्रममुक्त गराउन विभिन्न देशका सरकार साथै गैर सरकारी संस्थाहरूले कयौँ किसिमका योजनाहरू लिएर निरन्तर कार्य गर्दै आइरहेका छन्।
वास्तवमा भन्ने हो भने बालश्रम सभ्य मानव समाजलाई लागेको एउटा कलङ्क हो। यस्तो कलङ्कबाट मुक्त गराउनु हो भने मानव समाजबाट बालश्रम पूर्णरूपले निर्मूल गराउनुपर्छ। हरेक वर्ष १२ जूनको दिन विश्व बालश्रम विरोध दिवस पालन गरिन्छ। यस दिन बालश्रममुक्त समाज बनाउन सङ्कल्प गरिन्छ। बाल श्रमिकहरूको दुर्दशालाई उजागर गरेर करोडौँ मानिसहरूलाई जागरूक गराइन्छ अनि सहयोगको निम्ति अभियान पनि चलाइन्छ। तर, अर्को दिनदेखि भने जोश र जाँगर शिथिल हुन्छ।
आँखा अघि बाल श्रमिक देखिए पनि प्रायः कुनै न कुनै अडचन आउने हुँदा तत्काल कारवाही हुँदैन। सूचनाको आधारमा कुनै बेला भेटाए कारवाही हुन्छ। अझ कोही बेला प्रभावशाली व्यक्ति साथै राजनैतिक प्रभावका कारणले हस्तक्षेप हुँदा उद्धार गर्ने पक्षले निक्कै दबावको सामना गर्नुपर्छ। उद्धार कार्यमा थुप्रै चुनौतीहरूको सामना आइपर्छ।
चुनौतीहरूलाई चिर्नसके मात्र बालश्रम समाप्त गर्ने अभियान प्रभावकारी हुनसक्छ। यस्तो अभियानलाई समाप्त गराउनको निम्ति शहर-बजार, गाउँ-बस्तीका सामाजिक संस्थाहरूलाई पनि सहभागी गराउनसके प्रभावकारी हुनसक्छ। बालश्रम एकीकृत दृष्टिकोणको माध्यमबाट रोक्न सकिन्छ। जुन बाल सुरक्षा प्रणालीलाई सशक्त बनाउनुका साथमा गरिबी तथा असमानता जस्ता मुद्दाहरू, गुणात्मक शिक्षाको सुअवसर अनि बाल अधिकारहरूको सुरक्षाको निम्ति जन सहयोग जुटाउनमा सहयोग गर्छ।
शिक्षण पेशासित संलग्न साथै समाजका अन्य मानिसहरू पनि बच्चाहरूको सुरक्षाको हितको निम्ति अघि आएर सामाजिक कार्यकर्ताहरूलाई बच्चाहरूको दयनीय स्थिति बारेमा अवगत गराउन सक्छन्। बच्चाहरूलाई श्रम गर्ने ठाउँबाट मुक्त गराएर पाठशाला पठाउनको निम्ति शोषित परिवारहरूलाई जागरूक गराउन अनि सरकारी नीतिहरूलाई विकसित गरेर सक्रिय पार्नसके झनै प्रभावकारी हुनसक्छ।
अर्को सबैभन्दा ठूलो चुनौती हो बेरोजगारी। कसैको आमाबाबु दिर्घकालीन बिमारी हुनु, कोही अनाथ हुनु, कसैको आमाबाबु रोजगारविहीन बनेर आत्मनिर्भर नहुनु र गरिबी बाल श्रमिक पैदा हुने मूल कारणहरू हुन्। यसैले हरेक आमाबाबुको रोजगार हुनु आवश्यक छ अनि बाल श्रमविरूद्ध तत्काल कारवाही, व्यापक रूपमा सशक्त जनचेतनाद्वारा समाजको मानसिकता परिवर्तन गराउने अभियानको आवश्यकता छ। यस्तै अभियानहरूलाई सशक्त रूपमा निरन्तरता दिनसके बालश्रममुक्त समाजको सपना विपना बन्नसक्छ।