विगत एक वर्षदेखि विश्वमा फैलिएको कोभिड-१९ को अनियन्त्रित स्वरुपले मानिसहरु त्रसित छन्। सबै व्यक्ति कोभिड-१९ संक्रमणको प्रत्यक्ष शिकार नबने पनि आफ्नो घर परिवार, आफन्तजन वा साथीभाइमा देखिएको समस्या र यस महामारीले दैनिक जनजीवनमा पारेको असरबाट अपरिचित मान्छे विरलै भेटिएला।
सबैले आ-आफ्नो भोगाइ र अनुभव महशुस पक्कै गरेका छौं। अहिलेको परिप्रेक्ष्यमा कोभिड-१९ को संक्रमण भइसकेकालाई कसरी स्वस्थ (निको) हुने र रोग नलागेकालाई कसरी यस महामारीबाट जोगिएर बस्ने भन्ने सोचाइ मस्तिष्कमा आउनु स्वभाविकै हो।
कोभिड-१९ को पहिलो चरणको तुलनामा हाल आएको विभिन्न भेरियन्ट कडा र छिट्टै संक्रमण फैलाउने खालको छ भन्ने जानकारी हामीले विभिन्न सञ्चार माध्यम तथा सामाजिक संजालबाट प्राप्त गरिरहेकै छौं। यो महामारीको संक्रमणबाट बच्ने उत्तम उपाय भनेकै घरभित्र सुरक्षित बस्नु हो।
यति हुँदाहुँदै पनि हामी आफ्नो दैनिक क्रियाकलाप र घरायसी किनमेलका लागि बाहिर हिँड्न बाध्य छौँ। सबैको एकै जीवनशैली र पेसा नहुनुले पनि घर बाहिर निस्किनु पर्ने बाध्यता आउन सक्छ। जे-जस्तो परिस्थिति भएतापनि हामी सबैको मनसाय कसरी सुरक्षित रहने भन्ने नै हुन्छ।
म पनि निर्धक्कका साथ आफ्नो दैनिक क्रियाकलापका लागि बाहिर जाने गरेको थिएँ। मास्क र सेनिटाइजरलाई साथी पनि बनाएकै थिएँ। घर फर्किएपछि बाहिर निस्कदाँ लगाएका कपडालाई सधैँजसो तुरुन्तै धोइहाल्ने बानी पनि थियो तर कता भुल हुन पुगेछ।
एकदिन अनायासै टाउँको र जिउ दुख्न थाल्यो। मलाई कहिले काहीँ बाथ रोगले पनि दु:ख दिने र टाउँको दुख्ने समस्या पनि छँदै थियो। त्यही सम्झेर एकछिन आराम गरेर फेरि आफ्नो घरायसी काममा व्यस्त भएँ।
ठिक भइहाल्छ भनेर त्यति वास्ता पनि गरेको थिइनँ तर राति ज्वरोले च्याप्न थालेपछि मनमा शङ्का उब्जियो। कतै म कोभिड संक्रमित भइनँ? समस्या बाजा बजाएर आउँदैन भने जस्तै यति सावधानी अपनाउँदा अपनाउँदै पनि कोभिड संक्रमित हुन पुगे जस्तो लाग्यो।
भोलिपल्ट बिहानै बच्चाहरुलाई 'मलाई कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएको छ, त्यसैले अब म छुट्टै कोठामा बस्छु' भनेँ। यो सुनेर बच्चाहरुको अनुहार अलि मलिन भएको अनुभव भयो।
आत्मविश्वास ठूलो हुन्छ भन्छन् तर कोभिडको संक्रमित भएको अवस्थामा त्यहीँ आत्मविश्वास जोगाइराख्न भने निकै गाह्रो रहेछ। त्यहीँ पनि उनीहरु सामु आफूलाई सामान्य देखाउने निरन्तर प्रयास गरिरहेँ।
सामान्यत: देखावटी प्रयास र यथार्थतामा फरक हुन्छ भन्ने मैले बिर्सिएछु। तेस्रो दिन कोभिड परीक्षण गर्ने निधो गरी स्वाब दिएँ। कोरोना परीक्षण रिपोर्ट पोजेटिभ थाहा पाउने बित्तिकै आत्मविश्वास र बल भन्ने शब्द त हराइहाल्यो।
तर पनि आफूलाई कमजोर पारेर बस्नुभन्दा अब कसरी कोभिडको संक्रमणबाट मुक्त हुने भन्ने उपाय अपनाउनु बाहेक अरु विकल्प मसँग थिएन। त्यसपछि आफूले जानेका र सुनेका सबै उपचार विधि सुरु गरेँ। तातो पानी, बेसार दूध, बाफ लिने र प्रणायामहरु गर्ने लगायतका कुराहरु अपनाएँ।
आफन्त र साथीभाइले विस्तारै जानकारी पाएपछि सबैले आफूले जानेका र भोगेका अनुभव र सुझावहरु दिए। त्यसको पालना पनि इमान्दारीपूर्वक गरेँ। डाक्टरको सल्लाह बमोजिम औषधि र भिटामिनहरु पनि नियमित सेवन गर्न थालेँ। साथै आयुर्वेदिक जडिबुटीहरु (मरिच, ज्वानो, ल्वाङ, बोझो, गुर्जो, दालचिनी, पिपली, अदुवा) को सेवनलाई पनि निरन्तरता दिइरहेँ।
केही सहज भएको अनुभूति पनि भयो। ५/६ दिनपछि अब निको हुने तर्फ लागिसकेँ भनेर नुहाइ-धुवाइ पनि गरेँ। त्यस दिन घरमा बहिनी र ज्वाइँसाहेब (पेसाले डाक्टर) आउनु भएको थियो। उहाँहरुले पनि दिदी फ्रेश देखिनु भएको छ भन्दा आत्मबलमा थप वृद्धि भयो।
आफन्तलाई नजिक पाउँदा मन साह्रै खुसी भयो तर अचानक त्यही रातिबाट पुनः आएको ज्वरोले फेरि मन भित्र आतंक मचाउन थाल्यो। सबै कुरा मनै त हो भन्ने एउटा भनाइ 'मनके हारे हार है, मनके जिते जित' यस परिस्थितिमा मिल्न जान्छ तर के साँचिक्कै यस्तो हुन्छ त?
मनले त कहिले पो नराम्रो होस् भन्ने चाहन्छ र, कल्पना मनबाटै हुन्छ। मेरो सन्दर्भमा कल्पना सदैव मिठा र प्यारा नै हुन्छन्।
दिन बित्दै जाँदा कुनै दिन आफूलाई अलि सहज भएको अनुभव हुन्थ्यो भने कुनै दिन श्वास फेर्न निकै गाह्रो हुन्थ्यो। ज्वरो, जिउ दुखाइले च्याप्न थालेपछि मन फेरि त्रसित हुन थाल्यो। अक्सिजन लेभल नापिरहँदा कुनै बेला ८४-८५ पनि हुन्थ्यो भने कहिलेकाही ९२-९५ सम्म पनि पुग्थ्यो।
फेरि श्वास सम्बन्धी प्रणायम सुरु गरिहाल्थेँ। खाना नरुचेको र ज्वरोले साथ नछोडेको ५-६ दिन भैसकेको थियो। शरीर क्रमशः कमजोर हुँदै जाँदै थियो। छिमेकी बहिनी लक्ष्मीले साहस गरेर घरभित्र आफै आएर ल्याइदिएको सुपले म भित्र उर्जा थप्यो तर स्थितिमा कुनै सुधार आएको थिएन।
बहिनी निर्मलालाई खबर गरेर मलाई एन्टिबायोटिक लेखिदिनु पर्यो भनेँ। बहिनीले ब्लड र युरिन को चेकअप र छातीको एक्स-रे गर्ने सुझाव दिइन् तर कसरी जाने? कुन हस्पिटल जाने? भनेर सोच्न सकिनँ।
यसैबीच छिमेकी डिल्लीरमण अधिकारी दाइसँग हस्पिटल जाने बारे सल्लाह गरेँ। आफन्त पनि पछि हट्ने खोज्ने यस परिस्थितिमा उहाँले आफैले हस्पिटल पुर्याउने तत्परता देखाउनु भयो जसको म आजीवन आभारी रहनेछु।
१८ वर्षको छोराले साहस गरी हस्पिटल पुर्याएर गर्नुपर्ने सबै जाँच र एक्स-रे गरेर घर फर्कियौं। छोराले हस्पिटल लगेर गएपछि बच्चाको साहस यस्तो बलियो छ म किन डराइरहेको छु जस्तो लाग्यो। यस्तो गर्नु हुन्न भनेर आफ्नो मन आफैँ सम्झाएँ तर मन न हो, यस रोगको नाम मात्रले पनि त्रसित हुने मनस्थिति बनेको थियो।
मेरो श्रीमान् जागिरको सिलसिलामा प्रायः बाहिर रहने हुँदा आफूलाई भएको बिसन्चो बारे अवगत गराउने बानी पहिला पनि थिएन। यस पटक पनि मैले त्यहीँ गर्ने प्रयास गरेँ तर यस पटक मेरो आत्मबल र साहसले जवाफ खोज्न थालेको थियो।
एकदिन बाथरुम गएर फर्किँदा निकै गाह्रो महशुस भयो। बाथरुमबाट बेडरुमसम्म कसरी आइपुगे केही थाहा छैन। त्यसपछिको समय निकै कष्ठपूर्ण भयो। आफू बाँच्ने आशा पनि विस्तारै कम हुन थाल्यो।
स्वास्थ्यमा सुधार नआएपछि श्रीमानलाई बोलाउन बाध्य भएँ। उहाँको आगमनले बल्ल घरमा संरक्षक भएको र आफ्नो मनोबलमा वृद्धि भएको महशुस गरेँ।
म जति भाग्यमानी कतिजना हुनुहुन्छ थाहा भएन तर मैले चारैतिरबाट आफन्त र छिमेकीहरुले पुर्याउनु भएको सहयोग र साथले मेरो आत्मबलमा सकारात्मक उर्जा थप्दै गयो।
यस्तो परिस्थितिमा पनि उहाँहरुले उपलब्ध गराउनु भएको पौष्टिक खानेकुरा र सकारात्मक सुझावहरुको सम्झना म मेरो अन्तिम श्वाससम्म पनि आफ्नो मनमा संगालेर राख्ने छु।
स्याहारसुसार तथा खानपिनमा दिनभर खटिने भाइ गुमबहादुरप्रति हृदयदेखि नै कृतज्ञ छु। घरभित्र मैले आफ्नो छोराछोरीबाट पाएको निरन्तर सामिप्यता र प्रेमले मलाई यस भाइरस विरुद्ध लड्न थप उर्जा दिन्थ्यो।
सम्पूर्ण आफन्त, इष्टमित्र र साथीभाइहरुले पटक पटक दिएको प्रणायमदेखि खानपानसम्मको सुझावहरु र उनीहरुका सकारात्मक कुराहरुले आत्मबल बढेको महशुस हुन्थ्यो तर जुन मन भित्रको त्रास थियो, त्यसबाट उम्कन साह्रै गाह्रो भयो।
रोग लाग्दा त आत्मबल बढाउन आफन्तको सामिप्यता चाहिन्छ तर यस रोगले मानव समाजलाई के बुझाउन खोजेको हो बुझ्न खोजेँ तर निष्कर्षमा पुग्न नै सकिनँ।
अस्वस्थ हुँदा आफ्ना प्याराहरुको सामिप्यताले नै ५०% रोग निको हुन्छ, जस्तो लाग्थ्यो। त्यसबाट नै बन्चित हुनु पर्ने कस्तो समय आयो भन्ने कुराले मनलाई विचलित बनाउँथ्यो।
यी सबै भोगाइ मैले उजागर गरेतापनि समय समयमा आइरहने मनभित्रको पीडा, डरत्रासलाई भगाउन सक्नु नै रोगलाई जित्नु हो। तर सदैव मन र मस्तिष्कको आत्मबलले मात्र प्राण रक्षा गर्न सक्दैन।
आफूसँगै हुर्के बढेको, खेलेको, बसेको दाजुभाइ दिदीबहिनीको कोरोनाका कारण ज्यान गुमेको समाचार सुन्दा म झन् मानसिक रुपमा कमजोर बन्न पुग्थेँ। आफ्नो आत्मबल नै शून्य हुन पुग्थ्यो।
उहाँहरुले भोगेको पीडा महशुस गर्न तर्फ मन दौडिन थाल्थ्यो। जे-जस्तो आफ्नो भोगाइ भएतापनि त्यो कहाली लाग्दो समय जीवनमै अविस्मरणीय रहनेछ।
अहिले कोभिड संक्रमण भएको २२ दिनपछि मेरो पिसिआर रिपोर्ट नेगेटिभ आइसकेको छ तर शारीरिक रुपमा स्वस्थ भएतापनि मानसिक रुपमा पूर्ण स्वस्थ हुन केही समय लाग्ने रहेछ।
ध्यान, योग, प्रभु भजनको माध्यमबाट आफूमा सकारात्मक उर्जाको विकास गर्ने प्रयत्न गरिरहेको छु। अब मेरो भगवानसँग एउटै प्रार्थना छ, सबैको रक्षा गर।