केही समय अगाडि इराक र नेपाल बीचको मैत्रीपूर्ण फुटबल खेलमा इराक तर्फका रेफ्रीको आवाज बुझ्न नसकेको भन्दै एउटा मिम भाइरल भएको थियो।
मिममा आज इराकतर्फका रेफ्रीको बोली भन्दै नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको तस्बिर राखिएको थियो। हुन त यो नेता देउवाको बोलीलाई हाँसो बनाइएको पहिलो पटक भने होइन।
नेता देउवा बोलीकै कारण बेला-बेला मिमको पात्र बनिराखेका हुन्छन्। यो मिममा धेरै हाँसे होलान्, रमाइलो पनि लाग्यो होला तर यो मिम हाम्रो समाजमा रहेको कमजोर मानसिकता, अनुशासन गुमाएका मान्छे र शून्य नैतिकताको उदाहरण हो भन्न मलाई कुनै पनि सङ्कोच लाग्दैन।
तपाईंलाई कसैको कार्यप्रति सन्तुष्टि छैन, उसले गरेका कार्यमा भ्रष्टाचारको गन्ध महशुस गर्नुहुन्छ भने उसको कार्यको निन्दा गर्ने हो, उसमा रहेको शारीरिक कमिकमजोरीको मजाक उडाउने होइन।
देउवाले त्यो बोली नाटक पारेर अथवा अरुले नबुझुन् भन्ने हिसाबले बोलेको बोली होइन। पञ्चायत विरुद्धको आन्दोलनमा जेल परेपछि यातना दिने क्रममा जिब्रोमा करेन्ट लगाइदिएपछि उनको बोली यस्तो भएको थियो।
अनि, यी सब कुरा ज्ञात हुँदाहुँदै पनि त्यही बोलीकै आलोचना गर्नु, जसमा एकपटक त हाम्रो माननीय राष्ट्रपति पनि सहभागी हुनु, अत्यन्तै निन्दनीय कुरा होइन र? तर, विडम्बना! यस्तो गम्भीर विषयलाई सबैले मजाकको रुपमा उडाइदिए।
नेता देउवाले आफ्नो कार्यभन्दा बोलीको बढी आलोचना खप्नु परेको देखिन्छ जसमा उनको न कुनै गल्ती छ न सुधार्न सक्ने क्षमता।
त्यस्तै, राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर उनीहरुको चरित्रमा गरिने व्यङ्ग्य पनि खोक्रो अर्थात् बाटो बिराएको आलोचनाको उदाहरण हो। दुई वटा ठूला ओहदामा महिला पुरुष भए भन्दैमा उनीहरुको कार्यको व्यक्तिगत रुपमा आलोचना नगरी, दुवैको सम्बन्धलाई प्रश्न गरी चरित्र हत्या गर्नु लाजमर्दो होइन र?
विभिन्न कलाकारको आलोचनामा पनि समाजले सभ्यता गुमाइराखेको पाइन्छ।
'हेर हेर चुसेको आँपको जस्तो अनुहार छ, अभिनय गर्न खोज्छ, हा, हा, हा! दिदी तपाईंको आँखा मात्र होइन, बुद्धि पनि टेढो रहेछ! यस्ती बाङ्गो टिङ्गो दाँत भएकी पनि हिरोइन रे, हाहा! अनुहार हेर मोसो दलेको जस्तो छ, यस्तोलाई पनि हिरोको अफर रे, क्ष्या!'
यी कुरा मैले काल्पनिक लेखेका कुरा होइनन्, कहीँकतै सामाजिक संजालमा व्यङ्ग्यका रुपमा भाइरल भएका कुरा हुन् जसले हाम्रो समाजको कुरुप सोचको यथार्थ चित्रण गरेका छन्।
कलाकारको अभिनयभन्दा शारीरिक बनावट, बोली, रंग, हेराइ आदि प्रत्यक्ष रुपमा मानिसमा देखिने कुरालाई लिएर भद्दा मजाक गर्नुले तपाईंलाई आफू 'कूल' भएजस्तो लागेपनि यसले तपाईंको स्तर खस्क्याउने बाहेक अरु केही कार्य गर्दैन।
कसैको अभिनय मन पर्दैन भने उसलाई अभिनय सुधार्न पर्ने सन्देश दिने मिम बनाउनुहोस् नाकि उसको शारीरिक बनावटको मजाक उडाउने खालको।
कसैमा जान्नैपर्ने कुराको पनि ज्ञान छैन भने उसलाई आफ्नो ज्ञानको क्षेत्रफल बढाउने कुराको प्रतिक्रिया दिनुहोस्। तर तपाईं त मजाकको नाउँमा सम्बन्ध नभएको कुरालाई पनि जोडेर अरुलाई गिराउन कुनै कसर छाड्नु हुन्न। अनि, यसरी गरिएको आलोचनाले समाजमा कस्तो असर पार्ला त? सकारात्मक कि नकारात्मक?
फेरि तपाईंहरुलाई लाग्यो होला, यो सब सामाजिक संजालले ल्याएको विकृति हो, यसको उपयोग गरिएन भने नचाहिँदो पारामा गरिने आलोचना आफै हराउनेछन्। तर, तपाईं गलत हुनुहुन्छ।
यसरी अरुलाई होच्याउँदै नकारात्मक तरिकाले गरिने आलोचना हाम्रो समाजमा दिन-दिनै बढिरहेका हुन्छन्। हामी आफै त्यस्ता आलोचनाको शिकार भइरहेका नि हुन सक्छौँ अथवा आफूले अरुलाई शिकार बनाइरहेका नि हुन सक्छौँ।
केही समय अगाडिकै कुरा हो, मेरो भाइको कक्षामा एउटा विद्यार्थीले आँखा कमजोर भएका कारण भर्खरै चस्मा लगाएको थियो रे। एकदिन शिक्षकले प्रश्न गर्दा त्यसको उत्तर दिन ऊ असक्षम भएछ। शिक्षकले 'तिम्रो त आँखा मात्र होइन, बुद्धि पनि कमजोर भएछ बाबु' भन्नु भएछ।
यो कुरामा सम्पूर्ण कक्षाकोठा नै गलल्ल हाँसेछन्। अब तपाईं आफै ठम्याउनुहोस्, पाँच कक्षामै आफ्नो ज्योति कमजोर भएको आभास गरेको बालकलाई शिक्षकले त्यस्तो भनिदिँदा उसको मनोविज्ञानमा कस्तो असर पर्यो होला?
मैले मेरो भाइलाई त त्यस्तो कुरामा हाँस्न हुँदैन भनेर सम्झाएँ तर त्यति पढेर शिक्षक भैसक्नु भएको मान्छेलाई कसले सम्झाउने? के भनेर सम्झाउने? अनि शिक्षकबाटै यस्ता कुरा सुनेका विद्यार्थीले फेरि भविष्यमा आलोचना गर्न यस्तै शैली त प्रयोग गर्ने होलान् नि, हैन र?
हाम्रो समाजमा अलिकति खुट्टा खुम्च्याएर हिँड्ने व्यक्तिले केही गलत काम गरेमा तिमीले यो कार्य यसरी गर्न हुँदैनथ्यो भनिँदैन। यसको त खुट्टा मात्र होइन, बुद्धि पनि अपांग रहेछ भनिन्छ। कसैको रङ्ग अलिक गाढा छ भने उसको कार्यको प्रतिकार गर्न 'यसको त रंग मात्र होइन बुद्धि नि अँध्यारो रहेछ' भन्ने अभिव्यक्ति दिइन्छ।
यस्ता अन्य थुप्रै उदाहरण छन् जसले आलोचनाका नाममा मनलाग्दी गरिने अभिव्यक्तिलाई जनाउँछन्। जतिसुकै शिक्षित र प्रगतिशील भनेपनि हाम्रो समाज मान्छेलाई जथाभावी कुरासँग जोडेर उपहास गर्न पाछाडि सर्दैन।
यसको फलस्वरुप, आलोचित व्यक्तिले हीनता बोधका कारण त्यो कार्य फेरि कहिल्यै गर्ने आँट गर्दैन अथवा समाजको आफूप्रतिको तुच्छ व्यवहारले त्यो कार्यलाई कहिल्यै सही गर्न खोज्दैन अथवा भनौँ झन् नराम्रो गर्न खोज्छ।
सुरुमा त कसैले केही गल्ती गरेको छ भने उसलाई जथाभावी जे भनेपनि, जे कुरासँग जोडेर खिल्ली उडाएपनि हुन्छ भन्ने जुन सोच हाम्रो मगजमा भरिएको छ, त्यसलाई हटाउन अत्याधिक जरुरी छ।
सबैभन्दा होस पुर्याएर गर्नुपर्ने कार्य अथवा सबैभन्दा अनुशासित तवरमा गरिनुपर्ने कार्य भनेकै आलोचनाको कार्य हो। आलोचना सही तवरले अनुशासित रुपमा गरिएमात्र ठिक ढङ्गमा त्यसले दिन खोजेको सन्देशको सम्प्रेषण हुन्छ।
जथाभावी गाली गरेर, मनलाग्दी बोलेर, सरोकार नभएको कुरासँग जोडेर आलोचना गर्नु भनेको समाजमा विकृति फैलाउनु, समाजलाई झन् गञ्जागोल बनाउनु अथवा समाजमा विद्रोहको स्थिति पैदा गर्नु बाहेक अरु केही होइन। यसले गल्तीलाई सच्याउन र समाजलाई अगाडि बढाउन केही सहयोग गर्दैन।
एउटा गलतको विरोधमा आफूले जथाभावी शब्द प्रयोग गरिन्छ, आफै नराम्रो भइन्छ भने त्यस्तो विरोधको के औचित्य? यो त एउटा चोरले अर्को चोरमाथि औँला ठडाएजस्तो भएन र? त्यसैले, यसरी आलोचनाका नाममा अनुशासन बिर्सिएर जथाभावी बोल्न कहिले बन्द गर्ने त?