कर्णाली, शब्द सुन्दै नेपालकै लामो नदीको पानी झैँ मन शितल भैदिन्छ। तर आज म नदी कर्णालीको बारेमा नभै सिङ्गो कर्णालीलाई नै टप्प टिपेर राख्न चाहन्छु यहाँ।
कर्णालीका जनताको कथा, वनजङ्गल, पाखा, पखेरा अनि कर्णालीको रुपरेखा सुगममा बसेर टाढैबाट कर्णाली हेरिरहेकाहरुको सोचभन्दा विल्कुल फरक छ। कुनै डकुमेन्ट्रीमा देखाइएको जस्तो कहाली लाग्दो, दया लाग्दो अनि भोक र रोगले ग्रसित छैन कर्णाली।
कक्षा १२ को अंग्रेजी किताबको एउटा पाठमा वर्णन गरिए जस्तो अशिक्षित पनि रहेन कर्णाली।
मैले टेलिभिजनमा देखेको छु, रेडियोमा सुनेको छु, पत्रपत्रिकामा पढेको छु अनि थुप्रै भाषाणहरुमा पाएको छु, कर्णालीको मनगढन्ते शैलीमा तयार पारिएको परिभाषा। 'विचरा' को बिल्ला झुन्डाइएको परिभाषा।
हो, माथि उल्लेख गरिएको कुरा झुटो पक्कै होइन तर समय परिवर्तनशील छ। राष्ट्र विकासतर्फ कदम चालिरहेको छ।
समयसँगै देशमा राम्रा नराम्रा थुप्रै घटना घटे। शासक परिवर्तन भए, शासन गर्ने शैली परिवर्तन भयो तर विडम्बना! कर्णालीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेन। ४०-४५ वर्ष अघि लेखिएको कर्णालीबारे शब्द परिवर्तन भएनन्।
अझैँपनि चारैतिरबाट कर्णाली ठगिँदै छ, खोक्रो बनाइँदै छ। राम्रा र सबल पक्षलाई ओझेलमा पारी निमोठेर, खास कर्णालीले आफ्नो पहिचान गुमाएको छ।
विज्ञान र प्रविधि, संस्कार र सुसंस्कृतिमा कर्णालीले छलाङ मारिसक्दा पनि, जनता शिक्षित, सुसूचित र आत्मनिर्भर भैसक्दापनि अझैँ १८ औँ शताब्दीको कर्णाली मात्र जनमासमा देखाइ अरबौँ लुटिँदै छ।
सुनको कर्णालीलाई फलामको जलप लगाई मागीखाने भाँडोको रुपमा प्रयोग गरिएको छ। कर्णालीका बासिन्दालाई माया होइन, दयाको दृष्टिले हेरिन्छ अझै पनि।
आजभन्दा दुई वर्ष अगाडि म ब्याचलर इन एग्रिकल्चर साइन्स पढ्दै गर्दा मेरा एकजना साथीले मलाई भनेका थिए- 'तिमीहरु त दशैँमा टीका लगाएको चामल पखालेर भात खान्छौ है?'
मलाई यो प्रसङ्गले बेला-बेला झस्काइरहन्छ। त्यसबेलाको मेरो मौनतालाई कर्णालीको धैर्यता सम्झेर बुझिदिए हुन्छ। मेरा मित्रलाई जस्तै कति धेरै जनालाई यो ज्ञान रैनछ, विश्वकै अग्लो स्थानमा फल्ने मार्सी धान जुम्ला जिल्लाको छुमचौरमा फल्छ, जुन कर्णालीको अभिन्न अंग हो।
संसार औंलाको टुप्पोमा छ भन्दै शिक्षित र सर्वज्ञानी बनी उफ्रिरहेको आजको जमातले खोइ त वास्तविक कर्णाली महशुस गरेको? कर्णालीका बाउबाजेले लगाउने दौरा र ढाकाटोपी सभ्य ठहरिएका वर्गलाई हाँसोको पात्र लाग्छ रे।
तर त्यो हुलले नेपालको नक्सा पनि हेर्न जान्दैनन् कि क्या हो? होइन भने यति ज्ञान त पक्कै हुनुपर्ने, नेपालको सान सबैभन्दा ठूलो ताल रारा कर्णालीको मुटु हो। जुन रारालाई देखेर राजा महेन्द्रले स्वर्गकी अप्सरा भनेका थिए।
हो, त्यही स्वर्गको अंश कर्णालीमा छ। हो, भौगोलिक हिसाबले कर्णालीमा कठिनाइ पक्कै छ। र त्यही भौगोलिक अवस्थालाई हतियार बनाएर कर्णालीलाई पछि पारिएको छ।
नेपालकै गहिरो सेफोक्सुण्डो नेपालको ठूलो क्षेत्रफल भनेको जिल्ला डोल्पामा पर्छ। जुन वास्तवमा कर्णालीको पहिचान हो। अनि कालिकोटको पचाल झरना जस्को सुन्दरता र चिसो पानीले प्रकृतिको तिर्खा मेटाइरहन्छ।
कर्णालीले विकासका थुप्रै सम्भावनाहरु बोकेको छ र साथसाथै चुनौती पनि। अब गर्नु छ खोजी, कर्णालीका सम्भावना भित्रको, कर्णालीको दु:ख भित्रको हाँसो, आँसु भित्रको खुसी अनि विवशता भित्रको यथार्थता।
कर्णालीको वेदना, आँसुका ढिका, पोषण नपाइ बटारिएका आन्द्रा, चप्पल नपाई पट्पटी फुटेका बाआमाका बुढा कुर्कुचा, कामले भ्याइनभ्याई भएकी आमाको बेसाहारा नाबालक, यस्तै चित्र मात्र चित्रण गरिँदैछ कर्णालीको। के गरिबी भनेको कर्णाली हो?
के गरिबी देशको अर्को कुनै कुनामा छैन र? होइन भने खोइ त यो गरिबी हटाउने प्रयासमा कर्णालीको साथ दिएको? खोइ त कर्णालीका पाटनमा पाइने अमूल्य जडिबुटी माथि कसैले चासो देखाएको? कर्णालीका स्याउ, ओखर, कोदो र फापरले बजार नपाइरहँदा त्यसको सुरक्षित बजारीकरणतर्फ कसैले पाइला चालेको?
कर्णालीको भेषभुषा, खस भाषा र सभ्यता, ऐतिहासिक र धार्मिक धरोहर, पाँच भाइ पाण्डव बसेको पाण्डगुफा, चन्दननाथ, भैरवनाथ, छायानाथ र ठाकुरज्यूको प्रसार र जगेर्नातर्फ ध्यानाकर्षण भएको खोइ?
हो, कर्णालीको यही वास्तविक स्वरुप, सम्पदा र सम्भावनालाई लुकाएर गरिबी, अशिक्षा, भोक र रोगले ग्रसित पारेर आफ्नो पोल्टो भरिरहे। शरीरमा जुका टाँसिएर रगत चुसेझैँ कर्णालीको रस चुसिरहे। अझैँपनि राज्यले कर्णाली नेपालनै होइन जस्तो, कर्णालीबासी नेपाली नै होइनन् जस्तो व्यवहार गरिरहेको छ।
वास्तवमा कर्णाली मात्र कर्णाली होइन, नेपालको सिङ्गो इतिहास हो। नेपालीपन हो। नेपालको ऐना हो, यथार्थ हो। मलाई गर्व छ प्रकृतिले हत्केला फिजाएको, नेपाली भाषा र संस्कृतिको इतिहास बोकेको हिमालको काखमा कर्णालीकी चेली बनेर जन्मिन पाएँ।