जब वीर अस्पतालभन्दा केही पर हाम्रो गाडी रोकियो एक हुल मानिसहरू भेला हुदैँ थिए। तब अचानक मेरो पछाडि कापिरहेको स्वरमा एक आवाज गुन्जियो 'बाबु मेरा लागि पनि केही छ र? मलाई पनि दिनुहोस् न है?'
म पछाडि फर्किएँ। सुकेको आत, गडेका आँखा र भोको पेट माथिको त्यो काखमा आफ्नो बालखा बोकी मलिन स्वरमा एक आमा बोलिरहेकी थिइन्। म मुसुक्क मुस्कुराएँ।
तातो खाना र फलफूल उनको हातमा थमाउँदै भनेँ 'हामी तपाईंहरूकै लागि आएका हौ आमा।'
उनी थचक्क भुँइमा बसेर आफ्नो बालखा उठाइन्, उनको पहिलो गाँस मुखमा पर्नुअघि उनका नुनिला आँसुले स्पर्श गरे तर मनमा सन्तुष्टि थियो किनभने भोकको आँसुलाई खुसी बदल्दै थियौ हामी।
यी त एक दिनको एक समयमा भेटिएकी पात्र थिइन्। यस्ता कैयौँ भोकहरू त्यहाँका चिसा गल्लीमा सेलाए होलान्।
दैनिक करिब ३०० व्यक्तिलाई लक्षित एक समय तातो खाना, स्वच्छ पानी बोकी हिँडेको हामीलाई केही दृश्यहरूले यस्तो पाठ पढायो जुन जीवनमा भोगेर मात्र थाहा हुँदो रहेछ। मैले अनुभव गरेँ, मलाई लाग्ने भोक र मैले देखेको भोक त बिल्कुलै फरक रहेछ।
खाना वितरण अघिको केही समय राउन्डिङको समय हुन्थ्यो जहाँ हामी मुख्यतः ठमेल, वीर अस्पताल, वसन्तपुर वरपर लगायतका ठाउँमा छरिएर बसेकाहरूलाई समय र भेला हुने साझा स्थानको बारेमा जानकारी दिँदै ठाउँ-ठाउँ चार्थ्यौं।
भोको पेटको पीडा त अक्सर दिनहुँ देखिन्थ्यो नै तर राउन्डिङको समय भनी उनीहरूको पीडादायी जीवनको भोगाइ मैले देख्दथेँ।
कोही सडक छेउ आशामा हुन्थे, पेटीमै लम्पसार केही बृद्धबृद्धा अन्नदाताको भर त कोही खाना लिन हिँडेको आफ्ना सन्तानको आशमा टोलाएका हुन्थे।
अन्दाजी करिब मेरै उमेरका केही भाइहरु एक अनौठो किसिमको प्लाष्टिकमा सास भर्दै तान्दै, यस्तै केही गरिरहेका हुन्थे। सदाझैँ एक समयमा मैले चार बजे आउनू भन्दै उसको हाततिर इसारा गर्दै सोधेँ, 'अनि त्यो के हो नि?'
कैयौँ दिन आफूलाई खाना खान बोलाउने एउटै अनुहार देखेर हो वा के मैले जानिनँ, तर उसले आफ्नो मुन्टो हल्लाउँदै सहमति जनायो र बोल्यो 'यो डेन्ड्राइट हो।'
मैले सोधेँ, 'किन लिन्छस् त भाइ यस्तो?'
उसले सहजै एक मलिन मुस्कानमा भन्यो 'यही हो हामी जस्ताले खाने' भन्दै पुलुक्क अर्को साथीलाई हेऱ्यो।
उसले थप्यो 'यसको गन्धले लामो समय भोक हराउँछ ब्रो।' उसेले आफ्नै शैलीमा बोल्यो।
यो सुनेर ऊ भित्रको पीडा मेरो मनमा आई यसरी गाँठो पऱ्यो, लाग्यो यर्थाथको ढुंगा मेरो घाँटीमा अड्किएर गला अबरुद्ध गरिरहेछ। म केही बोल्न सकिनँ र गह्रुंगो मन लिई फेरि अघि बढेँ।
सदाझैँ रिक्सा चालक दाइहरु लाम्बद्ध लस्करै देखिन्थे। त्यो दिन परबाट आएको रिक्सा पछाडि साना केही नानीहरू थिए।
मैले सोधेँ, 'कता हिँड्नु भयो दाइ?'
चिउडोको पसिना र फुटेका हत्केला निधारमा अडाइ उनले भने, 'यी केटकेटी भोक लाग्यो भने अनि डुलाउन हिँडेको।'
मैले प्रश्न एउटा गरेँ तर उनको उत्तरले त मलाई हजारौँ जवाफहरू दिए। यी त कैयौँ मध्यका केही प्रतिनिधि भोगाइ हुन्। यसरी हर एकको एउटा आफ्नै कथा, व्यथा र भोगाइहरू भेटिन्थे। भनौँ भेटिन्छन्।
तर यसै क्रममा कैयौँ संस्था यी पीडामा मल्हम बन्न आफ्ना सहयोगी हातहरू अघि बढाइरहँदा अनियमितता भने मैले अनुभव गरेँ।
अन्तर संस्था समन्वय नहुँदा एकै समय, एकै स्थान कैयौँ पटक संस्थाहरू बीच जम्काभेट हुन्छ। यसो हुँदा कसैलाई काखाँ र कसैलाई पाखाको स्थिति सिर्जना हुन्छ।
त्यसैले यस्ता ठूला मानकसेवा संस्थाहरू बीच यस्तो समयमा सेवा समय र स्थानको अन्तर-समन्वय हुने हो भने पनि केही हदसम्म पीडितसामु समान राहतको पहुँच हुने थियो।
सरकारको दायित्व सर्वप्रथम नागरिहरुको भोक सम्बोधन गर्नु हो। नभएता पनि यस्ता कार्यक्रम मुख्यतः सरकारको नेतृत्व र सहयोगमा चल्ने हो भने थप प्रभावकारी हुने थियो।
हामी चाहँदैनौं रोगभन्दा अघि कोही भोकले मर्नु परोस्। त्यसैले आफ्नो स्थानबाट सबैले सानो प्रयास मात्र गर्ने हो भने पनि पीडितको जीवनमा ठूलो राहत ल्याउन सकिन्छ।
(लेखक सेभ इन्भारोमेन्ट सेक्युअर चिल्ड्रेन संस्थाका कार्यक्रम संयोजक हुन्।)