हाम्रो घरदेखि पारि एउटा ठूलो कुलो छ। पैला हामी त्यसलाई चैलाही कुलो भन्थ्यौं, आजभोलि नाम फेरियो। कुवेत सरकारको आर्थिक सहयोगमा आधुनिक तरिकाले पुनः बनाइएको त्यो कुलोको नाम प्रगन्ना कुलो हो।
प्रगन्नाको अर्थ त मलाई थाहा छैन। तर त्यही प्रगन्नासँग जोडिएका मेरा थुप्रै कथा छन्। त्यही कुलोमा मारेका माछाका कथा कुनै दिन लेखौंला।
त्यही कुलोले जीवनमा पहिलोचोटि गाँजाको स्वाद चखायो। यही गाँजाको कुरा आजको ब्लगमा लेख्दैछु।
हाम्रो गाउँघरमा गाँजा खानेहरूलाई गलत ढंगले बुझिन्छ। उनीहरू लागुऔषध दुर्व्यसनीको कुलतमा लागेको बुझिन्छ। ट्यापे मुन्द्रे अनेक नाम दिएर गाँजा सेवन गर्नेहरूलाई समाजमा तिरस्कारसम्म गरिन्छ।
प्रगन्ना कुलोको डिलमा प्रशस्त गाँजा उम्रन्थ्यो त्यसबेला। आजभोलि उम्रन्छ या उम्रदैन थाहा भएन। तर त्यतिबेला गाँजा खेतीजस्तै हुन्थ्यो। डिलैभरि हरिया गाँजाका फाँट।
शिवरात्रीको मौकामा त्यही सुकेको गाँजा हालेर बनाएको हलुवा खाएपछि जीवनमा गाँजाको स्वाद थाहा पाइयो। पृथ्वी हल्लाउँदै हिँडियो, कहिले रोइयो त कहिले हाँसियो।
त्यो खाइसकेभरिको आफ्नै हलचल, बाको हातको गतिलो कुटाइ अनि छिमेकी अन्टीहरूको हेपाइले जीवनमा अर्को पटक गाँजा सम्झन मन लागेन। गाँजाको बुट्टो देख्यो कि उखेलेर फ्याँकिदिन मन लाग्थ्यो।
गाँजाबारे अनेक टिप्पणी नेपाल हुँदै सुन्थेँ। गाँजा खेतीबारे वरिष्ठ व्यक्तिहरूबाटै सरकारसँग अनुमतिको माग गरेको देख्दा अचम्ममा पर्थें।
कसैले गाँजा औषधी भन्थे त कसैले लागुऔषध। तर पनि गाँजा भरेर चुरोट पिउनेहरू बिन्दास लाग्थे मलाई। ती गँजडीहरू मेरा नजरमा बिन्दास लागे पनि दुनियाँको नजरमा ट्यापे नै थिए।
समयसँगै चल्दै जाँदा अमेरिका आइपुगें। नेपालमा कुलोको ढिकमा गाँजाको झाङ देखेको मैले अमेरिकामा गाँजा खेती मात्र हैन, म आफैं पसलमा गाँजा बेच्न थालें। अनि गाँजा खेती गर्ने नेपालीहरू नै भेटें। छक्क परें।
अहिले मैले काम गर्ने पसलमा विभिन्न स्वादका अनेक नाम गरेका गाँजाका उत्पादनहरू बेच्छु। नाम जे-जस्तो दिइए पनि यो विशुद्ध गाँजाको उत्पादन हो।
नाम जेसुकै होस्। तर यी उत्पादनका पुर्खा गाँजा नै हुन्। खुलेयाम गाँजालाई पसलमा सजाएर बेच्दा छक्क पर्ने एउटा पाटो होला, अमेरिकाभित्रै यही गाँजा खेतीमा नेपाली युवाहरूले पनि ठूलो लगानी गरेका छन् भन्दा झन् बढी अचम्मित हुन्छु।
नेपालमा हुँदा गाँजा सेवन गर्नेहरू ट्यापे देख्ने मैले यता आएपछि भद्र देख्न थालेको छु। र, हुन्छन् पनि उस्तै भलादमी।
पसलमा गाँजाका उत्पादन किन्नेहरू हेर्दै डक्टर जस्ता, इन्जिनियर जस्ता। पढेलेखेकाहरू गाँजाकै उत्पादन किनेर जान्छन्, हेर्दै गँजडी लाग्नेहरू चाहिँ बियर किन्छन्।
अमेरिकामा बेच्ने गाँजा र नेपालमा पाइने गाँजा फरक हो भनेर फरक छुट्टाइदिने गाँजा विज्ञहरू पनि आउन सक्छन्।
उनीहरूले गाँजाको बारेमा विश्लेषण गरेर नेपालमा पाइने गाँजा चाहिँ लागुऔषध अनि अमेरिकामा पाइने गाँजा औषधी भनेर फरक निकाल्न पनि सक्छन्।
हो, बाली पाकेर बेच्नयोग्य भइसकेको गाँजालाई प्रशोधन गरेर अनेक नाम दिइन्छ यहाँ। प्रशोधन गर्दा गाँजामा हुने नशालु पदार्थलाई केही कम गरिन्छ होला। तर नेपालमा पाइनेजस्तै गाँजाको पोला (गुच्छा) सिसामा हालेर म आफैं बेच्छु। म जस्ता स्टोरमा काम गर्ने हरेकले बेच्छन् यहाँ गाँजा।
नाम मात्र फरक हो, उता घाममा सुकेको गाँजा कागजको खोस्टामा हालेर सुटुक्क बेचबिखन भएको देखेको थिएँ, यता प्रशोधन गरेर सिबिडी भन्दै सिसाको बोतलमा हालेर सजाएरै बेचिन्छ।
अमेरिकामा गाँजा भरेको चुरोट, गाँजाको इलेक्ट्रिक सिग्रेट, गाँजाकै चकलेटहरू लगायतका गाँजाका अनेक परिकार पसलमा खुलम खुल्ला बेचिन्छ। यहाँ शरीरको दुखाइ कम गर्न अनि आनन्दले निदाउनकै लागि भद्रहरूको पहिलो रोजाइमा पर्छन् गाँजाका उत्पादन।
गाँजा साह्रै महंगो पर्छ यहाँ। त्यसैले पनि सडकमा भिख मागेर लागुऔषध सेवन गर्नेहरूको पहुँचमा छैन पसलमा पाइने गाँजा। उनीहरू कहाँबाट जोहो गर्छन् थाहा छैन तर मैले बुझे अनुसार पसलमा पाइने गाँजाका मुख्य ग्राहक भनेकै सभ्यहरू हुन्।
तीन ग्रामको गाँजालाई मेरो पसलमा नेपाली दुई हजार रुपैयाँभन्दा बढी पर्छ। अमेरिकी डलरमा भन्नुपर्दा बीस डलर भन्दामाथि नै पर्दछ।
गाँजा हालेर बनेका हरेक चिजलाई यहाँ सिबिडी अनि हेम्पका उत्पादन भनिन्छ। तर ती सबै हाम्रो नेपालको गाँजाकै प्रजाति हुन्।
प्रशोधन गर्दा केही कम नशालु बन्ला, या शरीरले पचाउन सक्ने बन्ला। तर अमेरिकाको बारीमा लगाइएको गाँजा ठ्याक्कै उही प्रगन्ना कुलोको डिलमा उम्रेका गाँजाजस्तै हुन्।
एकदिन पसलमा बेच्न राखेको गाँजा भरेको चुरोट हातमा लिएर फोटो खिचें अनि साथीहरूलाई पठाइदिएँ। सबै छक्क पर्दै सोधे - सुरू गरिस्?
मैले भनें, ‘बेच्न सुरू गरें, पिउन होइन।’
उनीहरूले अझ बढी अचम्मित हुँदै सोधे- अमेरिकामा गाँजा बेच्न पाइन्छ?
गाँजा भरेको चुरोट, खिल्ली, गाँजाका पोला अनि गाँजाबाट बनेका अनेक मिठाई, र इलेक्ट्रिक सिग्रेटसम्म पाइन्छ भन्देको, सबै छक्क परे।
साँच्चै! म आफैं पनि अचम्म पर्छु। अमेरिकामा गाँजाको खुला व्यापार देखेर र यसका भलादमी ग्राहक देखेर।
सेवन गर्नेहरू यसलाई गाँजा मान्न तयार छैनन्। उनीहरू गाँजा र सिबिडीमा भिन्नता देखाउँछन् तर उनीहरूको फरक म मान्न तयार छैन। म गाँजा उम्रेका डिलमा हुर्केर अमेरिका आएभरि यहाँको गाँजा बारीमा घुमेर यो ब्लग लेख्न बसेको हुँ।
दुधबाट बनेका परिकार मात्र होइन, दुधमा हुने फ्याट निकालेर बेचिने दुधलाई यो त दुध हैन, दुधजस्तै हो भनेजस्तै हो अमेरिकामा बेचिने गाँजालाई गाँजा होइन भन्नु।
मैले यहाँ गाँजाको बारेमा लेख्दा गाँजा सेवनप्रति आकर्षित गर्न खोजेको होइन। बिना प्रशोधित बजारमा लुकेर बेचिने गाँजाले स्वास्थ्यमा असर गर्छ होला, म मान्छु।
तर यहाँ अमेरिकामा गरेजस्तै प्रशोधन गरेर बेच्ने हो र सरकारले त्यसको निगरानी गर्ने हो भने गाँजा लागुऔषध मात्र होइन, अमूल्य जडिबुटी पनि बन्ने र देशले आर्थिक उन्नति पनि गर्ने थियो कि?