भाडाको घरमा बस्नु पर्दाका पीडा छँदै थिए। अरुबेला त घरमा पाहुना आउँदा कर्के नजरले हेर्ने कतिपय घरबेटीहरु महामारीको समयमा धेरै ठाउँमा डुलेर आएका पाहुना देखेर नडराउने कुरै भएन।
जिल्ला बाहिरबाट आउनेलाई घरबेटीले घरभित्र पस्न नदिएको, घरबाट निकालेको समाचारहरु नआएका पनि होइनन्। गत वर्ष मात्रै कीर्तिपुरमा पानीको निहुँमा घरबेटीको कुटाइबाट भाडामा बस्ने एक व्यक्तिको निधन भएको थियो।
संक्रमितको उपचार गर्दागर्दै स्वास्थ्यकर्मी नै संक्रमित भएपछि घरबाट निकालेको, समाजबाट बहिष्कार गर्नसम्म खोजिएको थियो। सहरमा आफ्नै घर हुनेलाई त कोरोना लाग्दा समाजले हेय दृष्टीले हेर्ने गरेका छन्।
यस्तोमा कडा संघर्ष गर्दै भाडाको कोठामा दैनिकी डोहोर्याइरहेकाहरुलाई यति नै बेला यदि संक्रमण भइहाल्यो भने त्यसको नकारात्मक असर झेल्न सहज थिएन र छैन पनि।
केही दिन अगाडि सुदूर अछामबाट लकडाउनको समयमा १० दिन बाटोमा लगाएर एकजना देवर काठमाडौं आइपुगे। गाडी नपाएर एक हप्ता कैलालीमा बस्नुपर्यो। काठमाडौं पुगेको अर्को दिन उहाँ हामीलाई भेट्न आउनु भयो।
मुखले सिधैँ यस्तो बेलामा भेट्न आउनु पर्दैन भन्न नसकेपनि मनमा भने तुरुन्तै नआए पनि हुन्थ्यो भन्ने लागिरह्यो। केटाकेटीलाई बाहिरबाट घरमा जोसुकै आएपनि नजिक जानु हुँदैन भनेर पहिलेदेखि नै भनिराख्ने भएकोले उनीहरु अंकलको नजिक भने गएनन्।
तर सँगै बसेर, खाएर केही घण्टा आराम गरेर मात्र उहाँ गएपछि दुई हप्तासम्म मनमा ढुकढुक भने भइरह्यो। त्यो बीचमा हामीले नचाहँदा नचाहँदै पनि दुई, तीन चोटि उहाँ हाम्रो कोठामा आउनुभयो। ढुकढुकी झनै बढ्यो।
अरुबेला सहरमा बस्नेलाई घरबाट आफ्नो मान्छे आउँदा कति धेरै खुसी लाग्थ्यो। उनीहरुले ल्याएको कोसेली नखाएर महिनौसम्म हेरेरै बसिरहुँ जस्तो माया लाग्थ्यो। यसपालि भने उनले दश दिनसम्म बाटोमा डुलाएर ल्याएको कोसेली छुन पनि डर लाग्यो।
लामो बाटो पार गरेर आएका उनलाई दुई, तीन हप्तासम्म पनि केही नभएपछि भने हामी ढुक्क भयौं। तैपनि बढ्दो कोरोनो संक्रमण र त्यो सँगै बढ्दै गएको मृतकको संख्याले मनमा डर छँदै थियो।
बिहान बेलुकी सुनिने समाचार, पत्रपत्रिका र सोसियल मिडियामा आउने समाचारहरुले तर्साउन छोडेको थिएन र अझै पनि छैन। कोरोनाको संक्रमण बढ्दै गइरहेको थियो। कोरोनाकै कारण ज्यान गुमाउने संक्रमितहरु २ सय नाघिरहेका थिए।
यही बीचमा एकजना अर्का देवर बिहानको खाना खाने बेलामा खबरै नगरी टुप्लुक्कै कोठामा आइपुगे। उनी सरकारी जागिरे, वरिष्ठ पशु विशेषज्ञ हुन्। नजिकैको घरमा कुकुरलाई सुई लगाएर फर्किंदै गर्दा हाम्रो कोठामा पसेका थिए।
विभिन्न ठाउँमा गएर आएको मान्छे सिधैँ भित्र आउन खोज्दा मलाई भने डर लाग्यो। साना केटाकेटी भएका ठाउँमा गएर एकैछिनमा घुलमिल हुन उनलाई पनि अप्ठ्यारो लाग्नु पर्ने हो। तर त्यस्तो केही देखिएन। हातमुख नधोइ भित्र नआउनु पनि भन्न सक्थेँ होला। तर विगतमा घटेको एउटा घटनाले चुप लाग्न बाध्य बनायो।
बिहे भएको ४ वर्ष पुग्दै गर्दा छोरी जन्मेर दुई वर्षकी भइसकेकी थिई। देवरानी, जेठानी लगायत घरका सबै सदस्य जम्मा भएको बेला घरायसी कुरामा छलफल भइरहेको थियो। मलाई उनीहरुको कुन कुरामा हो चित्त नबुझेर थोरै बोलेकी थिएँ।
लोग्नेमान्छे बोलिरहेको ठाउँमा पोथी बासेको सुहाउँदैन, चुप लागेर बस भन्दै घरका एकजना सदस्य बेसरी कराउनु भयो। धेरैजसो घरभन्दा टाढा राजधानीमै बस्ने भएकोले बिहे गएर गएको घरमा महिलाहरुको कुन हैसियत छ भन्ने कुरा मलाई त्यतिबेला खासै थाहा थिएन।
सासू लगायत घरका अन्य महिला सदस्यलाई घरको काम बाहेक यस्ता गहन छलफलमा बोल्न बन्देज रहेछ। लामो समयदेखि सासू केही नबोलेर चुप लागेको देख्दा घरका पुरुष सदस्यले महिलालाई दिएको स्थान छर्लङ्गै भयो। घरका महिलाहरुले केही नबोली भनेअनुसार गर्यो भने मात्रै राम्रीमा गनिँदा रहेछन्।
चित्त नबुझेको कुरामा आवाज उठाउँदा फलानाकी श्रीमती छुच्ची र नराम्री छे भन्दा रहेछन्। घरकै पुरुषहरु बसेर कुराकानी गरिरहेको ठाउँमा पनि बोल्न त के जान पनि नहुने रहेछ।
महामारीको समयमा घरपरिवारको ख्याल गर्ने जिम्मा श्रीमानको पनि हो। आफ्ना भाइहरु आउँदा उहाँ चाहेर पनि केही बोल्न सक्नु भएन। चाहँदा चाहँदै मैले पनि केही बोल्न सकिनँ। यद्धपि बेलैमा नबोलेको कारणले अर्को दुई हप्तासम्म हामीलाई निकै तनाव भयो।
जागिरे ती देवरलाई दिनभरि धेरै ठाउँमा हिँड्ने, धेरै मान्छे पशुहरुसँग घुलमिल हुनुपर्छ। यस्तोमा उनले खासै सावधानी अपनाएको देखिएन। कोठामा आइसकेपछि खानपिन गरेर एकछिन गफगाफ गर्दै सात वर्षको छोरासँगै अंगालो हालेर जिस्केर गए। त्यसको ६ दिन पछि उनलाई कोरोना संक्रमण पुष्टि भयो।
हामीलाई भेटेर गएको पाँचौ दिनमा उनी अर्को नातेदारकोमा पनि गएका रहेछन्। केही दिनपछि उनले भेटेका ती नातेदारलाई पनि कोरोना पुष्टि भयो। तर उनलाई लक्षण भने थिएन। हाम्रो कोठामा आउने देवरलाई भने ज्वरो आउने, खान मन नलाग्ने, स्वाद थाहा नपाउने, जिउ दुख्ने जस्ता गम्भीर लक्षणहरु देखिएका थिए।
उनका परिवारका अन्य सदस्यको स्वाबको रिपोर्ट नआउँदासम्म हामी धेरै तनावमा थियौं। कहीं हामीलाई पनि जानीजानी सारेर त गएनन् भन्ने भइरह्यो।
एक वर्षभन्दा बढी समयदेखि कोठाभित्र थुनेर जोगाएका केटाकेटीलाई घरमै आएर भाइरस सारेर गए भने छोराछोरीले हामीलाई कहिल्यै माफ गर्ने छैनन् भन्ने लागिरह्यो। उनी बाहेक उनको परिवारका सबैको रिपोर्ट भने नेगेटिभ आयो।
त्यतिखेरै सरकारले संक्रमितलाई भेटेको पाँच दिनपछिकोले मात्रै स्वाब परीक्षण गर्नु भनेपछि केही राहत मिल्यो। तैपनि उनलाई भेटेको दुई हप्तासम्म हाम्रा रातदिन धेरै तनावमा व्यतित भए। सानो छोराले खोक्यो, हाच्छिउँ गर्यो भनेपनि मन पोल्न थाल्थ्यो।
अहिले कोरोना मुक्त भएर घर फर्किसक्नु भएको छ। आफूले भने पसलदेखि अन्त कतै जानुपर्दा, मास्क, पन्जा लगाउनेदेखि स्यानिटाइजर पनि सँगै बोकेर हिंड्ने गरिएको छ। सकेसम्म घरका केटाकेटीसँग दूरी कायम गर्ने गरिएको छ।
घर फर्केपछि त्यही अनुसार सरसफाई गर्ने गरेका छौं। कसैको प्रतिरक्षा प्रणाली अत्यन्तै कमजोर हुन्छ। कुनै घरमा साना बालबालिकादेखि दीर्घ रोगी र बृद्धसम्म बस्छन्। सुरक्षाका मापदण्ड नअपनाई, लापरबाहीपूर्वक कसैले पनि कसैको कोठामा जानु अहिलेको परिस्थितिमा उचित भने देखिदैन।
लापरबाही गर्नाले आफू र आफ्नो परिवारको ज्यान जोखिममा पर्न सक्छ। संक्रमित हुन पुगेका क्याप्टेन विजय लामादेखि डाक्टर भोला रिजाल दम्पती र अन्य सबै डाक्टरहरुले कोरोना भाइरसलाई हल्का रुपमा नलिनू, सुरक्षाका सबै मापदण्ड पूरा गर्नू भन्ने सुझाव दिनुभएको छ।
कोरोना भाइरसदेखि यति धेरै डराउनुको अर्को कारण पनि थियो। अलि टाढा बस्ने एकजना घरबेटी दुई दिन अघिसम्म हिंँडडुल गरिरहेका, बाइक चलाइरहेका एकदमै तन्दुरुस्त थिए। दुई दिनमै उनलाई भर्याङ ओर्लन पनि नसक्नेगरी सिकिस्त बनायो।
उनका सबैजसो लक्षणहरु कोरोना भाइरस लागेको बिरामीका जस्तै थिए। घरका सदस्यहरु नजिक नगएर टाढैबाट हेरिरहेका थिए। भर्याङबाट ओर्लन नसकेपछि पिपिई लगाएका एम्बुलेन्स चालकको सहयोगमा उनी एम्बुलेन्समा चढे।
उनको स्वाबको रिपोर्ट पोजेटिभ आयो। यो घटनाले झनै डराएको थियो। गम्भीर अवस्थामा पुगेका उनलाई प्लाज्मा थेरापीसँगै लामो समयदेखि भेन्टिलेटरमा राखिएको थियो।
विश्वभरिका सबैजसो डाक्टरहरुले कोरोना भाइरसलाई हल्का रुपमा नलिन सुझाइरहेका छन्। यो भाइरसका लक्षणहरु पनि फरक फरक हुने हुनाले कसैलाई सिकिस्त बनाएर ज्यानै लिनेसम्मका हुँदा रहेछन् भने कसैले आफूलाइै संक्रमण भएको रिपोर्टबाट मात्र थाहा पाउने गरेका छन्।
कोराना मुक्त भएकाहरुको फोक्सो र मुटु सामान्य अवस्थामा आउन पनि धेरै समय लाग्ने डाक्टरहरुको बुझाइ छ। संक्रमितको उपचार गर्दागर्दै कतिपय डाक्टरहरुले नै ज्यान गुमाइसकेका छन्।
नेपालमा पनि बढी संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। कोरोना भाइरसको औषधि बनिनसकेको हुँदा सबै सचेत हुनु जरुरी देखिन्छ। विश्व स्वास्थ्य संगठनले बनाएका मापदण्ड, सरुवा रोग विशेषज्ञ तथा डाक्टरहरुले पालना गर्नु भनी सुझाएका कुराहरुलाई लागु गरेर अगाडि बढ्नुको विकल्प छैन।
अहिलेको परिस्थितिमा एकजनाको हेलचेक्रयाइँले धेरै जनाको ज्यान जोखिममा पर्न सक्ने हुँदा घरभित्र तथा घरबाहिर सबैले सावधानी अपनाउनु उत्तिकै जरुरी देखिन्छ।