'अब सडकमा कोही पनि भोका नाङ्गा भेटिने छैनन्। सबैलाई गाँस-बास-कपासको आवश्यक व्यवस्था हुनेछ। नेपालीका छोराछोरीले दिनैपिच्छे मासु भात खान पाउने छन्। भोकले ब्युँझने छैनन्, निन्द्रा पुगेर उठ्नेछन्।'
यस्तो मिठो लालीपपको सपना बाँड्ने नेताज्यू र उहाँका अनुयायीहरूलाई सम्झेर लेखिएको यो सत्य घटना महानगरका सडक मान्छेहरू, उनीहरूको भोक र विवशताहरू 'सपनाको लालीपप' जस्ता स्वादिला नभई कोक्याउने र चहर्याउने खालका पनि हुन सक्छन्।
आफू बिहान साँझ सधैँ अफिस जाँदा र फर्कँदा झोलाभरि बिस्कुट, डग फुड लिएर, जत्था-जत्था सडक कुकुरहरू भेटिने स्थानहरूमा, रोकिँदै, उनीहरूलाई खुवाउँदै हिँड्ने मान्छे परियो।
कोरोना प्रकोप र त्यसले निम्त्याएको लकडाउन जस्तो विपद्का बेलामा घर न घाट भएका सडक मानवहरूलाई भोकभोकै मर्न दिनु नहुने व्यवस्था गर्नु पर्ने दायित्व सरकारको हो। वर्षको लाखौं रुपैयाँ त म जस्ता मानिससँग करका नाममा खोसेर लगेर विलासी जीवन व्यतीत गर्ने, तर यता सडकमा भने भोकभोकै मान्छे मर्नु पर्ने अवस्था विडम्बना नै हो।
गत वर्ष पहिलो लकडाउनको बेला सडक कुकुरलाई खाना दिने क्रममा ठाउँ ठाउँमा कहिले समूह मिलेर, कहिले वडाले गरिब जनताका लागि खाना बाँडेको देखियो। खाना खाने भिडमा विपन्नहरूका अतिरिक्त सडक बालबालिका र युवाहरू देखिन्थे।
यी मध्ये कतिपय कुलतमा फसेका हुन्थे। जे होस्, सबैका लागि नौलो भएको त्यो लकडाउनमा आपतमा परेकाहरूलाई खाना खुवाउन तम्सिनेहरूको जमात टोलैपिच्छे देखिन्थ्यो।
तर भदौ महिनामा भएको दोस्रो लकडाउनमा भने कतै पनि अन्नदाताहरूको अत्तोपत्तो थिएन। कतै केही खाने पिउने व्यवस्था नभएपछि गोंगबु बसपार्क छेउमा कपडा पसलेहरुको छाप्रोमा टाउको लुकाउँदै आएका सडक मानवहरूको पनि दिनचर्या अन्यत्रको जस्तै बडो उदेकलाग्दो देखियो।
काम गरुँ भने सबैतिर बन्द छ, तर बन्द भयो भन्दैमा भोक बन्द नहुने। लकडाउनको समयमा बस, होटेल, निर्माण सब बन्द कतै केही काम नै छैन, आम्दानी के हुनु? गुणस्तर चोक छेउमा भेला भएका हेर्दा सोझा देखिने तिनीहरूको हुलमा चार पाँच जना केटीहरू लगायत दश-बाह्र वर्षका केटाहरूदेखि लिएर बीस-बाइस वर्षसम्मका युवाहरू पनि देखिन्थे।
अफिस जाँदा त्यही चोक भएर जानु पर्ने हुँदा म त्यस ठाउँमा साँझ बिहान नै पुग्ने गर्थें। त्यहाँका सडक कुकुरहरूलाई मैले दिनैपिच्छे खाना खुवाएको देखेपछि उनीहरूले मलाई 'अंकल त खाली कुकुरलाई मात्र बिस्कुट बाँड्नु हुन्छ, हामी यहाँ मान्छे भएर पनि केही खान पाउँदैनौं, हामीलाई पनि दिनुहोस् न' भन्न थाले। यस्तो दबाबमूलक अनुरोधलाई टार्न सकिएन, म उनीहरूलाई पनि बिस्कुट दिन बाध्य हुन थालें।
कुलतको दलदलमा बालबालिका
साना केटाकेटी झुम्मिएको देखेर मेरा छेउमा ठूला केटाहरू पनि आएर चामल, तरकारी किन्ने पैसा माग्न थाले। 'आफैं त महादेव कसले देला वर' भनेजस्तो सधैँ चामल र तकारी किन्ने समेत पैसा त मैले कसरी जुटाउन सक्थें र?
देख्दा माया लागे पनि त्यही अनुसारको खर्च गर्न सक्ने क्षमता पनि त हुनु पर्यो त आफ्नो। अर्को कुरा, मेरो प्राथमिकता भनेको आफ्ना लागि बोल्न सक्ने, काम गरेर खान भनेर प्रकृतिले दुई हात दिएका मानिसहरू नभई शताब्दीयौंदेखि मानिससँग आश्रित र बफादार अबोध प्राणीका लागि थियो।
मानिसकै लापरबाही र निष्ठुरी स्वभावका कारण बिना कसूर सडकमा पुगेका कुकुरहरूलाई यथासक्य सेवा गर्नु, बन्ध्याकरण गराउनु मेरो पहिलो प्राथमिकता थियो।
त्यस ठाउँमा स्वीटी नामकी एक कुकुर्नी थिई, जसलाई मैले पशु चिकित्सकसँग समन्वय गरेर निजी खर्चमा बन्ध्याकरण गराइसकेको थिएँ। त्यस क्षेत्रमा हाइ ब्रिड कुकुर पालेकाहरूले गर्दा वर्षेनी जन्मेका छाउरीरहरूलाई त्यहीँ छाड्ने गरेका रहेछन्।
छाउरा भने उनीहरु केनल क्लबलाई राम्रो दाममा बेच्छन्। त्यसरी भेला भएका पाँच-छ वटा त्यस्ता छाउरीहरूलाई स्वीटीले आफ्नैं बाल बच्चा जस्तो माया गर्थी, हेरचार सुरक्षा गर्थी। कालान्तरमा दुइटा छाउरी हुर्किएर त्यहीँ रहे।
पछि एक दिन एउटा रोगी छाउरी त्यहाँ खोच्याउँदै आइपुगी। त्यसको पछाडिको एउटा खुट्टो भाँच्चिएको थियो। मैले त्यसको खुट्टामा बेसार पट्टी, औषधिमूलो गराएर खाना दिन थालेपछि ऊ विस्तारै सञ्चो हुन थाली। दिनहुँको स्याहारले ऊ दुई हप्तामा पूरै निको भई तर पनि उस्को कमजोरी बाँकी नै थियो।
एक दिन त्यसलाई मासु खुवाउँदै गर्दा अर्को ठूलो कुकुरले त्यसलाई झम्टेर लछार पछार गर्न लाग्यो। मैले छाउरीलाई त्यसबाट बचाउन लात्ताले हान्दा त्यस ठूलो कुकुरको दाँतले मेरो खुट्टामा चोट लागि रगत आइ त हाल्यो।
आफूले माया गरेको प्राणीलाई बाध्यतावश कुट्नु पर्दा मन पनि चोटिल भयो। आफू फेरि लकडाउनको समयमा निजी अस्पतालमा रेबिजको सुई लगाउँनु जानु पर्दा धेरै महंगो पर्यो, समस्या पनि थपियो।
त्यहाँ भएका सडक बालकहरू मध्ये उज्ज्वल नामको आठ दश वर्षको केटो सबैभन्दा सानो थियो। एउटा फिर्फिरे सर्ट, कट्टु नै देखिने गरी च्यातिएको हाफ प्यान्ट र खाली खुट्टामा उभिएको ऊ सबैभन्दा निरीह प्राणी देखिन्थ्यो। उ
सलाई पनि गम सुँघ्ने लत ठूला केटाहरूले लगाइसकेका थिए। ऊ यो समूहमा फसेको थियो। यहाँबाट अन्त जान उसलाई संभव थिएन। यो समूहले नमरेसम्म पिछा नछाडने हुँदा अब त सामान्य जीवनयापन गर्ने ऊसँग विकल्प नै रहेन
उज्ज्वल र ऊ जस्ता बालखा केटाहरू ठूला र कुलतमा फसेका जवान केटाहरूका लागि कमाइ खाने माध्यम बनिबसेका थिए। युवालाई कसैले भीख नदिए पनि बच्चालाई त दिइहाल्थे। स्याना ले मागेर ल्याएको पैसा दाइ पल्टेका ठूला केटाहरूलाई दिनै पर्नेरहेछ, जुनपैसा उनीहरूलाई खाना ख्वाउन नभई चुरोट, गाँजा, रक्सी, ट्याब आदि किन्नमा खर्च गरिँदो रहेछ।
उज्ज्वल कान कोट्याई रहन्थ्यो। कहिले सिन्का हालेर कन्याउँथ्यो। त्यसको कान पाकेको रहेछ। अर्को केटाको पनि यस्तै समस्या रहेछ। त्यो देखेर मैले औषधि पसलबाट खाने र लगाउने औषधि ल्याइदिएँ।
तिनीहरूले एक दुई पटक त्यो औषधि प्रयोग गरे। तर केटाकेटी त न्यानोमा सुत्न पाए, बेलामा खान पाए पो छिट्टै निको हुन्छन्। सडक मानवहरूलाई त त्यो पुगिसरी कहाँ होस् र? अनि कसरी बिसेक होस्?
भलो चिताउनेलाई नै धम्क्याउने ढाडे प्रवृत्ति
पहिलो पटकको लकडाउनका बेलामा मैले बालाजुको तारकेश्वर मन्दिर वरपरका सडक कुकुरहरूलाई खुवाउँदै हिँडेको देखेर दुई जना समाजसेवी व्यक्तिले मलाई आफूहरूले निजी स्रोतबाट वास्तविक गरिब दश-बाह्र परिवारलाई खाद्यान्न सहयोग गर्न चाहेको बताउनु भयो।
मैले त्यस्ता सही व्यक्तिकहाँ पुर्याउनेछु भन्ने उहाँहरूलाई लागेको रहेछ। मैले उहाँहरूलाई त्यस्ता परिवारसँग भेट गराइदिएँ र उहाँहरूले त्यसता दश परिवारलाई चामल, पिठो, दाल, तेल आदि सहयोग पनि गरिदिनु भएको थियो।
त्यही सम्झी यस् पटक फेरि मैले उहाँहरूलाई फोन गरेर त्यस्ता असहाय, बन्द भएको कपडा पसल कोबांसको टाँडमा सुत्ने ती व्यक्तिहरूलाई फेरि पनि सहयोग गरिदिनु हुन्छ कि भनेर सोधें। उहाँहरू आउनुभयो र सहयोग चाहेका मानिसहरूसँग भेट गर्ने चाहना राख्नुभयो।
उहाँहरूले त्यहाँका धेरै केटाकेटीहरूलाई पहिलेदेखि चिन्नु हुँदो रहेछ। त्यहाँ एउटा सुजीत नामको राक्स्याहा झगडालु केटो पनि थियो, त्यो त्यतिबेला पनि रक्सीले मात्तिएको थियो।
समाजसेवीले त्यसलाई 'बाबु, तिमीलाई त हामीले पहिले पनि सहयोग गरेको हो। कहिल्यै नसुध्रिने?' भनेर सोध्नुभयो। त्यत्ति सुन्नासाथ त्यस केटाले आफूलाई सहयोग गर्न आउनेलाई नै जथाभावी गाली गर्न थाल्यो। कुरो प्रहरीसम्म पुग्यो। केटाले प्रहरीको चुटाई खायो, हामीले नै प्रहरीबाट त्यसलाई छुटायौं।
यही घटनाले गर्दा त्यस ठाउँमा सहयोग आउन सकेन। विगत राम्रै भए पनि कुलतमा फसेकाले पारिवारिक सम्बन्ध बिग्रेर सुजीत त्यस्तो भएको थाहा पाइयो। कहीँ पनि चोरीको घटना भयो भने प्रहरीले सुजीत लगायतका केटाहरूलाई शंका गर्दो रहेछ, समातेर पिट्दो रहेछ।
यसले गर्दा उनीहरूको प्रहरी प्रतिको डर नै हटिसकेको रहेछ। सुजीत लगायत सधैँ प्रहरीको पिटाई खाइरहने यी सबै केटाहरु कानुनी राज्यको अवस्था कमजोर भएको देशका नागरिकहरूको प्रतिनीधि पात्र बने जस्तो लाग्यो मलाई।
सामूहिक भोज- जो जागा उसकै मोज
त्यो हुलमा भएको माझी भन्ने केटाले रिक्सा तानी, भारी बोकी, तरकारी, तेल चामल आदि किन्ने पैसा मागेर सबैका लागि खाना जुटाउँथ्यो। मैले पनि उनीहरूलाई कहिले बिस्कुट कहिले चामल किनेर दिन्थें। राति बचेको बासी भात भुटेर ल्याउँथेँ।
बिहान भने त्यहाँ प्राय: खाना पाक्दैनथ्यो, सबैजना हराउँथे। साँझ परेपछि एक एक गर्दै सबै जना आउँथे र आगोमा खाना पकाउँथे। मागेकै पैसाले भए पनि उनीहरू कुखुराको मासु खान्थे। तर खाना पाक्दा ज्यादै रात छिप्पिइसकेको हुँदो रहेछ।
यस्तो बेलामा केटाकेटीहरू भने थाकेर लोथ भइसकेका हुनाले निदाइसकेका हुँदारहेछन् र खानाबाट वञ्चित हुँदा रहेछन्। खाना त्यसै पनि थोरै हुने, त्यसमाथि दाइहरुले पहिले अघाइन्जेल खाएपछि मात्र आफूले खान पाउने, नपाउने टुङ्गो हुने हुनाले गर्दा पनि तिनीहरु भोकभोकै सुतेका हुन् कि जस्तो लाग्यो।
युवतीहरूको नारकीय जीवन
यहाँ भएका अधिकांश केटाकेटीहरुले नाम थर सोध्दा गलत बताउँदा रहेछन्। किनभने प्राय: सबैको पुलिसमा रेकर्ड हुँदो रहेछ। त्यो हुलमा चार पाँच जना केटीहरू पनि थिए। मैले तिनीहरूलाई 'तिमीहरू किन यस्तो ठाउँमा बसेका, नाता गोता वा काम गर्ने ठाउँ मा बास मिल्ने भए जानु नि?' भनेर सोधें।
एउटीले घरमा कसैले देखिसहँदैनन्, त्यसैले आफूलाई त यहीँ ठिक छ भन्ने जवाफ दिई। अर्कीले आफू काम गर्ने होटलको साहुले नराम्रो गर्न खोज्यो, कोरोनाले होटेल पनि बन्द भयो, एक महिनाको तलब पनि पाइनँ, त्यै भएर हिँडेको भनी।
यिनीहरू हप्ता-दुई हप्तामा फेरिइरहन्थे र सबैको दुखेसो आ-आफ्नै खालको हुन्थ्यो। यहाँ भेट भएका सबै जसो केटीहरूलाई मैले यहाँ बसे झन् दलदलमा भासिन्छौ, सकेसम्म छिटो घर फर्क, बरु चाहिए खर्च लेऊ भन्ने सल्लाह दिएँ। तर उनीहरू आफ्नै कथा सुनाएर अन्तभन्दा बरु यही ठिक छ, राम्रो छ, हामी त न जाने भन्ने दाबी गर्दा रहेछन्।
वास्तवमा ती युवतीहरू यहाँ एक पटक आएपछि दलदलमा फस्दा रहेछन्। उनीहरूलाई नाइकेहरूले लागु पदार्थ सेवनको लत लगाइदिँदा रहेछन्। एकपटक त्यो लतमा फसेपछि उनीहरू अन्त गएर गुजारा नचल्ने रहेछ।
कुरो बुझ्दै जाँदा उनीहरूले नाइकेको श्रीमती जस्तै बनिदिनु पर्ने, यौन धन्दा गरेर पैसा ल्याएर उसैलाई दिनु पर्ने रहेछ। त्यहाँका अधिकांश केटाहरू कुलतमा फसिसकेका हुनाले उनीहरू तिनै केटीहरूको आम्दानीमा भर पर्दा रहेछन्।
कतिपय युवतीहरूको, ग्राहकसँगको सङ्गतमा अत्यधिक रक्सी खाने बानी पर्दो रहेछ। रुकुमबाट आएकी एउटी तेर्ह चौध वर्षकी कलिली केटीले सुनाए अनुसार ग्राहकले खुसी भएर दिएको कानको गहना पनि उनीहरुकै नाइकेले राति गायब पारी दिएछ। यो नरकमा भासिएर सबैभन्दा बढी नारकिय यातना भोग्ने यिनै केटीहरू हुँदा रहेछन्।
एउटा ट्याक्सी ड्राइभरले यहाँकी एउटी काखे बच्चा सहितकी केटीलाई मन पराउँदो रहेछ। परिवारलाई गाउँमा छाडेर आएको हुनाले ऊ त्यो केटीलाई आफूसँग लागि कोठामा बसाउन चाहन्थ्यो। तर केटी भने लागु पदार्थको कुलतमा फसिसकेकी थिई।
त्यसको रुपले ड्राइभर आकर्षिक भए पनि उसलाई सम्हालेर राख्ने आँट आएन क्यार त्यसलाई, त्यसको माया ले जोडी बाधन सकेन, माया एकतर्फी नै रह्यो।
मैले भेटेका प्रत्येक युवतीका आ-आफ्नै कथा थिए। राम्रो कामको खोजीमा राजधानी छिरेर होटलमा काम गर्न बाध्य भएका तिनीहरु, त्यहाँ आउने ग्राहकहरूसँग रक्सी बिकाउन टाँस्सिएर बसिदिनु पर्ने।
विस्तारै रक्सी आफूले पनि पिउनु पर्ने, रक्सीको लत बस्दै जाने। त्यसपछि रक्सी र अन्य लागु पदार्थका लागि पैसा जुटाउन शरीर बेच्न बाध्य हुनु पर्ने। यस्तो कथा एकजनाको होइन, धेरै जनाको हुँदो रहेछ।
कोही भने चौध वर्षकै उमेरमा बच्चा पाएर आमा बच्चा दुवैको बिजोग भएका पनि देखिए। एउटी त 'म यो बच्चा बेच्छु' भन्दै हिँड्दिरहिछे। त्यसको मनमा आमाको हृदय त कसो नहोला? तर कुन बाध्यताले त्यसले त्यसो भनेकी होली? के यसमा त्यस नशा र कुलतमा फसेकी युवतीको मात्र दोष छ त?
त्यसलाई यस अवस्थासम्म ल्याउन बाध्य बनाउने अप्रत्यक्ष मतियार त राज्य र सबै नागरिकहरू पनि हुन् नि। आफ्नो मात्र भलाई सोच्ने आत्मकेन्द्रित सोचले हाम्रो समाजमा यस्ता अभिशप्त सडक मानवहरू दिनदिनै जन्मिइरहेका छन्।
हुलमा हेपाहाकै हालीमुहाली
यस्तो हुलका नाइके सबैभन्दा सन्काहा, रिसाहा, जीउभरि चक्कुको खत भएको र सबैलाई हेप्ने प्रवृत्तिका केटाहरू हुँदा रहेछन्। हुलका सबै सदस्य उसको अदबअनुसार चल्नु पर्ने, खासगरी केटीहरू र बालबालिका त उसका दासजत्तिकै हुँदा रहेछन्।
अरु मानिससँग पनि नाइकेको व्यवहार राम्रो हुँदो रहेनछ। म भने कुकुरलाई खाना दिने क्रममा संजोगले त्यहाँ पुगेको र उनीहरूलाई खानेकुरा र औषधिको समेत सहयोग गरेको हुनाले मात्र मसँग राम्ररी बोलेका रहेछन्।
मैले कुकुरको भिडिओ खिचेको देखेर नाइकेले 'यो ठाउँमा भिडिओ खिच्न पाइँदैन' भनेर मसँग रिस पोख्दै झगडा गर्न पनि खोज्यो। मैले उसलाई स्पष्ट रुपमा 'मलाई तिमीहरूसँग कुनै सरोकार छैन, तिमीहरूको त काम गर्ने हात खुट्टा सग्लै छन्, चाह्यौ भने कमाएर खान सक्छौ। दु:ख पाएको देखेर बालबच्चाको माया लाग्छ। मेरो मुख्य सरोकार भनेको सडक कुकुरहरू हुन्। यसमा तिमीले टाउको दुखाउनै पर्दैन' भनेपछि ऊ अलि मत्थर भयो।
त्यस ठाउँमा बस्ने स-साना केटाहरूको कसैको गालामा कसैको हातमा ब्लेडले चिरिएको देखिन्थ्यो। तिनीहरूले स्पष्ट रुपमा बताउन डराए पनि यो सबै हुलका नाइकेको काम हुँदो रहेछ।
आफूले भनेजस्तो काम गराउन र क्रुरता प्रदर्शन गरेर सबैको सरदार बन्न उनीहरू जस्तोसुकै अमानवीय काम पनि गर्दा रहेछन्। यसबाहेक राति सुतेको बेला अर्का समूहका केटाहरू आएर पनि उनीहरूलाई पिट्दा रहेछन्।
पहिलेको बदला लिनु, दिउँसो कमाएको लुट्नु उनीहरूको उद्देश्य हुँदो रहेछ। बिना कुनै ओढ्ने ओछ्याउने भुइँमा त्यत्तिकै पल्टिएका उनीहरू राति कहिल्यै पनि चैनपूर्वक सुत्न नपाउँदा रहेछन्। जतिखेर पनि हमलाकै डरमा भोलि देख्न पाइने होकि होइन भन्ने जस्तो वातावरणमा उनीहरू बाँच्न बाध्य हुँदा रहेछन्।
त्यसबाहेक लागु पदार्थको सेवन, खानपानमा लापरबाही र अभाव, रोग लागे उपचारको अभावले गर्दा यिनीहरूको अवस्था ज्यादै दयनीय हुँदो रहेछ। प्रहरी, प्रशासन, वरपरको समुदाय कसैबाट पनि कुनै सहयोग नपाउने भएकाले यिनीहरू आफूमाथि भलो गर्न चाहनेहरूलाई पनि विश्वास नगर्दा रहेछन्। बाहिरी मान्छेलाई उनीहरु सुराकी पो होकि भनेर शंका गर्दा रहेछन्।
एकपटक मैले त्यहाँका स-साना केटाकेटीलाई बिस्कुट बाँडेको देखेर एउटा बीस-बाइस वर्षको विभत्स देखिने केटो भयङ्कर रिसायो। हेर्दै डरलाग्दो नशामा लठ्ठ परेर कम्मर माथि लुगा समेत नलगाएको त्यस केटाका शरीरमा अनगिन्ती ठाउँमा ब्लेडले चिरेका आला र पुराना घाउहरू देखिन्थे, कतिपय ठाउँबाट त रगत नै रसाइरहेको थियो।
त्यसको अदबमा बसेका अरु कोही चुइँक्क बोल्न सक्दा रहेनछन्। त्यसले मलाई 'केको बिस्कुट, पैसा दिनुहोस्' भन्यो। मैले 'पैसा त छैन भाइ, केटाकेटी भोकै छन, बिस्कुट भए पनि खालान् भनेर ल्याइदिएको' भनेको त उस्ले जङ्गिदै केटाकेटीको हातबाट बिस्कुट खोसेर फ्याँकिदियो।
उसले मलाई आइन्दा यहाँ नआउनू भनेर चेतावनी दियो। म त्यहाँबाट चुपचाप हिँडे। सोचें- अहिले यसको अदबमा बस्ने बालकहरूले पछि नाइके बन्न यसकै सिको गर्छन् र आपराधिक दुनियाँमा होमिन्छन्। यसरी अपराधमा लाग्ने नयाँ पुस्ता तयार हुँदैछ र हाम्रो समाज दिनानुदिन अपराधतिर उन्मुख हुँदैछ।
मानिस घरबाट कसरी सडकमा आइपुग्छ भन्ने कुराको प्रस्ट उत्तर त व्यापक अनुसन्धानबाटै आउला।
तर सर्सर्ती हेर्दा के देखिन्छ भने दिनदिनै बिग्रिरहेको पारिवारिक सद्भाव, उच्च महत्वाकांक्षा र अरुको लहैलहैमा लागेर वर्षेनी देशका कुना कन्दराका बालबालिका घरबाट क्रमश: विस्थापित हुँदै सडक मानव बन्न सहरतिर ओइरिइरहेका छन्।
सरकारले केही सडक बालबालिकालाई सडकबाट हटाएर 'सडक मानवमुक्त सडक' घोषणा गर्ने जस्तो अदूरदर्शी र प्रचारमुखी काम नगरी यो समस्याको वास्तविक समाधानका लागि यसको जरोसम्म पुग्नु पर्दछ।
लकडाउन खुलेपछि
कोरोनाको प्रकोप घटेजस्तो भएपछि विस्तारै बजारमा चहलपहल बढ्न थाल्यो। सरकारले लकडाउन खोलेपछि सबै सटर खुले, झुपडी कपडा व्यापारीहरू पनि फर्केर आए, रात अबेरसम्म व्यापार हुन थाल्यो। यसले गर्दा त्यो स्थान मा आश्रय लिएका सडक मानवहरू पनि यत्रतत्र गए।
त्यस हुलका केही केटाकेटीहरू दु:ख पाएको अवस्थामा देखिन्थे। उज्ज्वल कता गयो, कुमार कता लाग्यो थाहा भएन तर अर्को एउटा नयाँ फुच्चे केटो टाउकोमा ठूलो घाउ बोकेर डाको छोडेर रोइरहेको देखें।
त्यो १४ वर्षमा आमा बनेकी किशोरी सस्तो पाउडर र लिपस्टिक दलेर बसपार्क बाहिरको ओभरब्रिज पुल तलको सडकमा हिँडेका केटाहरूलाई मुस्कान पस्किरहेकी थिई। यसको अर्थ ऊ 'काममा' फर्किसकेकी थिई र यही नशा र कुलतको नारकीय जीवन नै उसलाई प्रिय लागिरहेको थियो।
लकडाउनभरि, एउटा सानो ठाउँमा गरिएको स्याम्पलिङ जस्तो यो अनुभवले के प्रस्ट पार्छ भने नेताहरूले जति ठूला सपना बाँडे पनि, जति ठूला गफ गरे पनि र जति मिथ्यांक प्रस्तुत गरे पनि भविष्यका कर्णाधार भनिने असंख्य बालबालिका र युवा युवती ज्यादै टिठलाग्दो अवस्थामा बाँचिरहेका छन्।
यस्ता परिवेशहरु टाढा, दुर्गम र प्रशासनको नजर नपरेको ठाउँमा होइन, गणतान्त्रिक नेपालको राष्ट्रपति विराजमान हुने भव्य राष्ट्रपति निवासको नाकै मुनि समेत देखिन्छन्।
यिनका नाममा मानव अधिकार, बाल अधिकार, महिला अधिकारवाल, ठूला होटलमा सेमिनार गर्ने, विदेश घुम्ने अभिजात्य वर्गहरूले यिनको वास्तविक समस्या समाधान होस् भन्ने चाहँदैनन् भने जस्तो देखियो।
यी अभिशप्त सडक मानवहरूलाई मानवोचित जीवन बाँच्नका लागि संगठित रुपमा सहयोग गर्नेउपाय निकाल्ने कोही पनि देखिएन। दुई-चार प्याकेट बिस्कुट बाँडेका भरमा यो समस्या समाधान हुँदैन भन्ने त यस लेखकलाई पनि थाहा छ, तर उनीहरूको हालत देखेर चहर्याएको आफ्नै मनमा मल्हम लगाउन त्यसो पनि गरियो।
कुकुरको सेवा गर्दै जाँदा कुकुरहरुको भन्दा पनि कष्टपूर्ण जीवन बाँचिरहेका अभिशप्त मानिसहरुको अवस्था देख्दा आफ्नो मन पनि अवसादले भरियो।