आज जुन २१ अर्थात वर्षकै लामो दिन। प्राकृतिक नियमले दिन लामो भई भोलिबाट छोटो हुँदै पृथ्वीमा रात वृद्धि हुँदै जाने दिन। सोही अनुरूप आजको दिनलाई अन्तराष्ट्रिय योग दिवस र अन्तराष्ट्रिय संगीत दिवसको रूपमा पनि मानिने दिन हो।
योग सूत्र, योग दर्शन र योगशास्त्रको वृहत क्षेत्र र योग ३००० वर्ष अघिदेखि नै समय विशेष, स्थान विशेष र अवस्था अनुसार फरक फरक ढंगले प्रयोग, अध्ययन हुँदै आएकोमा यसको मुख्य श्रेय पंतजलि ऋषिलाई दिइएको पाईन्छ।
सामान्य रूपमा शारीरिक व्यायाम र श्वासप्रश्वास प्रक्रियालाई नै योग अभ्यासको रुपमा वुझिए पनि योगबाट शरीर, मन र आत्मवोधमा सन्तुलन कायम गरि स्थिरता र शान्तिको बाटोबाट मानवलाई खुशीको उच्च विन्दुसम्म पुर्याउने व्यापक मान्यता र प्रक्रिया हो भनि समाजमा प्रतक्ष्यीकरण गर्नु पर्ने संचेतना आजको आवश्यकता देखिन्छ।
अष्टाङ्ग योग - योगका आठ अंग
अष्टांग योग वा योगका आठ अंगलाई पतंजलिले निम्न बमोजिम प्रस्तूत गरेको पाईन्छ।
यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि।
१. यम :
अष्टांग योगको पहिलो अंग यमलाई सामाजिक विचार र आचरणसँग सम्बन्धित गरि पाँच आयाममा हेर्न सकिन्छ।
(क) अहिंसा - शब्द, विचार वा कर्मबाट कसैको हानी नगर्ने ।
(ख) सत्य – आफ्नो विचारमा सत्यता, स्थिरता कायम राख्नु।
(ग) अस्तेय - दोस्रो व्यक्तिबाट धन, सत्वको अपरहण नगर्ने वा चोर-प्रवृति नराख्नु।
(घ) ब्रह्मचार्य – सम्पूर्ण इन्द्रियहरुमा संयमता कायम गरि चेतना ज्ञानलाई ब्रम्ह स्थिरतामा पुर्याउनु।
(च) अपरिग्रह - आवश्यकता भन्दा बढी सञ्चय नगर्नु। भोग विलासको साधनलाई स्वीकार नगर्नु।
२. नियम:
अष्टांग योगको दोस्रो अंग नियमलाई व्यक्तिगत नैतिकता र अनुशासनसंग सम्बन्धित गरि पाँच आयाममा हेर्न सकिन्छ।
(क) शौच - शरीर र मन को शुद्धिकरण र पवित्रता। अर्थात् दुई किसिमको पवित्रता:- पहिलो, बाहिरी पवित्रता अर्थात आन्तरिक शौच (अन्तःकरणको पवित्रता/शुद्धता), माटो, पानी आदिबाट शरीरका अंगको सफाई। अर्को, मैत्री इत्यादि अर्थात् मैत्री-करुणा-मुदिता-उपेक्षा बाट आन्तरिक राग-द्वेष, क्रोध-द्रोह-ईर्ष्या-असूया-मद-मोह-मत्सर-लोभ आदी मल, कलुष, अशुद्धिहरुको निराकरण गर्नु आन्तरिक स्वच्छता वा पवित्रता हो।
(ख) सन्तोष – कर्तव्य पालनबाट प्राप्त हुने फलबाट तुष्टि, सन्तुष्ट र प्रसन्न रहनु।
(ग) तप – स्व- अनुशासनमा रहनु।
(घ) स्वाध्याय – नियमित आत्मचिंतन गर्नु। प्रणव ध्वनि ओंकारका साथ मन्त्रहरुको जप र पाठबाट मन स्थिर राख्नु।
(च) ईश्वर-प्रणिधान - ईश्वरप्रति पूर्ण समर्पण, पूर्ण श्रद्धा राख्नु। सबै कर्मको फलको अभिलाषा, कामनाबाट टाढा रहि सर्वश्रेष्ठ गुरु, ईश्वरमा समर्पित हुनु।
३. आसन:
विभिन्न शरीरका अंग-प्रत्यंगलाई चलायमान, लचिलो र फुर्तिलो बनाउने योगासनबाट शरीर माथिको विजय वा नियन्त्रण कायम गर्नु अष्टांग योगको महत्वपूर्ण अंगको रुपमा लिईन्छ।
स्थिरसुखमासनम् -
अर्थः-स्थिरसुखम्= स्थिर भावमा, निश्चल रूप धारण गरि सुखपूर्वक,
आसनम् = आसन ग्रहण गर्ने।
यसरी बस्दा शरीर र मनमा स्थिरता र सन्तुलन कायम गरि आत्मासँग प्रत्यक्षीकरण गर्न सकिन्छ। आसनको रुपमा- पद्मासन, दण्डासन, स्वस्तिकासन इत्यादि।
४. प्राणायाम:
श्वास-प्रश्वासको विधिबाट प्राणलाई नियंत्रण राख्ने जस्तै: भस्त्रिका, कपालभाँति, वाह्य, उज्जायी, अनुलोम-विलोम, भ्रामरि, उदगिथ प्राणायामहरु।
५. प्रत्याहार:
हाम्रो ज्ञानेन्द्रियहरुको चंचलताले प्रत्यक्ष्य रुपमा मनलाई भ्रमित गर्न प्रेरित गर्ने भएकोले इन्द्रियहरुलाई अंतर्मुखी गर्नु वा नियन्त्रण नै प्रत्याहार हो।जसलाई आसन र प्राणायामबाट अंतर्मुखी बनाउन सहज हुन्छ।
६. धारणा:
एकाग्रचित्त हुनु। जसको लागि यम, नियम, आसन, प्रणायाम र प्रत्याहारको अवस्था पछि प्राप्त गर्न सकिन्छ।
७. ध्यान:
निरंतर ध्यान क्रियामा लिन हुनु।धारणाको स्थिति वनाउन सफल भए पश्चात मात्र ध्यान केन्द्रित हुन सकिन्छ।
८. समाधि:
आत्माको वोध हुनु वा परम-चैतन्य अवस्थाको महशुस हुनु। यो विरलै प्राप्त हुने योगको अन्तिम अवस्था र पूर्ण अवस्था हो।
पतंजलिमा योगदर्शनलाई समाधि, साधन, विभूति र कैवल्य गरि चार पादहरुमा विभक्त गरिएको छ। समाधिपादमा योग को उद्देश्य, लक्षण र साधनहरुको वारेमा, साधनपादमा क्लेश, कर्मविपाक र कर्मफलको वारेमा, विभूतिपादमा योग का अंगहरु, त्यसका परिणाम तथा अणिमा, महिमा आदि सिद्धि प्राप्ति वारेमा प्रस्तुत गरिएको छ, भने कैवल्यपादमा कैवल्य या मोक्षको वारेमा वर्णन गरिएको छ। योग दर्शन अनुसार मानिससँग निहित अविद्या, अस्मिता, राग, द्वेष र अभिनिवेश गरि पाँच प्रकारको क्लेश हरू, सोहि वमोजिमको कर्मफल अनुसार जन्मदेखिको मृत्युसम्मका जीवन व्यतीत गर्ने अवस्थाको बारेमा उल्लेख छ।
यसर्थ योग कोठा भित्र बसि हातखुट्टा मर्काउने, पेट हल्लाउने, उफ्रने जस्ता शारीरिक व्यायाम मात्र हो, श्वास-प्रश्वास गर्ने, आँखा चिम्लेर मन्त्र पढ्ने प्रक्रिया मात्र हो अनि दाह्री पालेका, राता सेता वस्त्रधारीहरुले मात्रै गर्ने हो भन्ने जुन आजको सिमित मानसिकताका आगे अष्टांग योगका आठ अंग: यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि अनुसार जीवनलाई सरल, सन्तुलित र खुसी बनाउन हरेक उमेर, हरेक अवस्था, हरेक पेशा र हरेक स्थानमा आफ्नो सवैले संगाल्नुपर्ने र आन्तरिक पाटोको रुपमा अंगाल्नु पर्ने यथार्थता हो।