आज यसै घरमा थन्किएर बसेको मेरा साइकलमा आँखा पुग्यो। खासमा सधैँ मेरो साइकल घरको त्यही कुनामा हुन्छ जहाँ मैले राखेको छु। सधैँ आउँदा होस् या जाँदा, साइकलमा मेरो नजर परेकै हुन्छ।
तर आज अलि नजिक गएर त्यो साइकललाई हेर्न मन लाग्यो र एकछिन उभिएर हेरेँ। जब मैले मेरो साइकललाई नजिकबाट हेरेँ तब त्यो पनि केही भनौँला झै गरी हेरेको होकि भन्ने आभास भयो। अझै हेरेँ र देखेँ कि साइकलको दुईवटै पाङग्रामा हावा सक्किएछ, चेन गियर पनि के भएर हो बांगिएछ।
सोचेँ, सायद यताउता सार्दा ठोक्किएर होला बाँकी सबै पार्ट-पूर्जा सगोल नै रहेछ। अनि फेरि सोचेँ, बाहिर निकालेर यसो धोई पखाली गर्न पाए र मर्मत गरेँ भने राम्रै र नयाँ हुने रहेछ। फेरि सोचेँ, ह्या चलाउने हैन केही हैन, बेकारको किन देख गर्नु। चलाउन परे भटभटे छँदै छ।
झन्डै मेरो साइकललाई कुनामा थन्काएको पनि आज तीन वर्ष भएछ। एउटै कुनामा थन्किएको साइलकललाई पनि मेरो आश लाग्दो हो। भन्दो होनि- मलाई यसले माया गरे हुने नि!
मलाई लाग्न थाल्यो कि 'यसको लागि मैले कति समय दिए पनि भनिनँ, घाम भनिनँ, जाडो भनिनँ, गर्मी भनिनँ। हरेक पल यसले भनेको बेलामा मैले साथ दिएँ तर यसले मलाई आज एउटा कुनामा रोखेर भटभटेलाई आफ्नो बनायो।'
विचरा नभनोस् पनि कसरी! २०६४ किनेको जुन बेला म कक्षा दशमा पढ्थेँ, त्यो बेलादेखि आज प्राइम कलेजको दश जोड दुई र स्नातक पढिसक्दासम्म मेरो साथ दिएको थियो। जीवन रक्षा सहकारीको जागिरदेखि एसियन फोरमको जागिरसम्म मेरो सेवा गर्न दिन रात हिँडेको थियो।
म जता भन्थेँ ऊ त्यता, जुन स्पिडमा भन्थेँ त्यो स्पिडमा हिँड्ने गर्थ्यो। यसको साथ छउन्जेल मैले कहिल्यै ट्राफिकको जाममा पर्नु परेको थिएन। जस्तो रातिको सयमा पनि घर बाहिबाट यात्रा गर्दा घर सुरिक्षत साथ ल्याउने गर्थ्यो।
बाध्यता भनौँ या स्वार्थिपनाले गर्दा मेरा नयाँ जागिर दोलखा जिल्लामा भयो। तब २०७० साल जेष्ठ २१ ग्तेका दिनदेखि मैले मेरो साइकललाई कुनामा राखेको छु।
यसलाई यसै छाड्न पनि मन त थिएन तर त्यो पहाडी ठाउँमा यसको यात्रा सहज नहोला भनेर नै मैले यसलाई छाडेको थिएँ। पछि म काठमाडौँ बेलाबखत आउँदा बडो आशाका नजरले त्यसले मलाई हेर्थ्यो। तर म यसको छेउमा पर्नै फुर्सद लिएर कहिल्यै आउँदैन थिएँ।
दोलखा बसाइकै क्रममा मेरो मना मटरसाइकल सिकौँ कि भन्ने भयो। साइकल चलाएको मान्छे मोटरसाइकल सजिलै सिकिन्छ भन्थे साथीहरुले। मैले मोटरसाइकल सिकेँ पनि।
लाइसेन्स नभए पनि मैले मोटरसाइकल निर्वाद रुपमा चलाउन थालेँ। मलाई मोटरसाइकल चलाउन सिकाउने यही साइकल थियो। सायद यसको सबैभन्दा ठूलो गल्ती यही थियो।
तत्पश्चात मेरो ध्यान साइकलमा कहिल्यै गएन। त्यसको स्थान मोटरसाइकलले लियो। एक किसिमले मैले साइकलको त्याग गरेँ। अब मेरो सबै स्वार्थ पूर्तिको लागि साइकालको आवश्यकता थिएन।
दोलखको जागिर सकियो। प्रोजेक्टको जागिर न न थियो, सीमित अवधि थियो त्यस कारण अवधि सकियो। पुनः काठमाडौँ फर्किएँ। यो काठमाडौँमा पैसाबिना एक पाइला सार्न सकिँदैन। काठमाडौँ फर्किएको एक/दुई महिना बेरोजगार भइयो।
जागिरको लागि कहिले कता कहिले कता जानु पर्ने हुन्थ्यो। गाडी भाडा तिरेर नसकिने भइयो। धैरै कोसिसपछि बल्ल एउटा सानो कम्पनीमा जागिर मिल्यो। समयमा पुग्नु पर्ने बाध्यताका बीच काठमाडौँको यो जाम जहिल्यै तगारो बनेर मेरो अगाडि आयो।
समयमा पुग्न आफूसँग साधन थिएन। पुनः त्यही थन्किएको साइकल बनाएर चलाउने निर्णय गरियो। एकपटक फेरि यो साइकलले मेरो निर्दयीपनलाई बिर्सियो र मेरो स्वार्थपूर्ति हेतु मैले जसरी भनेँ, जुन गतिमा भनेँ, जुन बाटोमा भनेँ र जुन समयमा भनेँ सो अनुसार नै मेरो सेवामा तल्लीन भयो।
यसले दिने सेवामा पहिले र अहिलेमा कुनै किसिमको फरक थिएन। तर म भने स्वार्थी थिएँ। मैले यसलाई मेरो स्वार्थपूर्तिको लागिमात्र प्रयोग गरेको थिएँ। मेरो मन त मोटर साइकलमा थियो।
केही महिनापछि सेकेन्ड ह्यान्ड भएपनि मैले मोटरसाइकल किनेँ र यो साइकललाई पुनः त्यही कुनामा थन्काएँ। त्यो मितिदेखि आजसम्म न त मैले यसको मर्मत सम्भार नै गरेका छु न त यसलाई धोइ-पखाली नै गरेको छु।
गरेको छु त बस् यसलाई घाम र पानीले नभेट्ने गरी एउटा कुनामा थन्काएर राखेको छु।