मान्छेको हातमा भएका औँलाहरु फरक-फरक छन्। कान्छी औँला, साहिँली औँला, माझी औँला, चोर औँला र बुढी औँला। हुन त यिनीहरुको नाम ठाउँअनुसार फरक-फरक भएको पनि मैले पाएको छु।
यिनीहरुको नाम कसले, कसरी वा किन राख्यो भन्ने कुरामा मलाई त्यति चासो छैन। यो बारे तपाईंहरु कसैलाई थाह छ भने कृपया मलाई पनि बताइदिनु होला। तरपनि जब जब मेरा आफ्नै आँखाहरु आफ्नै हातका औँलाहरुमा घोत्लिन पुग्छन्, म यिनै औँलाजस्ता मान्छेहरुलाई नसम्झी रहन सक्दै सक्दिनँ।
उसो त मेरो त्यति धेरै मान्छेहरुसँग संगत छैन। ठूलो 'सर्कल' बनाएर सम्बन्धहरुको बोझ उठाउन सक्ने सामर्थ्य आफूमा नदेखेको भएर पनि मैले आफूलाई सीमित गरेको हुँ।
तर मैले संगत गरेका वा मैले देखे-भोगेका मान्छेहरु मेरो हातका पाँचै औँलाजस्ता फरक-फरक प्रकृतिका भने पक्कै छन्। ती सबै मान्छेहरुलाई मैले यहाँ मेरा साथीहरु सम्बोधन गरेको छु। यसमा अन्याथा नलिनु हुन पनि सम्पूर्ण पाठकवर्गमा मेरो सादर अनुरोध छ।
मेरा एकथरी साथीहरु छन्, जो नितान्त वर्तमानमा रमाइरहेका हुन्छन्। यिनीहरुसँग न स्वार्थ छ न लोभ न डाह। स-सानो कुरामै खुसी हुन्छन् अनि स-सानो कुरामै टुक्रिन्छन्।
विश्वासिला मान्छेका लागि आफ्नो ज्यानै हाजिर गरिदिने यिनीहरुको अचम्मको हर्कतले जो कोहीलाई पनि फिदा बनाउँछ। मलाई अचम्म त कहाँनिर लाग्छ भने जतिबेलै बालापनको जस्तो हर्कत देखाइरहने यिनीहरु आफ्नो कुरामा भने निकै दृढ, कञ्चन र आत्मविश्वासी हुन्छन्। यी साथीहरु मेरा लागि कान्छी औँलाजस्ता साथीहरु हुन्।
मेरा साथीहरु मध्ये अर्काथरी साथीहरु पनि छन्, जसलाई जिन्दगीमा आफ्नोभन्दा अर्को कसैको कुनै मतलब छैन। यहाँसम्म कि यिनीहरुलाई आफ्नै भविष्यको पनि त्यति मतलब रहँदैन र पनि यिनीहरु आफ्नो जिन्दगीदेखि कहिल्यै सन्तुष्ट हुन सक्दैनन्।
आफ्नो काम निकाल्न यिनीहरु जति तलसम्म पनि गिर्न सक्छन्। मैले के पनि देखेको छु भने यिनीहरु क्षमतावान हुन्छ्न् तर आफ्नो क्षमतामा विश्वास गर्नुभन्दा पनि छोटो बाटोबाट गन्तव्यमा पुग्ने ध्याउन्नमा लागिरहन्छन्।
तरपनि व्यवहारमा यिनीहरु इमान्दार नै छन्। यिनीहरु आवश्यकताभन्दा पनि अलि बढी महत्त्वाकांक्षी छन्। यी साथीहरु मलाई मेरा साहिँली औँलाजस्ता लाग्ने साथीहरु हुन्।
अर्काथरी साथीहरु छन्, घमण्डीका राजा। म बिना यो संसार नै अपुरो हुन्छ भनेझैँ घमण्ड गर्छन्। यिनीहरुमा क्षमता त छ तर आफूलाई सर्वोत्कृष्ट ठान्ने मनोवैज्ञानिक कमजोरीका कारणले गर्दा आफैँभित्र उकुसमुकुस हुँदै बाँचिरहेका छन्।
यिनीहरु आफ्नो आलोचना पचाउन सक्दैनन् र वरिपरि भजन मण्डलेहरु घुमाएर आफ्नो जयजयकार गाउन लगाउछन् र आफू नाचिरहन्छन्। खोक्रो विचार र सिद्धान्तको हावाले व्यवहारको बेलुन फुकाएर ठूलो बनाउँछन् र त्यसैमाथि जिम्मेवारीको काँडा पलाएको जुत्ता लगाएर उफ्रन्छन्।
तर यिनीहरुलाई चाहिएको ठाउँमा औँला बाङ्गो बनाउन कसैले सिकाउनु पर्दैन। यी साथीहरु मलाई माझी औँलाजस्ता लाग्ने साथीहरु हुन्।
अर्का एकथरी छन् फेरि खुराफातीका बादशाह। ढाट्ने, छल्ने, धोका दिने जस्ता कुरा यिनीहरुको नशा नशामा बगेको छ। जिन्दगीलाई विलासितासँग जोड्नु बाहेक यिनीहरुसँग जिउने अर्को उद्देश्य भएको मैले आजसम्म पाएको छैन।
यिनीहरुलाई संसारमा अरुले के गरिरहेका छन् भन्ने कुरासँग त्यति मतलब रहँदैन तर सदैव मैले उनीहरुसँग के गर्न सक्छु भन्ने ध्याउन्नमा भने लागिरहन्छन्। यी साथीहरु मलाई मेरा चोर औँलाजस्ता लाग्ने साथीहरु हुन्।
र अर्काथरी साथीहरु छन्, बुढी औँलाजस्ता। यिनीहरुलाई हरेक कुरामा फरक मत राखिरहनुपर्छ। तर्क दिनमा साह्रै बलिया र आफ्नो दृष्टिकोणबाट एक इन्च पनि हलचल नहुने बानी मलाई यिनीहरुको साह्रै मनपर्ने बानी हो भने फरक मत राख्नैका लागि विरोधका लागि विरोधमा उत्रने र अनावश्यक खण्डन गरिरहने, अझ भनुँ आफू जिउनै बिर्सेर पनि अरुको कमिकमजोरी केलाइरहने बानी मलाई कत्ति मन नपर्ने बानी हो।
'दशैँ आयो, खाउँला पिउला... चोर्नुभन्दा त छुट्टै बसौँला।'
वचपनमा हातका कान्छी औँलादेखी बुढी औँलासम्म पालैपालो भाँच्दै गुनगुनाएको यो गीत मलाई आजपनि कण्ठस्थ छ।
एउटै हातका औँलाहरुलाई फरक फरक चरित्र दिएर एक हरफमा समाजको सिङ्गो चित्रण गरिएको यो गीत हजार पटक गुनगुनाइसकेपछि बल्ल मलाई हाम्रा हातका औँलाहरु समाजका फरकफरक मान्छेहरुका प्रतिक रहेछन् भनेर थाहा भएको थियो।
त्यसपछि बल्ल एउटै हातका औँलाहरु पनि किन बराबर छैनन् भनेर मैले बुझेको थिएँ।