माघ/फागुनको महिना। खेतमा उम्रेको बेथे साग टिपेर आर्मीहरुले किन्छन् भन्दै रहरै रहरले साथीहरु झुन्ड बनाएर त्यो मावि स्कुलको गेटसम्म पुगेका थियौँ, साग किनिने आशाका साथ।
भित्रबाट कोही लिन आउने आशै आशमा घन्टौँ कुरेका थियौँ। हामी त्यसरी कुरेको इन्ट्री गेटमा तैनाथ एकजनाले खुबै एकोहोरो हेरिरहनु भएको थियो। सायद उहाँको ड्युटी सकिन थालेछ क्यारे, उहाँ हाम्रो नजिक आउनु भयो।
लागेको थियो हाम्रो सबै साग उठाएर लैजानुहुन्छ तर सबै सोचेभन्दा बिल्कुलै फरक भयो। उहाँ मेरो नजिक आएर 'नानी यता आऊ त' भन्दै बोलाएर नाम सोध्नु भयो।
'मेरो बहिनीको नाम पनि रमिता हो, तिमी जस्तै छे। तिमीलाई हेर्दा मैले घर छोडेर आएकी मेरी बहिनी देखेँ। चञ्चले स्वभावकी ऊ तिम्रो मुहार हेर्दा मलाई मेरै बहिनी भेटेको अनुभूति भयो, चकलेट किनेर खानू' भन्दै हातमा सय रुपियाँको नोट थमाइदिनु भयो।
'तिमीलाई म बहिनी बनाउँछु' भनेर मलाई बहिनीको दर्जा दिनु भएको हजुर, जनआन्दोलन सकिएर देश शान्तिको बाटोमा होमिए पनि तपाईंहरुको पोसाक देखेर डराउन नछोडेका हामी बच्चाबच्ची, आर्मी आएर साना नानीहरूलाई उठाएर लैजान्छन् भन्ने नराम्रो छाप परेको थियो।
तपाईंहरु पहिलो चोटि हाम्रो गाउँ पस्दा गाई पाखा लगाएर घर फर्कँदै थिएँ। त्यो लामो लस्कर अनि हातमा बोकेका बन्दुक देखेर तपाईंहरुले नदेख्ने गरी बाटो मुनि छेलिएर बसेकी थिएँ कति बेरसम्म।
बाटोमा कतै जम्काभेट भएर नाम सोध्दा पनि डराई डराई कापेका ओठहरुले लर्बराएर जवाफ दिन्थेँ। तर म सधैँजसो गाईगोरु पाखा लगाउन जाने त्यसमा हजुरहरुसँग भेट भैराख्ने भएर विस्तारै मेरो मानसिकतामा परिवर्तन आइसकेको थियो।
आर्मीले पनि केही नगर्ने रछन् भन्ने भान भैसकेको थियो। र त हजुरहरुसँग डर अनि धक नमानी बोल्न सक्ने भएका थियौँ हामी बच्चाबच्चीहरु।
तपाईंको मिठो बोली, अझ भनौँ सय रुपैयाँको नोटले तपाईं सामु नपुगाइ रहेन। ८-९ वर्षकै उमेरमा बहिनीको जिम्मेवारी निभाउन सक्छु सक्दिनँ भन्ने पनि थिएन। पराईलाई आफ्नै ठान्न सक्ने अनि सम्बन्धको महत्त्व त्यति बुझ्न सक्ने भैसक्या पक्कै थिइनँ।
घर पुग्दा आमाले सम्झाइ बुझाई गरेर 'तँमा उसले बहिनीको प्रतिबिम्ब देख्छ भने तैले पनि त्यसरी नै देख्न सक्नुपर्छ' भन्दै सम्झाएर माथि लेकमा भेट्न जाँदा झोलामा मकै र भटमसको खाजा राखेर हरेक शनिबार भेट्न गएका ती दिनहरु अझै पनि ताजै छन् दाइ।
बिहे छिन्न भनेर नेपालगन्ज आउँदा केटीको अर्कैसँग बिहे हुँदा 'पानसमा बत्ती बलेको... मान्छेलाई अर्कैले सिन्दुर हालेको' गीत गाउँदै मसँग रुनु भएको थियो। हजुरलाई सम्झाउन सक्ने मसँग शब्द र आँट त थिएन नै तर पनि हजुरसँगै रहेर हजुरको कुरा सुनेको थिएँ।
राति सुत्दा आमाले सुनाएका कुनै एकादेशको कथा जस्तो लागेको थियो हजुरको त्यो घटना। सिनेमामा हेर्न पाइन्छ त्यस्तो भन्नुहुन्थ्यो बुबाले तर मैले सिनेमा त के टिभी कस्तो हुन्छ समेत देखेको थिइनँ।
लजालु स्वभावले घरको दैलो टेक्न नसक्नु भएको हजुर तर मनको घरमा बाँस बसाउनु भयो।
दुई वर्षको बसाइपछि सरुवा भएर हजुरको गण सर्दाबाट सम्पर्क विहीन भएका हामी अहिले हरेक आर्मी पोस्टहरुमा आँखा दौडाउँदै हिँड्छु। हतासिएका हुन्छन् यी आँखाहरु, कतै तपाईंलाई देख्छु कि भनेर तर देखेनन् कहिले। हजुर सरुवा हुँदा गाउँमा टावर थिएन, हुन्थ्यो त मैले हजुरलाई यसरी खोज्नु पर्थेन होला।
पोहोर सालदेखि नै कोरोनाले विश्वलाई आक्रान्त पारिरहँदा संक्रमित लासहरुको व्यवस्थापन आर्मीले गर्ने सुन्दा हजुरको अनुहार टक्क मेरो मानसपटलमा आएर अडिएको थियो।
अस्पताल बाहिर उभिएर पिपिई लगाउँदै लासहरुलाई गाडीमा राख्दै गरेका हरेक जवानहरुको अनुहार नियाल्न खोज्छु। आशावादी भएर हेरेका आँखाहरु सधैं झैँ निराश बन्न पुग्छन् र फेरि कल्पनामै हराउन पुग्छु।
हजुर पनि कहीँकतै मैले जस्तै केयर गर्दागर्दै बचाउन नसकेका ती हजारौं लासहरुलाई व्यवस्थित गर्दै आफ्नो सेवा र कर्तव्य पूरा गर्दै हुनुहुन्छ होला।
तिहारमा ती सप्तरंगी टीका र सयपत्रीको माला लगाउँदै गर्दा हजुरका ती अव्यक्त भावहरुले दिएका आशीर्वाद सुन्न नसके पनि सायद आफू एक राष्ट्रसेवकको नाताले मलाई पनि यही बन्ने आशीर्वाद दिनुभएको थियो होला र त म पनि यही बन्न पुगेकी छु।
सम्बन्धको मूल्य नबुझ्दै जोडिएका हामी बिछोडिए पनि बुझ्ने भएर मृत्युको शय्यामा छ्ट्पटाइरहेका कति बिरामीको घाउमा मल्हम लाउन सक्ने भएकी छु। हजुर हुँदा धेरै बुझ्न नसक्ने म आफ्ना गुमाउँदा सम्हालिन नसकेका कति आफन्तलाई सम्झाउन बुझाउन सक्ने भएकी छु।
समयले अनि परिस्थितिले छुट्टाए पनि तपाईंसँग भेट हुन्छ भन्ने आशा मारेकी छैन। मलाई विश्वास छ, समयले फेरि पनि हाम्रो भेट अवस्थ गराउने छ। त्यतिबेलासम्म आफू बाचेर आफ्नो कर्तव्य पालना गर्नेछु दाइ, हजुर पनि आफ्नो ख्याल राक्दै कर्तब्य निभाउन पछि पर्नु हुने छैन।
समयले घुमाएर आज चौध, पन्ध्र वर्षपछि हजुरको जन्मथलोलाई कर्मथलो बनाउन पाएकी छु। यही सहरमा रहिरहँदा हजुरको जस्तै पोसाक लगाएका होस् या नलागाएका, हर कोहीको अनुहार हेर्न छोडेकी छैन।
सबै भेट्टिने सामाजिक संजालले पनि भेट्टाउन सकेन। हजुरले बताउनु भएको आफ्नो थरको कोही भेटिहाल्दा पनि झट्टपट्ट सोध्न पुग्छु। हजुरको नाम प्रतिउत्तर जहिले सोचेभन्दा फरक, सायद हजुरले पनि कतै अरुको आँखामा मलाई खोज्ने प्रयास गर्दै हुनुहुन्छ होला। भेट्टिने आशमा हुनुहुन्छ होला।
मेरो मनले सधैँ यस्तै यस्तै भन्छ। हजुरकै सहरमा हुँदा हजुरसँग कसो भेट नहोला! आशा छ कोरोनाको यो विषम् परिस्थितिसँग जुधेर छिट्टै सहज वातावरण श्रृजना हुनेछ र हाम्रो भेट हुनेछ।