२०७७ माघमा कान्छा छोराको बिहेको कुरो चल्यो। कोरोना सामसुम भएपछि पञ्चेबाजा बजाएर धुमधामकासाथ बिहे गरौंला भन्ने थियो, तर परिस्थिति झनै असामान्य भएर आयो।
युद्वको डरले ज्यान जोगाउन शहर छाडेर सबै भागे जस्तो लगभग सबै पसलहरु बन्द र बाटाघाटाहरू मसानघाट जस्तै बिराना थिए। आखिर वैसाखको २४ गते बिहेको निधो भयो र सरकारी जानकारी अनुसार १५ जनाभन्दा बढी भेला हुन नपाईने भन्ने भयो। वैसाखको दोस्रो हप्तामा अमेरिकाबाट ठूलो छोरा-बुहारी र एक वर्षकी नातिनी पोखरा आईपुगे।
भोलिपल्ट देखिनै काठमाडौंलगायत देशका अन्य ठाउँमा कडाईकासाथ निषेधाज्ञा लागू भयो। स्वास्थ्यका मापदण्डहरु अपनाएर जम्मा १५ जनाको उपस्थितिमा विवाह सम्पन्न भयो। आखिर यसो गर्दा पनि बिहे राम्रै सम्भव हुँदोरहेछ। विवाह सकियो, तर कुनै कारणबाट कसैलाई संक्रममण सर्यो कि भन्ने डर रह्यो। एक महिनासम्म खबर लिँदा धन्न कसैलार्इै संक्रमण भएन। जेठको दोस्रो हप्तामा छोराबुहारी तथा नातिनी अमेरिका गए। पठाउन त मन थिएन, तर के गर्ने यहाँ बिरामी भइहाले भने प्राणवायुनै नपाएर मर्नु पर्छ कि, जस्तो स्थिति आईसकेको समाचारहरू आईरहेका थिए। बरू उतै सुरक्षित होला भनि काठमाडौं पुर्याएर आएँ।
भारतमा जस्तै नेपालमा पनि कोरोनाको दोस्रो लहरले स्थिति भयावह भएर आयो। प्राणवायु नपाएर भारत तथा नेपालका अस्पतालमा कैयौं मानिसहरुले प्राण गुमाउनु परेको दृश्यहरु टेलिभिजनमा देखियो।
मेरो सेवा जारी राखेको हुँदा मबाट कोरोनाको संक्रमण नातिनी वा अरूलाई सर्छ कि, भनि सबै चिन्तित थिए। घरकाले कोरोनाको लहर शुरू भएदेखि नै मलाई ‘महामारीको बेलामा अस्पताल नगए हुन्न?’ भन्दै थिए। नेपाललगायत कयौं देशमा चिकित्साकर्मीले सेवाको दौरानमा ज्यानको आहुति दिईसकेका समाचारहरु पनि आएरहेका थिए। पैंसट्ठी वर्ष कटेको घरको मूलीमान्छेलाई केही भइहाल्यो भने त घरमा बिचल्ली होला भनि चिन्ता हुनु स्वभाविकै थियो। तर, म एक चिकित्सकले डाक्टरको उपाधि लिँदा ‘जुनसुकै परिस्थितिमा बिरामीलाई इमानदारीपूर्वक सेवा गर्नेछु’ भनि हिपोक्रेटको शपथ खाएको थिएँ। शपथ खाएपछि सोही अनुसार कर्म गर्नै पर्यो। नत्र शपथ किन खाने? म कुनै राजनीतिक नेता होईन शपथ खाने, तर तदनुसार कर्म नगर्ने। त्यसमाथि देशको विषम परिस्थितिमा एक चिकित्सकको नैतिकता र कर्तब्यले मलाई घचघच्याईरहेको थियो।
चिकित्सक घरमा बसेर अस्पतालमा आएका बिरामीले सेवा नपाउनु भनेको अनैतिक होईन र? दुर्गमका कयौं अस्पतालमा चिकित्सक नभएर बिरामी मर्कामा परेको र कैयौंले ज्यानसमेत गुमाउनु परेको छ। स्वास्थ्य सुरक्षाका उपलब्ध साधन र प्रविधि अपनाउँदै सतर्कतासाथ सेवा जारी राखेको थिएँ। हुन त मैले कोरोना विरूद्धका दुई डोज खोप लगाईसकेकोले इम्यूनिटी पावर बलियो छ र मलाई के होला? भन्ने अभिमान थियो, जो आधारहीन रहेछ।
काठमाडौंबाट फर्कने बित्तिकै मलाई हल्का ज्वरो आउन थाल्यो र खाने कुराको स्वाद हरायो। साधारण ज्वरो होला भनि क्लिनीकबाट फर्केपछि सदैव जस्तै तातोपानीले नुहाएँ र नास्ता गरेर सिटामोल खाएर आराम गरेँ। तातो झोलिलो पदार्थको सेवन हाम्रो घरमा दैनिक मेन्यु जस्तै थियो। बुधबार हल्का ज्वरो आएता पनि शारीरिक रुपले सामान्य थियो। राति एक बजेतिर १०१.४० डिग्री ज्वरो आयो। मन आत्तियो र उठेर सिटामोल खाएँ। खलखल्ती पसिना आयो। बिहान अस्पताल जान मन थिएन, तर आफ्नो जाँच गराउनु पर्यो र एक जनालाई जाँच्ने समय दिएको हुनाले गएँ। बिरामीलाई जाँची सकेपछि मेरो परीक्षण गराएँ। फिजीसियनले रिपोर्ट हेरी औषधि लेखिदिए।
मलाई कोरोना त भएन भनि एउटा प्रयोगशालामा पी.सी.आर.परीक्षण गर्न पुगेँ। त्यहाँ लामो लाईन रहेछ। केहीले मात्र मास्क लगाएका थिए। भौतिक दूरीको कुरै नगरौं। केटाकेटीहरू हात समातेर शितलमा गफ गरि बसेका थिए। मानौं उनीहरूलाई कोरोनाले कहिल्यै छुँदैन। त्यहाँ उभिनु भनेको संक्रमणको जोखिममा पर्नु जस्तै थियो। मैले कर्मचारीलाई अनुरोध गरि पी.सी.आर. परीक्षण गराएँ। बेलुकी मोबाईलमा पोजिटीभ रिपोर्टको सूचना आयो।
जब एक चिकित्सक कोरोनाको पासोमा परेर बिमारी हुन्छ त्यसबेला उसको र घरका सदस्यको मानसिकता र ब्यवहारमा कस्तो परिवर्तन हुन्छ होला? रिपोर्ट सुन्ने बित्तिकै घरमा सबैको अनुहार मलिन भएर आयो। मैलै भने रिपोर्ट पोजिटीभ आउँदैमा आत्तिनु पर्दैन। अग्रपंतिमा काम गर्नेनै कोरोनाको पासोमा बढी पर्छन्। शरीरमा प्राणवायुको संतृप्तिको (Oxygen saturation level) स्तर ९४–९६ प्रतिशतको हाराहारीमा भएकोले अस्पताल गैहाल्नुपर्ने अवस्था थिएन।
अचेल धेरैजसोले कोरोना संक्रमण हुने बित्तिकै अक्सीजन नपाईएला भनि हतपत सिलिण्डर खोजेर घरमा राख्छन्। यसले अक्सीजन सिलिण्डरको कृतिम अभाव हुन जान्छ र आवश्यक पर्दा प्राणवायु नपाएर बिरामीको प्राण जान सक्छ। साधारणतया शरीरमा प्राणवायुको संतृप्तिको स्तर ९४ प्रतिशतभन्दा माथि हुनुपर्छ। दम तथा फोक्सोका पुराना बिरामीको सन्दर्भमा प्राणवायुको संतृप्तिको स्तर ९० प्रतिशत भन्दा कम देखिएमा तुरून्तै चिकित्कको सल्लाह लिएर प्राणवायुको ब्यवस्था गर्नुपर्छ। प्राणवायुको संतृप्तिको स्तरमापन गर्ने यन्त्र पल्स अक्सिमिटर छैन भने बिरामीको ओठ, मुख र हातका औंलाहरु तथा कानका लोतीहरू निलो भएको वा स्वाँस प्रस्वाँसमा कठिनाई भएको थाहा पाउने बित्तिकै तुरुन्तै प्राणवायुको ब्यवस्था गर्न नजिकको स्वास्थ्यकेन्द्रमा लानुपर्छ।
साधारणतया कोरोना संक्रमितहरू केही दिनमा आफैं सन्चो हुने गर्छन्। लगभग १० प्रतिशतलाई मात्र प्राणवायुको आवश्यकता पर्छ। कोराना संक्रममित हुँदैमा अक्सीजनकोपछि दगुरी हाल्नु पर्दैन। तर, बिरामीको अवस्थाको सुक्ष्म अनुगमन गरिराख्नुपर्छ।
घरमा हावादार कोठाहरू भएकोले अस्पताल जानैपर्ने अवस्था भए जाउँला भनि घरै एकान्तबासमा बसियो। अस्पताल गएपछि बिरामी र आफन्तको मनोविज्ञानमा अकल्पनीय परिवर्तनहरु हुन्छ। बेलुकीबाटै मेरो कोठा निषेधित क्षेत्र घोषित भयो र कोठा अगाडिको टेबुलमा मलाई आवश्यक पर्ने सामग्री तथा भोजन ल्याएर राखीदिन्थे। शौचालय कोठा भित्रै भएकोले मलाई भाँडा धुन र नुहाउन बाहिर जानु परेन। एउटा बन्दी वा पन्छिएकी महिलाको अवस्था जत्तिकै भएर छुट्टै बस्नुपर्ने अवस्था भए पनि मलाई आनन्दै थियो। नेपालमा कोरोनाको लहर शुरू भए देखिनै म छुट्टै कोठामा बस्ने गर्थेँ।
किनभने, चिकित्सकलाई अस्पताल गैराख्नुपर्ने र त्यहाँको संक्रमण घरभित्र नआओस् भनि सतर्क हुन आवश्यक थियो। घरमा सामान र ब्यक्तिगत निर्मलीकरणका उपाय कडाईकासाथ लागू थियो। साधारण जीवनयापन गरिरहेकालाई एकान्तबासमा खुम्चिएर बस्नुपर्दा धेरैजसोको मानसिकता र मनोविज्ञानमा निकै परिवर्तनहरु आउनेरहेछ। धेरैजसो नकारात्मक हुने गर्छन्, जसले गर्दा अनावश्यक तनाव सिर्जना हुन्छ। कति डिप्रेशनमा जान्छन् भने कतिले आत्महत्या पनि गरेका छन्। त्यसैले हामीले वर्तमान अवस्थालाई सकारात्मक रूपले प्रयोग गर्नुपर्छ। सकारात्मक चिन्तनले मात्र यो अकल्पनीय अवस्थाबाट सफलतापूर्वक निक्लन सक्छौं। नत्र दुःखको जालमा बेरिएर झनै दुःखमय र अकल्पनीय क्षणहरुको सामना गर्नुपर्ने हुन्छ।
यस्तो बेलामा बिरामीको आत्मबल बढाउनुपर्छ, जसको एकमात्र उपाय हो सकारात्मक विचार र वातावरणको सिर्जना। आत्मबल बढाउनुमा आध्यात्मिक चिन्तन तथा ध्यानको महत्वपूर्ण भुमिका हुनसक्छ। आध्यात्मिक चिन्तन, योग र ध्यानले मनलाई सन्तुलित बनाउँछ तथा आत्मबललाई मजबुत बनाउँछ। म सरकारी सेवाबाट सेवानिवृत भएको चिकित्सकलाई कोरोना संक्रमण भयो भन्दैमा कुनै तनाव भएन। तर, यो पटकको भाइरस निकै शक्तिशाली रहेछ। नत्र कोरोनाविरोधी खोप लगाएकोलाई कसरी आक्रमण गर्यो? दुश्मनलाई कमजोर ठान्नु हुन्न भनि कोरोनालाई परास्त गर्न मैले अनेक उपायहरु गरें। प्रातःकालमा पहिलादेखिनै गर्दै आएको ब्यायाम र ध्यानलाई निरन्तरता दिएँ।
फुर्सदमा अनावश्यक नकारात्मक विचारले दिमागमा अड्डा नजमावोस भनि अध्ययन तथा लेखन कार्यमा ब्यस्त हुन थालेँ। नेपालमा कोरोनाको लहर शुरू भएबाटै मैले लेखन कार्यमा तिब्रता दिएको थिएँ। केही साथीभाइले तपाईँ डाक्टर भन्दा साहित्यकार बढी भएको टिप्पणीसम्म गरे। वास्तवमा कोरोना महामारीले मलाई लेख्नमा बाध्य बनाएको सत्य हो। नत्र म भित्र सात्यिकारको गुण एक हाँस्यास्पद कुरा हुन्थ्यो।
पिनास पर्दा र कोरोना जस्ता उच्च ज्वरो गराउने संक्रमणले नाक मुखका गन्ध र स्वाद थाहा पाउने स्नायु कोषिकालाई क्षति पुर्याएकोले बिरामीले गन्ध र स्वाद थाहा नपाउँदा रुचि छैन भनि खाना खाँदैनन्। यसले बिरामी दिनप्रतिदिन कमजोर हुँदै जान्छन्। यस्तो बेलामा स्वाद फेरीफेरी खानामा बल गर्नुपर्छ। दालको झोल, सुप आदिमा कागतीको रस प्रयोग गर्दा खानामा रुची बढ्छ।
मनतातो पानीमा कागतीको रस र मह राखेर खाँदा शक्तिवर्धक हुन्छ। साधारण चिया भन्दा विभिन्न प्रकारका जडीबुटीको चिया प्रयोग गर्दा बढी लाभदायक हुन्छ। हावादार कोठामा हल्का ब्यायाम गर्दै शरीरकलाई सक्रिय तथा तन्दरूस्त राख्नुपर्छ। फुर्सदमा ज्ञान विज्ञान सम्बन्धी पुस्तकको अध्ययन तथा अन्य माध्यमबाट फलदायी कार्यमा आफूलाई ब्यस्त राख्न सके समय ब्यतित भएको थाहै हुँदैन।
बिहीबार १०१ सम्म ज्वरो आयो। सिटामोल खाएर ज्वरोलाई शान्त गरेँ। बेलुकी ज्वरो बढ्दै गयो र चिकित्सकको सल्लाहमा एण्टीबायोटिक प्रयोग गर्न थालेँ। बिहीबार राति एक बजेतिर ज्वरो बढेर १०४ भयो, तर स्वास प्रस्वासमा असजिलो भएन। छटपट भने रातभरीनै भयो। कोरानाले मलाई ढाल्छ जस्तो लाग्यो। घरका मान्छेलाई उठाऊँ भने आत्तिएलान् भनि उठाईनँ। ज्वरोलाई सिटामोलले प्रहार गरेँ। तातोपानी खाएर एक छिन ध्यान गरेर बसेँ, जसले गर्दा आत्मबल मजबुत भएर आयो। केहीबेरपछि ज्वरो घटेर आयो र खलखल्ती पसीना आयो। जाडोले जिउ लगलग काँपन थाल्यो। मोटो सिरक ओढेर एकछिन खाटमा बसेँ। एकछिनपछि त्यहीँ भुसुक्कै निदाएछु। राती डरलाग्दो सपना देखेँ र छोरीले हो कि कस्ले हो बाबा ! बाबा ! भनेर बोलाएको सुनेँ। जुरूक्क उठेर हेर्दा चार बजेको रहेछ, तर कसैलाई देखिनँ। सबै सपना रहेछ। मेरो शरीर पसीनाले चुरलुम्म भिजेको रहेछ। हात मुख चिसो पानीले धोएँ र चिसै पानी पिएर एकछिन ध्यान गरेर बसेँ।
सदाझैं शुक्रबार बिहान साढे पाँच बजे बिस्तारामा पल्टेर एफ.एम. र सेतोपाटीबाट ताजा समाचार तथा ज्ञानवर्धक सूचनाहरू प्राप्त गरेँ। उठेर ब्यायाम गरेँ र तातोपानीले नुहाएर नास्ता गरेँ। दिनभरी ज्वरो ९८–९९ को हाराहारीमा थियो। राती ज्वरो १०२ सम्म आयो। प्राणवायुको संतृप्ति भने ९४–९६ प्रतिशत देखाईरहेको थियो। मलाई केही भैहाल्छ कि भन्ने घरका मानिसहरुमा त्रास हुनु स्वभाविकै थियो। दिनभरी ज्वरो तल माथि हुँदै थियो। भोलि बिहानसम्ममा ज्वरो घटेन भने छातीको सिटी स्क्यान गरेर हेर्नु पर्ला र आवश्यक परे अस्पताल भर्ना हुनुपर्ला भनि विचार गरेँ। यता मुण्डे मुण्डे मतिर्भिन्ने भने झैं आफन्त र परिचितले केही बिरामीको नकारात्मक हवाला दिँदै बुढीको मन कमजोर बनाईरहेका थिए।
वास्तवमा बिरामीका आफन्तले चिकित्सकबाहेक अल्पज्ञानीको कुरा सुनेर मनलाई कमजोर बनाउन हुन्न। शनिबार दिनभरीनै ज्वरो घटेर ९८–९९० को हाराहारीमा आयो। बेलुकी आमा छोराले बाबा! तपाईँलाई कस्तो छ? अस्पताल भर्ना हुन जानु त पर्दैन? कोरोनामा हेर्दा हेर्दै अवस्था गम्भीर हुनसक्छ भन्छन्। त्यसैमाथि एक जना छिमेकी भाइको पैंतिस वर्षकी श्रीमतिको भर्खरै निधन भएर मनको घाउ सुक्न नपाउँदै उनलाई पनि कोरोना भएर अस्पतालमा भर्ना गरेर उपचार गर्दा गर्दै एक सातापछि अचानक निमोनिया देखा परेर आई.सि.यु.मा भर्ना भएको खबरले आमा छोरा निकै चिन्तीत थिए।
कोरोनाको उपचारमा औषधि वा जडीबुटीको सेवन मात्र गरेर हुँदैन। सन्तुलित तथा पोष्टिक भोजन एवं प्रसस्त मात्रामा झोलिलो पदार्थको सेवन गर्नुपर्छ। बेलाबेलामा ऐना अगाडि उभिएर आफ्नो शरीरको सुक्ष्म अनुगमन गर्नुपर्छ। बिरामी भएँ भन्दैमा पागल जस्तो अनुहार बनाएर आत्मबलमा कमी ल्याउने काम गर्नु हुन्न। नियमित ब्यायाम गर्दै राख्नुपर्छ।
फोक्सो सम्बन्धी कुनै पनि रोगसँग लड्न र फोक्सोको कार्यक्षमतामा वृद्धिको लागि प्राणायाम जतिको उत्तम उपाय अरू केही छैन, जसलाई अचेल संसारभरि नै ब्यवहारमा ल्याउन थालिएको छ।
आइतबारबाट ज्वरो घटेर आयो र सुतेर उठ्दा केही पसीना मात्र आउने, तर नापेर हेर्दा ९९ भन्दा माथि थिएन र प्राणवायुको संतृप्ति पनि ९४–९६ प्रतिशतको हाराहारीमै थियो। जिउ पूर्णरूपमा सञ्चो भएको अनुभूति भएको थिएन।
एकजना आफन्तले योगी नरहरिनाथले पत्ता लगाएको एउटा जडीबुटी खासगरि रूघाखोकी र अहिलेको सन्दर्भमा कोरोनाको उपचारमा पनि निकै लाभदायक छ भनि जानकारी दिनुभएकोले के रहेछ भनि जडीबुटी मगाएर अध्ययन गरि प्रयोग गरेँ। धेरैजसो आधुनिक चिकित्सा पद्यतिका औषधि पनि यिनै जडीबुटीबाट बन्ने रहेछन्।
चार मात्रा प्रयोग गरि हेर्दा जडीबुटीले हो वा केले हो मंगलबारबाट जिउ फुर्तिलो भएर आयो र भोक पनि जागेर आयो। असर देख्दा अलि पहिलानै खान पाए हुँदो भनेझैं भयो। हुनत जडीबुटीले कोरोना संक्रमणबाट मुक्त गर्ने होईन, तर रोगसँग लड्न सक्ने शक्ति भने अवश्य बढाउँछ।
बिहीबार हल्का नास्ता गरेपछि एक घण्टा घाममा सुतेँ र दिउँसो तातोपानीमा पन्ध्र मिनेट डुबेर बसेँ। तातोपानीबाट निक्लेर पुनः एक घण्टा आराम गरेँ। बिहीबार बेलुकी राम्रै खाना खाएँ। केहीबेर अध्ययनपछि एकछिन ध्यान गरेर सुतेँ।
एकैचोटि शुक्रबार बिहान निद्रा खुल्यो। मैले हात मुख धोएँ र केही सुमधुर गीत सुनेर ध्यान मुद्रामा बसेँ। जिउ फुर्तिलो भएर आयो र उठेर एकछिन ब्यायाम गरेँ। शनिबारबाट शरीर सामान्य जस्तै भयो। खाना राम्रै रुच्न थाल्यो। कोरोनाले मलाई आफ्नो पासोमा पारेको आज बाह्र दिन भइसकेको रहेछ। शनिबार बेलुकी फोक्सोको अवस्था बुझ्नु पर्यो भनि छातीको सिटी स्क्यान गरेर आएँ। कोरोनाले निकै हल्लाएता पनि रिपोर्टमा भने सामान्य क्षति भएको मात्र देखियो।
यतिका उमेरको र पहिला देखिनै फोक्सोमा केही क्षति भएको मानिसमा कोरोनाले गरेको यो क्षति कुनै ठूलो हैन। अब छातीको सबलता र शरीरको तन्दरुस्ती बाहेक अरू कुनै उपचारको आवश्यकता थिएन। कोरोनासँगको संघर्षमय युद्व मेरो लागि महाभारतको युद्व जस्तै थियो। महाभारतको युद्व अठार दिनमा सकिएको थियो, तर मैले कोरोनालाई दश दिनमै पछार्न सफल भएँ। अरूको कुरा सुन्दा म ठूलो कालबाट बाँचेको जस्तो लाग्यो।
(लेखकः डा. कालु शर्मा सुवेदी, बरिष्ट चिकित्सक। पोखरा, कास्की।)