आधुनिक औषधी र आयुर्वेद वा पूर्वीय ज्ञान एकै ठाउँमा मिलेर काम गर्न सक्छन्। दुबै एक अर्काको विरोधी होइनन्। परिपुरक हुन् भन्ने कुरा जब हाम्रो नेताहरूले बुझ्नेछन्, त्यो बेलामा ओझेलमा परेको आयुर्वेदको ज्ञानको महत्व बढेर जान्छ।
अहिले कोरोनाको बेलामा आयुर्वेद र परम्परागत ज्ञानको पर्याप्त चर्चा भयो।
कोरोना भाइरसको ओखती, खोप, अनुसन्धानको आदिको बारेमा पर्याप्त चर्चा भयो। साबुन, स्यानिटाइजर र मास्कको बारे त अब पाँच वर्षको बच्चाले पनि थाहा पाइसकेको छ। कोरोनाबाट प्रभावित भएकामध्ये ८० प्रतिशतलाई त खासै लक्षण देखा पर्दैन भनेर थाहा भएको छ। अनुसन्धानले यो पनि देखाएको छ कि संक्रमितका लक्षण भएर जटिलता हुने र मृत्यु हुनेमा मधुमेह र उच्च रक्तचापका बिरामीहरू बढी छन्। जसको रोगसँग लड्ने क्षमता कम छ, उसलाई बढी जटिलता हुन्छ। अहिले ‘कालो ढुसी’ को कारणले झन् समस्या बढ्न थालेको छ।
तर कोरोनाको बारेमा छलफल हुँदा कुनै पनि आमसञ्चारमा कसरी रोग प्रतिरोधात्मक क्षमता बढाउने, कस्तो जीवन शैली अपनाउने भन्नेबारेमा आयुर्वेदका विशेषज्ञको प्राय: कम नै छलफल हुन्थ्यो। अहिले विस्तारै यो क्रम सुरू भएको छ। कुन आधुनिक ओखतीले कोरोनालाई नष्ट गर्न सक्छ वा संक्रमित भएकाहरूको जटिलता कसरी, कति थोरै दिनमा कम हुन सकछ भनेर अनेक अनुसन्धान भएका छन्। ‘खोप’ पनि आइसकेको छ। यसरी आधुनिक ओखतीको, खोपको बारेमा अनेक अनुसन्धान हुँदै, कति औषधीले काम नगरेको, फेरि पुराना केही औषधीले काम गरेको भनेर त्यसैलालई प्रयोग गरिन्छ।
पूर्वीय ज्ञान भएका ‘ओखती’को पनि अनुसन्धान सुरू हुनुपर्छ भन्ने आवाज किन सिंहदरबार वैद्य खाना, देशका विभिन्न भागमा अवस्थित वैद्यहरू पढाउने कलेजबाट हुँदैनन्?
नेपालका वैद्यहरूले नै आफ्नो ज्ञानको आधारमा ‘हामी कोरोना’ भाइरसबाट संक्रमित भएकाहरूलाई जटिलता नहोस् भनेर औषधी तयार पार्न खोज र अनुसन्धान गर्छौं, हामीलाई रकम दिनुस भनेर अगाडि आउनु पर्ने हो कि? हरेक खोज र अनुसन्धान गर्दा पहिलोचोटिमै सफलता हासिल हुन नसक्ला, समय लाग्ला। अर्ध वा पूर्ण रुपले असफल नै होइएला रे। तर पनि कोसिस त गर्नुपर्यो।
आधुनिक औषधीमा पनि कतिचोटि असफलता हुन्छ, तर फेरि अनुसन्धान गर्छन् रोगको ओखती निकाल्न।
सिंहदरबार वैद्यखानामा रहेका सयौं वर्ष पुराना किताबहरूमा मानव शरीरमा रोगसँग लड्नको लागि चाहिने शक्ति दिन के गर्न सकिन्छ? भनेर कतै लेखिएको छ कि भनेर वैद्यहरूले अनुसन्धान किन नगरेको होला?
अहिले विज्ञापनको जमानामा औषधी कम्पनीले रोगसँग लड्नको लागि भिटामिनको अनेक क्याप्सुल बनाउँछन्। ती क्याप्सुलले फाइदा नगरे पनि करोडौंको विज्ञापन, ठूला कलाकारले गरेपछि सामान्य मानिसहरूले किन्छन्। त्यस्ता क्याप्सुलले फाइदा गर्दैन भन्ने थाहा पाएर पनि नेपाल चिकित्सक संघ केही व्यापारीहरूको लहैलहैमा लागेर डाक्टरले ‘न्युट्रोसेटिकल’ लेख्न पाउनुपर्छ भनेर अविवेकशील, नचाहिने ओखतीको प्रचारप्रसार पनि गरेको पाइएको थियो। स्वास्थ्य मन्त्रालय ‘यो गलत हो’ भनेर जानेर पनि चुप लागेर बसिरहन्छ। अनि जनता झुक्किइरहन्छन्। केही जनस्वास्थ्य विज्ञले यो गलत हो भन्ने आवाज यसै दबिन्छ।
आयुर्वेदमा चाहिँ रोगसँग लड्ने क्षमता वृद्धि गर्ने अनेक उपाय छन्। हाम्रो भू-भागतिर आधुनिक औषधी आउनुभन्दाअघि पनि त मान्छेहरू आफ्नै घर वरिपरिका वनस्पति, औषधी, मसाज आदिद्वारा उपचार गर्थे। तर ती कुरा किन ओझेलमा छन्? अहिले कोरोनाको बेलामा हात धुने काम कोरोनाविरूद्ध लड्न महत्वपूर्ण हतियार भएको छ, भने हाम्रा पुर्खाहरूले त हात धुने कामलाई आफ्नो जीवनको एक अंग नै बनाएका थिए। मन्दिर जाँदा, खाना पकाउँदा, खाइसकेपछि, कसैको मलामीबाट पर्केपछि स्नान गर्नु र हात धुनु त एउटा धार्मिक संस्कार नै मानिन्थ्यो।
अहिले पनि साबुन, सामाजिक दूरी र मास्क एक वैज्ञानिक हतियार भएको छ कोरोनाबाट बच्न। पुराना ज्ञान पनि काम लाग्ने नै रहेछ नि।
युरोपमा साबुन नभएको बेला हाम्रा पुर्खाहरूले रिठ्ठाबाट फिँज निकालेर कपाल, जिउ, लुगा धुने गर्थे। खरानीले भाँडा मस्काउँथे। सफा खरानी पेटको जुका मार्न प्रयोग गर्थे।
तितेपातीको रस पनि प्रयोग गरेर जुका सखाप पारिन्थ्यो भन्ने मैले बुढापाकाबाट सुनेको हो। तितेपाती र निमको रसले त पेटको जुका मार्न काम लाग्छ भनेर वैज्ञानिक अनुसन्धानले भन्छ।
मेरो मामा घर, उत्तर प्रदेशको गाउँमा त ३०-३५ वर्ष अघिसम्म शौचालयबाट आएपछि मुल्तानी माटो, काली माटोले हात धुने चलन थियो। मेरो बुबापट्टीको हजुरआमाले त साबुनमा बोसो मिसिएको हुन्छ भनेर साबुन प्रयोग नै गर्नु भएन। उहाँसँग नै मैले रिठ्ठाबाट फिँज निकाल्न सिकेको थिएँ। हजुरआमाले खरानीमा लुगा पकाएको देखेको थिएँ। यसको अर्थ अहिले हामीले खरानीले लुगा धुनुपर्छ भन्ने अवश्य होइन। तर सफा गर्ने ज्ञान पहिले पनि थियो भनेर भन्न खोजेको हो।
पुराना जमानाका सबै कुरा ठिक अवश्य पनि थिएनन्। तर सबै पुराना कुरा बेठिक पनि थिएनन्। अहिले हामीले अनुसन्धान गरेर जुन वैज्ञानिक छ तिनलाई प्रयोग गरौं। जुन छैन त्यसलाई हटाऔं भन्ने साहस गर्न सक्नुपर्ने हो नि।
उदाहरणको लागि हजुरआमाले रुघाखोकी लाग्दा दुधमा बेसार र मरीच हालेर दिएको पेय त वैज्ञानिक नै रहेछ नि। अहिले बेसारको रोगसँग लड्ने शक्ति छ भनेर विज्ञानले सिद्ध गरेको छ। अहिले बेसारका क्याप्सुल र ‘गोल्डेन मिल्क’ भनेर बेसार र दुध बेचिन्छ। तर त्यही कुरालाई स्पष्ट रुपमा भन्न हाम्रो सिंहदरबार वैद्यखानाका आयुर्वेद आचार्यहरू किन हिचकिचाउँछन् होलान्? बेसार र दुध सबै समस्या समाधान गर्ने होइन, तर यो एक परम्परागत रुपमा प्रयोग गर्ने औषधीले फाइदा गर्छ, भनेर त भन्न अवश्य पनि सकिन्छ।
त्यसैगरी हाम्रो कतिपय बिर्सिएका ज्ञान होलान् वैद्यहरूको किताबमा, जसले शरीरको रोगसँग लड्ने क्षमता बढाउन सिकाउन सक्छ। तिनको अनुसन्धान गर्नेतर्फ किन कोही नलागेको र नबोलेको होला?
अहिले कोरोनाका विरूद्ध खोप आएको छ। तर कोरोनको संक्रमण अझै छ। साथै कोरोनाबाहेक अन्य विषाणु र जीवाणुहरूले पनि हामीलाई दुःख देलान्। तिनबाट बच्न पनि रोगसँग लड्ने शक्ति बढाउन पर्ला।
विश्व स्वास्थ्य संगठनले पनि भन्दैछ - हामी कोरोनासँग बाँच्न सिक्नुपर्छ। समाजशास्त्रीहरू भन्छन् - लकडाउनले मात्र समस्या समाधान गर्दैन, संक्रमणको जोखिम कम गर्न मद्दत गर्छ। लकडाउन खोलेपछि स्वस्थ भएर काम गर्न जरुरी छ। तर ओखती त चाहिन्छ नै। रोग प्रतिरोधात्मक शक्ति पनि चाहिन्छ। स्वस्थ पोषण र जीवनशैलीले यसमा मद्दत गर्छ।
कोरोनाबाट बच्न मास्क, साबुन र रोगसँग लड्ने क्षमता वृद्धि गर्ने हो। यहीबीचमा कसैलाई संक्रमण भएर जटिलता भयो भने त अस्पतालमा आइसियू र भेन्टिलेटरको व्यवस्था त गर्नैपर्छ। तर ८० प्रतिशत केही लक्षण देखा नपर्नेहरूको पनि स्वास्थ्य राम्रो रहोस्। हाम्रा वैद्यहरूले केही अनुसन्धान गर्न सुरू गर्न थाल्ने होइन त?
आयुर्वेद पढाउनेले पनि त अनुसन्धान गर्न सक्छन्। नरदेवी अस्पतालले पनि गर्न सक्छ। यो बारे किन सबै चुप?