जीवन सुन्दर अनि अमूल्य छ। यो मानव जीवनको बयान शब्दले अपुग हुन्छ। जसले जीवनलाई सुन्दर तथा कलात्मक तरिकाले जिउन जान्दछ त्यो मानव नै बुद्धिमान कहलिन्छ। समाजमा ऊ अब्बल दर्जाका रुपमा उदाहरण भइरहन्छ।
तर, जीवन जिउने कला सबैमा हुँदैन। अनुभवीहरुले भन्दछन्, ‘पानी र जवानी कहिले फर्केर आउँदैन।’ यो भनाइ कुलतमा जीवन बर्बाद गर्नेहरुप्रति पनि लक्षित छ।
कतिपय मानिसहरु जीवन जिउन नजानी नराम्रो लत अर्थात् कुलतको सहायता लिन बाध्य भइदिन्छन्। कुलत खराब आनीबानी हो। जीवनको सुन्दरता तथा महत्वबारे भेउ नपाउनेहरु लापर्बाहीपूर्वक वा नबुझेर क्षणिक आनन्दका लागि आफ्नो अमूल्य जीवनलाई लागुऔषधको दुर्व्यसनमा डुबाउँछन्।
विशेषगरी अत्याधिक आकांक्षा बोक्ने युवायुवतीले लागुपदार्थको नकारात्मक असरबारे बुझ्न आवश्यक छ। लागुपदार्थ तथा औषधि सेवनले व्यक्तिको केन्द्रीय स्नायू प्रणालीमा नकारात्मक असर पुर्याउँछ।
मस्तिष्क अनि शरीरलाई लट्ठ पार्छ। यसरी शरीरलाई निन्द्राको भावमा मोहित पार्न सेवन गरिने नशादार वा मादक वस्तुलाई लागुपदार्थ पनि भनिन्छ। यस्तो वस्तुको सेवन गर्ने लतलाई दुर्व्यसन भनिन्छ। यो आधुनिक समाजले नराम्रो मानेको आदत हो।
तनाव, चिन्ता, समस्या, चुनौतीसंग सामना गर्न नसक्नेहरु लागूपदार्थ सेवनकर्ता भई यस्तो आदत अंगाल्छन्। यो सेवन गर्दा बानी व्यहोरा तथा दैनिक क्रियाकलापमा परिवर्तन भइदिन्छ। अर्थात उनीहरु लट्ठिन्छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार लागुऔषध भनेको रसायनिक पदार्थ हो। यो स्वस्थ शरीरको लागि प्रयोग गर्न नमिल्ने पदार्थ हो।
विश्वमा अनुमानित १९ करोड २० लाख व्यक्तिले गाँजाको सेवन गर्ने गर्दछन्। गाँजाको दुर्व्यसनीका कारण करिब ७१ प्रतिशत व्यक्तिले अकालमा ज्यान गुमाउने गरेका छन्। गाँजापछि धेरै प्रयोग हुने अफिम सबैभन्दा हानिकारक लागुऔषधका रुपमा रहेको छ।
हाम्रो देशमा भएका विभिन्न अध्ययन तथा अनुसन्धान अनुसार, युवापुस्ता कुलतमा फस्नुमा विभिन्न कारण हुन्छ। केही कारण यहाँ छन्।
१) पारिवारीक कारणः
आजको पुस्ता लागुऔषध दुव्यर्सनमा फसनको पहिलो कारण उसको परिवार हो। परिवारको कुनै सदस्यले लागुऔषधको प्रयोग गर्दा बालबालिकाले पनि त्यसको सिको गर्छन्। त्यही कारणले गर्दा उनीहरू लागुऔषधको प्रयोग गर्छन्।
परिवारको राम्रो व्यवहार नहुँदा, उनीहरूसँग समय नबिताउँदा, जति पैसा माग्यो सो पैसा दिनु, मागेको पैसा के कुरामा खर्च गर्छ त्यसको खोजिनीति नगर्नु, आफ्ना सन्तानको धेरै विश्वास गर्नु, सन्तानले गरेको नराम्रो कार्य ढाकछोप गर्दा किशोरकिशोरीहरू कुलतमा फसिसकेका हुन्छन्।
परिवारमा पनि आफ्नो सन्तान कुलतमा लागेको थाहा पाउने आमा हुन्छन्। आमाले चाहेमा समस्या समाधान हुन्छ। त्यसैले आमाहरूले समयमा नै आफ्ना सन्तानको खराब लतको उजागर गर्नुपर्छ अनि मात्र समस्याको न्यूनिकरण हुन्छ।
२) सांस्कृतिक तथा सामाजिक कारणः
कतिपय समुदायमा परम्परादेखि चल्दै आएको सांस्कृतिक तथा सामाजिक कारणले पनि अहिलेको पुस्ता लागुऔषधको कुलतमा फसेका छन् जस्तैः हाम्रो कतिपय समुदायमा जाँड रक्सीको सेवन गर्ने, परम्परा नै छ। सो परम्पराले पनि उनीहरूका घरका सन्तान लागुऔषधको कुलतमा फसेको हाम्रो अगाडि जलन्त उदाहरण छ।
३) साथीसंगतीको कारणः
अहिलेको पुस्ता साथीहरूको दबाबलाई थेग्न नसकेको कारणले पनि लागुऔषधको कलतमा फसेका छन्। गलत साथीको संगतले गर्दा कतिपय लागुऔषधको दुव्यर्सनमा फसेका छन्।
साथीले सुरूमा केही पनि हुँदैन भनेर चाखन लगाउने पछि त्यसले गर्दा बानी पर्ने यो लतलाई छोड्न गाह्रो हुने धेरै उदाहरण छन्। हरेक अभिभावकले आफ्ना सन्तानलाई कुलतबाट जोगाउन साथीसंगतीको संगत बेला बेला के कस्तो छ अनुगमन गर्नुपर्ने हुन्छ।
४) हिंसा तथा दुर्व्यवहारः
लागुऔषधको कुलतमा कतिपय मानिसहरू घरेलु हिंसा तथा दुर्व्यवहारको कारणले पनि कुलतमा फसेका छन्।
सन्तानले आफूले भनेको जस्तो काम नगरेको खण्डमा उनीहरूलाई मानसिक तनाव दिने, गाली गलौज गर्ने, छोराछोरीलाई चाहेको तथा आवश्यक पर्ने कुरा पनि उपलब्ध नगराउने, कुटपिट गर्ने यस्तो अवस्थाको अवस्था सृजना भएको खण्डमा उनीहरू घरमा नआउने साथीसंगतिसँग लागेर लागुऔषधको कुलतमा फसने गरेको विभिन्न अनुसन्धानले बताउँछ।
५) बेरोजगारी समस्याः
लागुऔषधको कुलतमा अहिलेको पुस्ता फस्नुको कारण बेरोजगारी पनि हो। देशमा दिनप्रतिदिन बढ्दो बेरोजगारी समस्या छ।
देशमा रोजगारीको अवसरहरू प्राप्त मात्रामा छैन स्नातक वा स्नातकोत्तर अध्ययन गरेका युवा पुस्ताहरू बेरोजगार छन्। युवा पुस्तालाई व्यस्त राख्ने कुनै अवसर छैन। त्यसैले गर्दा यी लागुऔषधको कुलतमा फसिराखेका छन्।
६) यौन शक्ति वृद्धिः
यसको कारण चाख लाग्दो उदाहरण छ। मैले एकजना लागुऔषध दुर्व्सनीमा लागेका व्यक्तिलाई सोधेँ। वर्ष २५ का जितेन्द्र (नाम परिवर्तित)लाई के कारणले तपाईंले लागुऔषधको कुलतमा फस्नु भयो भन्दा उहाँले अलि बेग्लै किसिमको कथा सुनाउनु भयो।
१८ वर्षको उमेरमा उहाँले प्रेम विवाह गरेको रहेछ। विवाहको समयसम्म चुरोट मात्र खाने, कहिले काही रक्सी खाने बानी रहेछ। तर त्यसको दुई, तीन वर्षपछि साथीभाइले गाँजा ट्याबलेट खाँदा साथीहरुले सेक्स पावरमा वृद्धि हुन्छ भन्ने कुरा सुनेर तीन, चार वर्ष लगातार लागुऔषध सेवन गर्न थाले।
जसले गर्दा लागुऔषधको लत लाग्यो। जुन कारणले उनी दुर्व्यसनीमा फसे। साथीभाइको गलत सुझाव, गलत सोचाइका कारणले पनि अहिलेको पुस्ता लागुऔषधमा फस्ने गरेको छ।
लागुऔषध दुर्व्यसनको लतमा लाग्नु यी माथिका कारण मात्र होइन, यसका अलवा विभिन्न अनुसन्धानबाट के थाहा छ भने यसबाट हुने क्षतिको बारेमा अहिलेको पुस्तालाई जानकारी नहुनु, चेतनामूलक कार्यक्रमको कमी हुनु,
आफूले सोचे अनुसारको सफलता नहुनु, खुला सिमाना, लागुऔषधको बेचबिखन र प्राप्ती सहज हुनु, रातारात धनी हुने सपना देख्नु, गरीबीको कारण, साना बालबालिकाहरूलाई यसमा प्रयोग गर्नु, कानुनको कडा रूपमा कार्यान्वन नहुनु,
लागुऔषध सहज रूपमा उत्पादन हुनु, डाक्टरको बिना सल्लाहमा पनि मेडिकल पसलहरूले औषधि विक्री वितरण गर्नु, डिप्रेसन, खराब संगत र परिवारको साथ नपाएर लागुपदार्थ सेवनतिर आकर्षित हुन्छन्।
लागुऔषध दुर्व्यसनमा कमी ल्याउनको घर परिवारको महत्त्वपूर्ण भूमिका हुन्छ, बालबालिकाको समस्याहरु सुन्ने। त्यसैले अविभावकहरुले उनीहरुलाई समय दिने उनीहरूका कुरा सुन्ने, दिनभर के-के गरे सो कुरा ध्यान दिएर सुन्नु पर्छ।
आफूले दिएको पैसाले के खायो त्यसको बारेमा पनि बुझ्ने, साथीको जस्तो व्यवहार गर्ने, छोराछोरीका लुगा कपडा सुघ्ने, खल्तीहरू चेकजाँच गर्ने, समय-समयमा स्कुलमा गएर सन्तानको बारेमा बुझ्ने, साथीसंगतिको बारेमा पनि बुझ्ने, आफ्ना छोराछोरीका साथीका अभिभावकसँग पनि समन्वय गर्ने, उनीहरूका सकारात्मक काम तथा गुणको प्रसंशा गर्नु पर्दछ।
लागुपदार्थको प्रयोगबाट देखिने शारीरिक, मानसिक र सामाजिक समस्याको बारेमा जनचेतना फैलाउने, स्कुलदेखिको पाठ्यक्रममा नै लागुऔषधको प्रयोगबाट हुने असरको बारेमा शिक्षा दिन आवश्यक छ।
त्यस्तै सरोकारवाला निकायले विभिन्न कार्यक्रमको आयोजना गर्ने स्कुल क्लेजमा कक्षाहरू संचालन गर्ने, बालबालिकहरुलाई यस्ता किसिमका जनचेतना मुलक कार्यक्रममा समावेश गराउने, यो सम्बन्धी सडक नाटक गर्ने,
चेतना दिनेखालका अडिओ/भिडिओ हरू प्रसारण गर्ने, स्कुलको वरिपरि मदिरा तथा सुर्तिजन्य पदार्थ बिक्रिवितरणमा रोक लगाउने, शिक्षकहरूले पनि कुनै विद्यार्थी माथि शंका लागेमा अभिभावकलाई समयमा खबर गर्ने गर्नुपर्छ।
स्कुलका ८ कक्षादेखि माथिका विद्यार्थीहरूको कहिले काहीँ किट मार्फत पिसाब चेकजाँच गर्ने जसले गर्दा लागु पर्दाथको कुलतमा फसेका बालबालिकाहरू सजिलै पहिचान गर्न सकिन्छ।
घर परिवारले बच्चाको नजिक मदिरा तथा सुर्तिजन्य पर्दाथको सेवन नगर्ने, सकेसम्म यस्ता चिजवस्तुहरु घरबाट टाढा राख्ने।
स्थानीय सरकारले यसमा बजेट छुट्याउने, स्थानीय सरकार, स्थानीय प्रहरी, स्थानीय कल्ब, आमा समुह तथा विभिन्न संस्था मिलेर जनचेतना मुलक कार्यक्रम संचालन गर्ने, लागुऔषधको उत्पादन हुने ठाउँमा गई सो लागुऔषध फडानी गर्ने, यस्ता कुरा उत्पादनमा रोक लगाउने।
लागुऔषध कारोबारीलाई कानुनको कठघरामा उभ्याउने, लागुपदार्थको दुर्व्यसनीलाई अपराधिको रूपमा नहेरी यो एक प्रकारको रोग हो उपचार गरे अवश्य निको हुन्छ भने चेतना व्यापक रूपमा जनमानसमा फैलाउने।
अतः आजका युवा भोलिका देशका भरोसा हुन यदी युवाहरू नै दुर्व्यसनी भए देशको विकास कसरी हुन्छ? गलत संस्कारले गलत संस्कृतिलाई जन्माउँछ जसले हाम्रो राष्ट्रलाई खोक्रो बनाउँछ।
हामी सबै मिलेर हातेमालो गरेर लागु पर्दाथको सेवन, बेचबिखन रोक्न लाग्नुपर्छ। समाजिक जनचेतनाको अभियान सञ्चालन गर्नुपर्छ।
युवा शक्त्ति त्यो शक्ति जसले सिर्जनशील भूमिकाको माध्यमबाट दुर्व्यसनी कमि गर्न सक्छ। युवाले चाहे के हुँदैन र? युग बदलिन सक्छ, क्रान्ति ल्याउन सक्छ भने लागुपदार्थको दुर्व्यसनी कुन ठूलो कुरा हो र?
यसरी युवाहरू दुर्व्यसनमा फस्दा घरपरिवार समाज र राष्ट्र समेत विकासमा पछाडि पर्छ। 'लागुपदार्थको साटो स्वस्थ जीवनको बाटो' भन्दै हामी सबैले हातमा हात काँधमा काँध मिलाएर अगाडि बढेमा यसलाई शून्यमा झार्न सक्छौँ।