हिजोआज संसारमा मानिसहरू यति धेरै व्यस्त भए कि जसले मानिसहरूको जीवनशैली नै अस्तव्यस्त बनाइसक्यो।
हामी प्रविधि र टेक्नोलोजीको नाममा यति धेरै दास भैइसक्यौ कि छिमेकीको खबर खाबर, सन्चो बिसन्चो त परै जाओस्, एउटै घरमा एक कोठा र अर्को कोठामा परिवारको सदस्य बोल्न पनि प्रविधिको बानी परिसकेको छ।
घरमा कोही आफन्त आए भने केटाकेटी मोबाइलदेखि टाउको उठाउन फुर्सद नभएर आफन्त्व दिनानुदिन आफू-आफूमा अपरिचित हुँदैछौँ।
महंगाइ, देखासिकी र अनिश्चित भविष्यको कारणले होला हामी यति धेरै दौडधुपमा लाग्यौँ कि हामी मानिस नभएर एक मेसिनको रुपमा आफूलाई परिस्कृत गर्दै गइरहेका छौँ। त्यही भित्रको 'म' एक प्रतिनिधि पात्रको एक फरक कहानी।
सदाझैं समय तालिकाअनुसार म बिहानै आफ्नो कार्यालय हिँडेँ। बिहानै मेरो भतिजो मभन्दा पनि अघि उठिसकेर ढोका छेउमा बसी 'काका मलाई आज १०० रुपैयाँ दिनु न, मेरो परिक्षामा राम्रो अंक आएकोले साथीहरुले स्कुलको टिफिनको समयमा नास्ता खुवायस् खुसीयालीमा भनेका छन्।'
मैले सफलताको शब्दमा नै रमाएर केही नबोली पैसा दिएर आफ्नो काम तिर लागेँ। अर्कोतर्फ दैनिक नास्ताको लागि भनी दैनिक नास्ता खर्च पनि दिने गरेको थियो। सफलताको कहानी ममा मात्र नटुंगिएर उसको बुबा, हजुरबुबा सबैलाई एउटै सुनाइ हरेकबाट पैसा लिएको रहेछ।
सबैजना जागिर र व्यापारमा जाने व्यस्तताले होला, कसैले त्यसको प्रतिउतर नगरी नबोली पैसा दिनुभएछ।
वास्तवमा पैसाको आवश्यकताको शिर्षक उसको अलिक फरक रहेछ। उसलाई आज अनलाइन खेल अन्तर्गत हाल चर्चामा रहेको पब-जी र फ्री-फायरअन्तर्गतको फ्री-फायर खेलको लागि 'डाइमन्ड' किन्नुको दाउ रहेछ।
डाइमन्ड एक खेलको हिस्सा रहेछ जुन अनलाइन प्रविधिबाट खरिद गरी खेल भित्रै विभिन्न उपकरण र अन्य खेल सामाग्री खरिद गर्ने तरिका रहेछ। स्कुलमा साथीलाई अनलाइनबाट किन्न पाइने उक्त डाइमन्ड मेरो घरमा अलिक टाइट छ भनेर साथीलाई सहयोग गरे नास्ता खुवाउने प्रमिसको आदानप्रदान भएछ।
केही दिनपछि यो क्रियाकलाप अलिक फरक ढंगबाट फेरि दोहोरियो। पहिलाको जस्तै बिहानै 'काका, आज तपाईंसँगै काम गर्ने अभिषेक काकाको छोराको जन्मदिन हो। गिफ्ट किनेर दिन्छु, बर्थडेमा पनि बोलाएको छ, बाबा/आमाले नजा भन्दै हुनुहुन्छ काका पिल्ज दिनु न अरु सबैले लिएर आउँछन् राम्रो-राम्रो, मलाई लाज हुन्छ।'
यति भनेपछि मेरो जागिरमा जाने समय ढिलो भैसकेकोले कुनै प्रतिवाद नगरी ५०० रुपैयाँ दिएँ। मैले दिएको रकम कतै अत्तोपत्तो नभई फेरि बिहान स्कुल जानेबेलामा भतिजले झगडा गरेछ र दाजु भाउजूले भाइकै साथीको छोरा भनेपछि त्यहाँबाट पनि पैसा पास भएछ।
भतिज हिजो खेलको लागि १०० डाइमन्ड किनेको आज ५०० डाइमन्ड किन्न तम्सिएछ। घरमा सबैभन्दा सानो सदस्य भएर होला कसैले पनि उसका आकंक्षामा अंकुश लगाएको थिएन। बेलुकीको समय सबै जनाको मोबाइल भतिज प्रयोग गर्दो रहेछ, खेलकै लागि।
कोरोना भाइरसले संसार आक्रान्त पारेकोले स्कुलले पनि भौतिक कक्षा संचालन नगरेर अनलाइन प्रविधिलाई अघि सार्यो। घरमा रहेको एउटा ल्यापटप भतिजी एसइई दिने म हो भन्दै आफूतिर लगिन् र भतिजोलाई छुट्टै मोबाइल किनिदिनु पर्ने अवस्था आयो।
ल्यापटप किन्ने सोच त थियो तर बजारमा अनलाइन हुने बित्तिकै यति धेरै माग बढेछ, कालोबजारीले प्रसय पाइ बजार मूल्य आकाशिएछ। सम्बन्धित निकाय त्यसमा पनि बेखबर रहयो र खरिदको लागि मोबाइल किन्ने निर्णय गरियो।
अब त झन् मोबाइल जतिखेर पनि आफ्नै हातमा र कन्ट्रोलमा हुने भएपछि, खाली अनलाइन खेलकै धावन्ति हुन थालेछ। घरमा हजुरबुबा हजुरआमाले मोबाइल कति चलाएको भनेर प्रश्न गर्दा स्कुलको सरको दिउँसो लाइन गयो, त्यही भएर फरक समय छ भनेर प्रश्न भुइँमा नखसदै उत्तर आएछ। होला त नि भन्दै केही बोल्नु भएनछ।
भतिज अनलाइन खेलमा यति धेरै डुबिसकेछ कि, पैसा माग्दा अब घरमा थाहा हुन्छ, बाहना बनाउन मुस्किल छ भनेर टिफिन खान दिएको पैसा केही पनि नखाई भोकै बसी बचत गर्न थालेछ। अनलाइन खेलको आवश्यकता अनुसार सामाग्री किन्न थालेछ।
दिनानुदिन भोकभोकै रही कमजोर हुँदै गएको मेरो भतिजको एकदिन स्कुलको बाटो हिँड्ने क्रममा पानी पर्यो र औत लाग्ने क्रममा त्यही स्कुल भित्र पसेँ। स्कुलको प्रिन्सिपल किन्जल सर पनि त्यही हुनुहुँदो रहेछ।
मलाई देखेर आफै कार्यकक्षमा बोलाउनु भयो र भतिजको पढाइको बारे गुनासो सुनाउनु भयो। 'तपाईं कलेजमा पनि अध्यापन गराउने सर मैले हजुरलाई के भन्नु, तपाईंको भतिज पढ्नमा यति धेरै कमजोर छ, यस्तो पारा हो भने एसइईमा के गर्ला!'
प्रतिउत्तरमा भनेँ 'अस्ति बिहान उत्कृष्ट भएँ भनेर पैसा लगेको सम्झेर मलाई त स्कुल प्रथम भए, पार्टी दिनुछ भनेर पैसा लगेको थियो त।'
हाँस्दै भन्नुभयो, 'बेवकुफ बनाएछ, नास्ता पनि साथीहरुसँग उनीहरुकै बाढेर खान्छ। रिपोर्ट कार्ड मतर्फ तेर्स्याउँदै 'हेर्नुस् त तपाईंको बच्चाको ३ वटा त्रैमासिकको प्रगति विवरण, सबै स्टार बाहेक केही थिएन। म त छाँगाबाट खसे जस्तै भएँ, धन्न पानी ठिक ठाउँमा आएको बेला परेछ, भनेर माथि तिर फर्केर धन्यवाद टक्र्याएँ।
घर पुग्ने बित्तिकै दाजुलाई सोधेँ, 'दाजु भतिजलाई खाजा खान किन दैनिकी छुटाउने गरेको?'
दाजुले 'कहाँ हो र, टेबलमा जहिले पैसा राखिदिने गरेको छ, बढी नै। आजसम्म त टुटे जस्तो लागेन' भन्नु भयो।
सबै स्कुलको वृतान्त सुनाएपछि दाजु रिसाएर उसकै कोठामा पुगेर बझाउनु भएछ। कुट्नु समाधान होइन भन्ने लागि सबै परिवार मिलेर भतिजलाई सम्झायौँ र एकअर्कालाई जानकारी पनि दियौँ।
नाम नभन्ने सर्तमा पोल खुल्दै गयो। त्यो मेरो साथीको छोराले पैसा नदिएपछि उसको ममीको ब्यागबाट खेलकै लागि १० हजार रुपैयाँ पैसा चोरेको रहेछ। छिमेकी भातिजले अनलाइन खेलमा ३० हजार खर्च गरिसकेछ।
पोल खुलेको नामको अभिभावकलाई मैले फोन गरेर जानकारी गराएँ। अझै कति पोल खुल्न बाँकी हाम्रा बाबुनानीहरू छन्, बेलेमै सतर्कता नपनाए भोलि यसबाट हुन सक्ने घटनाको परिणाम नराम्रो आउन सक्छ।
हामीले स्कुलमा पैसा दिने बानी लगाउँदा यस्तो परिणाम दोहोरिन सक्ने भन्ठानेर पैसा दिने कामलाई निरुत्साहित गर्यौं। घरबाट नै नास्ता हालेर पठाउन थालियो, स्कुलको जंक फुड पनि हट्ने भयो।
छुट्टीको समय र फुर्सदको समय बढीभन्दा बढी केटाकेटीसँग बिताउन थाल्ने गरियो। उसका कृयाकलापमा सहभागिता राख्न थालियो। समय मिलाएर स्कुलमा उसको पढाइको प्रगती विवरण बुझ्न थालियो।
पढ्ने बेलामा कहिले घरको टिभी खुलेन, सँगै सहयोगी भई नजिकै बसेर अभ्यास गराउन थालियो। एसइईको रिजल्ट नि आएछ, भतिजको ए प्लस आएछ, सबै दंग। प्रिन्सिपल सरले फोन गर्दै चिया खाने निम्तो दिनुभयो र भन्नुभयो, 'सर, तपाईंको भतिजले +२ हाम्रैबाट गर्नुपर्छ...।'