बानेश्वर, जहाँ मैले महसुस गर्ने गरी जीवनका केही पल बिते। किताबहरुमा धेरै ठाँउको अर्थ जानिसक्दा पनि मैले कतैबाट बानेश्वर कसरी रहन गयो भनेर बुझ्न सकिनँ।
बानेश्वरका रैथाने समेतलाई सोध्दा पनि उनीहरु यसको अर्थ बताउन सकेनन्। रैथाने भएपनि तिनीहरूको आँखाका मेरो जति त्यो ठाँउको बारेमा जान्ने उत्सुकता थिएन।
ज्ञानेश्वर भट्टराईको किताबमा नभेटिएको कुरा गुगलमा भेटिने कुरा त पक्कै थिएन। त्यसैले मलाई बानेश्वरको नामाकरण कसरी रह्यो भने हुटहुटी चल्यो अनि थुप्पै साँझहरुमा सोधको लागि निस्केँ।
कतै गर्दा पनि नभेटिएको कुरा मैले एकदिन भेटेँ। मध्य-बानेश्वरमा वाणेश्वर मन्दिर! मलाई अब कन्फर्म भयो यही वाणेश्वर मन्दिर अपभ्रंश भएर बानेश्वर बनेको रहेछ।
किताबहरुमा भएका यस्ता कुराहरु खोज्न म थुप्रै ठाँउ गएँ, शंखमुलको शिखरशैलीमा बनेको जगतनारायणको मन्दिर हेर्न होस् कि दश रुपैयाँको नोटमा भएको गरुङ नारायणको मूर्ति हेर्न होस्, शंकरदेवले बनाएको सन्तानेश्वर महादेवको मन्दिर होस् कि फत्यबहादुर शाहले दाजु रणबहादुर शाहलाई मारेपछि पाप प्रायश्चितको लागि बनाएको रणमुक्तेश्वर महादेव नै किन नहोस्! कति भेटिए कति भेटिएनन्।
गजुर नभएको अशोक विनायकको मन्दिर कस्तो रहेछ भनेर हेर्न कुनै दिन साँझको बेला बसन्तरपुर दरबारबाट छिरेको मान्छे म गल्लीहरुमा कता हराएछुँ कता! मैले बाटो बिराएछु।
गल्लीमा मान्छे पातलिन र कुकुर बाक्लिन थाले। महाबौद्ध तिर कि खै कता एउटा कुकुर त मैमाथि पर्यो तर टोकेन। म एउटा अलि ठूलो गल्ली पच्छाउँदै गएको टेकु पुगेछु।
किताबहरु पढ्दा म पाढ्यक्रमसँग यति रमाएँ कि मलाई शाहवंशका कुलमन्डल शाहदेखि ज्ञानेन्द्रसम्मको सबै कुरा पढ्न मन लाग्ने। राणाहरुको पूरै इतिहास पढ्न मन लाग्यो। चेपे नदीमा दूधको धारा बगाएकोदेखि राजा वीरेन्द्रले रारा तालको किनारमा बसेर फेरि उसैका लागि कृति लेखेको कुराहरुसम्म।
कसले कुन साहित्यिक कृति लेख्यो भन्ने कुरा पढ्दा अनौठा नाम भएका सबै कृतिहरु मैले किनेर थुपारेँ।
लैनसिंह बाङदेलको लंगडाको साथी, सरूभक्तको तरुनी खेती, प्रतीक ढकालको सेती पनि काली पनि, तारानाथ शर्माको बेलाईत तिर बरालिँदा, श्रीकृष्ण गौतमको अल्छीको पाइलादेखि गोविन्द गोलालेको पल्लो घरको झ्यालसम्म।
सुत्न खोज्दा सपनामा कुनै एउटा प्रश्न यसरी अड्किन्थ्यो कि बत्ती बालेर खोजेर नसुतेसम्म शान्ति नहुने, एउटाको उत्तर भेटाएर सुत्यो अर्को फेरि जिज्ञासा पलाउने।
कहिले हिटलरले डाहाउमा यहुदी मारेको भन्ने कुरा बिर्सने त कहिले नेपोलियनलाई सेन्ट हेलिनामा खुला निर्वासित गरेको कुरा बिर्सने, कहिले समसुद्दिनले पहिले नेपाल आक्रमण गर्यो कि गयासुद्दिनले भन्ने बिर्सने।
सम्झना बिर्सना सलल ल ल... भने झैँ सम्झिने र बिर्सने यो प्रकृया चलिरह्यो। कहिले नजानेको मिलाएर पास पनि भइयो त कहिले जानेको बिगारेर फेल पनि भइयो। कहिले समय व्यवस्थापन गरेन नसकेर फेल भइयो, कहिले कि बिर्सेर फेल भइयो, कहिले जिकेले धोका दियो त कहिले आइक्यूले।
भारत पाकिस्तानमा कस्मिर कसको भनेर चर्चा भएझैँ लोकसेवा पढ्नेहरुमा खुम्बु लामो हिमनदी कि लाङटाङ भनेर चर्चा हुन कहिले छोडेन, रारा गहिरो कि शे-फोक्सुन्डो भनेर अलमल हुन छोडेन।
रुप्से झरना म्याग्दीकी मुस्ताङ भनेर लोकसेवाले अलमल पार्न छोडेन, दोलखा र रामेछापको साथीलाई सँगै राखेर सोध्दा पनि जटापोखरी कता पर्छ भन्दा एउटै उत्तर आएन। राष्ट्रसेवकको रुपमा प्रवेश गर्नेहरुले आफ्नो आधा दिमाग खाने प्रश्नहरुको राष्ट्रसेवक भइसकेपछि चासो दिएनन्।
एकदिन सरले पढाइरहँदा एउटा कुराले मलाई अचम्मित पुर्यायो, संसारको अग्लो स्थानमा रहेको ताल तिलिचो भएपनि विश्वले पेरुको टिटिकाका भनेर चिन्छ रे किनकि तिलिचो अग्लो स्थानको भनेर दर्ता नै भएको छैन रे।
मैले सरलाई भनेँ- 'सर, अब तिलिचो नै अग्लो भनेर दर्ता गर्नुपर्छ।'
सरले व्यङ्ग्य मिसाएर भन्नुभयो- 'ल ल भाइ, तिमी अब लोकसेवा पास भएछौ भने दर्ता गराउनू।'
क्लास हाँसोको फोहोराले गुन्जयमान भयो।
पढेर हो वा बाले भनेर सुतेर होस्, जसोतसो जागिर खाइयो तर अफिसमा काम गर्दा मैले त्यही दुःख गरेर पढेका, सम्झेमा कुनै कुरा काम लागेनन्। एक वर्ष जति त म कुहिरोमा रुमलिएको काग जस्तै भएँ।
मलाई ज्ञानप्रति त कुनै पश्चाताप भएन तर मैले जुन क्षेत्र पास गर्नको लागि पढेँ ती कुरा कतै काम लागेनन्।
एकदिन मैले मेरो एकजना सिनियर सरलाई सोधेँ, 'सर, यत्रो दुःख गरेर मरेका मान्छेको आत्मा भड्किने गरी नाम रटियो, दुनियाँ दिवाना, फलाना ढिस्काना होचा अग्ला, काला गोरा, पहिलो अन्तिम सबै पढियो तर मैले यसको सार्वजनिक क्षेत्रमा व्यवहार त केही देखिनँ।'
मेरा सबै गुनासाका पहाडहरुलाई सरका एक शब्दले सम्यायो। सर तपाईं प्रसाशक हो, प्रशासन चलाउन तपाईंलाई सबै क्षेत्रको ज्ञान आवश्यक हुन्छ। कुनै एउटा कुरा जान्ने त प्राबिधिक भइहाल्यो नि।
तपाईंले फरक-फरक क्षमताका व्यक्तिहरुसँग कार्यालय संचालनको क्रममा फरक फरक तरिकाले मन जित्नुपर्ने हुन्छ। त्यसको लागि तपाईंको ज्ञानको दायरा फराकिलो हुनुपर्छ। हो, त्यसै क्षमता विकासको लागि लोकसेवाको पाठ्यक्रम यति जटिल बनाइएको हो।
सरको कुराले मेरो मन छोयो। हुन पनि आज म साहित्यकार, वैज्ञानिक, कलाकार, भूगोलविद, राजनीतिज्ञ, धर्मशास्त्री जुनसुकै विधाको मान्छेसँग आँखा जुधाएर कुरा गर्न सक्छु। लोकसेवाको पाठ्यक्रमलाई गलत देख्ने मेरो नजरिया अहिले भने परिवर्तन भएको छ।