म जन्मेको देशमा वर्गीय समानता छैन। थिएन र अझै पचासौं वर्ष पनि हुँदैन होला।
धनीले गरिबलाई, उच्च जातले दलितलाई अनि सुरक्षा फौजले जनतालाई गरेको असमान व्यवहारबाटै थाहा हुन्छ समानता छैन भन्ने कुरा। र तपाईं हामी धेरैले त्यो भोग्दै पनि आएका छौं।
नेपाली सडकका ट्राफिक चेकिङमा बसेका हवल्दार सापले एउटा सवारी चालकलाई गर्ने व्यवहार होस् या एउटा साहुले आफ्नै कामदारलाई गर्ने व्यवहार होस् समानता भेटिँदैन। न त आदर नै भेटिन्छ।
त्यही वर्गीय समानता नभएको देशमा बसेर तिनै हेपाहा प्रवृत्तिका मान्छेहरूसँग घुलमिल हुँदै हुर्केको मान्छे म। अन्ततः विदेशिएँ।
परदेशमा पहिलो दिन काम विषेषले एउटा सरकारी कार्यालयमा गएँ। त्यहा काम गर्ने कर्मचारी म त्यहा पुग्नुभन्दा केही मिनेट ढिला आए।
आउना साथ आफ्नो टेबुल सफा गरें। सिसा पुछेँ, डस्टबिनमा भएको फोहर लगेर कतै फ्याँके। अनि हातमा आफ्नै लागि कफी लिएर सेवाग्राहीका काममा खटिएँ।
मैले मनमनै सोच्न थालेँ, नेपालमा भए के हुन्थ्यो? यहाँ भन्दा निकै फरक हुन्थ्यो।
कर्मचारी अफिसमा आउँथे, टेबुलको घन्टी बजाउथे। दगुर्दै कार्यालय सहायक या चौकीदार आइपुग्थे अनि कर्मचारीले रवाफ देखाउँदै भन्थे- यो सफा गर, अनि मेरा लागl चिया लिएर आऊ।
तर अमेरिकामा यस्तो थिएन। आफ्नो काम गर्ने एरियाभित्रको सरसफाइदेखि आफ्ना लागि चिया कफीको तयारी उनले आफैं गरे। म बसेर वर्गीय समानताको कुरा सोचिरहेँ।
यो समानताको कुरा थियो। आफूले गर्न हुने काम र गर्न नहुने काम भन्दै छुट्ट्याउने नेपाली प्रवृत्तिसँग दाँज्ने कुरा थियो। यी त नेपाली र अमेरिकी कार्यालयहरूमा वर्गीय समानताका साना उदाहरणहरू मात्र थिए।
म बसेकै ठाउँमा एउटी चालीस वर्षजस्तै लाग्ने गोरी महिला पोछा लगाउदै आइपुगिन्। उनले अफिसका हरेक कोठामा पोछा लगाइन्। सेवाग्राहीका लागि राखिएका ठूला-ठूला डस्टबिनबाट फोहोर निकालिन् अनि नयाँ प्लास्टिक फेर्दै अघि बढिन्।
उनको यो काम गराई देखेर पनि म छक्क परेँ। ओहो! अमेरिकामा पनि यति सानो काम गोराहरूले गर्छन्?
हाम्रो देशमा सानो काम सानै मान्छेले गर्नुपर्छ भन्ने मान्यता थियो। उमेरमा सानोको कुरा होइन, हैसियतमा सानो।
एउटा कार्यालयको अधिकृतले आफ्नो चिया आफैं बोक्दैन, उसले सिसा पुछ्दैन अनि डस्टबिनमा जम्मा भएको फोहोर आफैं लगेर फ्याँक्दैन।
सानो काम गर्न हैसियतमा सानै हुनुपर्छ भन्ने मान्यता छ नेपालमा। तर यहाँ अमेरिकामा जस्तोसुकै काम होस्, सबैले सम्मान गर्छन्।
अमेरिका प्रवेशका नौला दिन थिए, त्यसैले ती गोरी महिलाले पोछा लगाउने काम गरेको देखेर छक्क परेको थिएँ।
म सोच्थें, ती साना काम हामी अरु देशबाट कमाउन आउनेहरूको भागमा पर्छ। हामी दबेर काम गर्नुपर्छ, उनीहरू हुकुम चलाउँछन्।
तर त्यस्तो थिएन यहाँ। म आफू लजाउँछु जस्तो लाग्ने काम यिनै गोराहरू गर्दैथिए। किनकि म कामलाई सानो ठान्ने देशबाट भर्खर आएको थिएँ।
काम सानो ठूलो हुँदैन भन्ने मानसिकताबाट उठ्दै थिएँ।
केही दिनपछि म आफैं काम सिक्न एउटा ग्यास स्टेसनमा गएँ। काम सिक्न गएको स्टोरमा नेपाली दाइ क्यासियर थिए। उनी मलाई काम सिकाउँथे।
मैले काम सिक्दै गर्दा दिउँसोमा स्टोरको मालिक आउँथ्यो। दैनिक तीन घन्टा ऊ स्टोरमै काम गर्थ्यो, अनि जान्थ्यो।
उसका यस्ता पाँच वटा स्टोर छन रे। स्टोर पनि सानो होइन, बाहिर दर्जन बढी पम्प भएका। नेपालमा एउटा पेट्रोल पम्प हुनेलाई हामी करोडपति ठान्छौं। उसका पाँच वटा पम्पसहितका स्टोर। सुन्दै छक्क पर्ने खालको मालिक।
तर उसको काम गर्ने स्टाइल देख्दा लाग्थ्यो, ऊ मालिक होइन! तल्लो दर्जाको कर्मचारी हो।
ऊ आउना साथ कुलर जान्थ्यो, एक घन्टा कुलर भरेर आउँथ्यो।
कुलर भर्नु निक्कै दु:खको काम मानिन्छ यहाँ। घर जत्रा फ्रिजभित्रै पसेर सामान राख्नु, मिलाउनु अनि बियर र सोडा बोकेर भित्र-बाहिर गर्नु।
ऊ कुलरको काम सकेर पसलभित्र र बाहिरको फोहोर फाल्थ्यो। पम्पको सफाइ गर्दथ्यो, पलास्टिक फेरेर पोछा लगाउन सुरू गर्दथ्यो।
पोछाको काम सकिएपछि ऊ दिनभरको हिसाबमा लाग्थ्यो। हिसाब सकेर ऊ निस्कन्थ्यो।
पहिलो दिन ऊ निस्केपछि मैले नेपाली दाइलाई सोधेको थिएँ - मालिक भएर कामदार जस्तो गर्छ यार, कि मालिक होइन यो?
दाईले हास्दै जवाफ दिए - यहाँ काम सानो-ठूलो हुँदैन भाइ। उसका यस्ता पाँच वटा ग्यास स्टेसन छन्। सबैमा गएर यसैगरी काम गर्छ।
यदि यस्तै पाँच वटा पेट्रोल पम्पको मालिकलाई मैले नेपालमा भेटेँ भने उनी यस्तै काम गर्छन् होला? पक्कै पनि गर्दैनन्, बरु क्यासियर भनेर राखेको आफ्नै कर्मचारीलाई कुदाउँछन्, लदाउँछन् अनि दबाउँछन्।
स्टोरको काममा त्यति मन नगएपछि एकदिन एक जना दाईले रेष्टुरेन्टमा काम गर्ने अफर गरे मलाई। म उनका कुरा सुन्दैथिएँ - तिम्रो काम कटिङमा हुन्छ। प्याज, आलु, टमाटर लगायतका तरकारी काट्ने।
म राजी भएँ। भोलिपल्ट उनकै पछि लागेर रेष्टुरेन्ट गएँ। कालो एप्रोन लगाइदिएर मलाई कटिङमा सेट गराए। अनि आफू हराए।
खाजा खाने समयमा उनी झुल्किए। मैले सोचेको थिए उनी कुक हुन् या होटेलकै कुनै उच्च पदस्थ कर्मचारी।
तर उनी न भान्सामा देखिएका थिए, न त काउन्टरमा।
मैले सोधें - दाइ! तपाईंले काम गर्ने यहीँ होइन?
उनले मुन्टो तलमाथि हल्लाउँदै भने – हो।
अनि तपाईंलाई कतै देखिनँ त! मैले आश्चर्य व्यक्त गरेँ।
उनले आफ्नो काम गर्ने थलोतिर मलाई डोर्याउँदै लगेर गए। अलि परको ठूलो मेसिन, भुइँमा छरपस्ट जुठा भाँडा अनि डेक्चीहरू देखाउँदै भने - म भाँडा माझ्छु भाइ!
म अलिकति खिन्न भएँ। तर उनमा खिन्नता थिएन। अनुहारमा चमकता थियो। म केही बोलिनँ। उनले आफैं भने, ‘यहाँ काम ठूलो-सानो हुँदैन, जुन काम सजिलो लाग्छ अनि जुन काममा पैसा देखिन्छ त्यही गर्ने हो।’
भाँडा माझ्ने काम साँच्चिकै सजिलो थियो। अटोमेटिक भाँडा धुने मेसिनमा हालेका भाँडा आफैं चम्केर निस्कन्थे। मात्र ठूला डेक्ची अनि कराइहरू धक्साउँथे उनी।
भाँडा माझ्ने काम सजिलै थियो। पैसा टन्न हुँदो रहेछ। तनावको त कुरै भएन। खेल्दै, गाउँदै, खाँदै, गर्दै।
नेपालबाट मान्छेहरू परदेशिएकाहरूलाई विदेशमा भाँडा माझ्ने भनेर हेप्छन्। परदेशमा जस्तोसुकै काम गरोस्, तर उसको तुलना भाँडा माझ्नेमै गरिन्छ।
तर यही भाँडा माझ्दा कति आनन्द छ, कति गजबको कमाई छ या कति सुख छ, त्यो बुझ्दैनन्।
यो नबुझ्नु या भाँडा माझ्ने भनेर हेप्नुका पछाडि काम सानो-ठूलो भनेर छुट्याउनु नै हो। वर्गीय समानता नहुँदा काउन्टरमा बसेर पैसा बुझ्ने हाकिम हुन्छ, मालिक हुन्छ। अनि जुठेल्नामा बसेर भाँडा माझ्ने चाहिँ कामदार बन्छ, दास बन्छ।
यहाँ अमेरिकामा भाँडा माझ्नेहरूको हैसियत या महत्त्व ती काउन्टरमा बसेर पैसा बुझ्ने या दिनको दुई घन्टा आएर कमाई लिएर जानेहरूकै बराबर हुन्छ।
काम आफूलाई सजिलो लाग्ने गर्नुपर्छ अनि जता कमाई छ, उतै दगुर्नुपर्छ भन्ने ती दाइको सकारात्मक गफले गर्दा नै मैले त्यही दिन कटिङको काम छाडेँ। कटिङको काम मेरा लागि सजिलो थिएन।
प्याज काट्दा आँसु आएर हैरान। तरकारी काटदा औँला काटेर तनाव भएपछि म फेरि स्टोरकै काम सिक्न हिँडे।
आज म स्टोरमा क्यासियर छु, त्यो दाइ त्यही होटेलमा भाँडा माझ्छन्। तर कमाई, सुख अनि मस्तीको नजरमा उनी म भन्दा धेरै माथि छन्।