शेक्सपियरले ‘नाममा के नै छ र?’ भनेका थिए, मलाई यो सामान्य कथन झैं लाग्थ्यो। तर यसभित्र लुकेको गहिरो दर्शन बुझ्न मैले कुनै किताब पढिनँ। यो जिन्दगीको यात्रा र संघर्षले सबै सिकाइदियो।
मैले जीवनमा जान्नेभन्दा बुझ्ने प्रयास गरेँ। सायद यसैले होला मेरो शैक्षिक सफलता गर्ब गर्न लयाक छैन। यद्यपी मलाई लज्जाबोध या कुनै प्रकारको लघुताभास पनि छैन। जिन्दगीनै मेरो लागि सम्पूर्ण पाठशाला हो।
मेरो बुझाईको यात्रा सिनेमा र फिल्मबाट शुरू भएको भन्दा धेरैलाई अनौठो लाग्ला। धनगढीको जोशी टाकिजलाई मैले आफ्नो विद्यालयभन्दा बढी प्रेम गरेँ। जोशी टाकिज मेरो वास्तविक विद्यालय झै थियो।
नयाँ फिल्म आएकै दिन साथी बटुलेर जोशी टाकिजमा हाजिर लगाइहाल्थेँ। पैसा भएको दिन टिकट काटेर हेर्थेँ नभएको दिन जबरजस्ती घुसेर भए पनि हेरेरै छोड्थेँ। गेटपाले राम्रो भए ‘हाफ टाइम’ मा भित्र छिर्न दिन्थे नभए एक दुई थप्पड खाएर घर फर्कन्थेँ। घरमा खाना होईन बुबाको पिटाई मेरो प्रतिक्षा गरेर बसेको हुन्थ्यो। तर मलाई जुन कुरा जोशी टाकिज र त्यहाँ प्रदर्शित सिनेमाले सिकायो त्यति कुनै किताब र ब्यक्तिले सिकाउन सकेनन्।
जोशी टाकिजमा ‘क्रान्ति’ फिल्म लागेको थियो। दिलिप कुमारसहित मल्टीस्टार कास्ट रहेको फिल्ममा मलाई केवल दिलीप कुमार मात्र देखिए। यो फिल्मले मेरो जीवनमा क्रान्ति नै ल्यायो। क्रान्ति अर्थात ‘इन्क्लाव जिन्दावाद’ भन्न मैले त्यसैदिन देखि सिकेको हुँ।
क्रान्ति एउटा दिगो सकारात्कम परिवर्तन हो भन्ने मेरो कलिलो मस्तिस्कले बुझिसकेको थियो। यो फिल्मले मलाई विद्रोही स्वभावको बनायो। यथास्थितिवाद र जड्तालाई च्यालेन्ज गर्ने मेरो जीवनशैली बन्यो।
त्यसपछि मैले दिलिपकुमार र अनिल कपूर अभिनित ‘मसाल’ हेरेँ। विनोद कुमार नामको पत्रकारका भूमिकामा देखिए दिलिप कुमार। मसाल भन्ने उनको पत्रिकाले समाजका कुरिती, गरिबी र अन्यायविरूद्ध जसरी अवाज उठाउँथ्यो त्यसले मलाई पत्रकार बन्ने हिम्मत र सपना दियो।
त्यसको केही वर्षमै मैले ‘अवाज’ भन्ने पत्रिका सम्पादन गर्न थालेँ। आवाज गरिबी र विशेष गरी कमैयाको आवाज थियो।
मेरो फिल्म हेर्ने क्रम घटेन। बरू झन तिर्खाएझैं भयो। विभिन्न कलाकारको फिल्म हेर्दै गएँ। तर दिलिप कुमार मेरा आदर्श बनिसकेका थिए। मलाई उनलेझैं अरू कसैले प्रभाव पार्न सक्दैन्थ्यो। म यौवनमा प्रवेश गदै थिएँ, ‘मुग्ले आजम’ हेर्ने मौका पाएँ।
जुन प्रेम डराउँछ, भयभित हुन्छ, त्यो प्रेम होईन, मोजमस्ती हो, अपराध हो भन्ने फिल्मको संवादले मलाई थप बिद्रोही बनायो। संसारलाई प्रेमको आँखाले हेर्न सिकायो।
मलाई विकास के हो भन्ने कुरा दिलिप कुमारकै सन् १९५७ को फिल्म ‘नयाँ दौर’ ले सिकायो। विकास बिल्डिङ, पुलपुलेसा सडक, पूर्वाधार मात्र हो भन्ने मेरो सोचलाई फिल्मले बदलिदियो। मानवीय भावना र प्रकृति विनास गरेर हाँसिल गरेको विकास दिगो विकास होईन भन्ने चेत मलाई दिलिपकुमारको फिल्मले दियो।
मेसिन या प्रविधि साधन हुनुपर्छ साध्य होईन, भन्ने मेरो बुझाई अहिले पनि कायमै छ। बिडम्बना हामी आज प्रविधिको दास बनिरहेका छौं।
यसैक्रममा दिलिप कुमारले चाणक्यको भूमिकामा अभिनय गर्ने तय भएको तर फिल्म निर्माण हुन नसकेको बारे मैले मायापुरी पत्रिकामा पढेको थिएँ।
चाणक्यको भेषभुषामा उनको फोटो पनि देखेँ। मैले त्यही धर्मनिरपेक्षताबारे बुझेँ। दिलिपकुमारको वास्तविक नाम मोहमद युसुफ खान थियो। सायद उनको अन्य कुनै नाम हुन्थ्यो भने पनि भारतीय सिनेमा र विश्व सिनेमालाई उनी महान बनाउँथे। उनी फिल्मका मात्र नायक थिएनन् भारतीय समाजको बहुलवादी स्वरूपका प्रतिबिम्ब थिए।
पिछडिएको वर्गको उत्थानका लागि उनि एक बुलन्द आवाज थिए। बाबा साहेब डा. भीम राव अबेड्करसँगको भेटमा सामजिक न्यायको बारेमा उनले अर्थपूर्ण चर्चा गरेका थिए। उनको सार्वजनिक जीवनमा न्याय र प्रेमको समिश्रण देख्निथ्यो। यो अद्भूत थियो।
त्यसपछि धेरैपछि सुभास घइको ‘कर्मा’ मा देखिए। ‘हरेक कर्म मेरो देशका लागि गर्ने छु....’ भन्ने, यो फिल्मको गीतले मलाई देशप्रेमको नयाँ अर्थ सिकायो। भारतको सन्दर्भमा रहेको उक्त गीत हेर्दा मेरो मन मस्तिस्कमा र शरीरका हरेक कोषमा नेपाल दौडिएको पाउँथेँ। देशलाई बिना स्वार्थ, बिना शर्त प्रेम गर्नेले आफूजस्तै अरू नागरिकलाई सम्मानपूर्वक ब्यवहार गर्नुपर्छ भन्ने मेरो बुझाइ रह्यो। देशका लागि केही गर्न सकिएन भने हानी पनि गर्नुहुन्न भन्ने मैले दिलिप कुमारबाटै सिकेको हुँ।
समष्टीमा भन्नुपर्दा दिलिपकुमारका फिल्म मेरा लागि कुनै साहित्यभन्दा कम थिएनन्। सबैलाई साहित्य पढ्ने शौभाग्य हुँदैन। तर अर्थपूर्ण कथानक र अब्बल अभिनयले फिल्म उत्कृष्ट साहित्य हुन्छ।
यसलाई दिलिपकुमारजस्ता महान कलाकारले साबित गरिदिएका छन्। फिल्म, म जस्ता थुप्रै साधारण मान्छेको लागि साहित्य हो। जसले कसैको जीवनलाई यति धेरै सिकाएको होस ऊ वास्तविक हिरो हुन्छ।
दिलिपकुमार म जस्ता थुप्रै साधारणका महानायक हुन्। दिलिप साहब त मेरो हिरो हुन्। हिरो कहिल्यै मर्दैनन्। म अलबिदा कसरी भनौं? नमन् दिलिप साहब!