करिब २ वर्षअघि मे महिनाको अन्तिममा म कुनै एउटा विदेशी कन्फ्रेन्समा सहभागी हुन नगरकोट पुगेको थिएँ। अमेरिकाको एउटा प्रोजेक्टले आयोजना गरेको कार्यक्रम थियो त्यो।
त्यस कन्फ्रेन्समा एकजना विदेशी बाहेक सबै नेपाली नै थिए। ती विदेशीले पनि ट्रान्सलेटरको सहायताबाट सुनिरहेका थिए। तर कार्यक्रममा अधिकांश नेपालीले भने अंग्रेजीमै कार्यक्रमको समीक्षा गरिरहेका थिए।
केही अंग्रेजी नबुझ्ने नेपालीले भने ट्रान्सलेटरको सहायताबाट सुनिरहेका थिए भने बुझ्नेहरु कापीमा नोट गर्दै बसिरहेका थिए। त्यही क्रममा नेपालका एकजना प्रोफेसरको पालो आयो। उहाँ नेपाली विषयका प्रोफेसर हुनुहुँदो रैछ।
उहाँलाई पनि कुनै विषयमा तालिम दिन समय दिइएको थियो। उहाँले नेपालीमै तालिम दिनुभयो। त्यसमा केही शब्दहरु भने अंग्रेजी पनि मिसाइएको थियो। त्यो शब्दको उच्चारण गर्दा उहाँले पटक पटक अशुद्ध उच्चारण गरिरहनु भएको थियो। त्यो भएपछि मसँगै बसेका केही साथीहरु बारम्बार हाँस्नु भयो।
सानो स्वरमा 'यति जाबो त शुद्ध नपढ्नेको तालिम के लिनु' भन्न थाल्नु भयो। मलाई नि यति सानो कुरा त शुद्ध उच्चारण गरेको भएपनि हुने नि भन्ने लागिरह्यो। पछि खाना खाने समयमा सो विषयमा एकजना साथीले कुरा निकाल्नु भयो।
उहाँहरुले अलि धेरै नै हेप्ने किसिमबाट उहाँको बारे छुद्र टिप्पणी गर्नु भयो। मलाई चित्त बुझेन, अनि भनेँ- अंग्रेजी नजान्दैमा सानो भइन्छ र? हो, यो अन्तर्राष्ट्रिय भाषा हो, जान्नु आवश्यक छ। तर, हामी नेपाली हौँ, हाम्रो मातृभाषा नेपाली हो। तसर्थ अंग्रेजी नजान्नेलाई केही आउँदैन, मान्छे नै होइन भन्ने मानसिकता भने राख्नुहुन्न भन्ने लाग्छ मलाई।
समयसापेक्ष सामान्य दैनिक जीवनमा प्रयोग हुने शब्दहरु भने ख्याल राख्नुपर्छ। मेरो कुरामा केही साथीले सहमति जनाउनु भयो, केहीले भने अंग्रेजी जसरी पनि जान्नैपर्छ भन्ने तर्क राख्नुभयो। तर, म भने अंग्रेजी नजान्दैमा सानो भए वा नजानेर जिन्दगी नै चल्दैन भन्ने विषयमा कहिले पनि सहमत हुन सकिनँ।
त्यस घटनापछि पनि म थुप्रै कार्यशाला र गोष्ठीहरुमा पुगेँ, जहाँ पुग्दा अंग्रेजी नजान्ने, अंग्रेजी भाषाको प्रयोग नगरी बोल्नेहरुलाई भाषाको ज्ञान नहुने होइन, बौद्धिकता नै हराएको व्यक्तिको रुपमा हेर्ने गरिन्थ्यो।
एक पटक हाम्रो देशका कुनै मन्त्रीले पनि अंग्रेजी भाषा बोल्न नजानेको भनेर धेरै आलोचना भएको थियो। त्यसपछिका भाषणहरुमा ती मन्त्रीले विदेशी कार्यक्रममा पनि नेपाली मन्तव्य नै दिने गरेको उदाहरण हामी सामु नै छन्।
यसले पनि के प्रष्ट बनाउँछ भने पश्चिमा कला संस्कृति, रहनसहनको प्रभावले हामी यतिसम्म अन्धो भइसक्यौँ कि नेपाली भाषामा अंग्रेजी नमिसाई बोल्नेहरु पाखे, अंग्रेजीमा भाषण नदिने नेता र शिक्षक पाखे, तर नेपाली बोल्दा पनि अंग्रेजीका शब्दहरु मिसाएर बोल्ने भने सुसभ्य र आधुनिक।
यस्तै खालको संस्कृति, सोच र चिन्तनको कारण अहिलेका पुस्ताहरु त नेपाली बोल्दा पनि अंग्रेजी नमिसाई बोल्नै नसक्ने भइसकेका छन्। आधुनिक, बौद्धिक र सुसभ्य बन्ने नाममा विकसित भएका हाम्रा सोचाइले भाषा, संस्कृतिमाथि दीर्घकालीन असर त पार्ने होइन कतै?
नेपालमा अंग्रेजी भाषाको सुरुआत १८८५ को सुगौली सन्धी पश्चात् भएपनि औपचारिक सुरुआत भने १९५० बाट भएको हो। त्यसअघि भने अंग्रेजी भाषाको महत्व नेपाली समाजमा बढ्दैँ गएको थियो।
राणा परिवारका सदस्यहरुहरुले विदेशमा गएर पढ्ने र त्यहीँबाट अंग्रेजी भाषाको प्रभाव बढ्न थालेको पाइन्छ। विशेषगरी सन् १९५४ मा तत्कालीन सरकारले डा. उडलाई राष्ट्रिय शिक्षा योजना आयोगको सल्लाहकारको रुपमा नियुक्ती दिएपछि यसको विस्तार भएको पाइन्छ।
त्यस्तै, नेपालमा औपचारिक शिक्षाको सुरुआती चरणमा गुरुकुल र संस्कृत भाषालाई महत्व दिएपनि विस्तारै अंग्रेजी शिक्षाको प्रभाव र वर्चस्व बढ्दैँ गएका थियो।
सोही क्रममा १९५९ मा त्रिभुवन विश्वविद्यालयको स्थापना भएपछि अंग्रेजी भाषाको अध्यापनलाई अनिवार्य गरियो र १९७१ मा आएको नयाँ शिक्षा पद्धति योजनाले एकीकृत रुपमा निजी तथा सार्वजनिक विद्यालयमा अनिवार्य र ऐच्छिक अंग्रेजी राख्न पाउने व्यवस्था गरियो।
तत्पश्चात् नेपालमा यसको महत्व झनै बढ्न थालेको हो। अझ त्रिभुवन विश्वविद्यालयले सन् १९८१ मा फेरि २०० अंकको अंग्रेजी अनिवार्य बनाएपछि त विद्यार्थीहरुका लागि यो रहरभन्दा पनि बाध्यता नै बनेको थियो। तर, पछिल्लो समयमा भने अंग्रेजी भाषा पढ्ने र यसलाई बोलीचालीको भाषा बनाएर बौद्धिक व्यक्तिको सूचीमा गनिने लहड नै चलेको छ।
तर, नेपालमा भने २०४६/४७ सालको जनआन्दोलनपछि अंग्रेजी भाषाको महत्व बढेको पाइन्छ। तत्कालीन व्यवस्था परिवर्तन भएर बहुदलीय व्यवस्थाको सुरुआत भएपछि नागरिकहरुमा विभिन्न निजी र व्यवसायिक पेसा-व्यवसायप्रतिको संलग्न भएसँगै अंग्रेजी भाषाप्रतिको आकर्षण बढ्न थालेको हो।
त्यसपछि नेपालीहरु वैदेशिक रोजगारी, विज्ञान, प्रविधि, पर्यटन, सिनेमा, पश्चिमा गीतसंगीत र संस्कृतिको प्रभावमा पर्न थालेको देखिन्छ। त्यस सँगसँगै विदेशी देशहरुसँगको कुटनैतिक सम्बन्ध विस्तार, विदेशमा काम र पढाइका लागि जानेहरुको संख्या उच्च हुनु र विश्वव्यापी भाषाकै रुपमा अंग्रेजीलाई प्रयोग गरिनुले पनि यसप्रतिको आकर्षण बढेको हुनसक्छ।
तर, अंग्रेजी भाषालाई अन्तर्राष्ट्रिय भाषाको संज्ञा दिएर युवापुस्तामा त्यसको आकर्षण बढेपनि विश्वको समृद्ध भाषाका रुपमा भने संस्कृत भाषा नै चिनिन्छ। संस्कृत भाषामा आधारित रहेरै अहिले नेपालमा बोलिने महत्वपूर्ण भाषाहरु विकसित भएको देखिन्छ।
आधुनिक आर्य भाषाहरु- नेपाली, हिन्दी, मैथली र भोजपुरी लगायतका भाषाहरु संस्कृत भाषाकै विकसित रुप हुन्। त्यतिमात्रै होइन, प्राचीन इतिहासहरु संस्कृतमै लेखिएको हुँदा भारतवर्षीय इतिहास बुझ्न समेत संस्कृत भाषाकै आवश्यकता पर्दछ।
यसबाट पनि एकातिर नेपालमा अंग्रेजीभन्दा पनि संस्कृत भाषाको कति महत्व छ भन्ने प्रष्ट हुन्छ भने अर्कोतिर संस्कृत भाषा नै अन्य भाषाहरुको जननी हो र समृद्ध भाषाको सूचक हो।
हाल पनि नेपालका थुप्रै विद्यापीठहरुमा संस्कृतको पढाइ हुने गरेको छ। नेपालमा संस्कृत भाषा करकापले पढेपनि अमेरिका, क्यानडा, जर्मन लगायतका युरोपियन मुलुकहरुले भने विश्वविद्यालय नै खडा गरेर रहरले संस्कृति पढिरहेका छन्।
नेपालमा संस्कृत भाषा पढ्नेलाई निःशुल्क पढाइन्छ भने पश्चिमा मुलुकहरुले महंगो शुल्क लिएर पढाइरहेका छन्। नेपालका युवापुस्ताले संस्कृतिको एउटा शब्द उच्चारण गर्न नसक्दा उनीहरु संस्कृतमै मजाले बोल्न, पढ्न र लेख्नसक्ने भएका छन्।
त्यतिमात्रै होइन, आजसम्म विज्ञानका क्षेत्रमा भएका महत्वपूर्ण आविष्कार गर्नुअघि पनि उनीहरुले पाणिनीको अष्टाध्यायी, मीमांसा, कौमुदकी व्याकरण लगायतका संस्कृतका महत्वपूर्ण ग्रन्थहरुको अध्ययन गरेको पाइन्छ।
अब माथि उल्लेखित विषयले के प्रष्ट बनाउँछ भने हामीले संस्कृतलाई जसरी उपेक्षा गरिरहेका छौँ, त्यसरी नै विदेशीहरुले रहरले संस्कृत भाषाको ग्रहण गरिरहेका छन्। कस्तुरीले आफूसँग भएको सुगन्ध थाहा पाउँदैन भनेजस्तै हामीले आफ्नो भाषा, संस्कृति र कलाको महत्व नबुझेर अंग्रेजी बोल्नु र पढ्नु मात्रै बौद्धिक हुनु हो भनिरहेका छौँ।
अंग्रेजी नजान्ने व्यक्तिले नेपालीमा जतिसुकै गहन विषयवस्तु उठाएपनि त्यसलाई हलुका कमेन्ट गर्ने हाम्रो बानी नै बनिसकेको छ। अझ प्रायः निजी स्कुल, कलेजमा त नेपाली भाषा बोल्न विद्यार्थीलाई कारबाही नै गर्ने गरिन्छ।
भाषा भनेको सञ्चारको माध्यम हो, कुनै भाषाबारे नजान्दैमा सानो, निच र ज्ञान नभएको देखाउन खोज्नु भने आफैँमा मूर्खता हो। तसर्थ, यस लेखमा अंग्रेजी भाषा नपढौँ, नजानौँ र केही होइन भन्ने उल्लेख गरिएको होइन।
यसको महत्व पनि छ, अझ ग्लोबल भिलेजको अवधारणले त विश्व नै एउटा गाउँमा परिणत भएको छ। तसर्थ पनि अंग्रेजी भाषाको ज्ञान जान्नु अपरिहार्य नै भएको छ। तर, त्यसो भन्दैमा हाम्रा भाषा, संस्कृति, कलाभन्दा पनि माथि पश्चिमा भाषा र संस्कृतिलाई राख्नु भने दुःखद् नै हो।
नेपालीले अंग्रेजी जानेन भनेर गिज्याउनु र अंग्रेजी नबोल्नेहरु बौद्धिक नै हुँदैनन् भन्ने सोचाइ राख्नुलाई भने निच सोचाइ बाहेक अरु संज्ञा दिन सकिँदैन।
भाषा सञ्चारको माध्यम हुँदा यसको महत्व यत्रतत्र सर्वत्र छ, तर अंग्रेजी नजान्नेको आत्मसम्मानमा ठेस पुर्याउनु वा उनीहरुलाई अशिक्षित र ज्ञान नभएको व्यक्तिको दर्जामा राख्नु पनि उत्तिकै दुःखद् छ।
तसर्थ पनि हरेकको भाषा, संस्कृति, कला र पहिचानको सम्मान गर्ने संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो।