पूर्णिमाको रातमा वरपरका चिज सहजै देखिए झैँ मेरा आँखामा त्यो समय देखिँदै छन् अहिले।
त्यो समय अर्थात् मेरो पहिलो श्वास देखिको अहिलेसम्मको समय, मैले जीवन जिएको समय अथवा मैले आफू बाच्नका निम्ति ऋण लिएको वायुको परिमाण मध्ये प्रयोग गरिसकेको परिमाण प्रयोग हुँदा लागेको समय।
आफ्नो त्यो समयले यो समयलाई असर गर्दैन भन्नु भनेको कर्कलोको पात ओढेर रुझ्दिनँ भनेजस्तै हो। म धेरै पहिलेको पिँढी त हैन तर पनि मैले त्यो समयमा जीवनभरका लागि सम्झेर हाँस्दै अहिलेको नयाँ पिँढीलाई सुनाउन लायक हुने जति संस्मरण बनाएको छु।
सायद यी संस्मरण म लगायत म जस्तै अरु कोहीले पनि बनाउनु भएको छ होला।
बिहानै भाले बासेसँगै उठेर निमका डाक्ला मुखमा हालेर बुरुस गरिन्थ्यो, ब्रस हैन, हामी बुरुस गर्थ्यौं। सदाबहार बग्ने सिसुवा खोलाको निर्मल कञ्चन कोमल जलले आफूलाई पखाल्थ्यौं।
हाम्रो साबुन बालुवा हुन्थ्यो। अनि आफूलाई पखालिसकेर आफ्ना साथीसंगीसँग लुकीलुकी अर्काको बगैँचामा गएर काक्रा चोरेर सत्य युगमा भगवान एकैछिनमा बिलाए झैँ विलीन हुन्थ्यौं।
त्यो बेला हामी इन्जिनियर पनि थियौँ, खोयाको भवन बनाउने इन्जिनियर। हामी डाक्टर थियौँ, भाँडाकुटी खेल खेल्दा कोही बिरामी भए उपचार गर्ने डाक्टर।
एउटा प्राइभेट विद्यालयमा पढ्थेँ म। हाम्रो गाउँमा जम्मा एउटा प्राइभेट अनि एउटा सरकारी विद्यालय थियो। विद्यालयको घेरबेरा जति नै कफल्लो भएपनि हाम्रा गुरुहरु हामीलाई मजबुत बनाउन कुनै मौका छोड्नु हुन्न थियो।
दिइएको गृहकार्य एवं कक्षाकार्य गरे औधि माया पाइने तर केही गल्ती भए अथवा आफ्नो काम नगरे शरीरभरि हरियो बासको सुम्ला बस्ने। अहिले त्यो समयमा खाएको पिटाइ सम्झिँदा आङ सिरिंग हुन्छ। त्यो बेलाको ती पिटाइले अहिलेसम्म गलत बाटोमा हिँड्न हुँदैन भन्ने डर दिएको छ।
त्यो बेलामा एउटा विद्यालयको डेढ सय विद्यार्थी अनि त्यत्रा विद्यार्थीका लागि एउटा चर्पी थियो। यही एउटा चर्पी त्यत्रा विद्यार्थीले प्रयोग गरेको कुराले जीवनमा हरेक कुरा संयोजन गरेर कसरी अघि बढ्नु पर्छ भन्ने कुराको बोध गराएको छ।
त्यो समयको खेलहरु पनि उत्तिकै मजेदार हुने। चम्चीमा गुच्छा राखेर त्यो गुच्छा नझारी निश्चित दूरीसम्म पुग्नुपर्ने, सियोधागो, डण्डीबियो, फुटबल, म्युजिकल चियर आदि इत्यादि। ती खेलहरु अहिले कतै विलीन हुँदै आएका छन् यो समयमा।
अहिले याद आयो! हामी भाँडाकुटी खेल औधी खेल्थ्यौँ। कोही आमा बन्ने, कोही बाबा बन्ने, कोही शिक्षक बन्ने, कोही शिक्षिका बन्ने, कोही विद्यार्थी बन्ने! जे होस् कोही न कोही केही न केही बन्ने।
त्यो समयमा हामीले डोजर देख्नु भनेको अहिले मध्यम वर्गीय मान्छेले प्लेन चढ्नु थियो। हामी डोजर देख्दा त्यति खुसी हुन्थ्यौँ जति यो नयाँ पुस्ता मोबाइल पाउँदा खुसी हुन्छ। डोजर देख्दा झर्न लागेको धुर्मुसे कट्टु एकहातले तान्दै, नाकबाट झरनासरि बगेको सिँगान अर्को हातले पुछ्दै 'डोजर… डोजर… डोजर… डोजर…' भन्दै कोही केटा मनपरेको केटीको पिछा लागेझैँ पिछा लाग्थ्यौँ हामी।
बल्लबल्ल घरमा एउटा टेलिभिजन जोडिएको हुन्थ्यो। अचम्म लाग्थ्यो, कसरी यति धेरै मान्छे यो सानो बाकसमा अटेका भनेर। 'सायद यो टेलिभिजन खोल्यो भने भित्र मान्छे भेटिन्छन् होला है! एन्टिनाबाट सानो भएर पस्यो भने टेलिभिजनमा आफू पनि देखिन्छ होला है!' लगायतका प्रश्न हरबखत हुन्थ्यो हाम्रो दिमागमा।
दिनको २ बजे 'टु पिएम म्याटिनी शो' मा प्रत्येक शनिबार एउटा चलचित्र दिन्थ्यो। चलचित्र हेर्दा हामी चलचित्रमा गुण्डा नाइकेलाई कुट्दा हिरो उफ्रिएभन्दा बढी उफ्रिन्थ्यौँ।
रातको ९ बजेसम्म बसेर हाँस्य टेलिश्रृंखला मेरी बास्सै, तितो सत्य, जिरे खुर्सानी लगायतका कार्यक्रम हेर्थ्यौं। आजको श्रृंखला हेरेपछि भोलिको दिन स्कुलमा त्यो श्रृंखलाको चर्चा गर्दै अब अर्को साताको श्रृंखलामा के होला भनि छलफल गर्थ्यौं।
त्यो समयमा नोकिया फोन पाइन्थ्यो। फोन हुन्थ्यो तर फोन कहिल्यै लाग्दैन थियो। स्काईको सिम, अझ टावर नै नपाइने दुर्गम ठाउँ। छ भन्दा छ भनेजस्तै थियो फोन।
सबेरै उठेर स्कुल जान्थ्यौं, पढ्थ्यौं, घर फर्किन्थ्यौं, अनि घर फर्केर झोला एकातिर फुत्त फ्यालेर फेरि स्कुल जान्थ्यौं, स्कुलको चौरमा भकुण्डो खेल्न। दिन फेरि भोलि फिर्छु भनेर आफ्नो बाटो लाग्थ्यो तर हामी लाग्दैनथ्यौं। हामी तब घर जान्थ्यौं जब घरबाट कुचोको झटारो आउथ्यो।
एकदिन म स्कुल जाँदा टाई नलगाई गएको थिएँ। मैले त्यो दिन भुलेको थिएँ टाई लगाउन। त्यहीं दिनमा चेकिङ हुँदा मैले कुखुरा बनेर स्कुल पुरै राउण्ड मारेको थिएँ। त्यो दिन सम्झिँदा अहिले हाँसो लाग्छ।
थाह छैन म र मेरा साथीको त्यो नादानी थियो या अरु केही तर एकदिन हामीले एकजना साथीलाई बाटो छेकेर पिटेका थियौँ। उसको बुबा प्रहरीमा हुनु हुन्थ्यो। भोलिपल्ट हाम्रो सातो गाथ्यो उसको बुबालाई स्कुलमा देख्दा। हामीले निकै पिटाई खाएका थियौँ त्यो दिन, तेल लगाएर चिल्लो बनाइएको लौरोले।
हामी सानो हुँदा आँखा झिक्ने मान्छे, केटाकेटीलाई अपहरण गर्ने मान्छेको खुब हल्ला चल्थ्यो। त्यही डर र त्रासको बीचमा हामी केही साथीहरु स्कुलको कोठामा खेल्दै थियौँ। एक्कासी कोही आएर हामीलाई आफू आँखा झिक्ने मान्छे भनि डराउनु भएको थियो। अहिले उहाँलाई अनि त्यो समयलाई सम्झिँदा फेरि तिनै साथीसँग त्यही मिठो डरको आभास गरौ झैँ लाग्छ।
भनेर भानि नसकिने, लेखेर लेखि नसकिने त्यस्ता पलहरु अहिले पनि मेरा यी आँखामा झल्केर मेरो मनमा बिम्ब हुन्छन्।
त्यो अनमोल समय सम्झिँदा फेरि त्यही समयमा पुगेर आफ्ना सम्पूर्ण तनावलाई आफूबाट कोसौं दूर राखौं झैँ लाग्छ।
मलाई यही समयमा भूपी शेरचनको 'प्रात: एक आघात' नामको एउटा कविता याद आयो। उनले भनेका छन्:
'प्रत्येक दिन
चोर झैँ सुटुक्क आएर
मलाई भोरले अलिकति निचोर्छ
ब्युझन्छु म किरणहरुको स्पर्शले
देख्छु प्राचिका नियमित रुपमा माझिएका
सेतासेता उज्वल दाँत
हुन्छ मनको कुनै कुनामा
एक हल्का तर तीक्ष्ण आघात
आहा! सकिँदै गइरहेछ मेरो जीवन
प्रत्येक दिन एक निश्चित मात्रामा तुथपेष्ट झैँ।'
वास्तवमा हामीले 'यो समय' मानेको समय 'त्यो समय' मा परिवर्तन हुन कति समय लाग्दैन। हाम्रो जीवन समय एक निश्चित मात्रामा तुथपेष्ट झैँ सकिँदै गएको छ। त्यो समयको यादहरु तुथपेष्टको खाली बट्टामा थोरै हावा भरिएझैँ हाम्रो हाम्रो सकिँदै गएको जीवनमा 'त्यो समय'को यादहरु भरिएको छ।
यी सबै कुरालाई एकैठाउँ भेला पारेर सोच्दा हवाईजहाजले भुइँ चुम्न लाग्दा यात्रुको मन चिसिएझैँ चिसिन्छ मन। जति मन चिसिए पनि आखिर हवाईजहाजले भुइँ चुम्नु नै छ, माथि माथि उडिसकेर नत्र गन्तव्यहीन हुन्छ हवाईजहाजको यात्रा।
यही प्रसंगमा मलाई आफ्नै एउटा कविता जोड्न मन लाग्यो-
एक सानो मैनबत्ती,
त्यसले दिने त्यो ठूलो प्रकाश,
अनि त्यो प्रकाशमा रमाउँदै,
आँखाको नानीमा सो प्रकाशलाई प्रतिबिम्बित गर्दै,
एक तरंग उत्पन्न गराउने,
कलिला हातपाउ भएका,
एक संघर्षशील जीवन जिउन,
सफल व्यक्तित्व बनी आकाश चुम्न,
प्रेरित भएको,
त्यो नाबालक,
आज सिएफएल चिमको,
ठूलो प्रकाशमा पनि अन्धकार देख्दछ!
सायद यही होला,
नाबालक अवस्था अनि यो अहिलेको अवस्थामा,
फरक ल्याई जीवन जिउन सिकाउने,
समय अनि परिस्थितिको खेल।
#विअलग्रिउअप
साँच्चै, अहिलेको समय सिएफएल चिमको जमानामा पनि मैनबत्ती बलेको भन्दा बढी अन्धकार छ।
त्यो समयमा म त्यो मलामी थिएँ जो जसको मलामी गएको छु, ऊ आफ्नो मलामी बनेर आओस् भनेर अपेक्षा गर्दथेँ। तर यो समयमा म त्यो मलामी छुः 'जो जसको मलामी गएको छु, ऊ आफ्नो मलामी बनेर आओस् भनेर कहिल्यै अपेक्षा गर्दिनँ।'
आहा! एउटा सुन्तला चकलेट पाउँदा पनि रुन्चे अनुहारमा मुस्कान छाउने ती दिन!
आहा! त्यो प्रिय समय जहाँ हुन्थ्यो त केवल जीवनभर नभुलिने पलहरुको आविष्कार।