नेपालमा बसेर पत्रकारिता गर्दा मैले एकदमै सम्मान गर्ने एक जना दाइ थिए। यहाँ उनको नाम लेख्दिनँ। तर यो लेखमा पक्कै उनी पनि समावेश हुनेछन्। किनकि यो लेखको मुख्य पात्र उनी हुन्।
उनी राजनीतिमा नेताको आशीर्वादले अलिकति हैसियत बनाएका छन् अनि पत्रकारितामा चाहिँ जिल्लाको ठूलै हैसियतमा छन्। उनले पत्रकारितामा लेखेर भन्दा पनि नेताको पछि लागेर हैसियत बनाएका हुन्। यसमा दुई मत छैन, न मेरो न त उनकै सहकर्मीको।
मलाई नेताको भजन गाएर ठूलो बन्नु थिएन, मैले गलतको विरोध ऊबेलादेखि नै गर्थें।
एकदिन उनको पार्टी र उनकै नेताको विरोध गर्दै फेसबुकमा स्टाटस लेखें। उनले रिसाएको इमोजी रियाक्ट गरे अनि तल कमेन्टमा लेखे ‘विदेशमा बसेर नभूक भाइ, औकातमा बस।’
उनले मेरो औकात औंल्याइदिए। मलाई उनको विरोध गर्नु थिएन, कमेन्टमा हाँसेको रियाक्ट गरेर मौन बसिदिएँ।
केही समयपछि फेरि उस्तै उनकै पार्टीको विरोधमा एउटा स्टाटस गयो मेरो। उनी फेरि उग्र भएर कमेन्टमा आए। मलाई उनको उग्ररूपले छोएन, मनमा उनीप्रति सम्मान नै थियो। उस्तैगरी हाँसेकै रियाक्ट उनका कमेन्टमा गर्दिन्थें।
तर बारम्बार उनले मप्रति नकारात्मक दृष्टि राख्न थालेपछि उनलाई फेसबुक बाट अनफ्रेण्ड गरें, उनीप्रतिको सम्मान हरायो। उनको कमेन्टको सोझो अर्थ हुन्थ्यो, ‘हाम्रा नेताको मलद्वारलाई हरिद्वार सम्झेर पूजा गर !’
म गलतलाई पनि सही भनेर जय–जयकार गर्ने हनुमान थिइनँ। मलाई कुनै नेताको पाउ मोल्नु थिएन।
आज उनी कता छन्, कुन नेताको पछि लाग्दैछन्, थाहा छैन।
एक जना साथी थिए नेपाल हुँदा। ज्यादै मन मिल्ने भन्दा पनि हुन्छ। ऊ विदेश आउनको लागि कैयौं पटक डिभी भर्यो। तर डिभी चाहिँ आजसम्म पनि परेन।
सामान्यतया राजनीतीमा रुचि राख्ने उसले मलाई आजभोलि दुश्मन नै ठान्छ। कम्युनिष्टको राजनीति गर्ने उसले मलाई म्यासेजमा तथानाम भन्छ, म सहन्छु। तर एकदिन मेरो स्टाटसमा आएर आफैं भुक्यो, ‘साले ! विदेशमा बसेर नभूक!’
म छक्क परें, गर्न के सकिन्थ्यो र। कमेन्ट डिलेट गरें। म्यासेजमा ‘सरी साथी ! ’ लेखेर फेसबुके मित्रताबाट बिदा लिएँ।
उसँग दैनिक कमेन्ट र म्यासेजमा बाझेर मित्रता टिकाउनु थिएन मलाई। ऊ नकारात्मक प्रस्तुत हुन्थ्यो, म सहन नसक्ने! अन्ततः फेसबुके बाटो टुंगियो।
मान्छेहरू भन्छन्, ‘नकारात्मक कमेन्टको वास्ता नगर।’
तर म सक्दिनँ। आफ्नै बानी हुन्छ या सोच्ने शैली। वास्तै नगरी कसरी बस्नू! शरीरमा काँडा उम्रन्छ।
गलतलाई गलत हो भन्दा गाली गलौजमा उत्रने केही त्यस्ता दर्जनौं मित्रहरूलाई मैले फेसबुके मित्रताबाट बिदा दिएको छु।
सकारात्मक कुरामा नकारात्मक टिप्पणी सहन नसकेरै होला, हिजो आत्मीय लाग्ने, आदरणीय लाग्ने मान्छेहरू आज मलाई घृणा लाग्छ।
साँच्चै भन्ने हो भने मलाई चिनेका र मैले चिनेकाहरूले मलाई ‘विदेशमा बसेर नभूक !’ भन्दा चित्त दुख्छ।
म भुक्नको लागि विदेश आएको हैन। भुक्न नेपालमै सजिलो थियो।
समय प्रशस्त थियो, आफूजस्तै भुक्ने दर्जनौं साथीहरूको ग्याङ थियो। म भुक्नकै लागि परदेश आउनु पर्दैन्थ्यो । खुल्लम खुल्ला भुक्ने अधिकार नेपाली संविधानले दिएको थियो।
परदेश हिँड्नु सबैका रहर पनि हुँदैनन्, बाध्यता पनि त हुन्छ। मेरो आफ्नै बाध्यता थियो होला, अरू कसैको रहर थियो होला।
नेताको तलुवा नचाट्दासम्म सामाजिक हैसियत बन्दैन। व्यवसायिक प्रगति गर्न आफ्नै व्यवसाय छैन। जागिर गर्न पढाइ छैन, पढाइ गर्न आर्थिक हैसियत छैन।
सबै नमिल्ने भएपछि सबभन्दा सजिलो भनेकै झोला बोकेर कुद्नु हो परदेशतिर। परदेश कुदेको मान्छे घरदेशको बारेमा बोल्नै नमिल्ने हो ? केही मनका कुरा लेख्नै नमिल्ने हो ? उनका नेताको कुरा काट्नै नमिल्ने हो ?
गएको साता एउटा ब्लग लेखें। कामको सम्मानको विषयलाई लिएर लेखिएको त्यो ब्लगमा दर्जनौं कमेन्ट नकारात्मक खालका थिए। ब्लग पढेर कमेन्ट गर्नेहरू सकारात्मक थिए, तर शीर्षकमात्र पढेर कमेन्ट गर्नेहरू यति तुच्छ भाषामा कमेन्ट गर्दै थिए कि मैले सहनै नसक्ने।
ब्लगमा एउटा दाइले भनेको भनाइलाई शीर्षक दिइएको थियो, मान्छेहरू मलाई घिसार्दै थिए। उनीहरू सबै नकारात्मक कमेन्ट गर्नेहरूको एउटै अर्थ थियो, ‘साला ! विदेशमा बसेर नभूक!’
देशमै व्यवसायिक क्षमता नहुने र रोजगारीको अवसरबाट बञ्चित हुनेहरूका लागि वैदेशिक रोजगारी एउटा अवसर पनि हो। देखिएका सपनाहरू केही हदसम्म पूरा गर्न सकिने ठाउँ हो परदेश।
परदेश आउनु कतिका लागि सपना होलान्, तर आइसकेपछि फर्कने नै एउटा प्रमुख सपना भैदिन्छ। जुन हरेक परदेशीले हररात देख्छ।
परदेश आउँदा धनको सपना देख्नेहरू आएकै अर्को दिनबाट देश फर्केको सपना देख्न थाल्छन्। एउटा निश्चित सपना पूरा गरेपछि आफ्नै देश फर्कन्छु भन्नेहरू कामको चिन्ता सँगसँगै देशको चिन्ता गर्छन्।
परदेशीहरूले देशको चिन्ता, नेताका कर्तुत अनि राजनीतिक विचार फेसबुकमै लेख्छन्। ती लेख्नासाथ ओइरिन्छन् नकारात्मक कमेन्टहरू। नकारात्मक कमेन्ट गर्नेहरू ठान्छन् कि परदेशीहरू नेपालको विषयमा बोल्नै पाउँदैन।
सामाजिक सञ्जालमा फेक आइडी बनाएर नकारात्मक प्रस्तुत हुनेहरूसँग कुनै गुनासो छैन मलाई।
ती त सामाजिक सद्भाव खल्बल्याउँदै मजा लुट्नेहरू हुन् तर हिजो भद्र लाग्नेहरू पनि आज तुच्छ बनिदिँदा पो मन दुख्छ।
गलतलाई गलतभन्दा समेत झम्टन आउने केही अराजक साथीहरूलाई त बिदा गरौंला तर भद्र लाग्नेहरूलाई कसरी चिन्नु ? हिजो भद्र लागेकाहरू पनि वैचारिक बहस नगरी तुच्छ भाषामा उत्रन्छन् अनि डर लाग्छ मनका कुरा लेख्न।
हिजो रातदिन विदेश उड्ने सपना देख्नेहरू आज नेताको पछि लागेर बनाएको सानो हैसियतमा हामी परदेशीलाई भुक्न सिकाउँदैछन्। दर्जनौं पटक डिभी भरेर नपरेपछि अन्ततः थलिएकाहरू मलाई पलायन भएको बताउँदै नेपाली राजनीतिबारे नभुक्न सुझाव दिन्छन्।
आफूले देखेको असल संस्कारको बारेमा लेख्दा नलेख्न उर्दी जारी गर्छन्, भोगेको रहन–सहन बारेमा बोल्दा नबोल्न उर्दी जारी गर्छन्।
के आफूले देखेका असल कुरा बताउनु पाप हो ? असल संस्कार लेख्नु गलत हो ?
एउटा दाइले कमेन्टमा लेखेका थिए, ‘आफ्नो बारेमा सोच, देशको बारेमा सोच्न पर्दैन !’
हेर्दा मात्र हैन, हैसियतमा पनि भद्र ती दाइ मानसिक रूपमा विचलितजस्तै लाग्यो मलाई। विचारसँग विमती राख्न पाइयो तर परदेशीहरूलाई बोल्नै नदिने उनको यो कस्तो सोच ?
आफ्नो चिन्ता गरेकै कारण त छाडियो जन्मेको देश, आमाको काख। यता आएपछि उताको माया लाग्नु स्वभाविकै हो। माया लाग्छ भन्न पनि नपाउनु ?
परदेशमा बस्ने सम्पूर्ण नेपालीलाई देशको चिन्ता लाग्छ।
एकदिन फर्कने सपना बुन्दै ड्युटीमा खटिन्छन्। अनि आफूले देखेको परदेश, भोगेको परदेशको बारेमा सामाजिक सञ्जालमा लेख्छन्। यसलाई परदेशमा बसेर भुकेको ठान्नु हुँदैन। यो त देश प्रतिको माया हो।