बिहान आफ्नो लागि गर्ने सबै काम सकेपछि मोबाइलमा छिरेँ। बिहान उठेर एकचोटि म्यासेन्जर हेर्नु पनि अहिलेको नित्यकर्म नै भएको छ। सायद धेरैले यसो गर्छौं कि जस्तो लाग्छ मलाई।
बहिनीले एउटा भिडिओ पठाएकी रहिछे। आमा देखिइन् भिडिओमा, अनायसै मुस्कुराएछु र भिडिओको त्रिकोण बुढीऔँलाको टुप्पोले थिचेछु।
पहिले अलिकति हाँसेँ। भिडिओ उनलाई थाहै नदिई खिचिएको थियो। मेरी आमाको यति उन्मुक्त हाँसो, निर्धक्क पारा र अलौकिक आभा पहिले कहिल्यै देखेकी थिइनँ। दोहोर्याएर हेरेँ। उनी साँच्चै खुलेकी थिइन्, कुनै दकस, डर, संकोच थिएन। मस्त ताली पिट्दै पुरानो लोक भाका गाउँदै थिइन्।
मलाई दिनभरि आनन्द महसुस भयो। मलाई उनी भर्खरै उड्न सिकेकी पुतली जस्तै लाग्यो। किशोरी केटी, जो मात्र ऊ हो, केवल ऊ।
मैले मेरी आमालाई जिम्मेवार आमाका रुपमा देखेँ, उनको र मेरो उमेर जम्मा १७ वर्षको फरक छ। उनको जीवन योजनावद्ध कहिल्यै थिएन, भएन। स्वनिर्णयको अधिकार थिएन। जन्ती आउने बेलासम्म आफ्नो बिहे हो भन्ने थाहा नभएकी मेरी आमा क्षणभरमै अर्काकी भएकी थिइन्।
खोई किशोरी रहर कता पुरिए होलान्? उनी छोरी थिइन् बुहारी बनिन्, श्रीमती बनिन्, आमा बनिन्, अब हजुरआमा पनि हुन्। अरु अनेकन माकुराको जालो जस्ता सम्बन्धहरुको जालभित्र कहिले यता कहिले उता हुत्तिंदै बाँच्दै र अरुको सहारा अनि आशाको केन्द्र बनिरहिन्।
हामीले आमाबाट खोज्यौं मात्र, दिन जानेनौं। भौतिक आवश्यकता पूरा गर्नु र हेरचाह गर्नु, दिनु होइन रहेछ। उनलाई कहिलेकाहीँ उनीमात्र बन्न प्रेरित गर्नु दिनु रहेछ।
हाम्रा हरेक खुसीलाई आफ्नो खुसी बनाएर बाँचेकी हाम्री आमाको आफ्नो खुसी के होला? के उनले पाउनु पर्ने सबै पाइन् होला त? मन लागे झैँ बाचिन् होला त? कहिले बा-आमाको डर, कहिले लोग्नेको डर र पछि छोराछोरीले के भन्लान् भन्ने दकस र डरले आफ्ना रहरहरु कति मारिन् होला?
मैले उनका अनुहारमा सधैँ जिम्मेवारीबोध, कर्तव्य, छोराछोरीमाथी देखिएका सपना, आकांक्षा, सुन्दर अनि सुखद् भविष्यको आशा मात्र देखेँ। कति पूरा भए होलान् र खुसी मनाइन् होला। धेरै पूरा भएनन् र निराश भइन् होला। छोराछोरीका कारण कयौँ रात ननिदाई काटिन् होला? कतिपल्ट भोकै सुतिन् होला?
आमाहरु यस्तै हुन्, सबैका आमा यस्तै हुन्।
म पनि आमा हुँ, म पनि यस्तै यस्तै छु।
घरको प्रिन्टर बिग्रेको थियो। छोरालाई केही प्रिन्ट गर्न परेछ। मेरो कामको इमेलमा लिंक पठायो। लिंकको तल कसरी लिंक खोल्ने र कसरी प्रिन्ट गर्ने भनेर बुँदागत रुपमा निर्देशन दिएको थियो।
या त ऊ मसँग जिस्केको हुन पर्छ या त उसलाई उसकी आमाले जान्दिने होला जस्तो लागेको हुनुपर्छ। मलाई पछिल्लो कुरा मान्न मन लाग्यो। मलाई यो कुराले आनन्द दियो कि उसकी आमा केवल उनीहरुले भनेको कुरा पकाएर खुवाउन दिने र उनीहरुको ख्याल राख्न मात्र जान्दछे।
मलाई रमाइलो लाग्यो। छेउकी साथीलाई सुनाएँ। ऊ हाँसी र आफ्नी आमासँग हिजो फोनमा झगडा परेको कुरा सुनाई। फोनमा ऊ आमालाई केही सिकाउँदै रैछे। आमा आफ्नै जिद्दी गर्ने रहिछन् र उसको कुरा मानिनछिन्।
हाम्रो कुरा हुँदै थियो संयोगवस् मेरी सहकर्मीलाई उनकी आमाको फोन आयो। उतापट्टिको आवाज नसुने पनि सजिलै अन्दाज लाएँ कि आमा अफिसको भवन बाहिर आएकी छन्, उसलाई एकैछिन बाहिर निस्कन भनेकी छिन्। ऊ हतारिँदै निस्की।
एकैछिनमा हस्याङफस्याङ गर्दै आई।
'सबै ठिक छ नि?' एकैछिन पनि नकुरी सोधेँ। उसको हातमा सानो झोला पनि थियो।
'ठिक छ। केही स्पेशल पकाइछिन् आज, मलाई मन पर्छ भनेर ल्याइदिएको रे!'
'आमाहरु सधैं आमै हुने रैछन्, कहिल्यै नसुध्रने!' उसको अनुहारमा आमाको मायाको छाया स्पष्ट देखिन्थ्यो।
'तैले पनि थाहा पाउछेस् आफू आमा भएसी' मैले भनेँ।
मनैभरि प्रश्नका आधिबेहरी चलिरहे। के आमा भएपछि अथवा अनेक सम्बन्धमा जेलिएपछि हामी आफू नै रहँदैनौं त? आफ्ना रहर र इच्छालाई थिच्नु नै सामाजिक हुनु हो। अर्कालाई दया, माया, न्याय गर्नु र जिम्मेवार हुनु मात्र जिउनु हो त?
आमाहरुले आफूलाई कहिले दया गर्ने? कसले सम्झाउने/झस्काइदिने यी कुराहरु? अनेक सम्बन्धहरुको जालोमा जेलिएको एउटा अस्तित्व मात्र होइन मान्छे। ऊ आफू पनि कोही हो। नितान्त आफू।
खोज्न, भेटाउन र जिउन मात्र एउटै कुराको ज्ञान भए पुग्ने रहेछ सायद। कम्तीमा मेरी आमालाई हेर्दा त त्यस्तै लाग्यो। उनले बुझिन् कि संसारमा सोचेजस्तो र योजना बनाएजस्तो केही नहुने रहेछ। उदाहरण उनकै छोराछोरी हुन्। ठूला आशा र सपना थिए, निराशामा बदलिए। तर जे छन् ती पनि त सन्तोषप्रद छन्।
उनी खुल्ने साहस गरेकी छिन्। छोरीहरुले उनको साथ दिएका छन्, हौसला दिएका छन्। बाच्ने उत्प्रेरणा दिएका छन्। समयको गतिसँगै आमालाई पनि सँगसँगै हिँडाएका छन्।
आफ्नी आमालाई एउटी केटीको रुपमा हेर्नु भएको छ कहिल्यै? सोच्नुस त? प्लिज आमालाई न्याय गर्नुहोला।