सानी छिन उनी। उमेर पनि भर्खरकै हो। पुक्क गाला, लामो सिल्की कपाल, मिलेका दाँत, थेप्चो नाक अनि गोरो वर्ण। गत जेठमा जीवनका १७ वर्ष काटेकी उनीसँग काखमा चार महिनाको छोरा पनि छ। परार साल भगाएर पल्लो गाउँबाट घरमा ल्याएका श्रीमानसँगको ६ महिने बसाइपछि उनी एक्लिएकी हुन्।
त्यसो त उनको घरभरि सासु, ससुरा, देवर, जेठाजू, नन्द, आमाजू, जेठानी, उनीहरूका भन्ट्याङ भुन्टुङ धेरै छन्। आफैं सानी छिन् तर काखमा अर्को सानो आइसक्यो। उसको लालनपालनको गतिलो ढंग पुर्याउन सकस थपिएको छ। यतिबेला उल्झनमा अल्झिएको छ उनको जीवन।
यौन चाहाना र प्यास बुझ्न नपाउँदै श्रीमानसँगको छ महिने बसाइपछि गर्भवती भएकी उनी सुत्केरी हुँदा झण्डै-झण्डै मरेर बाँचिन्। अस्पताल टाढा भएका कारण २४ घण्टाको प्रशवपछि बच्चा जन्मिएको थियो। छोरोको अनुहार देख्न नपाएका १९ वर्षीय श्रीमान यतिबेला खाडीको कुनै मुलुकमा पसिना बगाउँदै छन्।
गाउँमा पढेर ठूलो मान्छे भएको कोही नदेखेकी उनले पढाइलाई तिलाञ्जली दिएकी छिन्। ‘हाम्रोमा पढेर ठूलो मान्छे भा’को कोही छैन। पढ्नुपर्छ भन्ने कसैलाई लाग्दैन,’ उनी भन्छिन्। जीवनसँग दिक्क लाग्न थालेपछि भने अलि अलि पढाइको महत्वले सताउन थालेको छ।
सानो उमेरमा बिहे गर्न हुँदैन भन्ने कहीँकतै सुने पनि कारण थाहा नपाएका कारण १५ वर्षको उमेरमा प्रेम विवाह गरेकी उनीजस्ता धेरै नाबालिकहरू आज आमा बनेर कष्टकर जीवन जीउन बाध्य छन्। गाउँभरि आफूजस्तैको हुलमा उनी फेरि थपिएकी पात्र मात्र हुन्। यो प्रक्रिया कतिन्जेल चल्छ कुहिरोको कागजस्तै छ।
कक्षा १० मा पढ्दै गरेकी एक जना बहिनी अन्जानमा गर्भवती भइन्। बिहे गरेपछि मात्र गर्भ रहन्छ भन्ने बुझाइले उनलाई धोका दिएको थियो। उनीजस्तै बिहे नहुँदै केही हुन्न भन्ने गलत धारणा बोकेका सहपाठीसँगको यौन सम्पर्कपछि गर्भवती बनेकी किशोरीले गर्भपतन गराउँदा झण्डै ज्यान गुमाउनु परेको थियो।
शिक्षकले कक्षा कोठामा पढाउँदा गतिलो ज्ञान दिएको भए यो जोडीले यौन सम्पर्कपछि बच्चा हुन सक्छ भन्ने बुझेर परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने बाटो खोज्थे होला। स्वास्थ्य शिक्षाका नाममा वर्षेनी लाखौं रकम खर्चिने सरकारी र गैरसरकारी निकायको लगानी खेर गएको माथिका घटनाले पुष्टि गर्दछन्।
जिल्ला-जिल्लामा रहने विभिन्न सरकारी स्वास्थ्य संरचनाहरूमा आज पनि २० वर्षमुनि बच्चा जन्माउने वा गर्भजाँचका लागि आउनेको संख्या ठूलो छ। राज्यले अपराध मानेको बालविवाहको परिणाम गर्भवती र सुत्केरीलाई सेवा दिन अस्पताल र स्वास्थ्य संस्था बाध्य छन्।
केन्द्र र प्रदेश सरकारहरू जहिले पनि राजनीतिको काँचो खिचडीमा व्यस्त भइदिने र स्थानीय सरकार सञ्चालकलाई बालविवाह समस्या हो भन्ने सोच नै नआउने भएका कारण समस्या जहाँको तहीँ छ। बालविवाहले वर्षेनी निम्त्याउने समस्याका बारेमा छलफल समेत नहुनु दु:खद् पाटो हो।
कानुनले अपराध मानेको बालविवाहको भोजमा पुग्ने स्थानीय भद्रभलादमीहरूले लाज मान्न छोडेपछि सरकारी संरचना पनि उजुरी नआएको भन्दै जहिल्यै पन्छिने गरेको देखिन्छ। प्रहरीलाई उजुरी नआएपछि हाइसन्चो हुने गरेको छ।
बालविवाहपछि शारीरिक, मानसिक र सामाजिक रुपले नकारात्मक असर गर्छ भन्ने कुराको ज्ञान अज्ञानीका घरभित्र छिर्न नसक्नु एउटा पाटो हो भने सामाजिक सञ्जालको अधिकतम् प्रयोगले पनि यसलाई मलजल दिएको छ।
विद्यालय जाँदा चाहिने जन्मदर्ताले हैरानी खेपेका बालविवाह गर्ने किशोर-किशोरीहरू अर्को उल्झनमा पर्ने गर्छन्।
गाउँमा रहने वडा सचिवले विवाह दर्ताको कागज नहुँदै जन्मदर्ता गर्न अल्छी मान्ने गरेका कारण समस्या थपिन्छ।
त्यसो त यो वर्ष सरकारी तवरबाट दिइएको पोषण भत्ता पाउनबाट धेरै बालबालिका छुटेका छन्। सानैमा बच्चा जन्माएका आमाका सन्तानले जन्मदर्ताको अभावमा पोषण भत्ता पाउन सकेनन्। अन्जानमा वा रहर र लहलहैमा लागेर गरिने विवाहले देशका धेरै किशोर-किशोरीहरू थप उल्झनमा परिरहेका छन्।
नबुझेरै गरिने विवाहले शारीरिकसँगै मानसिक समस्या पनि बढाउँदै लगेको छ। प्रहरीले वर्षेनी सार्वजनिक गर्ने अपराधको तथ्याङ्कमा बालविवाहका कारण आत्महत्याको ठूलै संख्या देखिन्छ तर बालविवाह बदर वा कानुन विपरीतको काम भन्दै परेका उजुरीको संख्या एकदमै न्यून देखिन्छ।
हिजोलाई भुलेर आजैबाट बालविवाह न्यूनीकरणमा सरकारी र गैरसरकारी निकायले बेलैमा आफ्ना गतिविधि बढाउनु पर्ने देखिन्छ। त्यसो त जिल्ला-जिल्लामा रहने स्थानीय प्रशासन र जनप्रतिनिधिहरूले पनि कानुनले अपराध स्वीकार गरेको यो विषयलाई गम्भीरताका साथ हेर्नु पर्ने देखिन्छ।
यदि हामी सबैले छोरीको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यका लागि समयमै ध्यान दिन सकेनौं भने कुनै दिन तपाईं वा मेरो घरमा दु:खद् दुर्घटनाका रुपमा बालविवाहले प्रवेश नपाउला भन्न सकिँदैन। आजै अहिलेदेखि सबै बालविवाहको अन्यका लागि हातेमालो गरौं।