दिनभरको काम सकेर म आफू बस्ने अपार्टमेन्ट फर्किन्छु। केही समयको सरसफाई र खानपिनपछि मेरो हातमा मोबाइल पर्छ। हातमा मोबाइल पर्ने बित्तिकै हतार-हतार अनलाइन समाचारका हेडलाइन र सामाजिक संजालका भित्ताहरु नियाल्न पुग्छु।
प्रायः निराशाजनक समाचार पढ्न पर्नु त हाम्रो दुर्भाग्य नै हो। किनकि दिनहुँका राजनैतिक खिचातानी, अस्थिरता र हत्या हिंसाका समाचार नै हाम्रा अखबारहरुका हेडलाइन हुन्छन्। सामाजिक संजाल पनि तिनै राजनैतिक विषयवस्तुका कुराले ताती रहेको हुन्छ।
राजनैतिक कुरालाई एकछिन थाती राखेर हेर्ने हो भने सामाजिक संजालमा धेरै देखिरहन र पढिरहन पर्ने दुःखद् समाचार वा पोस्टहरु हुन्छन्- कसैलाई न्याय देऊ। यसरी कसैलाई न्याय देऊ भनेर लेखिएका पोस्टहरुमा प्रायः अन्यायमा परेका हाम्रै महिला दिदीबहिनीहरु हुन्छन्।
निर्मलाहरुले वर्षौंदेखि न्याय नपाएको देशका नागरिक हौँ हामी, त्यसैले नै होला सरकारका न्याय संयन्त्रहरुमाथि सधैँ जनताले खबरदारी गरिरहन परेको छ।
यसरी कोही चेली अन्यायमा परेको बुझेपछि हामी न्यायप्रेमी नागरिकहरुले बेलाबेला बेस्सरी सामाजिक संजाल तताउछौँ। त्यतिमात्र होइन, माइतीघर मण्डलासम्म त धेरै पटक न्यायको लागि आवाज बुलन्द गर्न पुगे हौँला।
न्याय प्रेमीहरुले चर्को आवाज उठाएकै कारण कतिपय ठाँउमा अन्यायमा परेका दिदी बहिनीहरुले न्याय पाएका पनि छन्। विभिन्न खबरदारी र सरकारको सक्रियतामा अपराधीलाई कारबाही हुँदै आए पनि हाम्रा दिदीबहिनीहरु महिला हिंसाको शिकार बनिनै रहेका छन्। किनकि कतिपय हाम्रा सामाजिक संस्कारले नै हाम्रा महिला दिदीबहिनीमाथि हिंसाको लागि प्रेरणा दिरहेका छन्।
म आज यहाँहरु समक्ष विवाहित महिला दिदीबहिनीहरुले भोग्नु परेको हिंसाको एक सामाजिक कारण 'दाइजो प्रथा' को चर्चा गर्न चाहान्छु। हाम्रा महिला दिदीबहिनीहरु हिंसामा पर्नुको एक मुख्य कारण दाइजो प्रथा हो भनेर मैले भनिरहनु पर्ने कुरा होइन।
तर भन्नै मन लागेको कुरा के हो भने जति पनि दाइजो विरोधी आवाज उठाउनु हुन्छ, उहाँहरु अधिकांश महिलाहरु नै हुनु हुन्छ। त्यसमा नगन्य पुरुष स्वभाविक हो। सामाजिक संस्कार नै भएर जरो गाडेको दाइजो प्रथाको विरोधमा सीमित महिला दिदीबहिनीहरुले मात्रै बोलेर वा उहाँहरु मात्रै लडेर सम्भव छैन।
त्यसैले हरेक चेतनशील पुरुषहरुले पनि यसको विरुद्धमा खुलेर बोल्नै पर्छ। म पनि एक पुरुष हुँ र ममात्रै निकै जान्ने बन्न खोजेको पक्कै होइन, मसँग त्यस्तो खास केही ज्ञान र शक्ति छैन। तर जति नै पढेको छोरो मान्छे होस्, बिहे गर्ने बेलामा म दाइजो लिँदै लिन्नँ भन्ने अडान कसैले लिएको मैले देखेको छैन।
यसमा पनि अपवादमा हुनेहरुले अन्यथा नलिनु होला। अधिकांश शिक्षित दाजुभाइहरु नै बिहेमा दाइजो माग्दैनन् तर दिने हो भने बिना संकोच सहर्ष स्वीकार्छन्। यसले यो प्रथा सजिलै रोकिने संकेत देखिँदैन।
अर्को तिर सामाजिक कुरीतिसँग जोडिएको दाइजो प्रथाकै कारण अझै पनि थुप्रै चेलीहरुले आगोमा बलिरहन परेको छ। कतिलाई त पारिवारिक दबाबले नै आत्महत्या गर्न बाध्य पारिएको हुन्छ। कतिलाई परिवारले नै सामूहिक हत्या गरेर आत्महत्याको प्रमाण पेश गरेका घटना बाहिर आइरन्छन्।
कति चेलीले दाइजो नल्याएको भन्दै गरिने परिवारको मानसिक टर्चर सहेर बाँचेका होलान्। त्यसको कुनै न हिसाब छ न तथ्यांक छ।
अब पनि के यस्ता घटना अन्त्य हुनु पर्दैन र अझै पनि कहिलेसम्म हामीले हाम्रा दिदीबहिनीलाई पीडा भोग्दै बाँच्न बाध्य पार्ने? किताबी ज्ञान र स्कुल क्लेजकको शिक्षाले मात्रै पनि यो प्रथा रोकिने होइन रहेछ। यसको मतलब यो होइन कि हाम्रो शिक्षाको अर्थ नै रहेन।
शिक्षित युवाहरुकै कारण आज यो प्रथाको विरोध भैरहेको पनि छ तर नियन्त्रण भने भैरहेको छैन। जबसम्म हामी यस्तो खालको प्रलोभनबाट मुक्त हुँदैनौँ नि, तबसम्म हामीले पढेको ज्ञान र हाम्रो शिक्षाले यसलाई केही फरक पार्दैन र दाइजो प्रथा हाम्रा चेलीहरुको हत्यारा बनिनै रहनेछ।
समाजमा हरेक गलत प्रथा र संस्कारको अन्त्यको लागि चेतनशील युवापुस्ताको धेरै ठूलो भूमिका रहन्छ। सामाजिक संजाल र सडकमा न्यायको लागि चर्को आवाज बोल्ने हामी युवाहरु आफ्नै वा परिवारका सदस्यको बिहेमा दाइजो बहिष्कार गर्छु भन्न किन नसक्ने?
के पीडितको न्यायको लागि लड्ने तपाईँ-हामीले आफ्नै जीवनमा परिवर्तन लागु गर्न सक्छौँ? सक्नुपर्छ र यदि सक्दैनौँ भने सामजिक संजाल र सडकमा आएर विरोध गर्नुको कुनै अर्थ रहने छैन।
समाज र राष्ट्रको मार्गदर्शक राजनीति हो अनि राजनीतिलाई चलाउने देशका नेताहरु र तिनै नेताहरुको सबैभन्दा धेरै सम्पत्तिको स्रोत नै दाइजो देखिन्छ। ठूला नेताहरुको सम्पत्तिको मुख्य स्रोत नै दाइजो देखिँदा यसको प्रत्यक्ष असर सामान्य जनतामा पर्न जानु सामान्य हो। यस्तो कुराले समाजमा दाइजोलाई झन् प्रतिष्ठाको रुपमा विकास गर्न मद्धत गरेको छ।
महिला हिंसाको विरुद्धमा लड्ने, महिलालाई अधिकार सम्पन्न बनाउछौँ भन्ने समाजका अगुवाबाटै यो प्रथाको अदृश्य तरिकाले संरक्षण भएको छ। मैले यसो भनिरहँदा अहिले त दाइजो कानुनले नै बर्जित गरेको छ नि भन्ने प्रश्न तेर्सिन सक्छ।
हो, अहिले यसलाई कानुनले बर्जित गरेको त छ तर हाम्रो संस्कार र हाम्रो मनले बर्जित गरिसकेको छैन। त्यसैले कानुनले बर्जित गरी सरकारले जति नै कोसिस गरेपनि समाजले नै संरक्षण गरेको कारण सजिलै यो कुप्रथा हटिहाल्न मुस्किल छ।
हुनेखानेहरुले आफ्ना सन्तानको धुमधाम बिहे गर्नु र थुप्रो दाइजो लिनु दिनुलाई आफ्नो हैसियत देखाउने अवसरको रुपमा लिन्छन्। तर हामीले महसुस गर्ने हो भने देख्न सक्छौ हुँदाखानेहरुलाई हुनेखानेहरुले बढवा दिएको यो संस्कारले घाँटी निमोठिरहेको छ। न त गरिब निमुखाहरुसँग यसको खुलेर विरोध गर्ने हिम्मत हुन्छ न त थुप्रो खर्च गर्ने ल्याकत नै।
म सानै थिएँ, एक दिन हाम्रो बुवाले केही मान्छे लिएर बजार जानु भयो। पछि फर्किएर आउँदा नयाँ-नयाँ भाडाकुँडा र टन्नै सामान बोकेर आउनु भयो। पोका खोलेर हेर्दा त्यहाँ केही थान घडी र अन्य के-के धेरै सामान थिए।
म सानै भएको हुँदा सबै याद छैन तर घरमा नयाँ-नयाँ थुप्रै सामान ल्याएको देखेर म निकै खुसी भएँ। मैले बुवालाई सोधेँ- 'बुवा यो घडी कसले लगाउने हो?'
बुवाले झर्किंदै भन्नु भयो- 'यो तैले छुने होइन, मैलिन्छ।'
बुवाको झर्किएको उत्तर पाएपछि खुसीले फुरुंग भएको म चुप लागेर थन्किएँ। छेउमै रहनु भएकी आमाले भन्नु भयो- 'यो दिदीको बिहेमा भिनाजुहरुलाई दिन लाग्या हो, तँ पनि ठूलो भएसी तेरो बिहेमा यस्तै दिन्छन्।'
पछि बुझेँ, मेरो साइँली दिदीको बिहे हुन लागेको रहेछ। सानै हुनाले मलाई दिदीको बिहेमा कत्ति पनि दुःख लागेको थिएन। बरु मेरो बाल मस्तिष्कलाई कता-कता खुसी लागिरहेको थियो कि बिहे हुँदा त टन्नै सामानहरु पो ल्याउन पाइने रहेछ नि।
त्यो बेला आफू छिटै ठूलो भएर टन्नै सामान सहित बिहे गर्छु भन्ने रहर पलाएको थियो। विस्तारै म ठूलो हुँदै थिएँ। बिहेपछि मेरी दिदीले भिनाजुको हातबाट धेरै कुटाई र अनेक यातना सहनुपर्यो। दिदी बेलाबेला ज्यान बचाउनकै लागि रुँदै हामीकहाँ आउनु हुन्थ्यो।
सानैदेखि दिदीको देब्रे आँखाले देख्न सक्दैन थियो। भिनाजुले कुट्ने बेला भन्नु हुन्थ्यो रे 'शोभाकरले टन्नै दाइजो दिन्छु भनेर कानी छोरी भिडायो।'
कुटपिट र शारीरिक यातना यतिसम्म थियो कि दिदीलाई कुट्न भनेर हानेको चिरपट दाउरोले लागेर काखमा रहेका सानो छोरो (भान्जा)लाई लाग्दा भान्ज झन्डै उतिबेलै सकिएका थिए रे! भाग्यवश भान्जा बाबुलाई घाइते सिवाय अप्रिय केही भएन। त्यसको प्रमाण स्वरुप आज पनि मेरो ठूलो भान्जाले टाउकोम ठूलो चोटको खत बोकेर हिँडिरहेका छन्।
जब मैले आफ्नै दिदीमाथि अन्याय र अत्याचार भएको बुझ्दै गएँ, त्यसपछि मलाई कुनैपनि महिला दिदीबहिनीले भोगेको पीडालाई मेरै दिदीको आँसु जस्तै लाग्छ र त्यतिबेलादेखि नै मलाई यो दाइजो प्रथाप्रति निकै घृणा उत्पन्न हुन थाल्यो।
हो, अहिले पनि मैले हाम्रो समाजको अवस्था उस्तै पाउँछु। अझै पनि हाम्रा दिदीबहिनीहरुले यस्ता यातना पाई नै रहेका छन्। दाइजो दिने वस्तु वा तरिका फेरिएका छन् तर संस्कार फेरिएको छैन।
छोराछोरीलाई जेनतेन पढाइरहेका र एउटा नयाँ साइकल समेत किन्न नसक्ने एक गरिब बाबुआमाको लागि छोरीको बिहेमा मोटरसाइकल दिनुपर्ने कुरा कतिसम्मको अन्यायपूर्ण हो? यस्ता घटना कतिपय शिक्षित भनिएका समुदायमै घटेका छन्।
यतिमात्र नभई हाम्रो देशमा धेरै किसिमका संस्कृति छ्न्। त्यसमा पनि विशेषगरी तराईको बिहे संस्कारमा दाइजो तोकेरै माग्ने गरेका र नदिएकै कारण ठूला अपराध हुने गरेका हामीले सुन्दै आइरहेका छौँ।
म उहाँहरुको संस्कारको आलोचना गर्न चाहान्नँ तर कानुनले नै बर्जित गरेको विषयलाई खुलेआम तोकेरै लिनुदिनु अपराध त भयो नै यसरी बिना संकोच सबैले बढवा दिँदै जाने हो भने कहिले हट्ला त यो कुरीति?
एकजना मेरो मधेसी मुलको मिलनसार साथी हुनुहुन्छ। उहाँसँग बेलाबेला मेरो यस्ता विषयमा बहस हुने गर्छ। उहाँलाई पनि दाइजो लिनु र दिनु दुवै मन पर्दैन, तर छोरीको बिहेमा जबर्जस्त दाइजो दिनै पर्ने भएको कारण छोराको बिहेमा पनि मान्छेहरुले दाइजो डिमान्ड गर्ने उहाँको तर्क हुन्छ।
उहाँले भन्नु हुन्छ- छोरीको बिहेमा दाइजो दिनै पर्दैन भन्ने अवस्था सबैतिर भयो भने सायद कोही केटा पक्षले बिहेमा यो कुरा उठाउँदैन होला।
यस्तो कुरा सुनेपछि मलाई लाग्छ आखिर दिनुपर्छ भने लिनु पनि पर्छ भन्ने मानसिकताले नै त यो प्रथा कायम भएको रहेछ। त्यसैले तपाईंहामी जस्ता नयाँ युवा पुस्ताले खुलेआम दाइजो बहिष्कार गर्न सक्यो भने ढिलोचाँडो बिहे संस्कारबाट यो प्रथा हट्नेछ भन्ने मेरो विश्वास छ।
हरेक कुप्रथाको अन्तको लागि सबैभन्दा महत्त्वपूर्ण भूमिका शिक्षित युवाहरुको नै हुन्छ। छातीमा हात राखेर सोचौं त, के हामीले कहिलै खुलेआम यसको विरोधमा बोल्न सकेका छौ? बोल्न सक्नेहरुलाई धन्यवाद छ तर आजसम्म खुलेआम दाइजो प्रथाको विरुद्धमा बोल्न नसकेका तपाईं हामीहरु अब बोल्न सक्नुपर्छ।
के महिला महंगा वस्तुहरुसँग घरमा भित्राउने अर्को कुनै विशिष्ट वस्तु हुन् र? पक्कै होइनन्, त्यसो भए शिक्षित युवाहरु अब यसरी चुप लागेर मुक दर्शक नबनौँ, चर्को रुपमा बोलौं र दाइजोलाई समाजबाटै बहिष्कार गर्ने अभियान थालौं।
मैले खासगरी अविवाहित युवा साथिहरुलाई कम्तीमा पनि आफ्नो बिहेमा सबै किसिमको दाइजो बहिष्कार गर्नको लागि अनुरोध गर्दछु। किनभने संस्कार एकैपटक फेरिने कुरा होइन, सुरु एक, दुई जनाले गर्ने हो र हामीले नै गर्नुपर्छ।
मैले यसो भन्दै गर्दा प्रश्न उठ्ला, लेख्ने मान्छेले आफूले व्यवहारमा लागु गर्ला त? म पनि एक अविवाहित पुरुष हुँ। तसर्थ, मैले आफैँ देखेको, बुझेको र लेखेको कुरामा प्रतिबद्ध छु। र मबाट कुनै किसिमको दाइजो स्वीकार हुने छैन।