विद्रोह केलाई भन्ने, क्रान्ति केलाई भन्ने सटिक उत्तर दिन सजिलो छैन। तर विद्रोह बिनाको क्रान्ति सम्भव छैन भन्ने कुरामा हामी सबै असहमत हुन सक्दैनौँ।
विद्रोहको सूक्ष्म र व्यक्तिगत स्वरुपलाई क्रान्ति नभनेपनि यसको सामूहिक रुपान्तरण क्रान्ति नै हो। यसलाई कतिपय सिद्धान्तकारले फेसनेबल वैचारिक दृष्टिकोण पनि मान्छन्। तर विद्रोह मानवीय संस्कारमा सदियौँदेखि विद्यमान थियो भलै ती सब क्रान्तिको रुपमा रुपान्तरण भएनन्।
हुन त सुरुआत मैले विद्रोह र क्रान्तिबाट गरेँ पनि आजको विषय किसान मुक्ति र हलो क्रान्ति नै हो। आज पनि किसानको कुरा गर्दा बिरलै किसान विद्रोहको विषयमा बोलिन्छ।
हाम्रा लागि किसान जहिले पनि शक्ति र सत्ताबाट सबैभन्दा पिँधमा रहेको समूह बन्यो जसको विषयमा बोल्नु चलेको भाषामा भन्दा कूल ठानिएन। त्यसैले किसानहरु इतिहासको ती अलिखित पानाहरु बनेँ जसलाई आज पनि खोज्न हामी तिनै दन्ते कथाहरुमा पुग्नुपर्छ। इतिहासका मसीहरुमा उनीहरुका कथाहरु कहिल्यै अटेनन्।
आज मैले भन्ने कथा करिब सत्तरी वर्ष अघिको हो। म यसलाई इतिहास भन्दिनँ किनकि यो जमिनको कथा हो, भूराजनीतिको होइन। र, हाम्रो इतिहास विभागले सदाझैँ नबुजेझैँ गरी यसलाई हलो होइन, मनोक्रान्ति पनि मान्न सक्छ।
हामी धेरैलाई थाहा होला परापूर्व कालदेखि बाहुनले हलो जोत्नु हुँदैन भन्ने मान्यता थियो। महिलाहरुले हलो जोतेको कुरा अहिले पनि समाचार बन्छ। २००६ साल साउन ११ गते पश्चिम नेपालको लमजुङमा २७ जना ब्राह्मणहरुले हलो जोतेर बाहुनले हलो जोत्नु हुँदैन भन्ने मान्यतालाई तोडेका थिए।
उनीहरुको विद्रोह प्रतीकात्मक थियो। हुन त बाहुनले हलो जोत्नु एक किसिममको बुर्जवा विद्रोह पनि लाग्न सक्छ किनकि जातीय संरचनाको हिसाबले उनीहरुको स्थान माथि थियो।
तर योसँगै अर्को बिर्सन नहुने कुरा के हो भने त्यो समयमा पनि सबै किसान ब्राम्हणहरु अहिलेझैँ हली राख्न सक्ने हैसियतका भने थिएनन्। उनीहरुको विद्रोहमा मल्लकालीन जातीय कार्यविभाजन प्रतिको खरो विरोध भेटिन्छ। र किसान मुक्तिको लागि लडिएको एक प्रतीकात्मक लडाइँ।
आज पनि हामी जातीय व्यवस्थामा जगडिएका छौँ। दलित अधिकारकर्मी र विचारक आहुतिको भाषामा भन्दा अहिले पनि नेपालमा केही सत्ता चलिरहेको छ भने त्यो जातीय सत्ता नै हो।
हामी जातबाट कहिले पर उठ्ने भन्ने प्रश्न अब व्यक्तिलाई मात्र होइन, राष्ट्रलाई पनि सोध्न आवश्यक छ। उनीहरुको विद्रोह किसान मुक्तिको लागि भएपनि त्यो जातीय व्यवस्था माथिको लडाइँ पनि थियो।
एउटा दलित आफ्नो जातकै कारण पिल्सनु र एउटा बाहुन किसान भएकै कारण पिल्सनु जात व्यवस्थाकै उपज हुन्। एउटा गरिब बाहुनले हलो जोत्न नपाउनु उसको गरिखाने हकबाट वञ्चित हुनु पनि हो।
अब फेरि कथातिर नै लागौँ, जुन दिन उनीहरुले सामूहिक हलो जोतेका थिए त्यसै दिन दलितको हातबाट पानी पनि खाएका थिए भन्ने गरिन्छ। जसले जनाउँछ त्यो एउटा एकल उद्देश्य विद्रोह थिएन।
हुन त जसले हलो जोते उनीहरु कुनै गरिब किसान थिएनन् भन्ने कुरा लोकरञ्जन पराजुली आफ्नो आलेखमा यसरी व्यक्त गर्छन्, 'राणाकालमा बाहुनले हलो जोत्न नहुने भन्ने सामाजिक मान्यता रहेको अवस्थामा राणाकाली उतरार्द्धमा केही बाहुनले सामूहिक रुपमा र सांकेतिक रुपमा हलो जोतेका थिए।
उक्त अभियान खासमा सांकेतिक रुपमा मात्र देखिन्छ किनकि ती हलो जोत्ने अभियानका सदस्य एक त आफ्नो खेतबारी जोत्नै पर्ने आर्थिका स्थितिका थिएनन्। अर्को तिनले सो अभियान सुरु गरेपछि पछिल्ला दिनमा हलो जोत्ने उपक्रम जारी राखेनन्।
यसरी सांकेतिक रुपमा सुरु भएको उक्त विद्रोह किसान हक अधिकार, जात व्यवस्था र सामाजिक रुपान्तरणका लागि गरिएको एक सांकेतिक विद्रोहको स्वरुप थियो।'
समाजशास्त्री पराजुलीको भाषामा भन्दा त्यो सांकेतिक विद्रोह थियो जसले किसान मुक्ति र जातीय व्यवस्थामा रुपान्तरण चाहन्थ्यो।
विद्रोहको स्वरुप सूक्ष्म भएपनि त्यो किसान मुक्तिको पक्षमा छरिएको विचारको बिज थियो। नवीनराज कुइँकेल आफ्नो आलेख 'यसरी भएको थियो सात दशकअघि ‘हलोक्रान्ति’' मा लेख्छन्, 'लमजुङ दुराडाँडामा २००६ साल साउन ११ गते ब्राह्मणले हलो जोतेपछि सोही सालको पुसमा तनहुँ, २००७ साल वैशाखमा अर्घाखाँची र गोरखा र २००८ सालमा स्याङ्जाले पनि हलो जोत्ने अभियानले तीव्र रुप लियो।' यसले उक्त विद्रोहको व्यापकता र सामूहिक महत्वको तीव्रतालाई जनाउँछ।
सामूहिक महत्व र चलिआएको चलन विरुद्धको कदम बाहेक यसलाई विद्रोह नै मान्नुको अर्को कारण हलो जोत्नेहरु आफैं सामाजिक बहिस्करणमा पर्नु पनि हो। अमृता लम्साल आफ्नो आलेख 'जोतेकाले माइतिले भान्छा छिर्न दिएनन्' मा यसरी उक्त विद्रोहका अगुवा पण्डित तोयानाथ अधिकारीको बुहारी मित्रकुमारी अधिकारीको पीडा उनकै भाषामा यसरी व्यक्त गर्छिन्,
'मेरो घरकाले हलो जोतेकै कारण म पनि एक डेढ वर्ष माइत जान पाइनँ। पछि गएँ। तर भान्छामा जान दिन्थेनन्। कसैले भान्सामा लग्यो कि भनेर शंका गर्दै चियोचर्चो गर्थेँ गाउँलेले।'
र यसरी हलो जोत्नु कुनै अपराध गर्नु जस्तै ठहरिएको थियो त्यो समय। यसका साथै हलो जोत्नेलाई तत्कालीन राणा शासकहरुले केही समयको लागि बन्दी पनि बनाएका थिए। यसले संकेत गर्छ त्यो कदम शक्ति र सत्ताले रुचाइएको कदम भने अवश्य थिएन।
जब कुनै कदम शक्ति, सत्ता र चलिआएको मान्यता विरुद्धको हुन्छ भने त्यो विद्रोह नै हो। यस हिसाबले हेर्दा त्यो कदम विद्रोह नै थियो। सरसर्ती हेर्दा त्यो किसानको पक्षमा लडिएको सांकेतिक विद्रोहजस्तो लागेपनि त्यसका उद्देश्यहरु बहुआयामिक थिए।
त्यसले किसानसँगै जातीयता र सामाजिक रुपान्तरण चाहन्थ्यो। विद्रोहको स्वरुप बहुआयामिक भए पनि अरु विद्रोह झैँ यसको चर्चा र अभिलेखिकरण अनुसन्धान नहुनेले अनौठो विरोधाभाष देखाउँछ।
आज पनि हंसपुरे सुबेदीको, 'सांस्कृतिक परिवेशमा नेपालको हलो क्रान्ति' बाहेक विरलै उक्त विद्रोहको विषयमा लेखिएको रहेछ, अनुसन्धान र विश्लेषण त परको कुरा। उक्त पुस्तक पनि हामी जस्ता आम पाठकको हातमा पर्न नै गाह्रो रहेछ जसको भुक्त भोगी म आफै भएकी छु।
यसले के संकेत गर्छ भने आज पनि हामीले बोल्ने, छलफल गर्ने, अभिलेख, अनुसन्धान गर्ने विषय भनेका बुर्जुवा विषय नै रहेछन्। किसानको विद्रोह हामी धेरैलाई अभिलेखीकरण र अनुसन्धानको विषय बन्न सक्छ भन्ने नै लाग्दो रहेनछ।
लाग्दो हो त आज पनि किसान विद्रोहको इतिहास सोध्न जाँदा वर्षौं पुरानो विश्वविद्यालयको इतिहास विभाग नै अलमलमा नपर्दो हो। यसले के जनाउँछ भने किसानको इतिहास र क्रान्ति कहिल्यै पनि नेपालको इतिहासको प्रमुख हिस्साहरु बन्न सकेनन्, जसको कथा हाम्रो इतिहासमा अटेन।
अन्त्यमा, थाहा छैन मैले बोल्नु कति उचित थियो वा थिएन, संरचनाको हिसाबले म आफैले किसान विद्रोह र यसको बहुआयामिकताको विषयमा बोल्नु एक प्रकारले बौद्धिक विलासिता पनि लाग्न सक्छ। तर नबोलिनुभन्दा केही बोल्नु पो ठिक होकि भनेर मैले विषयको उठान गरेकी छु।
आशा छ यसका विषयमा हंसपुरे सुबेदी, जीवन अधिकारी, लोकरञ्जन पराजुली, राजाराम सुवेदी, यादव देवकोटा बाहेक अरु धैरैले बोल्नु हुनेछ, लेख्नु हुनेछ। र सदाझैँ किसानको विद्रोह, र इतिहास किसानको मात्रै बन्ने छैन। यसबारे थप अनुसन्धान, अभिलेखिकरण विचार विर्मश पनि हुनेछन्।