‘गुरु ब्रह्मा गुरु बिष्णु: गुरु देवो महेश्वर: गुरु साक्षात परम् ब्रह्मा: तस्मै श्री गुरवे नम:’
माथी उल्लेखित श्लोकलाई हामीले बारम्बार सुनेका र उच्चारण पनि गरेका छौं। जसले गुरुको महत्त्व तथा महिमाबारे विश्लेषण गर्छ। गुरु वास्तवमा ब्रह्मा, विष्णु र शिवका प्रतिनिधि हुन्। गुरुलाई सर्वश्रेष्ठ स्थान दिइएको छ। गुरु ब्रह्माका रुपमा निर्माता हुन्, विष्णुका रुपमा प्रबन्धक हुन् र शिवका रुपमा विध्वंशक पनि हुन् अर्थात् गुरु ज्ञानका सर्जक र प्रबन्धकर्ता हुन् र अज्ञानता रुपी अंधकारलाई नष्ट गर्ने माध्यम समेत हुन्।
हिन्दु परम्परा अनुसार शिष्यहरुले असार शुक्ल पूर्णिमाको विशेष दिनलाई आफ्ना गुरुको सम्मानमा गुरुप्रति समर्पित रही उहाँहरूको महिमा र योगदानलाई सम्झने र आदर गर्ने परम्परा परापूर्वकालदेखि नै चलिआएको कुरा हामी सबैलाई ज्ञात नै छ। गुरु र शिष्यबीचको सम्बन्ध सदैव उत्तिकै आत्मीय, मान्य, सदभाव र प्रेमले भरिपूर्ण हुन्छ। पूर्वीय दर्शन अर्थात् सनातन हिन्दु धर्ममा गुरुको महत्त्व अनौठो र अनुपम छ।
‘गु’को अर्थ अन्धकार र ‘रु’ को अर्थ हटाउनु अर्थात् गुरुले सदैव असत्यबाट सत्यतिर र अँध्यारोबाट उज्यालोतर्फ ज्ञानका आँखा खोल्न सहयोग पुर्याउँछन्। हरेक शास्त्रमा पहिलो गुरु मातापितालाई मानिन्छ। जसरी अभिभावकले सदैव आफ्ना सन्तानहरूलाई उच्च संस्कार र ज्ञानगुनको पाठ सिकाउँछन् र असल व्यक्तिको रुपमा पहिचान बनाउन सहयोग गर्छन्। त्यसैगरी गुरुले पनि सदैव आफ्ना शिष्यहरूलाई असल चरित्र निर्माण र बौद्धिक ज्ञानको पाठ सिकाउँछन्। भनिन्छ- असल शिष्य गुरुको श्रेष्ठताको प्रमाण र पहिचान हुन्।
गुरु पूर्णिमालाई व्यास जयन्ती र कविर जयन्ती भनेर पनि चिनिन्छ। वेदव्यास जसले वेदवेदान्त लेखे, अठार पुराण र उपनिषद लेखे, जसले हिन्दू धर्मलाई एउटा परिपाटी र संस्कारमा बाँध्न ठूलो भूमिका खेले। उनको जन्मदिनको अवसर पारी गुरु पूर्णिमा मनाउने परम्परा बस्दै आएको हो। मुनि श्रेष्ठ व्यास ऋषि परासर र मत्यसगन्धा सत्यवतीका पुत्र हुन्। व्यासलाई गुरु शिष्य परम्पराको प्रथम गुरु मानिन्छ। उहाँका अनुसार कुनै पनि व्यक्तिबाट केही ज्ञान प्राप्त हुन्छ, केही कुराको अभ्यास लिइन्छ भने ती हाम्रा लागि गुरु समान हुन्छन् र पूजनीय हुन्छन् , फेरि त्यो सानो ठूलो जीवजन्तु, कुनै प्राणी वा मनुष्य नै किन नहोस्।
हुन त अनादीकालदेखि नै हाम्रो हिन्दु परम्परामा (नेपाली भूमिमा) ऋषिमुनि, साधु सन्तहरूको बर्चस्व रहेको पाइन्छ र दैवीय पद्धति अनुसार पूजा अर्चना पनि गरिन्छ। हिन्दु परम्परामा प्रत्येक विशेष कार्यका निम्ति निर्धारित दिनहरू छुट्टाइएका हुन्छन्, त्यसैगरी गुरुको योगदानलाई सम्मान दिनका लागि असार शुक्ल पूर्णिमाको दिन चयन गरिएको हो। यस दिनलाई एक महत्त्वपूर्ण उत्सवका रुपमा मनाइने चलन छ। अर्को शब्दमा भन्दा स्वयम् कष्ट सहेर पनि समाजलाई उन्नतिको मार्ग र दिशानिर्देशमा हिँड्न सिकाउने यस्ता ब्रह्माज्ञानी महापुरुषहरूप्रति कृतज्ञता र महत्त्व दर्शाउने दिन हो गुरु पूर्णिमा। मानव जीवनमा गुरुको महत्त्वलाई दर्शाउनका निम्ति गुरु पूर्णिमा मनाइन्छ।
पौराणिक कालदेखि नै व्यक्तिलाई योग्य र सक्षम बनाउनमा गुरुको विशेष योगदान रहेको देखिन्छ। हिन्दुहरूको प्रसिद्ध ग्रन्थका रुपमा लिइने रामायण र महाभारतमा पनि गुरुको स्थान सर्वोच्च रहेको पाइन्छ। राजकाज सञ्चालनका लागि चाहिने सल्लाह सुझावमा गुरुहरूको भूमिका अग्रपङ्तिमा गनिन्थ्यो। यसका साथै राजकाज सम्बन्धी सिप, ज्ञान र कौशल सिकाउनका लागि गुरुहरूलाई मान सम्मानसहित राजगुरु नियुक्त गर्ने परम्परा पनि थियो। यसको पुष्टिका निम्ति हामीले गुरु वाल्मिकी, गुरु वशिष्ठ र गुरु द्रोणाचार्य जस्ता अनेकौं गुरुहरूको योगदान र शिक्षादीक्षालाई मनन गरेका नै हुन्छौं। गुरु द्रोणबाट अर्जुनले आर्जन गरेको शिक्षा र ज्ञान जसले उनलाई अनुशासित, मर्यादित र धनुर विद्यामा समेत प्रखरसिद्ध गरेको थियो। युवराजहरूलाई नैतिकवान बनाउनका लागि गुरुहरूको योगदान अतुलनीय थियो। राजकुमारहरूमा दरबारको सुखसयलबाहेक जीवनका कठिन क्षणलाई कुशलतापूर्वक अनुशासित भई सामना गर्न सक्ने क्षमता विकासका निम्ति गुरुका आश्रममा नियमसंगत भई बस्नुपर्ने परम्परा पनि वैदिक कालदेखि नै पाइएको छ।
शास्त्रमा गुरुको महत्त्वलाई स्वर्गको कल्पवृक्षसँग तुलना गरिएको छ। अर्थात् कल्पवृक्षले कल्पना गरेको वस्तुहरू दिन्छ भने गुरु प्रशन्न भए भने शिष्यले वैकुण्ठ प्राप्त गर्दछ। गुरु र विद्यार्थीको सम्बन्ध अन्योन्याश्रित छ। गुरु त्यस्तो हुनु पर्दछ, जसले सदैव आफ्ना चेला, शिष्य र विद्यार्थीलाई आफू भन्दामाथि ठूलो पदमा र भूमिकामा पुगेको देख्न चाहन्छ। विद्यार्थीको सफलतामा आफ्नो सफलता देख्न मन पराउने गुण गुरुबाहेक अरुमा विरलै पाइन्छ।
यथार्थमा हामीले हाम्रो वरिपरि हाम्रो बालकालदेखि नै गुरुहरूबाट अनमोल ज्ञान प्राप्त गरिरहेका छौं। ज्ञान र शिक्षाबिना व्यक्ति अपूर्ण हुन्छ। किताबी ज्ञान होस् अथवा कौशल होस्, जीवनका लागि उपयोगी शिक्षा र सिप जुन निरन्तर रुपमा चलिरहन्छ। जसको कुनै अन्त छैन। हामीले अप्रत्यासित रुपमा घरभित्र र समाजबाट सिक्ने अनुभव पनि जीवनका लागि उत्तम पाठ हुन्छन्। जसले निर्णय क्षमतामा वृद्धि गरी आत्मविश्वास जोगाउन मद्दत पुर्याउँछ। आफू पनि अध्यापन पेशामा संलग्न भएका कारण आफूले शिक्षादीक्षा दिएका आफ्ना प्यारा विद्यार्थीहरूलाई विभिन्न उच्च पद, पेशा र अनुशासित जीवनमा बाँधिएको पाँउदा आफूलाई जति गौरबवान्वित महसुस गर्दछु, त्यति नै मेरा आफ्ना गुरु र गुरुआमाले पनि सदैव हामीलाई दिनु भएको प्रेरणादायी शिक्षाको कुनै मोल र दक्षिणा नै छैन भन्ने मेरो मान्यता छ। आज पनि आफ्ना गुरुहरुबाट स्नेह, सल्लाह र सुझाव पाउनुमा मलाई गर्व लाग्छ।
अक्षर-अक्षर रच्न सिकाउने, शब्द शब्दको भाव बुझाउने, कहिले माया त कहिले गाली गरी जीवनको अनमोल पाठ सम्झाउने। आफ्नो जीवनमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा प्राप्त भएको ज्ञानलाई प्रयोग गरी सहज जीवन जिउन प्रेरणादायी स्रोत बनेका मेरा मान्यजन अभिभावक र गुरु-गुरुआमाहरूप्रति कोटी-कोटी नमन।