महामारी भन्ने बित्तिकै हाम्रो मनमा त्रास उत्पन्न हुन्छ । लगभग सय वर्षमा एउटा महामारी आउने गर्छ । यसले लाखौं मानिस र पशुपन्छीको ज्यान लिन्छ।
महामारीमा जीवन र मरणको कुरा हुन्छ। बाँच्ने रहर सबैलाई हुन्छ, तर महामारी आएपछि मात्र हामी बाँच्नलाई तात्तिन्छौं।
हामी भन्ने गर्छौं, ‘कोरोनाको महामारी चीनबाट आयो, तर यो सोझै त्यहाँबाट आएको होइन। कसैले कसैलाई सारेर यहाँसम्म आएको हो।’ अर्थात् महामारी आउनमा हामी आफैनै दोषी छौं। हाम्रै लापर्वाहीले यस्ले भयावह रुप लिन्छ।
यदि हाम्रो वातावरण र सामाजिक परिवेश प्रकृतिमैत्री छ, जीवनशैली सही छ, काम कर्तब्य बहुजन हिताय बहुजन सुखायमा आधारित छ, आहार बिहार र खानपनिमा शुद्धता छ र हामीहरुको शारीरिक, मानसिक, सामाजिक एवं आध्यात्मिक स्थिति सन्तुलित छ भने रोग र महामारी कसरी आउँछ? आई हालेमा सजिलै लड्न सकिन्छ। अहिलेको कोरोनाको महामारीमा कैयौं देशहरुमा यो कुराको पुष्टि भैसकेको छ।
मानवको आयु पौराणिक शास्त्रका अनुसार सय वर्षको भनि पनि अहिलेको परिस्थितिमा विभिन्न रोग, प्रकोप र महामारीले सय वर्षसम्म बाँच्ने मानिस विरलै भेटिन्छन्।
जापानीहरू संसारमै धेरै (८५ वर्ष) बाँच्नेमा पर्छन्। जापानमा १०० वर्षभन्दा बढी बाँच्नेको जनसंख्या ६५ हजारभन्दा बढीनै होला। नेपालीको औषत आयु ७० वर्षको छ, तर सय वर्ष भन्दा बढी बाँच्नेको जनसंख्या नगन्य छ। जापानीको औषत आयु धेरै हुनु र मृत्युदरमा कमी हुनुका मुख्य कारण अनुशासित एवं सक्रिय जीवनपद्धति, ब्यक्तिगत, घरेलु तथा सामाजिक सरसफाई, सन्तुलित एवं स्वस्थ्यकर भोजन, रोग तथा प्राकृतिक प्रकोपबारे सचेतना एवं औषधी उपचारको उचित ब्यवस्था हुनु नै हो।
नेपालमा उपरोक्त कुरामा ध्यान नदिनु र जनसंख्याको ठूलो हिस्सामा स्वास्थ्य सचेतनाको कमीले गर्दा विभिन्न रोग तथा महाममारीको प्रकोप ज्यादा देखिन्छ। यसको जिम्मेवार पनि हामीनै हौं। हामी भन्दा पछि उदाएका सभ्यतामा हुर्केका देशले हाम्रो पूर्वीय दर्शनमा आधारित जीवनपद्धतिका विशिष्ट पक्षहरू अंगालेर आज कति प्रगति गरिसके।
तर, हामीले जिउने तरीका नजानेर हो वा लापरबाही गरेर हो अथवा हामीलाई नसुहाउने पाश्चात्य जीवनशैलीका कुराहरूमा बढी आकर्षित भएर हो आफ्नो मौलिक सनातनिक जीवनपद्धतिनै बिर्संदै गएका छौं।
प्रकृति र पर्यावरण समस्त प्राणीजीवनका लागि ठूलो आधार हो। हामी यही प्रकृतिमा बस्ने र बाँच्ने प्राणी भएकोले यस्को संरक्षण गर्न आवश्यक छ । प्रकृतिनै नरहे हाम्रो आस्तित्व कसरी रहला? संसारमा चारैतिर भइरहेको असन्तुलित अनियन्त्रित शहरीकरण तथा औद्योगीकरण, वातावरण प्रदूषण, पर्यावरण विनाश एवं आतंक, युद्व र आणविक प्रयोगका कारण पृथ्वीको प्राकृतिक वातावरण तथा पर्यावरणमा ठूलो परिवर्तन भएको छ।
भूगर्भ र प्राकृतिक जल एवं हिमश्रोतहरू ह्रास हुँदै गएका छन्। हाम्रो वरिपरि भएका वनजंगलमा फँडानी र आगलागीका कारण ठूलो क्षति भइरहेको छ। यसले पर्यावरणमा नकारात्मक असर परेको छ। हाम्रा पूर्वजले सबैले शुद्ध हावामा सास फेर्न सकुन भनेर प्राणवायु (अक्सीजन) संरक्षणका लागि गाउँशहर वा बाटोघाटोमा प्राणवायुको प्रचुर श्रोत मानिने बर, पीपल, आँप, सम्मी, बेल तथा नारेश्वर आदिका वृक्षहरु लगाउने र सर्वसाधारणका लागि चौतारीहरु चिनेर पर्यावरण संरक्षण गर्ने जस्ता लोक कल्याणकारी कामहरु गरेका थिए।
आज यो संस्कार हराएर विकासको नाममा शहर बजारमा नयाँ रुख बिरूवा सार्नुको सट्टा भएका रूखबिरूवाहरू काट्ने काम भइरहेको छ। हरियालीको कमीले प्राकृतिक प्राणवायु मात्रामा कमी भएको छ। आज मानवसमाज अप्राकृतिक वातावरणमा बाँच्न बाध्य छ । त्यसैमाथि खोला नालामा जताततै फोहर फाल्ने तथा फोहोरको समयमै उचित ब्यवस्थापन गर्न नसक्नाले हाम्रा नदीनाला प्रदूषित भएका छन्।
फलःस्वरूप हामीले हैजा, टाईफाइड र कोरोनाजस्ता अनेकौं रोगको प्रकोप तथा महामारीहरुको सामना गर्नु परेको छ।
अहिंसा परमो धर्म भन्ने वैदिक कालदेखिनै चलिआएको सिद्धान्त आज कहाँ हरायो? शक्ति, धर्म, जाति र विभिन्न वादहरुको नाममा विश्वमा युद्वहरू भइरहेका छन्। यसले गर्दा प्रकृति, मानव तथा अन्य प्राणीको विनाकारण विनास भइरहेको छ । दीर्घ कालसम्म आनन्दले बाँच्ने ईच्छा भएका ती अमुल्य जीवनधारीहरु किन आज उपरोक्त कारणहरुको चपेटमा आएर अकालमै मर्नुपर्ने?
समग्रमा भन्नुपर्दा, हामी प्रकृति र मानवको मित्र हैन शत्रु भइसकेका छौं। हामीले चेतनशील मानवको मुल्य, संस्कार र धर्म बिर्संदै गएका छौं । प्रकृति र प्राणीविरूद्ध गरिने यस्ता क्रियाकलापले गर्दा हामी धर्म विरोधी भएका छौं। वास्तवमा हामी जिउँदै नारकीय जीवन बिताउन बाध्य छौं।
सनातन हिन्दु धर्म र संस्कार हाम्रो जीवनको मार्गदर्शन बन हो। सार्वजनिक स्थलमा मन्दिर निर्माण गरि फलफूल आदिको वृक्षारोपण गर्ने, यज्ञ, हवन, लाख बत्ती बाल्ने जस्ता धार्मिक कार्यहरु गरेर प्रदूषित वातावरणलाई शुद्धिकरण गर्ने हाम्रो संस्कार युगौंदेखि चली आएको छ।
घर आँगनलाई गाईको गोबर र रातो माटोले लिप्ने, पात पतिङ्गर तथा फोहोरहरु बाल्ने, टोल सफा राख्ने संस्कार बिस्तारै हराउँदै गएको छ। कुनै पाहुना वा आफू बाहिरबाट घर आउँदा हातखुट्टा पखालेर भित्र पस्ने र लुगा फेरेर भोजन गर्ने संस्कार त अहिले पनि गाउँघरमा जीवितै छ।
मृतकको लाश घरभित्र नराखी कपडामा बेरेर आँगनमा तुलसीको मठ नजिकै धूप बालेर राख्ने, मृतकको लाशलाई नदी नालाको तिरमा लगेर जलाउने र मलामीहरुले आफूले लगाएका लुगाहरू धोएर स्नानपछि मात्र गृह प्रवेश गर्ने, मृतकको घर आँगन गाईको गोबर र रातो माटोले लिपेर शुद्धीकरण गर्ने तथा यज्ञ, पूजा पाठ वा श्राद्ध आदि गर्दा एक दिन अगाडि हात खुट्टाका नङ्गहरु काटेर एक छाक मात्र भोजन गर्ने, स्नान गरी शुद्ध सेतो लुगा लगाउने आदि प्रचलनहरु ऋषिमुनिद्वारा वर्षौं लगाएर अनुसंधानपछि स्थापित गरिएका वैज्ञानिक तथ्यमा आधारित संस्कारहरु हुन्।
हामी बाहिर गएर घर वा कार्य स्थलमा फर्कंदा साबुनपानीले हात धुने, जहाँ तहाँ नथुक्ने, नछुने र छोई हाले साबुनपानीले हात धोई हाल्ने जस्ता सामान्य ब्यक्तिगत सर सफाईमा पनि खासै ध्यान दिन्नौं। कसैसँग भेट हुँदा दुई हात जोडी नमस्कार गर्नुको सट्टा हामी संक्रमित हातहरू फैलाउँदै हात मिलाउँछौं।
कसैको अगाडि खुल्ला रूपले खोक्दै र हाच्छिउँ गर्दै हिंड्छौं। तर, जापानीलाई केही गरि अरूको अगाडि हाछिउँ आयो भने जघन्य अपराधनै गरेको होकि भनि ग्लानि हुन्छ। जापानमा आमाबुआ र गुरूहरूले सानैदेखि बच्चालाई ब्यक्तिगत सरसफाई, संस्कार र अनुशासित जीवनपद्धति सिकाउँदै आएकोले उनीहरूमा यसले संस्कारको रुप लिन्छ।
त्यसैले त्यहाँ रोग वा महामारी छिटै फैलिंदैन। हाम्रो सनातन हिन्दु धर्म, संस्कृति र संस्कारले हामीलाई उच्च आदर्शका साथ बाँच्न सिकाए पनि हामी आफ्नो मौलिकतालाई बिर्सदैछौं। यसको जिम्मेवार पनि हामीनै हौं।
संसारलाई सभ्यता सिकाउनेहरू आज किन यसरी छाडा र पथभ्रष्ट हुँदै लापरवाह भइरहेका छौं? यस्तै विविध कारणहरू र चेतनाको अभाव तथा नागरिक जिम्मेवारीको बोध नहुनाले मानव समुदायले कोभिड–१९ जस्ता प्राणघातक रोगको महामारीको प्रकोप सहनु परेको छ। यसले लाखौं मानिसलाई मृत्युको मुखमा ढकेल्दै आजको विकसित चिकित्सा विज्ञानका प्रविधिलाईसमेत चुनौति दिएको छ। अहिले आएर मात्र हाम्रा संस्कार र रीति रिवाजको वैज्ञानिकताबारे ज्ञात हुँदैछ।
जीवनशैली आजको आधुनिक युगमा एक विशेष आयाम भएको छ। सही जीवन शैलीका उपयोगी तौर तरिकाहरू अनुशरण गर्दै हिंड्न सके हामी स्वस्थ्य र निरोगी हुनसक्छौं। आध्यात्मिक एवं वैज्ञानिक दृष्टिकोणबाट पहिलो पहर अथवा बिहान ३ देखि ५ बजेभित्र उठ्नु अत्यन्त स्वस्थ्यकर एवं लाभदायक हुन्छ।
यो बेलालाई अमृत बेला अथवा ब्रह्म मुहुर्त पनि भनिन्छ । यो समयमा वातावरण अत्यन्त शान्त, स्वच्छ र आनन्दमय हुन्छ । वातावरणमा प्राणवायु शुद्ध एवं प्रसस्त मात्रामा हुने भएकोले शरीर तथा मस्तिष्क निकै सक्रिय र शक्तिशाली हुन्छ । यो बेलामा आध्यात्मिक एवं मानसिक कार्य तथा नियमितरुपले योग र प्राणयाम गर्नाले शुद्ध प्राणवायुको असरले फोक्सो र मुटु बलियो हुन्छ तथा रोग वा महामारीसंग लड्ने क्षमतामा वृद्धि हुन्छ। आजभोलि आधुनिकीकरण र शहरीकरणको प्रभावले गर्दा हामीहरु अस्वस्थ्य र अल्छी हुँदै गएका छौं अनि रोग र महामारीसंग कसरी लड्ने?
वातावरण प्रदूषणले रोग सार्न र महामारी फैलिनमा विशेष सहयोग पुर्याउँछ। वातावरणलाई अनेकौं प्रकारका जैविक, भौतिक तथा रासायनिक तत्वहरुले प्रदूषित गर्दछन्। हामीहरू आफ्नै घरको वरिपरिको फोहोरलाई उचित ब्यवस्थापन गर्दैनौं। फलःस्वरूप चारैतिर धुलो, धुवाँ, दुर्गन्धित फोहोर र रसायनयुक्त घातक हावामा हामी सकी नसकी साँस फेर्न बाध्य छौं र नाना थरीका रोगहरु र महाममारीको शिकार भैरहन्छौं।
प्लाष्टिकमा भएका विभिन्न घातक तत्वलगायत बालीनाली, तरकारी र फलफूलमा विषादीको प्रयोग, पशुपंछी र मानवका दिसापिसाब एवं मृत जीवका अवशेषले भूमिगत जलश्रोत, माटो र हावामा प्रदूषण गराउँछ। यस्तो प्रदूषणमा अनेकौं प्रकारका झाडापखाला, हैजा, टाईफाइड, हेपाटाईटिसका जिवाणु तथा विषाणुहरु हुनुको साथै विभिन्न प्रकारका जुकाका फूल तथा अन्य परजीवीहरु पनि प्रसस्त मात्रामा हुन्छन्। रोग निरोधक एवं ब्यक्तिगत सरसफाईको सचेतनाको कमी तथा हाम्रो लापरवाहीले गर्दा कुनै रोगले ठूलो प्रकोप वा महामारीको रुप लिन बेरै लाग्दैन।
लगभग ९०–९५ प्रतिशत फोक्सो, पेट, आँखा, छाला र मुटु सम्बन्धी रोगहरु वातावरणीय प्रदुषणले हुन्छन्। विशेषगरि नेपाल जस्तो विकासशील देशमा वातावरण प्रदूषणले अनेकौं प्रकारका संक्रामक (सरूवा) वा असंक्रामक (नसर्ने) रोगहरू दिनानुदीन बढी रहेका छन । यस्ले गर्दा मृत्यु हुनेको संख्यामा वृद्धि भैरहेको छ । अतः अब हामीहरु नागरिक कर्तब्य प्रति इमानदार भएनौं, पर्यावरण र वातावरण संरक्षणको लागि विशेष कदमहरु चालेनौं भने हाम्रा भावी संततीहरू ठूलो संकटमा पर्नेछन्।
स्वस्थ्य एवं सन्तुलित खाना तथा शुद्ध पिउने पानीले तन र मन दुवैलाई स्वस्थ्य बनाउँछ र रोगसँग लड्ने क्षमतामा वृद्धि गराउँछ। भोजनलाई ईश्वरको प्रसाद सम्झेर उचित मात्रामा ग्रहण गर्नु पर्दछ । खेर फाल्नुभन्दा हाम्रो सनातन संस्कार अनुसार आफ्नो भोजनको केही अंश छुट्याएर अनिकाल, भोकमरी, युद्व र महामारीमा परेका मानिस र अन्य प्राणीलाई अन्नदान गर्ने बानी गर्यौं भने दीनदुखी प्राणीहरुको जीवन रक्षा हुन्छ। अचेल विभिन्न बहानामा आफ्नो पेट भर्न ठूलो संख्यामा प्राणीको हत्या गर्ने चलन छ। दूषित मासुबाट धेरै प्रकारका रोग र महामारी फैलिन सक्ने हुँदा शाकाहारी भोजननै उत्तम हुन्छ।
कोरोना भाइरसलगायत अन्य भाइरस मानिसको थुक, खकार, र्याल, सिंगान, आँसु तथा हातमा हुने भएकाले यो एक ब्यक्तिबाट अर्को ब्यक्तिमा खोक्दा, हाच्छिउँ गर्दा वा भाइरस भएको वस्तुलाई छुँदा वा ब्यक्तिसँग हात मिलाउँदा र अंगालो मार्दा सजिलै सर्नसक्छ। संक्रामक रोग फैलिनमा ब्यक्तिगत सरसफाई तथा संक्रमित हातको ठूलो भूमिका हुन्छ। त्यसैले हातले अनावश्यक जहाँतहाँ छुनु हुन्न। छोई हालेमा वा शौच आदि पछि साबुनपानीले हात, औंला र नङ्गहरु धुने बानी गर्नु पर्दछ। गुणस्तरीय (८० प्रतिशत भएको) निर्मलीकारक झोल पदार्थले हात सफा गर्दा विषाणुहरू नष्ट हुन्छन्।
विशेषगरि बच्चालाई ब्यक्तिगत सरसफाईका तरिकाहरू बेलाबेलामा सिकाईराख्नुपर्छ। कोभिड–१९ जस्ता घातक र सजिलै सर्न सक्ने रोगबाट बच्नको लागि हमेशा ब्यक्तिगत सरसफाई र सामाजिक दुरीमा विशेष ध्यान दिनुनै एक मात्र उपाय हो।
खोक्दा वा हाच्छिउँ गर्दा रूमाल, कुनै कपडा वा आफ्नै हातले नाक मुख छोप्नुपर्छ। यसले गर्दा भाइरस अन्यत्र फैलिन पाउँदैन। किनेर ल्याएका वस्तुहरु केही समय बाहिर घाममा राख्ने र फलफूल एवं सागसब्जी राम्ररी पानीले पखालेर मात्र प्रयोग गर्नु पर्छ।
हातले छोई राख्नु पर्ने ठाउँहरु निर्मलीकारक झोलले सफा गरी राख्नुपर्छ । बाहिर जाँदा सदैव राम्रो र सफा मास्कको प्रयोग गर्नुपर्छ। बाहिरबाट घर आउँदा सर्वप्रथम साबुनपानीले एक मिनट मिचीमिची हात धुनुपर्छ। बाहिरी एकसरो लुगा सकेसम्म कोठा बाहिरै फुकालेर राख्दा राम्रो हुन्छ। कोरोना महामारीको तेस्रो लहर आउन थाल्यो । हाम्रा जडीबुटीहरुको अनुसंधान र अधिकतम उपयोग गर्न सके यसबाट बच्न र यसको उपचारमा सहयोग पुग्ने थियो।
रोग लागेर महंगोमा उपचार गराउनु र उस्तै परे महामारीमा ज्यान गुमाउनु भन्दा रोग लाग्नै नदिने उपायहरु बारे बेलैमा सोचौं र सचेत हौं।