मेरो जीवन त्यस्तो व्यस्त छैन। तर पनि कामलाई ‘भोलि गर्छु’ भन्दै आफैंलाई ढाट्नेहरूमा पर्छु। अनि ‘डेड लाइन’ नजिकै आएपछि एकोहोरो काम मात्र गर्छु।
मेरा सुन्निएका आँखा देखेर आमाले प्रायः हरेक बिहान भन्नुहुन्छ, ‘अलि टाइममा सुत्ने गर्।’
म ‘हस्’ भन्छु।
आमाले त्यसो भन्दा त साँच्चै समयमै सुत्छु। समय व्यवस्थित बनाउँछु भन्ने नै लाग्छ। तर बेलुकासम्म फेरि उस्तै भइहाल्छ। समय घर्किएको पत्तै पाउँदिनँ।
आज पनि बिहान सधैंजसो ढिलो उठेँ। अब त आमाले मलाई चाँडो सुत्, चाँडो उठ् भनेर भन्न पनि छोडिसक्नुभयो। आमालाई थाहा छ, म राति अलि बेसी काम गर्छु। आज खाजा खान जाँदा, ‘बेलुका कतिबेर बसिस्?’ भनेर सोध्नुभयो। म आज उठ्ने बित्तिकै नुहाएकाले सुन्निएको आँखा त्यति देखिएका थिएनन्।
त्यही भएकाले ढाँट्दै भने, ‘खासै धेरैबेर बसिनँ। हेर्नु त, मुख पनि कस्तो क्लियर भएको छ है?’
‘अ! राम्री देखिएकी छस्,’ आमाले भन्नुभयो।
मैले समयमा सुतिनँ, चाहिने जति पानी पिइनँ, मेरो स्वास्थ्य, अनुहार सबै बिगारेँ भनेर आमा ख्याल राख्नुहुन्छ। कहिले आफैंलाई होच्याएँ वा केही कुरामा गुनासो पोखेँ भने आमा भन्नुहुन्छ– सबै ठीक छ त!
आमाले मलाई कति राम्री र मेहनती छु भनेर सम्झाउनुहुन्छ। म फुरूक्क परिहाल्छु।
तर आज फेरि ढिला सुतेकाले गाली खाइन्छ भनेर मनलाई तयार पारिसकेकी थिएँ। तर आमाले गाली गर्नु भएन। खाजा खाइरहँदा आमाले मलाई एकोहोरो हेरिरहनुभयो।
‘आज कतिको व्यस्त छस्?’ आमाले सोध्नुभयो।
मलाई अलि अचम्म लाग्दै थियो। आज किन आमाले मलाई सिधै गाली गर्नुभएन?
त्यसपछि फेरि भन्नुभयो, ‘कुर्ता र टीका लगा न। फोटो खिचौं।’
म फेरि अलमलमा परेँ– आमालाई के भयो आज?
जहिले आमालाई फोटो खिचौं भन्ने वा आमालाई फोटोग्राफर बनाउने म हुन्थेँ। आज आमाले फोटो खिचौं भन्दा एक मन असाध्यै खुसी भएँ। अर्को मन निकै नराम्रो लाग्यो। मैले आमालाई ‘फोटो खिचौं न’ नभनेको कति भएछ। मैले हतार नगरी आमासँग बसेर नखाएको कति भएछ! मैले आमालाई मैले लगाउँदा मन पर्ने लुगा नलगाएको कति भएछ!
मेरो अनुहारमा हल्का गाढा भएको ‘डार्क सर्कल’ त उहाँ कति याद दिएर नियाल्नुहुन्छ। मैले त आमाको अनुहारमा प्रस्ट हुँदै गएका रेखाहरू पनि ख्याल नगरेको कति भएछ।
म आमालाई निकै माया गर्छु। जीवनमा जे गरेपनि परिवारलाई खुसी राख्ने मेरो पहिलो प्राथमिकतामा पर्छ। यही खुसी राख्ने प्रयासका लागि दौडिँदा–दौडिँदै, खुसी बनाउन चाहिँ बिर्सिएछु कि जस्तो लाग्यो। यस्तै के–के सोचेर खाजा खानै छाडेर एकोहोरिन थालेछु।
‘आज भ्याउँदिनौं भने ठीकै छ त,’ आमाले यसो भन्दा पो झसंग भए।
‘कहाँ नभ्याउनु नि। खाइसकेर रेडी भइहाल्छु। अनि टन्नै फोटो खिच्नुपर्छ ल! तपाईंलाई कति कुरा पनि सुनाउनु छ,’ यति भन्दा आमा मुसुक्क हाँस्नुभयो।
मनमनै सोचेँ, ‘यी बुढीलाई त चाउरी परेका गालाले पनि कति सुहाएको!’
आज केही हतार नगरी खाजा खाएँ। म अलि ढिला उठ्ने भएर खाजा खाने बेला प्रायः एक्लै हुन्छु। सबैजना खाएर आ–आफ्नो काममा लागि सक्नुभएको हुन्छ। आज याद गरेँ, मैले कहिले एक्लै खाएकै रहेनछु। मैले एक्लै खानु परेकै छैन रहेछ। खाने म मात्र भए पनि आमा जहिले मसँग बसिराख्नुहुन्थ्यो।
आमा मेरा लागि त्यही हुँदा त सँगै हुनुहुन्छ भनेर याद नगरेको मैले, आमाका लागि म हुनुपर्ने बेला याद गर्न र उहाँसँग हुन कति चुकेँ होला?
आज यो आभाष भयो, आमाका लागि सबैभन्दा ठूलो केही गर्नु भनेको आमासँगै केही गर्नु रहेछ। आमालाई खुसी बनाउनु भनेको आमासँगै खुसी हुनु रहेछ।
कोठामा आएँ र आमालाई मनपर्ने कुर्ता लगाएँ। यसअघि कसैका लागि तयार हुँदा यति खुसी महसुस भएको याद छैन मलाई। सानो कालो टीका पनि लगाएँ। सानो कालो टीकाले मेरी आमाको अनुहारमा ल्याएको त्यो ठूलो मुस्कान कति प्याराे!
ठूला–ठूला खुसी त यस्तै स–साना पलहरूमा हुर्किँदा रहेछन्। साना पलहरूले यादमा ओगट्ने स्थान सबैभन्दा ठूलो हुने रहेछ। कतै हामी ठूला कुराको पछि दौडिने होडबाजीमा यस्तै स–साना खुसी बिर्सिँदै त छैनाैं?
नयाँ काम गर्न जति जरूरी छ, मनपर्ने कामलाई नबिर्सन पनि उति नै। नयाँ मान्छेसँग चिनजान गर्न जति जरूरी छ, भइरहेका राम्रा सम्बन्धलाई समय दिन पनि उति नै।
ठूला उद्देश्य राखी उपलब्धितिर लम्किन जति जरूरी छ, साना खुसीतिर फर्किराख्न पनि उति नै। आमालाई फोन किन्दिन जति जरूरी छ, आमासँग फोटो खिच्न पनि उति नै।
म सोच्थे, ‘आमाको जस्तोसुकै जरूरत पनि सजिलै पूरा गर्नसक्ने हुन सकूँ।’
अब चाहन्छु, ‘उहाँका स–साना चाहनाको पनि ख्याल राख्ने बन्न सकूँ।’
किनभने मैले बुझिसकेँ– स–साना पलमा नै ठूला खुसी लुकेका हुन्छन्।