ढोकाबाट 'सर नमस्कार!' गर्दै एक जना अधबैंसे पुरुष बालविकास कक्षा भित्र छिरे। अनुहार केही आतिएको झैँ अनि केही भावुक भए झैं थियो। मेरो नजिकै आएर कुनामा आड लाग्दै उनी त्यहाँ बसे र भन्न थाले,
'सर, म त खेतमा काम गर्दै थिएँ। छोरा बोलाउन आयो अनि भन्न थाल्यो 'चल बाबा, स्कुल जाइ किटाब लिए।' अनि म काम छोडेर आएको।'
उसले फेरि भन्यो, 'हजुरहरुले अस्ती ब्याग पनि वितरण गर्नु भएको थियो अनि आज किताब पनि दिँदै हुनुहुन्छ, साह्रै खुसी लाग्यो सर।'
'केही छैन, हामी पनि विद्यार्थी मान्छे हौँ, आफूले सक्ने जति गर्दै छौँ।'
ऊ केही सोचे झैँ गर्दै 'सर, म पहिला पसलमा सरिया सिमेन्ट बोक्थेँ तर अहिले घर तिर खेतमै छु। छोरा पढ्ला भनेर खर्च पनि गरेँ, राम्रो पढ्थ्यो सर तर दुई वर्ष भयो यही कोरोनाले गर्दा अर्को कक्षामा भर्ना हुन पाएको छैन।
स्कुल कहिले खुल्छ सर? हजुरहरु त विद्यार्थीको लागि काम गर्ने मान्छे, केही थाहा हुन्छ होला नि? अक्षर चिन्थ्यो तर अहिले किताब पढ्न सक्दैन सर, स्कुल नखुलेको भएर केही सिक्न पाएको छैन।
आफू त सामान्य किसान मान्छे, केही थाहा पनि छैन। पढेको पनि छैन। छोरा पढ्न खोज्छ तर यस्तो भइदियो सर। केही सिक्नै पाएको छैन सर। खाली बाबा कहिले खुल्छ स्कुल मात्र भनेर सोधिरहेको हुन्छ।'
'खै! के भनुँ! नयाँ-नयाँ भेरियन्टको कोरोना छ, अर्को लहर पनि यस्तै होकि। अहिलेलाई घरमा जति सक्छ बाबुले त्यति पढ्न लगाइ रहनू। अहिले केही भन्न सक्ने अवस्था छैन।'
'त्यही त सर, हजुरहरुले राम्रो गर्दै हुनुहुन्छ। म सानो हुँदा पनि यो स्कुल यस्तै थियो। आजसम्म पनि यस्तै छ। २०-२२ वर्षभन्दा बढी भइसक्यो, मेरै छोरा यहाँ पढ्ने भइसक्यो। कसैले केही बोल्दैन सर यहाँ त!
बच्चा गर्मीले गर्दा निदाइ हाल्छ यहाँ। सक्दैन बस्न दिउँसोभर, कति बच्चा बीचमै भाग्छन्।'
'हामीले यति गर्यौँ, अब अरु सहयोगी हातहरु पाएको भए पंखा पनि हालिदिन हुन्थ्यो। समय समयमा हामी यहाँ आउनेछौँ। आफूले सक्दो दिने प्रयास गर्नेछौँ।'
हुन त हामी पनि सम्पन्न घरको हैन तर पनि बाआमाले जसोतसो सहरमा पढाउनु भएको छ। खाजा नास्ता नखाई बचाएको पैसा नै सहयोग गर्दैछौँ। आफ्नो गाउँ यस्तो देख्दा साह्रै दुःख लाग्छ। कहिले के हुने हो, खै!
स्कुल नजिकको ठूलो खोलालाई देखाउँदै ती व्यक्तिले भने- 'सर, यहाँ पुल भए त पारि गाउँको विद्यार्थी पनि आउने थिए। बर्खा याममा पूरा भरिन्छ, वरिपरि तारबार पनि छैन। बच्चा खेल्दै खोलामा जान्छ कि भन्ने तनाब हुन्छ, स्कुल राम्रो गराइएको भए त कति विद्यार्थी आउने थिए तर केही गरिदिँदैनन् सर।'
'यस्तै त हो, बुझ्नु भएको नै छ। हाम्रो पनि सुनिदिँदैनन्। हिजोआज आँगनमा खेल्ने बच्चा भन्छन्। नत्र हामीले त कुरा राखी नै रहेको छौँ।'
उनले फेरि केही याद गर्दै भने, 'यहाँ त सर पार्टीको भेला, संस्थाको भेला गरिन्छ तर पनि केही वास्तै छैन विद्यालयको।'
'तपाई हामीले स्कुलका लागि माग नराखेसम्म अब सम्भावना पनि त छैन। यो बारे अब सम्बन्धित ठाउँमा सबैजना मिलेर बोल्न पर्यो।'
त्यसपछि वितरण कार्यक्रम सुरु भयो। कार्यक्रमपछि झ्याल नजिकै रहेको बाइक स्टार्ट गर्दै थिएँ। ठ्याक्क उनले आफ्नै भाषामा अरु गाउँलेलाई केही भनिरहेको सुनेँ।
'अस्ति पनि ब्याग दिनु भएको हो, आज पनि किताब दिनु भयो। उहाँहरुले त गरिराख्नु भएको छ अब हामीले पनि स्कुलको लागि त केही बोल्न पर्यो।'
थाहा छैन बाँकी गाउँलेले के गर्छन् र के सोचें तर सायद उनले एउटा सहारा पाएको अनुभूति गरेँ।
त्यसपछि झ्याल बाहिरबाटै बिदा भएँ।