'मनको रहर, कान्छीलाई घुमाउने काठमाडौं सहर' गीतका गायक डेनी डेन्जोङ्पा जसरी बूढो भएका छन्, उनको त्यो लोकप्रिय गीतमा रमाउँदै काठमाडौंलाई सपनाको सहर ठान्ने पुस्ता पनि बूढो भएको छ। त्यो गीत घन्किँदा जन्मेकाहरू समेत लगभग अधबैँसे भैसके।
चालिस वर्ष अगाडिको डेनीको यो गीत घन्कँदा कुन कान्छालाई आफ्नी कान्छी काठमाडौंमा सहर घुमाउन रहर थिएन होला र! त्यो बेला काठमाडौं प्राकृतिक र सांस्कृतिक दुवैले सुन्दर थियो। सुन्दर मात्र थिएन, समृद्ध र शान्त पनि थियो। उर्वर मलिलो भूमिको कृषि उत्पादन समृद्धिको आधार थियो।
काठमाडौं कति शान्त थियो भन्ने त ७० को दशकमा अमेरिकी रक गायक बब सेगरले गाएको चर्चित गीत 'क्याटम्यान्डु' ले बताउँछ। त्यो बेलाको काठमाडौं पश्चिमी दुनियाँका मान्छेका लागि भर्जिन थियो र कल्पनाको स्वर्ग थियो। दोस्रो विश्व युद्धले छोडेका घाउको तनाव र पीडाको मुक्तिको लागि 'युद्ध होइन प्रेम' भनेर परम्परागत मूल्य मान्यतालाई चुनौती दिँदै हिप्पीहरु शान्ति खोज्न काठमाडौं आउँथे।
सपनाको सहर काठमाडौं पुग्न त्यो बेला त्यति सजिलो थिएन, बरु डिभी भरेर अहिले अमेरिका पुग्न जति सजिलो छ। लामो कालखण्डसम्म सीमित वर्गको मात्र पहुँच भएको काठमाडौंमा कान्छी लिएर घुम्न जान सक्ने कान्छो सामान्य हैसियतको हुँदैन थियो।
कान्छी पट्याएर काठमाडौं घुमाउने क्षमता मसँग भएन। त्यही भएर कान्छी लिएर काठमाडौं जान त सकिनँ। तर कलेज पढ्ने नाममा पहिलो पटक २०४० सालमा काठमाडौं पुग्दा काठमाडौं साँच्चै सुन्दर लागेको थियो।
सुन्धारामा बसबाट उत्रिएर अलिकति हिँडेपछि कन्चन सफा पानी सुनको धाराबाट बगेको देख्दा अनौठो लागेको थियो। अझ गुन्यु चोलीमा ठाट्टिएर टलक्क टल्किने तामा र पितलका गाग्रीमा पानी भरिरहेका युवती देख्दा आदिकवि भानुभक्तको कविता याद आएको थियो।
चपला अवलाहरु एक सुरमा
गुनकेसरीको फूल लीपई शिरमा
हिँड्न्या सखि लिकन वरिपरि
अमरावती कान्तिपुरी नगरी।
सुन्धारा नजिकै कहिल्यै नदेखेको अग्लो धरहरा पहिलो पटक देख्दा मुन्टो तन्काएर हेरेको हेरै भएको थिएँ। कम्ता अग्लो लागेको होइन। पहाड बाहेक मानव निर्मित त्यति अग्लो वस्तु कहिले देखेको भए पो! सुन्धारा धारा बसपार्कबाट हिडेर रत्नपार्कसम्म पुग्दा त्यहाँ वरिपरिको सुन्दता देखेर धेरै पटक मेरा पाइलाहरू रोकिएका थिए।
आहा...हा! देख्दै लडीबुडी गरौँ जस्तो सफा र हरियो चौर (टुँडिखेल)। घोडा दौडाउँदै गरेका राणा प्रधानमन्त्रीका शालिकले त्यो सुन्दर चौरलाई पहरा दिए जस्तै लाग्थ्यो। रत्नपार्क उस्तै सफा र सुन्दर थियो। रंगीचंगी फूलहरु फुलेका थिए। राता, सेता, पहेला गुलाफ फुलेको मौसममा रानी रत्नको शालिक अगाडि पानीको फोहरा चलेको देख्दा त त्यो धर्ती हो कि स्वर्ग, छुट्याउन गाह्रो भएको थियो मलाई।
रत्नपार्कबाट देखिने खुला मन्च के हो? केको लागि बनाएको होला? केही थाहा थिएन। पहिलो त त्यसको नाम नै खुला मन्च हो भन्ने थाहा थिएन। झन् रानीपोखरी र घण्टा घरसमेत देखिसकेपछि काठमाडौं त साँच्चीकै अमरावती लागेको थियो।
हरिया डाँडाले चारैतिरबाट घेरिएको काठमाडौँलाई अलि परबाट टलक्क टल्किने हिमालका सेता तातीले नियाली रहे जस्तो लाथ्यो। प्राकृतिक रुपमा मात्र होइन, मठ मन्दिर र ऐतिहासिक धरोहरले सुसज्जित काठमाडौं आफैमा सांस्कृतिक सहर पनि हो। मन्दिरै मन्दिरको सहरमा हुने सांस्कृतिक जात्रा आफैमा अनुपम थिए।
कान्छी घुमाउन मात्र सुन्दर थिएन काठमाडौं। अवसर खोज्नेका लागि पनि उत्तिकै आकर्षक थियो। त्यही राम्रा विद्यालय र कलेज थिए। शिक्षाको अवसर त्यही थियो। त्यही राम्रा अस्पताल थिए। देशकै राम्रो स्वास्थ्य सेवा त्यही उपलब्ध थियो। सबै खाले रोजगारीका अवसर पनि त्यही थिए।
काठमाडौं साच्चै सपनाको सहर थियो। आफ्नी कान्छीलाई लिएर सपनाको सहरमा पुग्न कुन कान्छालाई रहर हुँदैन थियो होला! शिक्षा र रोजगारीको अवसर मिलेपछि कुन कान्छो गाउँ फर्कियोस्। उतै हराउथ्यो। सहर र समुन्द्र एउटै हुन्। न त सहर पसेको मान्छे फर्कन्छ, न त समुन्द्र पसेको खोला।
अमरावतीको रुपमा चिनिएको काठमाडौंमा सपना देख्नेहरुको ओइरो लाग्यो। ओइरोपनि यति धेरै लाग्यो कि काठमाडौंका मुख्य मुख्य चोकहरु सदाबहार कुम्भमेला लाग्ने ठाउँ हुन् कि जस्तो लाग्छ।
चार भन्ज्याङ भित्रको खाल्डोको सीमित प्राकृतिक स्रोत साधानले त्यो असीमित ओइरोलाई धान्न सक्ने पनि भएन। बढीमा दश लाख मान्छेका लागि धान्ने काठमाडौंको स्रोतले त्यो अनियन्त्रित ओइरोका सपना र चहानालाई कसरी धानोस पनि? धान्नै नसक्ने भएको छ काठमाडौं।
काठमाडौं निरीह भएको छ। आफ्नै संरक्षण गर्न सक्दैन। पशुपतिनाथ र स्वयम्भू टुलुटुल हेरेर बसेका छन्। उनीहरुको पनि संरक्षण होला कि नहोला, द्वविधामा छन्।
नयाँ पार्क थपिने त परको कुरा भो। मैले सुरुमा देखेको रत्नपार्क रतेली पार्क बनेको कथा सुनिन्छ। सार्वजनिक सभा र विशेष कार्यक्रम हुने खुला मन्च भूमाफियाको पन्जाबाट फूत्कन सकेको छैन। ऊ आफै जीवन र मरणको दोसाँधमा छ।
बागमती निरीह भएर ढलमती बनेको छ। बागमतीमा माछा हुन्थे। मान्छे पौडी पनि खेल्थे। यो अबको पुस्ताले कसरी पत्याउला? उनीहरुको लागि मिथ्या कहानी हो। विचरा निरीह बागमती!
पुराना ऐतिहासिक मठ मन्दिरहरु भग्नावशेष बन्ने मार्गमा हिँडिरहेका छन्। मन्दिर भित्रका कयौं मूर्तिले विदेशको बाटो तताइसकेका छन्। ठूला सडक र महल बन्ने क्रमसँगै सांस्कृतिक धरोहर पनि महल बन्ने पालो कुरेर बसेका छन्।
कमल पोखरी स्विमिङ पुल बन्दैछ र बचे खुचेका अरु पोखरी पनि कमल पोखरीकै मार्गमा छन्। प्राकृतिक र ऐतिहासिक सुन्दर धरोहर नासिँदै छन् र बाँकी पनि कुरुप हुँदै छन्।
धानका बाला लहलाउने उर्बर काठमाडौं कंक्रिडै कंक्रिडको जंगल बनेको छ। अब काठमाडौंका बालबालिकाले धान फलेको हेर्न सायद शैक्षिक भ्रमणमा उपत्यका बाहिर जान पर्ला। अन्न बालीको भण्डार काठमाडौं आज पुरै भारतीय उत्पादनमा निर्भर छ।
टुँडिखेल वरिपरि बाहेक अन्यत्र हरियाली लगभग शून्य छ। काठमाडौं कता-कता ब्राजिलको फवेला जस्तो देखिन थालेको छ। रियदोजेनेरो नजिकैको रोसिन्हा (पोर्चुगिच भाषामा हसिन्या भनिन्छ) नामक सहर फवेला (कुरुप सलम बस्ती) उपनामले संसारमा चिनिन्छ। प्राकृतिक रुपमा त फवेला पनि कहाँ कम सुन्दर छ र!
सपना देख्नेहरु काठमाडौंमा जुन अनुपातमा बढे, त्यो अनुपातमा रोजगारीका अवसर बढ्न सकेनन्। तर चाहना र सपनाहरु बढिरहेका छन्। रातमा देख्ने सपनालाई त स्रोत नचाहिएला। तर दिनमा देख्ने सपनालाई स्रोत चाहिन्छ। सपना र स्रोतको सन्तुलन भएन भने दुवै मर्छन्। सँगसँगै सारा सम्यता र समाजलाई मार्छन्।
आजका नयाँ पुस्ताका लागि अब काठमाडौं सपनाको सहर रहेन। अझ देशका प्रमुख सहरमा जन्मेका मध्यम वर्गीय परिवारका नयाँ पुस्ताको लागि झनै रहेन। तर पनि पहुँचको खडेरीमा रहेका दूर दराजका नयाँ पुस्तालाई अझैँ काठमाडौं सपनाको सहर हुँदै नभएको होइन।
आजको पुस्ता डेनीको पुस्ता होइन। सुनेको भरमा अबको पुस्ताले सपना देख्दैन र देख्नु पनि पर्दैन। उनीहरुको हत्केलामै संसार छ। कुन संसार कस्तो भन्ने कुरा आफै खुट्याउन सक्छन्। कुन संसारमा प्रतिभा फस्टाउँछन्, त्यो उनीहरु आफ्नै हत्केलामा देख्न सक्छन्। फेद र टुप्पो थाहा नहुने गफाडीका गफ पत्याउँदैनन्। भोकै तिलस्मी भाषण सुनेर बाच्न चाहँदैनन्। देखेर अनि भोगेर बाच्न चाहान्छन्।
नयाँ पुस्ता भनेका कोपिला हुन्। उनीहरु फल्न चाहान्छन्, फूल्न चाहान्छन्। उनीहरुका नजरमा फल्ने फूल्ने ठाउँ क्यानडाका सहर भएका छन्। अमेरिका र अष्ट्रेलियाका सहरहरु भएका छन्। युरोपका सहर समेत उनीहरुका सूचिमा तल झरिसके। युरोप समेत उनीहरुका लागि बुढो भइसक्यो। सहज रोजगारको पहुँच भएकाले बरु कोरिया, मलेसिया र अरबका सहर उनीहरुको सूचिमा पर्न थालेका छन्।
जवान मान्छेले जोडी मात्र होइन, आफ्नो सपनाको देश र सहर पनि जवानै खोज्ने रहेछ। यो कुरा पोर्चुगलबाट आएको लुकासबाट थाहा पाएँ।
लुकास भन्थ्यो- 'पोर्चुगल युरोपको सबैभन्दा गरिब देश हो। त्यहाँ कामै नपाउने। म १७ वर्षको हुँदा सन् १९७५ मा फ्रान्स आएँ। फ्रान्समा मेकानिक्स भएर काम गरेँ। ५ वर्ष काम गरेपछि सन् १९८० मा क्यानडा आएँ।'
'किन फ्रान्स छाडेर क्यानडा आएको नि?'
'हेर राज, क्यानडा भनेको वयस्क देश (योङ कन्ट्री) हो र स्रोतले भरिभराउ छ। क्यानडाको बैंस अझै निक्कै वर्ष रहिरहने छ। युरोप त बुढो भइसक्यो।' मेरो प्रश्नमा उसले उत्तर दिँदै भन्यो।
लुकासले भनेजस्तै नयाँ पुस्ताका युवा-युवतीहरु योङ कन्ट्री जान चाहान्छन्। यसरी जान चहाने नेपाली युवा-युवती मात्र होइनन्। नयाँ अवसर र नयाँ ठाउँको अनुभव गर्न संसारका जुनसुकै ठाउँका मान्छेलाई रहर हुने रहेछ।
मलाई जापान, कोरिया र युरोपका फ्रान्स र जर्मनी जस्ता सम्पन्न देशबाट किन मान्छे आउँछन् भन्ने उत्सुकता लाग्थ्यो। म उनीहरुलाई त्यही प्रश्न गर्थेँ। उनीहरुको एउटै उत्तर हुने गर्दथ्यो- 'मान्छे धेरै, अवसरै थोरै। रोजगारी पाउनै मुस्किल।' नेपालको रोजगारीको अवस्था भन्नै परेन, जगजाहेरै छ।
युवाहरु आफ्नो लक्ष्यमा पुग्न खोज्छन्। जसरी लक्ष्यमा पुग्न खोला निरन्तर अगाडि बगिरहन्छ। पहाडले छेकेर छेकिँदो रहेनछ। त्यसरी नै उनीहरु अगाडि बढ्न चाहान्छन्।
समयसँगै युवा पुस्ताको सोच पनि बदलिएको छ। अबको पुस्ता कान्छाले मात्र कान्छी घुमाउने पुस्ता होइन। कान्छीहरु पनि कान्छा घुमाउन सक्ने हैसियतमा छन्। मन मिल्ने र आफूलाई बुझिदिन कान्छो भेटेपछि उनीहरु कान्छाको पढाइ, पेसा र रुप रंगलाई खासै महत्व नदिने भएका छन्। त्यसरी मन परेको कान्छालाई लिएर क्यानडा लगायतका विभिन्न देशमा उनीहरु गइरहेका छन्। यो हैसियत उनीहरुको क्षमता र मेहनतले भएको हो।
समाजका पुराना मान्यताहरु बदलिरहेका छन्। बच्चा पाएर घरमा हुर्काउने जिम्मेवारीमा मात्र कान्छीहरु सीमित हुन चाहाँदैनन्। उनीहरु सामाजिक उपियालाई औषधि छर्दै रुपियाँ र डलर कमाउन सक्ने भएका छन्। उनीहरुसँग ममता थियो, मन थियो। उनीहरुसँग अब मनसँगै धन छ।
मन र धन भएका कान्छी पाउँदा कुन कान्छो आफूलाई भाग्यमानी नठानोस्। अझ उनीहरुको कमाइको धन बेगर घर चलाउने कान्छालाई विकसित देशमा त कुबेरै मान्नु पर्छ। तर कुबेर पति भएपनि आफ्नो आत्मसम्मान र गरिमाको लागि उनीहरु काम गर्न चाहान्छन्।
क्यानडा कान्छा-कान्छीको मुख्य रोजाइमा पर्न थालेको छ। कान्छीले कान्छालाई क्यानडा घुमाउने वा पुर्याउने मुख्य माध्यमहरु विद्यार्थी भिसा, वर्क परमिट, शरणार्थी र पिआर (परमानेन्ट रेसिडेन्ट) हुन्।
अथाह स्रोत भएको क्यानडा रुसपछिको दोस्रो ठूलो भूमि भएको देश हो। भूमिले मात्र ठूलो छैन्, प्राकृतिक स्रोत पनि अथाह छ। संसारको १० प्रतिशत वन एक्लैले ओगटेको क्यानडा अथाह जलस्रोतको भण्डार पनि हो। कृषि भूमि पनि धेरै छ।
सुन, चाँदी, हिरा मोती जस्ता खनिज पदार्थका साथै ग्याँस र तेल प्राकृतिक स्रोतले भरिभराउ छ। ताल तलैया, नदी, सुन्दर पहाड प्रशस्त छन्। पानी जहाज नचल्ने नदी कमै होलान्। संसारको ठूलो अर्थतन्त्र भएको सम्पन्न देश अमिरिकासँग मात्र सिमाना जोडिएको छ। क्यानडाको प्राकृतिक स्रोत उपभोग गर्ने अमेरिका मुख्य देश हो।
यस्तो अथाह स्रोत र सम्भावनाले मान्छेलाई तान्दो (पुल फ्याक्टर) रहेछ। स्रोतको सही र समुचित उपयोग र व्यवस्थापनले सम्भावनाका मूल फुटाउने रहेछ। त्यो मूल फुटाउन इमान र नैतिकता भएको समाज र नेतृत्व चाहिने रहेछ। इमान र नैतिकता सुशासनको कडी हुँदो रहेछ।
समाज विकसित र अनुशासित हुन नैतिकता र इमानको बार चाहिने रहेछ। नेतृत्वको लागि त्यो बार झनै अग्लो हुन्छ। नेतृत्वमा रहनेले निमेष पनि गल्ती गर्न छुट हुँदैन। यो तथ्य मिसेल ओबामाले आफ्नो पुस्तक 'विकमिङ' को सन्दर्भमा दिएको एक अन्तवार्तामा भनेकी छिन्।
इमान र नैतिकता भएको समाज र राष्ट्रले मात्र शान्ति र समृद्धि प्राप्त गर्ने रहेछ। त्यस्तो समाजमा लुछाचुडी भन्ने पनि कमै हुने रहेछ। अल्पमतको सरकार ढालेर सत्ताको भर्याङ चढ्ने कोसिस कुनै पार्टीले नगर्नु क्यानडा उदाहरण हो। यो उदारणबाट राम राज्य छ भनेर देखाउन खोजिएको होइन। समस्या हुन्छन्, तर ती समस्यालाई पद्धति अनुरुप समाधान खोजिन्छन्।
विकासको गतिलाई तीव्रता दिन स्रोत र जनसंख्याको सन्तुलन र प्रभावकारी व्यवस्थापन हुन पर्ने रहेछ। भूमि र स्रोतको तुलनामा जनसंख्या कम भयो भने पनि गतिशील विकासमा चुनौति हुने रहेछ। त्यही भएर क्यानडाले आप्रवासीलाई भित्र्याउने नीति र कार्यक्रम बनाएको छ।
बाहिरबाट हरेक दिन सरदर एक हजार मान्छे भित्र्याउँदा पनि लगभग तीन करोड ८० लाख जनसंख्या पुगेको छ। आगामी तीन वर्ष (सन् २०२१ देखि २०२३ सम्म) सम्म वर्षको चार लाखका दरले मान्छे ल्याउने क्यानडा सरकारको योजना छ। त्यही चार लाखको हिस्सामा संसारभरिका मान्छे आउने हुन्।
जनसंख्याभन्दा स्रोत कम हुँदा भोग्नु परेका पीडा हामीले दक्षिण एसियामा देखेका छौँ। नेपालमा त खुदै भोगेका छौँ। स्रोत कम भएको हाम्रो जस्तो देशमा हुने अस्थिरता र कुशासनले ल्याउने परिणामा हामीले आँखा अगाडि दिनदिनै देखिरहकै छौं। तर जनसंख्या बढी हुँदैमा अभिशाप हुँदो रहेनछ। त्यसलाई उपयोग गर्न सक्यो भने फलिफाप हुँदो रहेछ भन्ने चीनले देखाइसकेको छ।
अस्थिरता र कुशासनबाट सृजित भद्रगोले शासन व्यवस्था, बेरोजगारी, द्वन्द र गृह युद्ध कारणले युवा युवतीलाई देश बाहिर धकेल्दो (पुस फ्याक्टर) रहेछ। तेस्रो विश्वबाट क्यानडा आउने अधिकांशको त्यही अनुभूति हुने गरेको पाइन्छ। उनीहरुको अन्तरक्रियाबाट पुल फ्याक्टरभन्दा पनि पुस फ्याक्टर अझ दरिलो हुँदो रहेछ भन्ने मैले महसुस गरेको छु।
क्यानडाले एसिया अफ्रिका लगायतका देशबाट मायाले मान्छे ल्याउने होइन। उत्पादन, निर्माण र सेवाको क्षेत्रमा काम गर्न सीप र दह्रा बलिया पाखुरा भएका कामदार (मजदुर) र प्राविधिकको कमी भएकोले ल्याउने हो।
गगनचुम्बी टावर वा महलको एसीमा सेतो सर्ट लगाएर टेबल कुर्सीमा बसेर ह्वाइट कलर काम गर्ने मान्छे चाहिएको छैन। यस्ता काम यही जन्मेर हुर्केकालाई नै पुग्दैन। यस्ता काममा भाषा र संस्कारको ठूलो भूमिका हुन्छ। त्यसैले ती काममा गोरे गोरीकै बाहुल्यता छ।
क्यानडालाई ब्लु कलर काम गर्ने मान्छे चाहिएको छ। टेवल कुर्सी बनाउने कार्पेन्टर चाहिएको छ। घर बनाउनको लागि ड्राइवाल (काठले बनाउने भित्तो वा पर्खाल) को सीप जानेको मान्छे चाहिएको छ। धारा बाथरुम बनाउने पलम्बर चाहिएको छ। एसी बनाउने मेकानिक्स, बिजुली बनाउने इलेक्ट्रिसियन चाहिएको छ।
सडकमा गाडी कुदाउने र रेलमा यात्रा गर्ने यात्रुमात्र होइन्, प्रशान्त महासागरबाट एटलान्टिक महासागर जोडने सडक बनाउने र रेलको लिक बिछ्याउने मजदुर चाहिएको छ। थरिथरिका मेकानिक्स र इन्जिनियर चाहिएको छ। गाडी बनाउने र मर्मत गर्ने अटो मेकानिक्स चाहिएको छ। समान ढुवानी गर्ने ट्रक ड्राइभर चाहिएको छ।
तीन तीर समुन्द्रले घेरको देशको अर्थतन्त्र चलाएमान बनाउन बन्दरगाहको निर्माण र व्यवस्थापनका लागि पनि सीप र जागर भएका कामदार र विशेषज्ञ चाहिएको छ। तेल र खनिज पदार्थ निकाल्ने प्राविधिक चाहिएको छ। निर्माण र उत्पादनका काममा उच्च सीप भएका विशेषज्ञदेखि न्यून सीप भएका कामदार चाहिन्छ। विद्यार्थी, शरणार्थी र वर्क परमिटमा आएकाहरुले यस्ता क्षेत्रका कामदारको रुपमा काम गर्ने गर्दछन्।
क्यानडालाई पकाएको खान खाने मान्छे चाहिएको छैन्। पकाएर खान दिने कुक चाहिएको छ। पाकेको खाना घर घरमा पुर्याएर डिनर पेल्ट भरिदिने दिने ड्राइभर चाहिएको छ। वयर हाउस र स्टोरमा रात बिहान नभनी काम गर्ने मेहनती हातहरु चाहिएको छ। धेरैजसो यस्तो काम विद्यार्थी भिसामा आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुले न्यूनतम पारिश्रमिकमा धानेका छन्। काम गरे बापत सरकारलाई कर तिर्छन्।
अन्तर्राष्ट्रिय विद्यार्थीहरु सुनको अण्डा पार्ने कुखुरा हुन्। उनीहरुले घरेलु विद्यार्थीको तुलनामा चार पाँच गुणा बढी शिक्षण शुल्क (टिउसन फी) तिर्छन्। कलेज र विश्वविद्यलायका अर्बौँ डलर आम्दानी जुटाउने दाता हुन्।
विद्यार्थी भिसामा भारतीय र चिनियाँ विद्यार्थीको संख्या सबैभन्दा ठूलो छ। त्यसपछि कोरिया, फ्रान्स, ब्राजिल र भियनामबाट आउनेको संख्या उल्लेख्य छ। नेपालबाट आउनेको संख्या कमै छ, तर विगत दुई/चार वर्षदेखि नेपाली विद्यार्थीहरु बढिरहेका छन्।
कृषि उत्पादनको लागि पनि कामदार उत्तिकै चाहिएको छ। मेक्सिको, इन्डिया, ग्वाटेमाला, जमैका र फिलिपिन्सबाट धेरै कृषि कामदारहरु वर्क परमिटमा आउने गरेका छन्। कृषि कामदार भएर वर्क परमिटमा आउने नेपाली भेट्न मुस्किल छ।
इजरायल, अमेरिका, जापान र मध्यपूर्वका देशको अनुभवको आधारमा अन्य पेशामा वर्क परमिट लिएर आउने नेपालीको संख्या बाक्लो हुँदै गएको छ। नेपालबाट सिधैं वर्क परमिटको कोटीमा आउनेहरु कमै होलान्।
कृषि, निर्माण र उत्पादको क्षेत्रमा काम गर्ने शरणार्थीहरु धेरै नै भेटिन्छन्। द्वन्द र गृह युद्धबाट विस्थापित भएकाहरुलाई क्यानडाले शरणार्थीको मान्यता दिएर ल्याउने गरेको छ। शरणार्थीको रुपमा नेपालबाट भुटानीहरु बाहेक अरुलाई सिधैँ ल्याएको छैन। टुरिष्ट भिसामा आएर शरणार्थीको दाबी गरेर बस्ने फाटफूट भेटिन्छन्। माओवादी द्वन्द्वपछि नेपालीलाई शरणार्थीको रुपमा आउन र बस्ने अनुमति पाउन त्यति सजिलो छैन।
प्रथम र दोस्रो विश्व युद्धता जन्मेको मान्छे (बेबी बुमर) को संख्या ठूलो छ। उनीहरुको सेवा सुसार गर्न पिंक कलरको काम गर्ने मान्छे पनि उत्तिकै चाहिएको छ क्यानडालाई। स्वास्थ्य क्षेत्रमा डाक्टर, नर्स र कियर एड जस्ता पेशाकर्मीहरुको माग दिनानु दिन बढ्दो छ। नर्स र कियर एडको पेशामा केटीहरु नै बढी आकर्षित छन्।
उच्च सीपको कोटीबाट नर्स पिआर (पर्ममानेन्ट रेसिडेन्ट) मा सिधैँ क्यानडा आउन पाउछन्। क्यानडा टेकेको तीन महिनाबाट राजनैतिक बाहेकका सबै सुविधा र अधिकार उपभोग गर्न पाउछन्।
अधिकांश नेपालीहरु उच्च सीपको कोटीबाट आएका छन्। डाक्टर, इन्जिनियर, कम्प्युटर विशेषज्ञ, एकाउन्टेन्ट, प्राध्यापक र शिक्षकहरु उच्च सीपको कोटीमा आउछन्। आउन त आउँछन्, तर आएपछि सिधैँ त्यही पेशाको काम पाउने भाग्यमानी औंलामा गन्ने हुन्छन्।
क्यानडाको शिक्षा (क्यानेडियन एजुकेशन) र क्यानडाको अनुभव (क्यानेडियन एक्सपेरिएन्स) भनेर फलाम बार हाली दिन्छन्। त्योभन्दा ठूलो बार त पेशागत लाइसेन्स भैइदिन्छ। यस्ता बार पार नगर्दासम्म जुन पेशाबाट पिआरका पाएपनि त्यो पेशको काम पाउन निकै कठिन हुन्छ। त्यो पीडा क्यानडाका कवि गोविन्दसिंह रावत कवितामा यसरी पोखेका छन्ः
उता थिए जो इन्जिनियर, यहाँ इन्जिनको नियर छन्
उता जो डाक्टरी गर्थे, यहाँ फेक्टरीमा गर्छन्
आफ्नो ज्ञान र सीप बढाउनेहरुले राम्रो गरेका छन्। संसारका विभिन्न देशबाट आएका मान्छेको तुलनामा केही नेपालीहरु आफ्नो पेशा र व्यवसायको क्षेत्रमा सफल देखिएका छन्। कर ज्योतिषीको रुपमा हरेक वर्ष मैले संसारका सयभन्दा बढी देशका मान्छेहरुको चिना हेर्दा नेपालीहरुको पेशागत अवस्था राम्रो देख्छु। उनीहरुका अधिकांश बच्चाबच्चीहरुले पनि राम्रो गरेका छन्।
विदेशको सपना देख्ने कान्छाहरु विवाहको लागि प्रायः नर्स कान्छी खोज्छन्। नर्स खोज्नुको रहस्य सजिलै पाइने काम र त्यो कामको राम्रो कमाइ हो। कमाइको शक्ति ठूलो हुँदो रहेछ। एकजना श्रीमान सुनाउँथे- 'नोटमा रानीको फोटो, कमाइ तिम्रो मोटो' भनेर रानीको देशमा घरकी रानी (श्रीमती) लाई फुर्काउने गर्छु। श्रीमती पनि मख्ख, घरपनि मजाले चलेको छ।'
युवा पुस्तामा विदेशको भूत जागेको हुँदैन थियो भने 'छारो बिग्रियो कमर्सले छोरी बिग्रियो नर्सले' भनेर अझै नर्सलाई हियाइने थियो। नेपालमा सबै नर्सको अवस्था अझै कहाँ राम्रो छ र! कयौं नर्सहरु बेरोजगार छन्। निजी अस्पतालमा मासिक पन्ध्र/बीस हजारमा काम गर्न बाध्य छन्। विदेश जाने सीमित नर्सका कथा सुनाएर निजी नर्सिङ कलेजहरु वर्षेनी करोडौँ कुम्ल्याउँछन्।
क्यानडा कान्छीहरुको रवाफ भएको देश हो। झन् नर्स कान्छीको त रवाफ मात्र नभएर मान, सम्मान र इज्जतै भिन्न छ। उनीहरुको कामलाई विशेष सीपको काम मानिन्छ। विशेष सीपको कामको आर्जन सामान्य कामको भन्दा राम्रो हुन्छ। यस्तो राम्रो कमाइ हुने नर्स कान्छीसँग दंग नपर्ने कुन कान्छो होला र! अब गीत पनि नयाँ चाहिएको छ- कान्छालाई घुमाउने क्यानडा सहर, सक्षम भई बाच्ने कान्छीको रहर।
'कान्छालाई घुमाउने क्यानडा सहर' सुन्दा जति सुन्दर लाग्न सक्छ, त्यति सुन्दर पनि छैन क्यानडा। भ्यालेन्टाइन डेमा प्रेमी-प्रेमिकाले एक-आपसमा साट्ने गुलाफको फूल पनि काँडाकै बोटमा फूलेको हुन्छ। त्यो काँडाले कसरी घोच्छ भन्ने कुरा काँडाको झ्याङमा पसेर गोडमेल गर्ने मालीलाई मात्र थाहा हुन्छ।
सजिसजाउ पसलमा गएर फूल मात्र किन्ने प्रेमी-प्रेमिकालाई गुलाफको काँडाले घोच्दाको पीडा के थाहा! तब त तारा देवी गाउछिन्:
सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन
एउटा रोज्यो अर्कै मिल्छ, खोजे जस्तो हुन्न जीवन।