मौकाले रोल्पाको शक्ति मगरसँग भेट भयो। मैले मेरो पेनड्राइभमा भएको डकुमेन्ट प्रिन्ट गर्नु थियो। प्रिन्ट गर्न पाइने पसल हेर्दै र सोध्दै सबेरै खरिबोट चोकमा पुगें। भर्खर खुल्दै गरेको स्टेसनरी पसलमा गएर प्रिन्ट हुन्छ हुँदैन सोधें।
वरिपरिका पसलहरु फ्याट्फुट्ट खुल्दै थिए। यताउताबाट सटर माथि धकेल्दा आउने आवाजहरु आउँदै थियो। स्टेसनरी पसल खोल्ने बहिनीले दुई/चार सटर अगाडि देखाउँदै एटिएमको आडमा फोटोकपी पसल छ, त्यसैमा प्रिन्ट हुन्छ भनिन्। उनले छिटै खुल्छ समेत भनिन्।
म उनले देखाएतर्फ फोटोकपी पसल खोज्दै आगाडि बढें। पसल देखिएपछि मेरो काम पसल कतिबेला खुल्ला भनेर पर्खनु थियो। भर्खर खुलेको स्टसनरी पसलकी महिलाले छिटै खुल्छ नभनेको भए म अर्को पसलको खोजिमा हिँड्थे वा बास बसेको घरतर्फ फर्कन्थेँ।
म फोटोकपी पसल खुल्ने प्रतिक्षामा उभिएँ। चोकमा म उभिएको पल्लो तर्फ माइक्रो बस पर्खेर चार/पाँच जना लाइनमा लागेका मान्छेहरु पनि थिए।
फोटेकपी पसलकै अगाडि बालुवाको थुप्रो थियो। बालुवाको थुप्रोबाट एक सोह्र/सत्र वर्षे किशोरले बोरामा बालुवा उठाउँदै थियो। त्यति बिहानै काम थालिसकेको विद्यालयमा पढ्नु पर्ने किशोर!
मेरो ध्यान उही किशोरतर्फ केन्द्रित भयो। कुरा सुरु गरें 'त्यो पसल कतिबेला खुल्ला भाइ भनेर? तिमीलाई थाहा छ कि?'
उसको उत्तर थियो, 'म बाहिरको मान्छे हो दाइ, मलाई थाहा भएन।'
मैले उसलाई सोध्नुको कारण पनि उसलाई थाहा होला भनेर थिएन, बोल्ने बहानामात्र थियो। 'म पनि बाहिरको मान्छे नै हो भाइ, तिम्रो घर कहाँ हो र?'
'रोल्पा।'
'नाम नि?'
अलि हिचकिचायो।
'भन न भन, म पनि त तिमी जस्तै हो नि।'
अनि भन्यो 'शक्ति।'
'म पनि यहाँ काम गर्न आएको त हुँ' भनेर ऊसँग सम्बन्ध गाँस्ने प्रयास गरें। ऊ सहज हुँदै गयो। ऊ मुस्कुरायो र सामान्य तरिकाले बोल्न थाल्यो। मैले पनि कुराको मेसो झिकें। मसँग कुरा गर्दै गरे पनि उसले काम भने रोकेको थिएन।
उसले एक बोरा भर्ने र भरेको भित्र लैजाने गर्न छाडेर त्यहाँ भएका सबै बोरा भर्दै थियो। उसले बिहान उज्यालो हुनासाथ काम सुरु गर्दो रहेछ र बेलुकी उज्यालो रहँदासम्म काम गर्ने रहेछ।
आज भने उसलाई ठेकेदारले दिनभरको लागि बाटोको छेउमा भएको एक टिप बालुवा ढोकाबाट ग्यालेरी हुँदै घरको पछाडि रहेको निर्माण स्थालमा पुर्याउने काम तोकिदिएको रहेछ। उसले बालुवा बोरामा उठाउने, भरेको बोरा बोकेर पछाडि लैजाने, पछाडि लगेर खनाउने, सबै काम एक्लैले गर्ने रहेछ। आज तोकिएको काम हुनाले उसले त्यो बालुवा छिटै भित्र लगिसक्यो भने फुर्सद पाउने रहेछ।
शक्तिले दिनभर काम गरेको पारिश्रमिक एक हजार पाउँदो रहेछ। ठेकेदार भनेर राजनैतिक शक्तिको प्रयोग गरी ठूला-ठूला योजना जिम्मा लिने, काम बीचैमा छाड्ने, भेरियसन गरी रकम थपाउँदै जाने, निर्माण सकेको छ महिना नहुँदै भत्किन थाल्ने भन्ने अर्थ नलागोस्।
शक्तिले जसलाई ठेगदार भनेको छ, उनी पनि डकर्मी नै रहेछन्। उनले पनि काम गर्दछन्, निश्चित मूल्यमा निश्चित कामको जिम्मा लिने गर्दछन्। उनीसँग शक्ति जस्तै चार जना केटाहरु पनि छन्।
शक्ति र शक्तिका साथीहरुलाई बस्ने व्यवस्था र खानाखाजाको व्यवस्था तिनै डकर्मीले गर्दा रहेछन्। मेरो जिज्ञासा थियो, 'ज्याला समयमा पाउँछौ?' शक्ति भन्दै थियो, 'मागेको बेलामा दिन्छ। मसान्तमा ३० हजार दियो।'
'के गर्यौं त त्यो रकम?'
'घरमा पठाएँ।'
'घरमा को-को छन् नि?'
'आमा र बहिनी।'
'बा नि?'
'मलेसिया छन्। बहिनीले स्कुल पढ्छे।'
'कति कक्षामा?'
'नौ कक्षा।'
'तिमीले पढेनौ त?'
'आठ कक्षा पढेंर छाडें।'
'किन छाड्यौं?'
सजिलो उत्तर थियो, 'पैसा भएन।'
मैले जिज्ञास राखें, 'सरकारी स्कुलमा पनि पैसा लाग्छ र?'
'अलि अलि लाग्छ।'
'बाले पैसा पठाउँदैनन् र?'
'पठाउँछन्।'
'बाले पैसा पठाउने भएपछि स्कुल किन छाडेको त?'
'बा गएको पनि चार/पाँच वर्ष मात्र भयो।'
'आमाले स्कुल पढ भनिनन् त?'
'भन्न त भनिन्, मैले छाडेँ।'
'घरबाट भागेको?'
'हैन सल्लाहले नै आएको हुँ।'
'कक्षा आठमा फेल भएको?'
'हैन, पास गरेको हुँ तर नौ कक्षामा भर्ना गर्न गइनँ, छाडें। यता आएर छाडेको होइन।'
गफगाफमै जानकारी भयो शक्तिले स्कुल छाडेर एक वर्ष घरमै बितायो अनि काठमाडौँ तिर हानियो।
जे कारण भए पनि कक्षा आठ पढेपछि शक्तिले विद्यालय छाड्यो। परिवारमा धेरै सदस्य पनि छैनन्। उसको दाजुभाइ छैनन्, एक मात्र बहिनी हुन्। शक्तिलाई परिवारले पनि पढाउन चाहेको हो। आमाले उसलाई पढ्न भन्दै थिइन्। उसको बहिनीले कक्षा ९ मा पढ्दै पनि छन्।
निशुल्क भनिए पनि सामुदायिक विद्यालयमा भर्ना शुल्क, परीक्षा शुल्क तिर्नुपर्ने र कपी/कलम किन्न रकम चाहिने हुनाले आर्थिक अवस्था कमजोर भएका धेरै बालबालिका विद्यालय भर्ना भएका छैनन् भने कतिले विद्यालय बीचमै छाडेका छन्।
आर्थिक समस्या भन्नु भने शक्तिको बाबुले मलेसियामा काम गर्दछन्। शक्तिको परिवारको आर्थिक अवस्था कपी/कलम किन्नै नसक्ने पनि होइन र शुल्क तिर्नको लागि नै विद्यालय छाड्नु पर्ने होइन। त्यसो भए किन पढ्न छाड्यो त शक्तिले? छलफलको विषय हो।
शक्ति कक्षा आठ पढेर विद्यालय गएन। उसको आमाले भनेको पनि उसले मानेन वा आमाले राम्रोसँग सम्झाउन सक्नु भएन। हरेक किशोर किशोरीहरु स्वतन्त्र हुन चाहन्छन्। उसले पनि चाहनु स्वभाविकै थियो।
उसलाई आठ पढेर कक्षा नौ भर्ना हुन नजाँदा विद्यालयले खोजेन। उसका धेरै साथीहरु यसरी नै विद्यालय छाडेर कहिले १८ वर्ष पुगिएला र नागरिकता, राहदानी बनेर विदेश जान पाइएला भन्ने सोचमा छन्।
उसका काठमाडौँ काम गरेर फर्केका साथीहरुले उसलाई कमाइ गर्न काठमाडौँ जान लोभ्याए। सहरमा काम गर्दा पाइने ज्याला, जोगिएको पैसाले मोबाइल किन्न पाइने, राम्रो कपडा लगाउन पाइने, कहिलेकाहीँ होटलमा गएर खाजा खान पनि पाइने जस्ता कुराले उसलाई लोभ्यायो।
तर पढेर भविष्यमा के हुने? भविष्यमा पढाइ के काममा उपयोगी हुने उसलाई प्रस्ट भएन। विद्यालयका शिक्षकले उसलाई किन पढ्ने? पढेर के हुन्छ भनेर कुनै दिन भनेनन्। विद्यालयले पढ्न उत्प्रेरित गरेन, उसलाई पढाइ निरन्तर गर्न सल्लाह कसैले दिएन।
उसको आमाले पनि पढेलेखेपछि के फाइदा हन्छ? प्रस्ट पार्न सकिनन् होला। उनले पनि त नजिकको मान्छेले पढेलेखेर राम्रो कमाइ गरेको देखेकी छैनन्। विद्यालयले उसको इच्छालाई बुझेन, विद्यालयको पढाइ उसको लागि निरस भयो।
विद्यालयले पढाइ र सिकाइलाई रसिक, रमाइलो र तत्काल काम लाग्ने बनाउन र सिक्न उत्प्रेरित गर्न सकेन। ऊ काठमाडौँ र सहरमा श्रमिकको रुपमा काम गर्ने उसका दाजु र दौँतरीबाट लोभियो। विद्यालयमा भनेको कुरा भन्दा दाजु र दौँतरीले भनेको कुराले बढी प्रभाव पार्यो।
शक्ति जस्तै विद्यालयको तह पूरा नगरी पढ्न छाडेर काठमाडौँ र अन्य सहरमा पुगेर काम गर्ने युवाहरु धेरै होलान्। जिल्लागत तुलना गर्ने हो भने यसरी काम गर्ने तथा भारी बोकेर विकटमा पुर्याउनेमा गोरखा, धादिङ, रुकुम, रोल्पा, डोल्पाका धेरै देखिन्छन्।
भक्तपुरको इँटा कारखानामा पनि विद्यालयको शिक्षा लिनु पर्ने तर विद्यालय छाडेर आएका रोल्पाली किशोरहरु धेरै छन्। यस्ता किशोर किशोरीलाई पढ्दा पढ्दै बीचैमा विद्यालय छाड्नबाट रोक्न, विद्यालयमा नियमित गर्न राज्य तथा सरकार मात्र लागेर हुँदैन।
विद्यालयमा प्रवेश गरेपछि अन्तिम कक्षासम्म टिकाउनमा विद्यालयको भूमिका महत्वपूर्ण हुन्छ। यसको लागि विद्यालयमा सिकेको सीप सिकेको सीप जीवनका विभिन्न मोडमा काम लाग्छ, तत्काल विद्यालय छाडेर पाउने पारिश्रमिकभन्दा विद्यालयको शिक्षा पूरा गरेपछि पाउने पारिश्रमिक गुणात्मक रुपमा बढी हुन्छ, काममा सहजता हुन्छ, भन्ने विश्वास दिलाउन सक्नु पर्दछ।
शिक्षकले आफूले पढाउँदै गरेका बालबालिका तथा किशोर किशोरीहरुको चाहना के छ? कसरी सिकाउँदा सिकाइमा उत्प्रेरित हुन्छन्? जानकारी राख्नु पर्दछ। व्यक्तिगत समस्याले गर्दा विद्यालयन आएको भएमा के समस्याले विद्यालय आएन? अध्ययनलाई निरन्तरता दिन के गर्न सकिन्छ? त्यहीअनुसार बालबालिकालाई परामर्श तथा सरसल्लाह दिने तथा, मायाममता दिएर, विश्वास दिलाएर विद्यालय शिक्षा पूरा गराउन प्रयास गर्नु पर्दछ।
विद्यालयले प्रयास गर्ने हो भने शक्ति जस्ता किशोर किशोरीहरुको विद्याललय छाड्ने दर निकै घटाउन र विद्यालयमा नियमित गर्न ठूलो भूमिका खेल्न सक्दछ।